परिच्छेद–८ कर कट्टी तथा कर फिर्तासम्बन्धी व्यवस्था

परिच्छेद–८ कर कट्टी तथा कर फिर्तासम्बन्धी व्यवस्था

३९. कर कट्टी गर्न पाइनेः (१) दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा संकलन गरेको करबाट सो महिना वा सोभन्दा अगाडि आफ्नो कर लाग्ने वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको कर देहायको अवस्थामा कट्टी गर्न पाउनेछः–

(क) कर कट्टी दावी गरिएको वस्तु वा सेवा कर योग्य व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएमा ।
(ख) आन्तरिक खरिद गरिएको भए नियम १७ बमोजिमको कर बिजक प्राप्त गरेको भएमा ।
(ग) आयात गरिएको भए आयात गर्दा कर तिरेको प्रमाणित गर्ने आयात सम्बन्धी कागजातहरू भएमा ।

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “आयातसम्बन्धी कागजातहरू” भन्नाले प्रज्ञापनपत्र, नगदी रसीद, सामानको बिजक तथा भन्सारको बाटो भई आयत नहुने सेवाको आपूर्तिको हकमा सेवाको विजक र विभागले समय समयमा तोकेको तत्सम्बन्धी अन्य कागजातहरू सम्झन पर्छ ।

(२) यस नियम बमोजिम कर कट्टी गर्दा एकपटक मात्र गर्न पाइनेछ । यसरी कर कट्टी गर्दा दाबी गरिएको मितिभन्दा एक वर्ष अगाडिसम्मको बिजक वा आयातसँग सम्बन्धित कागजातहरू हुनु पर्नेछ ।

(३) दर्ता भएको व्यक्तिले प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा निजले वस्तु बिक्री गर्दा संकलन गरेको करबाट वस्तु खरिद वा आयात गर्दा तिरेको कर कटाइ बाँकी रहेको रकम कर विवरणसाथ कर कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

(४) दर्ता भएको व्यक्तिले खरिद वा आयात गर्दा तिरेको कर रकम निजले बिक्री गर्दा संकलन गरेको रकमभन्दा बढी भएमा त्यस्तो बढी भएको जति रकम अर्को कर अवधिमा कट्टी गर्न पाउनेछ । यसरी अर्को कर अवधिमा कट्टी गर्न पाउने रकम लगातार चार महिनासम्म बाँकी रहेमा एकमुष्ट फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । यस्तो दरखास्त प्राप्त भएपछि कर अधिकृतले नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले कुनै महिनामा बिक्री गरेको कूल मासिक बिक्रीको चालीस प्रतिशतभन्दा बढी निर्यात गरेमा सो महिनाका लागि बढी भएको कट्टी गर्नु पर्ने कर फिर्ता पाउन निजले अनुसूची–१० बमोजिमको ढाँचामा निर्यातसँग सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न राखी कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । कर अधिकृतले त्यस्तो दरखास्त प्राप्त गरेपछि नियम ४५ बमोजिम बाँकी कर फिर्ता दिनु पर्नेछ । यसरी बाँकी कर फिर्ता दिने निर्णय गर्दा कर अधिकृतले देहायका कुराहरूमा ध्यान दिनु पर्नेछः–

(क) खरिद वा आयातमा कर तिरेको छ छैन ।
(ख) पहिले पेश गर्नु पर्ने कर विवरण पेश गरेको छ छैन र पेश गरेको भए त्यस्तो कर विवरणबाट कर फिर्ताको दावी पुष्टि हुन्छ हुँदैन ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “निर्यातसँग सम्बन्धित कागजातहरू” भन्नाले वस्तु विनिमयको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, प्रतीतपत्र र आयात प्रमाणपत्र र निर्यातको हकमा निर्यात प्रमाणपत्र, सामान प्राप्त गरेको प्रमाणपत्र, भुक्तानी प्रमाणपत्र र प्रतीतपत्र सम्झनुपर्छ ।

३९क. नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्नेः

(१) कुनै वस्तु आगजनी, चोरी, दुर्घटना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानी नोक्सानी हुन गई त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले तीस दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन छानविन गर्दा हानी नोक्सानी भएको देखिएमा कर अधिकृतले त्यस्तो हानी नोक्सानी भएको वस्तुमा तिरेको करकट्टी गर्न दिन सक्नेछ ।

तर बीमा गरिएको वस्तुको हकमा क्षतिपूर्ति प्राप्त गरेको हदसम्म हुने रकम करदाता स्वंयले करकट्टी गर्न सक्नेछ ।

४०. कर कट्टी सम्बन्धी अन्य व्यवस्थाः (१) कर कट्टी गरिएको वस्तुहरू स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरू कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनुपर्नेछ । कर अधिकृतले त्यस्ता वस्तुहरू हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरू कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरू प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ ।

(२) उपनियम (१) बमोजिम बिक्री भएका वस्तुहरूमा लाग्ने कर दाखिल गर्न सम्बन्धित करदातालाई कर अधिकृतले आदेश दिन सक्नेछ । त्यस्तो कर रकम कर अधिकृतले तोकेको महिनाको कर विवरणसँग दाखिल गर्नु पर्नेछ । तर कर अधिकृतको विचारमा त्यस्तो कर तत्कालअसुल नगरेअसुल हुन नसक्ने अवस्था छ भने तुरुन्त करदाताबाट दाखिल गर्न लगाउन सक्नेछ ।

