परिच्छेद – ८ फैसला र आदेश सम्बन्धी व्यवस्था

परिच्छेद – ८ फैसला र आदेश सम्बन्धी व्यवस्था

४६. फैसला र आदेशः  मुद्दाको सुनुवाई गर्दा सम्बन्धित पक्षको भनाई र कानून व्यवसायीहरुको बहस समाप्त भएपछि इजलासबाट सोही दिन निर्णय सुनाउनु पर्नेछ र सो निर्णयको छोटकरी विवरण राय किताबमा लेखी न्यायाधीशले दस्तखत गरी उपस्थित पक्षलाई सुनाई राय किताबमा सही समेत गराई राख्नु पर्नेछ । त्यस्तोमा सात दिनभित्र फैसला वा अन्तिम आदेश लेखी सही गरी मिसिल संलग्न गराउनु पर्नेछ ।

तर इजलास समक्ष पेश भई छलफल भएको कुनै मुद्दामा मुद्दाको जटिलता समेतको कारणले उसै दिन निर्णय सुनाउन नसकिने अवस्था परेमा लिखित रुपमै फैसला सुनाउनका लागि इजलासले पन्ध्र दिनसम्मको तारिख तोक्न सक्नेछ ।

४६क. प्रारम्भिक सुनुवाईको अवस्थामा मुद्दा किनारा हुन सक्नेः पहिलो पटक इजलासमा मुद्दा पेश भएको अवस्थामा अभियोग दाबी प्रमाणित हुनेसम्मको आधार र प्रमाण प्रस्तुत हुन आएको नदेखिएमा वा हदम्याद, हकदैया, अदालतको अधिकारक्षेत्र भएको नदेखिएमा वा थप प्रमाण बुझी रहनु पर्ने नदेखिएमा सोही पेशीकै दिन त्यस्तो मुद्दा किनारा गर्न सकिनेछ ।

४६ख. बन्द इजलासको व्यवस्था र कार्यविधिः (१) बालबालिका, जबरजस्ती करणी, जीउ मास्ने बेच्ने, नाता कायम, सम्बन्ध  विच्छेद सम्बन्धी मुद्दा वा खुला इजलासबाट सुनुवाई गर्नु मनासिब नभएको भनी अदालतले बन्द इजलासबाट हेर्ने भनी आदेश गरेका अन्य मुद्दाको सुनुवाई बन्द इजलासमा हुनेछ ।

(२) उपनियम (१) अन्तर्गत बन्द इजलासमा मुद्दाको कारबाही चल्दा सम्बन्धित कानून व्यवसायी, सरकारी वकील, विशेषज्ञ, अभियुक्त, पीडित व्यक्ति, निजको संरक्षक तथा अदालतले अनुमति दिएका प्रहरी र अदालतका कर्मचारी मात्र उपस्थित हुन सक्नेछन् ।

(३) बन्द इजलासबाट हेरिएका मुद्दा सम्बन्धी कागजातको प्रतिलिपि वादी, प्रतिवादी र पीडित बाहेक अरुलाई दिन हुँदैन ।

(४) बन्द इजलासबाट हेरिएका मुद्दाको तथ्य खुलाई कुनै पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्नु हु“दैन । तर अदालतले अनुमति दिएमा पीडितको परिचय नहुने गरी समाचार सम्प्रेषण गर्न सकिनेछ ।

४७. फैसला लेख्दा खुलाउनु पर्ने व्यहोराः (१) पक्ष विपक्षको दाबी तथा जिकिर, निर्णय गर्नु पर्ने विषय, दुवै पक्षका प्रमाणका कुराहरु, कानूनी प्रश्न भएकोमा त्यसको व्याख्या समेतको व्यहोरा न्यायाधीशले आफ्नो ठहर लेख्दा फैसलामा खुलाउनु पर्नेछ ।

