परिच्छेद – ८, हाजिरी र बिदा

परिच्छेद – ८, हाजिरी र बिदा

३८. कर्मचारीको सबै समय सचिवालयको अधीन हुने :- यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक व्यवस्थापिका–संसद सेवाका कर्मचारीको सबै समय सचिवालयको अधीनमा हुनेछ र जुनसुकै समयमा पनि निजलाई काममा लगाउन सकिनेछ ।

३९. कार्यालय समय, समय पालन र हाजिरी :-

(१) सचिवालयको लागि कार्यालय समय नेपाल सरकारले सरकारी कार्यालयहरूको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारित समयमा कार्यालयमा नआउने र कार्यालयमा पटक पटक ढिलो आउने, कार्यालयवाट पटक पटक चाँडो जाने तथा कार्यालयको काममा बाहेक कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छोड्ने कर्मचारीलाई महासचिवले गयल कट्टी गर्नेछ । तर महिनाको तीन पटकसम्म निर्धारित समय भन्दा पन्ध्र मिनेटसम्म ढिला गरी आउने कर्मचारीलाई महासचिवले सोको अभिलेख राखी हाजिर गर्न दिन सक्नेछ ।
(३) मुनासिब माफिकको कारण परेमा बाहेक बिदाको स्विकृति नलिई कुनै पनि कर्मचारी सचिवालयमा अनुपस्थित हुनु हुँदैन । यसरी अनुपस्थित हुने कर्मचारीले सात दिन भित्र बिदाको निवेदन दिनु पर्नेछ ।

४०. भैपरी आउने र पर्व बिदा :-

(१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह्र दिन बिदा लिन पाउनेछ ।
(२) भैपरी आउने बिदा र पर्व बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) भैपरी आउने बिदा र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ ।

स्पष्टीकरण :- यस उपनियमको प्रयोजनको लागि “आधा दिन” भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ ।
(४) एक वर्षको भैपरी आउने बिदा र पर्व बिदा संचित गरी अर्को वर्षमा लिन पाइने छैन ।
(५) मौखिक अनुरोधको आधारमा पनि बिदा दिने अधिकारीले भैपरी आउने बिदा र पर्व बिदाको स्वीकृति दिन सक्नेछ ।

४१. घर बिदा :- (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर बिदा पाउनेछ ।

(२) यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने बिदा, पर्व बिदा, सट्टा बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदालाई समेत जनाउनेछ ।

(३) घर बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(४) कर्मचारीले आफूले पकाएको घर बिदा एक सय असी दिनसम्म संचित गरी राख्न पाउनेछ ।
(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको संचित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(६) संचित रहेको घर बिदाको रकम लिन नपाउँदै कर्मचारीको मृत्यु भएमा त्यस्तो संचित घर बिदाको रकम नियम ९२ को उपनियम (२) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।

(७) घर बिदा, अध्ययन बिदा वा असाधारण बिदामा बसेको कर्मचारीले सो अवधिभरको घर बिदा पाउने छैन ।
(८) कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट सचिवालयमा फर्कि आउँदा पैदल बाटोलाई बढीमा आठकोशको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाइजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।

(९) कुनै कर्मचारीको उपनियम (४) बमोजिम सञ्चित हुने दिन भन्दा बढी घर बिदा हुने भएमा त्यस्तो बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम चालू आर्थिक वर्षभित्र निजलाई एकमुष्ट उपलव्ध गराइनेछ ।

४२. बिरामी बिदा :- (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ । (२) बिरामी बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) कर्मचारी अशक्त बिरामी भई संचित बिरामी बिदाले नपुग्ने भएमा निजलाई बढीमा बाह्र दिनसम्मको पेश्की बिरामी बिदा दिन सकिनेछ ।
(४) कर्मचारीले असाधारण बिदा र ऐनको दफा ५९ को उपदफा (२) बमोजिमको वेतलवी बिदा बाहेक अन्य बिदा लिएको अवधिमा समेत बिरामी बिदा पाउनेछ ।

