परिच्छेद–७ करको निर्धारण र असुल उपर

परिच्छेद–७ करको निर्धारण र असुल उपर

२९. कर अधिकृतले कर निर्धारण गर्न सक्नेः (१) ऐनको दफा २० को उपदफा (१) मा उल्लिखित अवस्था परी सोही दफाको उपदफा (२) बमोजिमका आधारहरूका अतिरिक्त बजार मूल्य वा कर निर्धारण गरिनुपर्ने कारोबारसँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारीका आधारमा समेत कर अधिकृतले कर निर्धारण गरी अनुसूची–१२ को ढाँचामा कर निर्धारण आदेश जारी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कर अधिकृतले जारी गरेको कर निर्धारण आदेश उपर आफ्नो सफाईमा प्रमाण पेश गर्न सम्बन्धित करदातालाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र सम्बन्धित करदाताबाट सफाईमा पेश हुन आएको प्रमाणहरू उपयुक्त देखेमा सोही आधारमा कर अधिकृतले उपनियम (१) बमोजिम कर निर्धारण गरी कर निर्धारण आदेश जारी गर्नु पर्नेछ । यसरी कर निर्धारण आदेश जारी गर्दा सो आदेशमा आदेश जारी भएको मितिसम्म ऐनको दफा १९ को उपदफा (२) ……….. बमोजिम लाग्ने थप दस्तुर र दफा २६ बमोजिम लाग्ने व्याजको रकम समेत समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरणः व्याजको गणना गर्दा प्रति महिना बाह्र खण्डको एक खण्डको आधारमा गरिनेछ ।

३०. कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्नेः नियम २९ बमोजिम जारी भएको कर निर्धारण आदेश बमोजिमकोे रकम सम्बन्धित करदाताले त्यस्तो आदेशमा उल्लिखित मितिभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

३१. कर निर्धारण आदेशको सूचना पठाउने कार्यविधिः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कर अधिकृतले करदातालाई नियम २९ बमोजिम कर निर्धारण आदेश जारी गर्दा त्यस्तो करदाताको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै
अन्य विद्युतीय उपकरण मार्फत पठाएमा वा त्यस्तो आदेश निज वा निजको कार्यालयमा बुझाएमा वा निजको ठेगानामा रजिष्टरी गरी हुलाक मार्फत पठाएमा रीतपूर्वक तामेल भएको मानिनेछ ।

(२) उपनियम (१) बमोजिम कर निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा कर अधिकृतले सम्बन्धित करदातालाई रेडियो, टेलिभिजन वा राष्ट्रिय स्तरको कुनै पत्र– पत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सो को जानकारी गराउन सक्नेछ । त्यस्तो अवस्थामा सम्बन्धित करदाताले त्यस्तो जानकारी पाएको मानिनेछ ।

३२. दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुलीः (१) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा निजले ऐनको दफा १५ को उपदफा (२) बमोजिम उठाएको करको निर्धारण नियम २९ मा उल्लेख भए बमोजिमको प्रक्रिया अपनाइ करको निर्धारण
गरिनेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको कर त्यस्तो कर उठाउने दर्ता नभएको व्यक्तिले कर निर्धारण आदेश जारी भएको मितिले पन्ध्र दिनभित्र बुझाउनु पर्नेछ ।

३३. प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण तरीकाः (१) प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण त्यस्ता वस्तुहरूको बिक्री मूल्य र खरीद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नुपर्नेछ ।

(क) खरीद सम्बन्धी
(अ) खरीद मिति,
(आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख,
(इ) कर बाहेकको खरिद मूल्य,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) तिरेको कूल रकम ।

(ख) बिक्री सम्बन्धी
(अ) बिक्री भएको मिति,
(आ) कर वाहेकको बिक्री मूल्य,
(इ) खरीद मूल्य र बिक्री मूल्य बीचको फरक,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) प्राप्त गरेको कूल रकम ।
(२) उपनियम (१) मा उल्लेख गरेको खरीद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ ।

(३) प्रयोग भै सकेका प्रत्येक वस्तुहरू बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढंगले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाइ अर्को कर विवरण सँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।

३४. पुनरावेदन दिनुअघि कर विवरण पेश गर्नु पर्नेः नियम २९ बमोजिम गरिएको कर निर्धारण उपर करदाताले पुनरावेदन दिनु अघि आफ्नो सो अवधिको कर विवरण सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

३५. काबु बाहिरको परिस्थितिः (१) ऐनको दफा १९ को उपदफा (४) को प्रयोजनको लागि देहायको अवस्थालाई काबु बाहिरको परिस्थिति मानिनेछः–

(क) कर बुझाउनु पर्ने व्यक्ति बिरामी परी अशक्त भएमा निको भएको मितिले सात दिनसम्म,
(ख) कर बुझाउनु पर्ने व्यक्तिले क्रिया बस्नु परेमा क्रिया समाप्त भएको मितिले सात दिनसम्म,
(ग) कर बुझाउनु पर्ने स्वास्नी मानिस सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,
(घ) कर बुझाउनु पर्ने व्यक्तिको मृत्यु भएमा बहुलाएमा वा वेपत्ता भएमा त्यस्तो भएको मितिले पैंतीस दिन भित्र निजको हकवाला वा संरक्षकले निवेदन गरेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनसम्म,

(ङ) बाढी, पहिरो, हिउँ वा अन्य त्यस्तै कारणबाट बाटो बन्द भै आन्तरिक राजश्व कार्यालयमा आउन नसकेको अवस्थामा बाटो
खुलेको मितिले सात दिनसम्म,
(च) यातायातको साधन पूर्ण रूपमा बन्द भई आउन नसक्ने अवस्था भएमा त्यस्तो बन्द समाप्त भएको भोलिपल्टसम्म ।
(छ) आगलागी, भूकम्प जस्ता दैवी विपत्तिका कारण काबु वाहिरको परिस्थिति सृजना भएमा सो विपत्ति परेको मितिले तीस दिनसम्म ।
(२) उपनियम (१) को खण्ड (ख), (ग), (घ), (ङ) र (छ) मा उल्लेख भए बमोजिम काबु बाहिरको परिस्थिति परी थप म्याद माग्नु परेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिश समेत पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) को खण्ड (च) मा उल्लेख भए बमोजिमको अवस्था परी थप म्याद माग्न आउँदा जुन ठाउँमा यातायातको साधन बन्द भएको हो सो ठाउँसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिश समेत पेश गर्नु पर्नेछ ।

३६. थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्यादः (१) ऐनको दफा १९ को उपदफा (४) बमोजिम थप दस्तुर मिनाहाको लागि कर तिर्नु पर्ने म्याद भुक्तान भएको मितिले तीस दिनभित्र महानिर्देशक समक्ष अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा थप दस्तुर मिनाहा दिइने छैन ।

३७. कर निर्धारणको अवधिः ऐनको दफा २० को उपदफा (४) बमोजिमको अवधि गणना गर्दा करको सम्बन्धमा कुनै अदालतमा निवेदन परी स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ ।

३८.  ………