परिच्छेद– ३० विद्यालयको बजेट, आय व्ययको लेखा तथा अन्य व्यवस्था

परिच्छेद– ३० विद्यालयको बजेट, आय व्ययको लेखा तथा अन्य व्यवस्था

१६८. बजेट तयार गर्नेः प्रधानाध्यापकले प्रत्येक वर्ष आगामी वर्षको बजेट तयार गरी व्यवस्थापन समितिबाट स्वीकृत गराई त्यसको एक प्रति जिल्ला शिक्षा कार्यालयमा समयमा नै पठाउनु पर्नेछ ।

१६९. विद्यालय कोषको सञ्चालनः (१) विद्यालयले विद्यालय कोषमा जम्मा भएको रकम व्यवस्थापन समितिको निर्णय बमोजिम खर्च गर्नु पर्नेछ ।

(२) विद्यालय कोषको सञ्चालन व्यवस्थापन समितिको अध्यक्ष वा सो समितिले तोकेको व्यवस्थापन समितिको सदस्य र प्रधानाध्यापकको संयुक्त दस्तखतबाट हुनेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि माध्यमिक तथा निम्न माध्यमिक विद्यालय कोषको सञ्चालन प्रधानाध्यापक र लेखापाल वा लेखासम्बन्धी काम गर्ने शिक्षक वा कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ ।

(४) विद्यालय कोषको हिसाब–किताब राख्ने काम प्रधानाध्यापक र लेखा सम्बन्धी काम गर्ने व्यक्तिको हुनेछ ।

(५) विद्यालयको कार्य सञ्चालनको लागि विद्यालय कोषको रकम नजिकैको कुनै बैंकमा खाता खोली जम्मा गर्न सकिनेछ ।

(६) विद्यालयको सम्पूर्ण खर्च विद्यालय कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।

१७०. विद्यालयको आय व्ययको लेखाः (१) सबै किसिमका विद्यालयले विद्यालयको आय व्ययको लेखा अनुसूची–२३ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

(२) विद्यालयको आय व्ययको लेखा बील भरपाई लगायत आवश्यक कागजात राख्ने काम विद्यालयको रकम खर्च गर्न अधिकार प्राप्त अधिकारीको हुनेछ ।

(३) उपनियम (२) बमोजिम कागज प्रमाणित गराई राख्ने, राख्न लगाउने जिम्मेवारी प्रधानाध्यापकको हुनेछ ।

(४) उपनियम (१) बमोजिमको आय व्ययको लेखा राख्दा विद्यालयको काम कारबाहीको वास्तविक स्थिति थाहा हुने गरी मालसामानहरुको खरिद बिक्री र विद्यालयको नगदी जिन्सी, जायजेथा दायित्व आदिको विस्तृत विवरण स्पष्ट रुपले खोलेको हुनु पर्नेछ ।

(५) विद्यालयको नगदी, जिन्सी, जायजेथामा कुनै किसिमको हिनामिना, हानी–नोक्सानी वा लापरबाही हुन नपाउने गरी सुरक्षित राख्ने र सोको लगत राख्ने तथा राख्न लगाउने दायित्व प्रधानाध्यापकको हुनेछ ।

(६) प्रधानाध्यापकले विद्यालयको आय व्ययको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयले तोकेको अवधिभित्र मासिक वा त्रैमासिक रुपमा सो कार्यालयमा पठाउनु पर्नेछ ।

१७१. लेखा परीक्षण गराउनेः (१) व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयबाट नियुक्त लेखापरीक्षकबाट विद्यालयको लेखा परीक्षण गराउनु पर्नेछ ।

(२) लेखा परीक्षणको सिलसिलामा प्रधानाध्यापकले विद्यालयको आय व्ययको बहीखाता लेखा परीक्षकले मागेको बखत जाँच्न दिनु पर्नेछ र निजले कैफियत तलब गरेको कुराको यथार्थ जवाफ समेत सरोकारवालालाई दिनु पर्नेछ ।