(५) सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ । तर त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने बिदा दिने अधिकारीलाई विश्वास लागेमा निजले सो व्यहोरा जनाइ प्रमाणपत्र विना नै उक्त बिदा स्वीकृत गर्न सक्नेछ ।

(६) कर्मचारीले आफूले पकाएको बिरामी बिदा संचित गरी राख्न पाउनेछ । (७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको संचित रहेको बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(८) संचित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कर्मचारीको मृत्य भएमा त्यस्तो संचित बिरामी बिदाको रकम नियम ९२ को उपनियम (२) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।

(९) कुनै ठूलो वा कडा रोग लागि उपचार गर्न बिरामी बिदा र घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी पैंतालीस दिनसम्म थप बिरामी बिदा पेश्कीको रूपमा लिन सक्नेछ । त्यसरी पेश्की बिरामी बिदा लिई बसेको कर्मचारीले पूरा तलब पाउनेछ ।

(१०) उपनियम (९) बमोजिम लिएको बिदाले नपुग भई थप बिदा लिनु परेमा नेपाल सरकारले निजामती सेवामा कार्यरत कर्मचारीका लागि तोकेको मेडिकल बोर्डको सिफारिसमा कर्मचारीले पाउने असाधारण बिदाबाट कट्टा हुने गरी सेवा अवधिभरमा बढीमा एक वर्ष असाधारण बिदा लिन सक्नेछ ।

(११) उपनियम (९) बमोजिम पेश्की बिरामी बिदा लिने कर्मचारीको मृत्यु भएमा त्यसरी पेश्की लिएको बिरामी बिदा स्वतः मिनाहा हुनेछ ।

४३. प्रसूति बिदा :- (१) महिला कर्मचारी गर्भवती भएमा निजले आफ्नो सेवा अवधिभरमा दुई पटक सम्म सुत्केरीको अघिपछि गरी प्रत्येक पटक साठी दिन प्रसूति बिदा लिन पाउनेछिन् ।
(२) प्रसूति बिदामा बस्दा महिला कर्मचारीले पूरा तलब पाउनेछिन् ।
(३) सुत्केरी भएका महिला कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म वेतलवी प्रसुती बिदा लिन पाउनेछिन् ।
तर उपनियम (१) र (३) बमोजिमको बिदा लगातार हुनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको वेतलवी प्रसुती बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिने छ ।
(५) प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई वटा वच्चाको लागि जनही एकमुष्ट पाँचहजार रूपैयाँ शिशु स्याहार भत्ता दिईनेछ ।
(६) प्रसूति बिदा लिएको अभिलेख सचिवालयले अद्यावधिक बनाइ राख्नु पर्नेछ ।

४४. प्रसूति स्याहार बिदा :- (१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) प्रसूति स्याहार बिदा सेवा अवधिभर दुई पटक मात्र दिइनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको कर्मचारीले बिदा लिएको मितिले तीनमहिना भित्र श्रीमती सुत्केरी भएको निस्सा वा वच्चाको जन्मदर्ता प्रमाणपत्र आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने निजामती कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसूति स्याहार बिदाको अभिलेख सचिवालयले अद्यावधिक बनाइ राख्नु पर्नेछ ।

४५. किरिया बिदा :- (१) कुनै कर्मचारीले कुल धर्म अनुसार आपैmं किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासुससुराको मृत्यु भएमा वा पुरुष कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ ।
महिला कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया बिदा दिइनेछ ।
(२) किरिया बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) उपनियम (१) बमोजिम बिदा लिने कर्मचारीले बिदा पछि कार्यालयमा हाजिर भएको पन्ध्र दिन भित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।

४६. अध्ययन बिदा :- (१) व्यवस्थापिका–संसद सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा व्यवस्थापिका–संसद वा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा वा स्वदेशी विश्वविद्यालयबाट प्राप्त छात्रवृत्ति वा कोटामा स्वीकृति लिई खुल्ला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा मनोनयन भई अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउनेछ ।