(२) उपनियम (१) मा लेखिएको कुराको अतिरिक्त देहायका कुराहरु समेत स्पष्ट रुपले खुलाउनु पर्नेछः–

(क) साक्षी वा सर्जमिनको बकपत्रको सारांश,
(ख) दुवै पक्षले तथ्य र कानून सम्बन्धमा उठाएका प्रश्नहरु,
(ग) कानून व्यवसायीको बहसको मुख्य मुख्य बुँदाहरु,
(घ) वादी वा प्रतिवादीले फिरादपत्र वा प्रतिउत्तरपत्र वा कानून व्यवसायीले बहस नोटमा कुनै सान्दर्भिक नजिर वा कानूनी सिद्वान्त उल्लेख गरेको भए सो नजिर वा सिद्धान्त प्रस्तुत मुद्दामा लागू हुने वा नहुने के हो त्यसको स्पष्ट विश्लेषण,
(ङ) कारण सहितको निर्णय र त्यसको आधार तथा तत् सम्बन्धी कानूनहरु,
(च) फौजदारी मुद्दा मामिलाको फैसलामा अभियुक्तले कुन ऐनको कुन दफा वा व्यवस्था अन्तर्गत अपराध गरेको ठहर्छ र निजलाई कुन ऐनको कुन दफा वा व्यवस्था अन्तर्गत के कति कस्तो किसिमको सजाय दिनु पर्ने हो सो कुरा,
(छ) प्रतिवादीबाट के कस्तो र कति कुरा दिलाई भराई चलन चलाउन पाउने हो सो कुरा,
(ज) व्याज समेत दिलाई भराई दिनु पर्नेमा कुन मितिदेखि कुन मितिसम्मको के कति रुपैया“को व्याज दिलाई वा भराई पाउने हो सो कुरा,
(झ) अभियोगपत्र साथ दाखिल भएका, अंश, सर्वश्व रोक्का वा जेथा जमानतका चल अचल धनमाल के गर्नु पर्ने हो सो कुरा,

(ञ) जग्गा रोक्का राखेको भए फुकुवा गर्नु पर्ने नपर्ने, कोर्टफी फिर्ता वा जफत गर्नु पर्ने वा नपर्ने र फैसला बमोजिम सम्बन्धित कार्यालयलाई सूचना वा पूर्जी दिनु पर्ने हो, होइन सो कुरा,
(ट) मुलुकी ऐन, अदालती बन्दोबस्तको १२४ नं. बमोजिम धरौट जफत हुने कुरा र जमानत दिएकोमा धरौट रकम असूल गर्ने कुरा ।

(३) न्यायाधीशले अदालतमा परेका पुनरावेदनमा फैसला वा अन्तिम आदेश गर्दा देहायका कुराहरू प्रकरण छुट्याई स्पष्ट रूपमा खुलाउनु पर्छः–

(क) मुद्दाका पक्षहरूको पुनरावेदन दाबी तथा जिकीर,
(ख) शुरुको फैसला वा अन्तिम आदेश वा निर्णयको छोटकरी विवरण,
(ग) निर्णय दिनु पर्ने विषय,
(घ) दुवै पक्षले तथ्य र कानून सम्बन्धमा उठाएका प्रश्नहरू,
(ङ) कानून व्यवसायीको बहसको मुख्य मुख्य बुँदाहरू,
(च) पुनरावेदनपत्र वा बहस नोटमा कुनै नजीर वा कानूनी सिद्धान्त उल्लेख गरिएको भए सो नजीर वा सिद्धान्त सान्दर्भिक छ वा छैन भन्ने कुराको स्पष्ट विश्लेषण,
(छ) कारण सहितको निर्णय र त्यसको आधार तथा तत्सम्बन्धी कानूनहरू, र,
(ज) मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाइएको आदेशमा उल्लेख भएको कुरासँग सहमत नभएकोमा त्यसको कारण ।