(३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएका वस्तु वा सेवा दुबैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ ।

(४) कर लाग्ने वा कर छुट भएको दुबै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएका वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रूपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को बैकल्पिक तरीकाद्वारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ ।

४१. कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरूः (१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरूको हकमा कर कट्टी गर्न पाईने छैनः–
(क) पेय पदार्थ,
(ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, वीयर,
(ग) पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र एल.पि.ग्यास),
(घ) मनोरञ्जन खर्च,

(२) देहायका वस्तुहरूमा देहायबमोजिम अनुपातमा कर कट्टी गर्न पाइनेछः–
(क) ………..
(ख) अटोमोवाइल्समा खरिद मूल्यको ४० प्रतिशत ।
(ग) ………..

स्पष्टीकरणः खण्ड (ख) को प्रयोजनको लागि “अटोमोवाइल्स” भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पांग्रा भएको सडकमा गुड्ने यात्रुवाहक सवारीको साधन सम्झनुपर्छ ।

(३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रियाबमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन ।

४२. बिक्री कर कट्टी सम्बन्धी व्यवस्थाः ऐन प्रारम्भ हुनु भन्दा अगाडि देहाय बमोजिमका मौज्दातमा रहेका वस्तुहरूमा तिरेको बिक्री कर मात्र कट्टी गर्न पाइनेछः–
(क) पुनः बिक्रीको लागि करदाताले ल्याएका वस्तुहरूमा,
(ख) व्यापारको लागि आंशिक रूपमा उत्पादित तथा सह उत्पादित वस्तुहरू तथा सेवाहरूमा,

(ग) कच्चा पदार्थ सहायक कच्चा पदार्थहरू र पैकिंग वस्तुहरूमा ।

४३. निवेदन दिनु पर्नेः (१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची– १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः–
(क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,
(ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण,
(ग) अन्य आवश्यक प्रमाण ।

(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ । ।

(४) उपनियम (१) बमोजिम दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।

४४. प्रयोग भैसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्थाः ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भैसकेका वस्तुहरू मध्ये दर्ता नभएको व्यक्तिसँग खरीद गरेका वस्तुहरू र दर्ता भएको व्यक्ति भएपनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरूको खरीदमा तिरेको कर कट्टी गर्न पाइने छैन ।

४५. कर फिर्ता सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा २४ को उपदफा (३) र (४)‚ दफा २५‚ दफा २५ग१. वा दफा २५ग२. को प्रयोजनको लागि कर फिर्ता दिँदा कर अधिकृतले करदाताबाट फिर्ताका लागि पेश गरिएका प्रमाणहरु तुरुन्त छानबिन गरी दर्ता भएको मितिले दफा २४ को उपदफा (३) वा दफा २५ग१. को हकमा साठी दिनभित्र र दफा २४ को उपदफा (४), दफा २५ वा दफा २५ग२. को हकमा तीस दिनभित्र फिर्ता दिनु पर्नेछ ।

(२) ऐनको दफा २४ को उपदफा (३), दफा २५, दफा २५ग१. वा दफा २५ग२. बमोजिम प्राप्त हुन आएको प्रमाणहरू पुनः छानवीन गर्नु पर्ने आवश्यकता भए सो अविलम्ब गरी पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ । फिर्ता दिंदा बीस हजार रुपैयाँभन्दा बढी भएमा निजको बैङ्क खातामा नै जम्मा हुने गरी भुक्तानी गर्नु पर्नेछ ।

(२क) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) र (क१) बमोजिमका कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभागमा सूचीकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरेको कर विभागले तोकेको प्रक्रिया बमोजिम तीन दिनभित्र फिर्ता गरिनेछ ।

(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर फिर्ता माग गर्दा सोही उपदफाको खण्ड (क) र (क१) को प्रयोजनको लागि अनुसूची ( १७‚ खण्ड (क२) को प्रयोजनको लागि अनुसूची ( १७क.‚ खण्ड (ख) र (ग) को प्रयोजनका लागि अनुसूची ( १८ र ऐनको दफा २५ग२. को प्रयोजनको लागि अनुसूची– १८क. को ढाँचामा विभागमा निवेदन दिन सक्नेछ ।

४६. फिर्ता नहुनेः ऐन र यस नियमावली बमोजिम ………. नक्कल लिनु पर्ने निर्णय आदेश, फैसला, पर्चा वा अन्य कागजातहरू लेखा अवधि समाप्त भएको मितिले तीन वर्षभित्र निवेदन नदिएमा दिईने छैन ।

४७ ब्याजको दरः ऐनको दफा २४ को उपदफा (५) को प्रयोजनकोलागि नेपाल सरकारले दिने ब्याजको दर वार्षिक पन्ध्र प्रतिशत हुनेछ । यस्तो ब्याज रकम ऐनको दफा २४ को उपदफा (३) र (४) वमोजिम फिर्ता माग गरेको मितिले साठी दिनपछि मात्र गणना गरिनेछ ।