(२) आफ्नो सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा, नेपालसँग दौत्य सम्बन्ध कायम भएका देश वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी पूर्व स्वीकृती लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागि हुने अवसर पाएका कर्मचारीलाई समेत उपनियम (१) बमोजिम अध्ययनको लागि मनोनयन गरी अध्ययनका लागि अध्ययन बिदा र तालीमको लागि तालीम काज दिन सकिनेछ ।

(३) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर समितिले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।

(४) अध्ययन बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न जाने कर्मचारीलाई उपनियम (३) बमोजिमको अध्ययन बिदा दिइनेछ ।

तर यो नियमावली प्रारम्भ भएपछि यस्तो अध्ययन बिदामा बस्ने कर्मचारीले तलब र अन्य सुविधा पाउने छैन ।

(६) तीन वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले अध्ययन बिदा पाउन सक्ने छैन ।

स्पष्टीकरण :- यस नियमावली बमोजिम कर्मचारीले गरेको अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना भएको रहेछ भने यस उपनियमको प्रयोजनको लागि सो अस्थायी सेवा अवधि समेत गणना गरिनेछ ।

(७) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको कर्मचारीले पूर्व स्वीकृति विना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक सस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा स्वतः रद्द हुनेछ । यसरी बिदा रद्द भएको विवरण सचिवालयले निजामती किताबखानामा पठाउनु पर्नेछ ।

(८) कुनै कर्मचारीले कार्यालय समय बाहेकको समयमा कुनै शिक्षण संस्थाम  अध्ययन गर्न वा परीक्षा दिन चाहेमा सचिवालयलाई जानकारी दिनु पर्नेछ ।

४७. असाधारण बिदा :- (१) कर्मचारीले असाधारण बिदा लिनु पर्ने कारण सहित निवेदन दिनु पर्नेछ र कारण मनासिब देखिएमा समितिले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण बिदा दिन सक्नेछ ।

(२) असाधारण बिदामा बस्ने कर्मचारीले सो अवधिभर तलब पाउने छैन । तर नियम ४२ को उपनियम (१०) बमोजिम असाधारण बिदामा बस्ने कर्मचारीले त्यस्तो बिदामा बसेको अवधिको पूरा तलब पाउनेछ ।

(३) नियम ४९ को अवस्था वाहेक पाँच वर्ष सरकारी सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन ।
तर नियम ४२ को उपनियम (१०) बमोजिम थप बिरामी बिदा बापत असाधारण बिदामा बस्न यस उपनियमले बाधा पुर्याएको मानिने छैन ।
(४) कर्मचारीले लिएको नियम ४२ को उपनियम (१०) बमोजिमको असाधारण बिदा वाहेकको असाधारण बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।

४८. बेतलवी बिदा :- (१) ऐनको दफा ५९ को उपदफा (२) बमोजिमको बेतलवी बिदा माग गर्ने कर्मचारीले आफ्नो पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ ।

(२) कर्मचारीले उपनियम (१) बमोजिमको बिदा एकै पटक वा पटक पटक गरी बढीमा पाँच वर्ष सम्म पाउनेछ ।

(३) यस नियम बमोजिमको बिदा समितिबाट स्वीकृत हुनु पर्नेछ ।

४९. अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिने :- (१) अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न ईच्छुक कर्मचारीले सो कुराको पूर्व जानकारी समितिलाई दिई अन्य सम्बन्धित कारबाही प्रारम्भ गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको पूर्व जानकारी दिएका कर्मचारीले बिदा लिई अन्तराष्ट्रिय संघ, संस्थामा सेवा गर्न जान निवेदन दिएमा समितिले नियम ४७ बमोजिम निजले पाउन सक्ने असाधारण बिदाबाट कट्टा हुने गरी पछि व्यवस्थापिका–संसद सेवामा फर्कि आउने अनुसूची–९ बमोजिमको ढाँचामा कबुलियत गराइ निजलाई त्यस्तो सेवा गर्न जानको लागि अनुमति दिनेछ । तर कुनै कर्मचारीले यस्तो बिदा समाप्त भएपछि पनि सेवा गर्न नआएमा त्यस्तो कर्मचारीलाई कबुलियत बमोजिम विभागीय कारबाही गरिनेछ ।