(३) विद्यालयको आय व्ययको लेखा निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयबाट खटाइएको कर्मचारीले जुनसुकै बखत जा“चबुझ गर्न सक्नेछ । यसरी जाँचबुझ गर्दा खटी आएको कर्मचारीले माग गरेको विवरण देखाउनु प्रधानाध्यापकको कर्तव्य हुनेछ ।

(४) यस नियम बमोजिम लेखापरीक्षकले विद्यालयको लेखा परीक्षण गर्ने सिलसिलामा अन्य कुराका अतिरिक्त विद्यालयको आम्दानी र खर्चका बारेमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूस“ग छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्नु पर्नेछ ।

(५) प्रधानाध्यापकले लेखापरीक्षकबाट प्राप्त प्रतिवेदन शिक्षक तथा अभिभावकको भेला गराई सार्वजनिक गरी त्यस्तो प्रतिवेदन र वासलात नियमित रुपमा जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।

१७१क. विद्यालयको काम कारबाहीको सामाजिक परीक्षण गर्नेः सामुदायिक विद्यालयको काम कारबाही ऐन तथा यस नियमावली बमोजिम भए नभएको सम्बन्धमा प्रत्येक वर्ष मूल्याड्ढन गर्न देहाय बमोजिमको एक सामाजिक परीक्षण समिति रहनेछः–

(क) शिक्षक–अभिभावक संघको अध्यक्ष – संयोजक

(ख) विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुमध्ये एकजना महिला अभिभावक समेत पर्ने गरी शिक्षक–अभिभावक संघले तोकेको दुईजना – सदस्य

(ग) विद्यालय रहेको सम्बन्धित वडाको वडा अध्यक्ष – सदस्य

(घ) शिक्षक–अभिभावक संघले तोकेको बुद्धिजिवी एकजना – सदस्य

(घ१) विद्यालयको उच्चतम कक्षामा अध्ययनरत प्रथम छात्र वा छात्रा – सदस्य

(ङ) प्रधानाध्यापकले तोकेको विद्यालयको शिक्षक – सदस्य–सचिव

१७२. प्रतिवेदन पेश गर्नु पर्नेः लेखापरीक्षकले विद्यालयको लेखा परीक्षण गरी सकेपछि देहायका कुराहरु खुलाई सो सम्बन्धी प्रतिवेदन तयार गरी व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय र निर्देशनालयमा एक–एक प्रति पठाउनु पर्नेछः–

(क) सोधनी र कैफियत तलब भएका कुराको जवाफ यथाशीघ्र भए नभएको,

(ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,

(ग) आय व्ययको स्रेस्ता कानून बमोजिम राखे नराखेको,

(घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रुपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,

(ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसाब गरे नगरेको,

(च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,

(छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा ।

१७३. बरबुझारथ गर्नेः (१) विद्यालयको नगदी, जिन्सी मालसामानको लगत, स्रेस्ता राख्ने जिम्मा लिएको शिक्षक सरुवा वा अन्य कारणबाट विद्यालय छोडी जाँदा आफ्नो जिम्मा रहेको नगदी, जिन्सी मालसामानको बरबुझारथ सामान्यतया पन्ध्र दिनभित्र विद्यालयमा गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बरबुझारथ नगर्ने शिक्षकलाई निजले पाउने तलब रोक्का गरी असूल उपर वा सोधभर्ना गरिनेछ ।

१७४. रजिष्ट्रेशन छुट दि“दा लिइने आधारः नेपाल सरकारले कम्पनीको रुपमा सञ्चालित विद्यालयलाई मन्त्रालयले तोकेको आधारमा त्यस्तो विद्यालयको नाममा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर आंशिक रुपमा छुट दिन सक्नेछ ।

१७५. विद्यालयलाई दिइने छुट र सुविधाः नेपाल सरकारले सामुदायिक विद्यालय र शैक्षिक गुठीको रुपमा सञ्चालित संस्थागत विद्यालयले विदेशबाट शैक्षिक सामग्री आयात गर्दा लाग्ने भन्सार सुविधा आंशिक वा पूरै छुट दिन सक्नेछ ।