परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “पेट्रोलियम नियमावली, २०४१ रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “अन्वेषण अवधि” भन्नाले नियम १६ मा तोकिएबमोजिमको प्राथमिक अन्वेषण अवधि र त्यसमा थप भएको अवधि सम्झनु पर्छ ।
(ख) “अन्वेषण कार्य” भन्नाले पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियमको अन्वेषण गर्नको लागि तथा पत्ता लागेको पेट्रोलियमको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(ग) “अन्वेषण खण्ड” भन्नाले नियम ११ र १३ बमोजिम सीमाङ्कन गरी नियम १४ बमोजिम छुट्याइएको अन्वेषण खण्ड सम्झनु पर्छ ।
(घ) “उत्पादन अनुमति” भन्नाले नियम २० को उपनियम (२) बमोजिम प्रदान गरिने उत्पादन अनुमति सम्झनु पर्छ ।
(ङ) “उत्पादन अवधि” भन्नाले नियम २१ मा तोकिए बमोजिमको उत्पादन अवधि सम्झनु पर्छ ।
(च) “उत्पादन कार्य” भन्नाले पेट्रोलियमको उत्पादन, शुद्धीकरण, ढुवानी, सञ्चय र बिक्री वितरण गर्नको लागि आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(छ) “उत्पादन क्षेत्र” भन्नाले उत्पादन अनुमतिमा उल्लिखित उत्पादन क्षेत्र सम्झनु पर्छ ।
(ज) “ऐन” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० सम्झनु पर्छ ।
(झ) “कटकेन्दार” भन्नाले पेट्रोलियम कार्यको लागि ठेकेदारले नियुक्त गरेको (हायर्ड) व्यक्ति सम्झनु पर्छ ।
(ञ) “करार वर्ष” भन्नाले लागू मिति वा त्यस्तो मितिको वार्षिक मितिबाट शुरु हुने ग्रेगोरियन पात्रो अनुसारको बाह्र महिनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(ट) “करार क्षेत्र” भन्नाले नियम १७ बमोजिम पेट्रोलियम सम्झौतामा उल्लेख भए अनुसार परित्याग भई घट्दै जाने क्षेत्र सम्झनु पर्छ ।
(ठ) “डलर” भन्नाले संयुक्त राज्य अमेरिकाको डलर सम्झनु पर्छ ।
(ड) “निरीक्षक” भन्नाले ऐनको दफा ११ बमोजिम नेपाल सरकारले अधिकृत गरेको कुनै व्यक्ति, अधिकारी वा निकाय सम्झनु पर्छ ।
(ढ) “पेट्रोलियम खर्च” भन्नाले ठेकेदारले पेट्रोलियम कार्य सञ्चालन गर्न गरेको सबै खर्च सम्झनु पर्छ । जुन खर्च पेट्रोलियम सम्झौतामा परिभाषित छन् ।
(ण) “बजेट” भन्नाले कार्यक्रममा समावेश गरिएको प्रत्येक कार्यको अनुमानित खर्च सम्झनु पर्छ ।
(त) “वर्ष (क्यालेण्डर यर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १ तारेखमा शुरु भई त्यसै वर्षको डिसेम्बर ३१ तारीखमा अन्त्य हुने बाह्र महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(थ) “विकास कार्य” भन्नाले स्थललाई व्यापारिक रूपमा विकास गर्नको निमित्त आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(द) “बिक्री वितरण (सेल अर डिस्पोजल)” भन्नाले मूल्य लिई वा नलिई पेट्रोलियम बिक्री, साटफेर वा हस्तान्तरण गरेको सम्झनु पर्छ ।
(ध) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले उत्पादन क्षेत्रबाट व्यापारिक परिमाणमा उत्पादित पेट्रोलियम पहिलो पटक बिक्री वितरण गरेको दिन सम्झनु पर्छ ।
(न) “रोयल्टी” भन्नाले ऐनको दफा १३ बमोजिम नेपाल सरकारले राखिने रोयल्टी सम्झनु पर्छ ।
(प) “लागू मिति” भन्नाले नेपाल सरकार र ठेकेदारले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गरेको मिति सम्झनु पर्छ ।
(फ) “स्थल (फिल्ड)” भन्नाले कुनै एक भौगर्भिक बनावटको अवस्था वा समस्थितिक (स्ट्याटिग्राफिक) अवस्थासँग आबद्ध वा सम्बद्ध भएका र व्यापारिक रूपमा पेट्रोलियम उत्पादन गर्न सकिने एक वा धेरै पेट्रोलियम भण्डार भएको क्षेत्र सम्झनु पर्छ ।
(ब) “समिति” भन्नाले नियम ४३ बमोजिम गठन भएको पेट्रोलियम परामर्श समिति सम्झनु पर्छ ।
(भ) “त्रैमासिक अवधि (क्यालेण्डर क्वाटर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टोबर १ मा शुरु भई मार्च ३१, जून ३०, सेप्टेम्बर ३० वा डिसेम्बर ३१ मा अन्त्य हुने तीन (३) महिनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।