४८.अख्तियारवाला छेउ फैसला वा आदेश पठाउनेः आफू समक्ष पेश भएको मुद्दामा मिसिलबाट कुनै राष्ट्रसेवकले देहायको कुनै काम कुरा गरेको देखिएमा न्यायाधीशले आवश्यक सम्झे सो कुरा फैसला वा अन्तिम आदेशमा उल्लेख गरी निजलाई सचेत गराउन वा सो फैसला वा आदेशको प्रतिलिपि सम्बन्धित अख्तियारवाला छेउ पठाउन आदेश दिन सक्नेछः–

(क) कुनै गैर कानूनी काम गरेको, वा (ख) कानून बमोजिम पालन गर्नु पर्ने कर्तव्य जानी जानी पालन नगरेको वा त्यस सम्बन्धमा बद्नियत वा गम्भीर लापरबाही गरेको, वा
(ग) आफ्नो पद अनुरुपको आचरण नगरेको, वा
(घ) अदालतको आदेशलाई छल्ने वा कुनै किसिमबाट प्रभावहीन बनाउने बद्नियतले झुटो जवाफ दिएको वा समयमा स्पष्ट जवाफ नदिई आलटाल गरेको ।

४९. फैसला र आदेशको ढाँचाः फैसला अनुसूची–६ बमोजिम र अन्तिम आदेश अनुसूची–७ को ढाँचामा लेख्नु पर्छ ।

५०. फैसलामा जनाउनेः न्यायाधीशले बोलेर लेखाएको फैसला वा आदेशको अन्त्यमा न्यायाधीशले बोलेर लेखाए बमोजिम लेखिएको भनी फैसला तयार गर्ने कर्मचारीको दर्जा र नाम लेखी सही गराई न्यायाधीशले दस्तखत गरी मिसिल सामेल गर्न लगाउनु पर्छ ।

५१. फैसलाको सामान्य त्रुटीः सरोकारवाला पक्ष विपक्ष वा निजको वारिसले फैसलाको लेखाईमा वा टाइपमा कुनै भूल हुन गएको रहेछ भने त्यस कुराको जिकिर लिई निवेदनपत्र दिन सक्नेछ ।

५२. निवेदनपत्र इजलासमा प्रस्तुत गर्नेः

(१) नियम ५१ बमोजिम परेको निवेदनपत्र स्रेस्तेदारले अघि मुद्दा फैसला वा आदेश गर्ने न्यायाधीश समक्ष पेश गर्नेछ । सो न्यायाधीश अनुपस्थित भएमा अदालतमा उपस्थित रहेका न्यायाधीश समक्ष सो निवेदनपत्र पेश गरिनेछ र भूलसूधार हुनु पर्ने देखिएमा सो न्यायाधीशले छुट्टै पर्चा खडा गरी सच्याउनेछ ।

(२) उपनियम (१) बमोजिम खडा गरेको पर्चा मूल फैसला वा आदेशको अभिन्न अङ्ग मानिनेछ ।

५३. फैसलामा हेरफेर गर्न नहुनेः फैसला वा आदेशमा न्यायाधीशको दस्तखत भैसकेपछि कसैले पनि सो फैसला वा आदेशको अङ्क वा अक्षरमा कुनै कुराको हेरफेर वा थपघट गर्नु हुँदैन ।

५४. फैसला भएपछि गर्नु पर्ने कारबाहीः (१) फैसला भएपछि इजलास सहायकले फैसला बमोजिम कैद वा जरिबाना लागेको व्यक्ति तत्काल उपस्थित भएको अवस्थामा तत्कालै लगत कसी असुल गर्न तहसिलदार समक्ष पठाउनु पर्छ ।

(२) फैसला तयार भएपछि न्यायाधीशको दस्तखत गराई इजलास सहायकले फाँटवालालाई मिसिल फिर्ता बुझाई दिनु पर्छ र फाँटवालाले सो अनुसार मिसिल बुझी नियम १२ को खण्ड (च) बमोजिम गर्नु पर्छ ।