परिच्छेद–१० सम्पति रोक्का, लिलाम विक्री र खान तलासी सम्बन्धी व्यवस्था

परिच्छेद–१० सम्पति रोक्का, लिलाम विक्री र खान तलासी सम्बन्धी व्यवस्था

५२. सम्पत्ति रोक्का सम्बन्धी व्यवस्थाः (१) ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने कर, दस्तुर र ब्याज करदाताले नियम ३० बमोजिमको म्यादभित्र नबुझाएमा कर अधिकृतले ऐनको दफा २१ बमोजिम बक्यौता कर, दस्तुर, जरीवाना र ब्याज असुल गर्नको लागि सम्पत्ति रोक्का राख्न सक्नेछ ।

(२) उपनियम (१) को प्रयोजनको निमित्त करदाताको सम्पत्ति रोक्का गर्दा देहायबमोजिम गर्नु पर्नेछः
(क) सूचना दिइसकेपछि करदाताको चल वा अचल सम्पत्ति कर दाखिल नगरेसम्म बिक्री वितरण वा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा रोक्का गर्न लेखी पठाउने ।

(ख) करदाताको कुनै सम्पत्ति कुनै व्यक्ति विशेषको संरक्षणमा वा साथमा छ भन्ने कर अधिकृतले थाहा पाएमा त्यस्तो सम्पत्ति
रोक्का गर्न सम्बन्धित व्यक्तिलाई कर अधिकृतले यस नियमको अधीनमा रही आदेश दिने ।

५३. लिलाम बिक्री सम्बन्धी व्यवस्थाः (१) नियम ५२ बमोजिमको कारवाई गर्दा पनि कर असुल नभएमा कर अधिकृतले देहाय बमोजिमको प्रक्रिया पुर्‍याई करदाताको सम्पत्ति पूर्ण वा आंशिक रूपमा लिलाम बिक्री गरी कर असुल गर्न सक्नेछः–

(क) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति एकीन गरी सो सम्पत्ति र लिलाम बिक्री गर्नु पर्ने कारण तथा लिलाम बिक्री हुने स्थान र
मिति समेत उल्लेख भएको सूचना लिलाम हुने मितिभन्दा कम्तिमा पन्ध्र दिन अगावै सार्वजनिक रूपमा प्रकाशित गर्ने ।
(ख) लिलाम गर्दा लिलाम गर्ने वस्तु रहेको स्थानको गाउँपालिका वा महा/उप/महा/नगरपालिकाको एक जना प्रतिनिधि
वा नजीकको सरकारी कार्यालयको एक जना प्रतिनिधि र सम्भव भएसम्म करदाता वा निजको प्रतिनिधि समेतलाई साक्षी राख्ने ।

(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट सर्वप्रथम लिलामसम्बन्धी सम्पूर्ण खर्च असुल गरी बाँकी रहन आएको रकमबाट करदाताले तिर्नु पर्ने कर, दस्तुर, जरीवाना र ब्याजको रकम असूल उपर गरी बढी भए जति रकम करदातालाई फिर्ता गर्नुपर्नेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताको सम्पत्ति लिलाम हुनु अगावै करदाताले लिलामसम्बन्धी सम्पूर्ण खर्च, तिर्न बुझाउन पर्ने कर, दस्तुर, जरीवाना र ब्याज समेतको सम्पूर्ण रकम दाखिल गर्न ल्याएमा असुल उपर गरी लिलाम बिक्री बन्द गर्नुपर्नेछ ।
(४) नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए तापनि करदाताले तिर्नुपर्ने करअसुल गर्न बाँकी छँदै कुनै बैंक वा वित्तीय संस्थामा निजको नाममा रकम जम्मा भएको जानकारी कर अधिकृतलाई प्राप्त भई त्यस्तो रकम असूल भएमा सो बाँकी कारवाही बन्द गर्नु पर्नेछ ।
(५) आंशिक असूली हुने भएमा क्रमशः लिलामसम्बन्धी खर्च, ब्याज, दस्तुर, जरीवाना र करको रकम असूल गरिनेछ ।

५४. तुरुन्त लिलाम गर्नेः नियम ५२ बमोजिम सम्पत्ति रोक्का रहेको सम्बन्धमा कुनै अदालतमा निवेदन वा पुनरावेदन परी रोक्का रहने अवधि लामो हुन गई रोक्का रहेको सम्पत्ति सड्ने, बिग्रने वा नष्ट हुने देखिएमा कर अधिकृतले त्यस्तो माल वा वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाध्नु पर्नेछ र रोक्का रहेको रकम पछि अदालतको निर्णयबाट करदाताले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । करदाताले माल वा वस्तु नै पाउँ भनी दाबी गर्न सक्ने छैन ।

५५. खान तलासीको कार्यविधिः (१) ऐनको दफा २३ को उपदफा (२) को खण्ड (ख) बमोजिम खानतलासी लिनु पर्दा देहायबमोजिम गर्नु पर्नेछः–

(क) जुन विषयको सम्बन्धमा खानतलासी गर्न लागेको हो सो विषयसँग सम्बन्धित कुनै कागजात वा वस्तु कुनै घर वा अरू
कुनै ठाउँमा फेला पर्ने सम्भावना छ भनी विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण भएमा र सो वस्तु सो घर वा ठाउँको तुरुन्त तलासी नलिएको खण्डमा प्राप्त नहुने आशंका भएमा वा जाँच गर्न तत्कालै आवश्यक भएमा कर अधिकृतले आफै वा अन्य कर्मचारी खटाइ त्यस्तो घर वा स्थानको तलासी लिन वा लिन लगाउन सक्नेछ ।

(ख) खण्ड (क) बमोजिम तलासी लिने घर वा स्थलमा बसोबास गरिआएका वा सो घर वा स्थलको धनी वा संरक्षकलाई तलासी
लिने ब्यक्तिले तलासी लिन खोजेको कारण खोली सो कुराको सूचना दिनुपर्नेछ र सो बमोजिम सूचना पाएपछि त्यस्तो व्यक्तिले तलासी लिन आउने व्यक्तिलाई त्यस्तो घर वा स्थलमा प्रवेश गर्न दिनु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिम तलासी लिने घर वा ठाउँमा बस्ने व्यक्ति वा धनी वा संरक्षकले तलासी लिन आएका ब्यक्तिलाई यस्तो
घर वा स्थलमा प्रवेश गर्न नदिएमा तलासी लिने ब्यक्तिले सो घर वा स्थलमा रहे बसेका स्वास्नी मानिसहरूलाई त्यहाँबाट हट्ने सूचना र मनासिव समय दिई आवश्यकता अनुसार कुनै झ्याल ढोका, छेस्किनी खोली, तोडी भित्र पसी तलासी लिन सक्नेछ ।

(घ) खण्ड (ग) बमोजिम तलासी लिंदा सम्बन्धित गाउँपालिका/महा/उप–महा/नगरपालिकाको कम्तीमा एक जना
सदस्य वा स्थानीय दुई जना व्यक्ति वा घरधनी वा उसको एक जना प्रतिनिधि वा कुनै एक जना साक्षी राखी तलासी लिनु पर्नेछ ।

(ङ) खण्ड (घ) बमोजिम साक्षी बस्ने मानिस फेला नपरेमा वा साक्षी वस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाइ तलासी लिने व्यक्तिले सहीछाप गरेपछि खण्ड (ग) को प्रकृया पूरा भएको मानिनेछ ।

(च) यस नियम बमोजिम तलासी लिंदा कुनै मानिसको शरीरको तलासी लिनु परेमा सो समेत लिन सकिनेछ र तलासी लिनु पर्ने
ब्यक्ति स्वास्नी मानिस भएमा निजको तलासी स्वास्नी मानिसबाटै लिनु पर्नेछ ।

(छ) यस नियम बमोजिम तलासी लिंदा प्राप्त भएका मालवस्तु वा कागजातको विवरण तयार गरी तीन दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।