५०. बिदा माग गर्ने विधि :- (१) नियम ४६ र ४७ बाहेक अन्य बिदाको निकासाको निमित्त कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची–१० को ढाँचामा बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम माग भएको बिदामध्ये देहाय बमोजिमको बिदा देहाय बमोजिमको अवधिमा स्वीकृत वा अस्वीकृत गर्नु पर्नेछ :–
(क) घर बिदा र विरामी बिदाको हकमा सात दिनभित्र,
(ख) असाधारण बिदा, अध्ययन बिदा र बेतलवी बिदाको हकमा साठी दिनभित्र ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र बिदा स्वीकृत वा अस्वीकृतको निर्णय नभएमा सो बिदा स्वीकृत भएको मानिनेछ ।
तर यस नियमावली बमोजिम कबुलियत गर्नु पर्ने बिदाको हकमा त्यस्तो कबुलियत नगरी सम्बन्धित कर्मचारी बिदामा बस्न पाउने छैन ।

(४) देहायको कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट बिदा स्वीकृत गर्न सक्नेछ ।
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने,
(५) अध्ययन बिदाको लागि निवेदन दिंदा अरू कुराको अतिरिक्त मुख्यतः देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) आफूले अध्ययन गर्न खोजेका विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वबिदालय, संस्था वा प्रशिक्षण केन्द«मा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण र समयावधि,
(ग) समितिलाई त्यस्तो बिदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण ।

५१. बिदा दिने अधिकारी :-

(१) अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा बाहेक अन्य बिदा स्वीकृति गर्ने अधिकार महासचिवलाई हुनेछ ।
(२) कुनै कर्मचारीले लिएको बिदा आफुलाई आवश्यक नभएको भनी निवेदन दिएमा बिदा स्वीकृत गर्ने अधिकारीले त्यस्तो बिदा रद्द गरी निजलाई हाजिर गराउने छ ।

५२. बिदा परिणत नहुने :- यस परिच्छेद बमोजिम कर्मचारीले जुन बिदा लिई बसेको हो सोही बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो बिदा पछि किरिया बिदा वा प्रसूति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत गराउन पाइने छैन ।

५३. सार्वजनिक बिदा गाभिने :- भैपरी आउने र पर्व बिदा, सटृा बिदा, घर बिदा र विरामी बिदा बाहेक अरू कुनै प्रकारको बिदा लिई बसेको कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो सार्वजनिक बिदाको अवधि पनि निजले लिएको बिदाको अवधि भित्रै गणना गरिनेछ ।

५४. सचिवालयमा अनुपस्थित हुने उपर कारबाही :- बिदा नलिई अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिने छ । यसरी गयल भएको अवधि सेवा अवधिमा गणना हुने छैन ।

५५. बिदाको अभिलेख :-

(१) बिदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने कर्मचारीको बिदाको अभिलेख राख्न लगाउनु पर्नेछ । कुनै कर्मचारीलाई प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा वा अध्ययन बिदा दिएकोमा त्यसको सूचना निजामती किताबखाना र सचिवालयको आर्थिक प्रशासन शाखालाई पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको बिदाको अभिलेखको छायाँप्रति सम्बन्धित कर्मचारीलाई समेत दिनु पर्नेछ ।

५६. सट्टा बिदा :- महासचिव, व्यवस्थापिका संसदको सचिव वा सचिवालय सचिवको पूर्व स्वीकृति लिई सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीले सार्वजनिक बिदाको दिन काम गरे वापत सट्टा बिदा पाउनेछ र त्यस्तो बिदा सोही वर्ष भित्रमा आलो पालो मिलाई वस्नु पर्नेछ ।

५७. बिदा अधिकारको कुरा होइन :- बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो ।