परिच्छेद–१ उद्देश्य र परिभाषा

परिच्छेद–१ उद्देश्य र परिभाषा

१. उद्देश्य : (१) यस सम्झौताको उद्देश्य करार क्षेत्रमा पेट्रोलियम अन्वेषण, विकास र उत्पादन गर्नु हो ।
(२) नेपाल सरकारको सुपरिवेक्षणमा रही तथा यस सम्झौताको व्यवस्थाबमोजिम पेट्रोलियम कार्यको कार्यान्वयन गर्नको लागि ठेकेदार नेपाल सरकार प्रति उत्तरदायी हुनेछ ।
(३) यस सम्झौतामा व्यवस्था गरिएबमोजिम नेपाल सरकारको तर्फबाट गर्नु पर्ने पेट्रोलियम कार्यसम्बन्धी कामको निमित्त विभाग उत्तरदायी हुनेछ ।
(४) यस सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पेट्रोलियम कार्य सञ्चालन गर्नको लागि आवश्यक सबै पूँजी, प्रविधि र जनशक्ति ठेकेदारले उपलब्ध गराउनेछ ।
(५) यस सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पेट्रोलियम कार्य ठेकेदारले आफ्नै जोखिम र खर्चमा सञ्चालन गर्नेछ । त्यस्तो पेट्रोलियम कार्य गर्दा ठेकेदारले गरेको खर्च यस सम्झौताको परिच्छेद ६ बमोजिम ठेकेदारलाई सोधभर्ना गरिनेछ । यदि करार क्षेत्रमा व्यापारिक स्थल पत्ता नलागेमा वा प्राप्त गरेको उत्पादनबाट ठेकेदारको खर्च सोधभर्ना गर्न
अपर्याप्त भएमा त्यस्तो नोक्सानी ठेकेदार आफैले व्यहोर्नेछ ।
(६) यस सम्झौतामा व्यवस्था गरिएबमोजिम पेट्रोलियम कार्य गर्ने र उत्पादित पेट्रोलियमबाट भाग पाउने अधिकार बाहेक ठेकेदारलाई करार क्षेत्रमा रहेको पेट्रोलियममा कुनै अधिकार हुनेछैन ।

२. परिभाषा : नेपाल पेट्रोलियम ऐन, २०४० मा परिभाषा गरिएका शब्दहरूको अर्थ यस सम्झौताको प्रयोजनको लागि पनि त्यसै अनुरूपको हुनेछ । विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस सम्झौतामा,–
(क) “अन्वेषण अवधि” भन्नाले परिच्छेद २ मा उल्लेख भएबमोजिमको प्राथमिक अन्वेषण अवधि र त्यसमा थप भएको अवधि सम्झनु पर्छ ।
(ख) “अन्वेषण कार्य” भन्नाले पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियमको अन्वेषण गर्नको लागि र पत्ता लागेको पेट्रोलियमको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि दफा १३ देखि १५ बमोजिमको वार्षिक कार्यक्रम वा दफा १७ बमोजिमको सम्भाव्यता कार्यक्रममा उल्लेख गरिएबमोजिमको आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(ग) “असम्बद्ध पक्ष” भन्नाले पेट्रोलियम सम्झौता अन्तर्गतको कुनै पक्षसँग केही सम्बन्ध नभएको स्वतन्त्र व्यक्ति सम्झनु पर्छ ।
(घ) “उत्पादन अनुमति” भन्नाले दफा २४ बमोजिम प्रदान गरिने उत्पादन अनुमति सम्झनु पर्छ ।
(ङ) “उत्पादन अवधि” भन्नाले दफा २३ मा तोकिएबमोजिमको अवधि सम्झनु पर्छ ।
(च) “उत्पादन कार्य” भन्नाले पेट्रोलियमको उत्पादन शुद्धीकरण, ढुवानी, सञ्चय र बिक्री वितरण गर्ने आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(छ) “उत्पादन क्षेत्र” भन्नाले उत्पादन अनुमतिमा उल्लिखित क्षेत्र सम्झनुपर्छ र सो शब्दले दफा ५, ६ र ८ को प्रयोजनको लागि उत्पादन अनुमतिको निवेदन विचाराधीन रहेको अवस्थामा त्यस्तो निवेदनमा उल्लिखित क्षेत्रलाई समेत जनाउँछ ।
(ज) “ऐन” भन्नाले नेपाल पेट्रोलियम ऐन २०४० सम्झनु पर्छ ।
(झ) “कटकेन्दार” भन्नाले पेट्रोलियम कार्यको लागि ठेकेदारले नियुक्त गरेको (हायर्ड) व्यक्ति सम्झनु पर्छ ।
(ञ) “करार वर्ष” भन्नाले लागू मिति वा त्यस्तो मितिको वार्षिक मितिबाट शुरु हुने ग्रेगोरियन पात्रो अनुसारको बाह्र (१२) महीनाको अविछिन्न अवधि सम्झनु पर्छ ।
(ट) “करार क्षेत्र” भन्नाले परिशिष्ट मा उल्लेख गरिए बमोजिम परिच्छेद २ र ३ अनुसार परित्याग भई घट्दै जाने क्षेत्र सम्झनु पर्छ ।
(ठ) “कार्यक्रम” भन्नाले दफा १३, १४, १७ र १८ अनुसार शुरु वार्षिक सम्भाव्यता वा विकास कार्यक्रम सम्झनु पर्छ ।
(ड) “ठेकेदारको भाग” भन्नाले दफा ३४ अन्तर्गत निर्धारण गरेबमोजिम करार क्षेत्रमा उत्पादित पेट्रोलियम मध्येबाट ठेकेदारले पाउने पेट्रोलियमको भाग सम्झनु पर्छ ।
(ढ) “डलर” भन्नाले संयुक्त राज्य अमेरिकाको डलर सम्झनु पर्छ ।
(ण) “नियम” भन्नाले पेट्रोलियम नियमावली, २०४१ सम्झनु पर्छ ।
(त) “पेट्रोलियम खर्च” भन्नाले ठेकेदारले यस सम्झौता बमोजिम पेट्रोलियम कार्यको सञ्चालनमा गरेको परिच्छेद ७ मा परिभाषा गरिएबमोजिमको खर्च सम्झनु पर्छ ।
(थ) “बजेट” भन्नाले कार्यक्रममा समावेश गरिएको प्रत्येक कार्यको अनुमानित खर्च सम्झनु पर्छ ।
(द) “वर्ष (क्यालेण्डर यर) ” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १ तारीखमा शुरु भई त्यसै वर्षको डिसेम्बर ३१ तारीखमा अन्त्य हुने बाह्र (१२) महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(ध) “विकास कार्य” भन्नाले स्थललाई व्यापारिक रूपमा विकास गर्नको निमित्त दफा १८ बमोजिमको विकास कार्यक्रममा उल्लेख गरिएबमोजिमको आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(न) “बिक्री वितरण” भन्नाले मूल्य लिई वा नलिई पेट्रोलियम बिक्री, साटफेर वा हस्तान्तरण गरेको सम्झनु पर्छ ।
(प) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले यस सम्झौताबमोजिम उत्पादन क्षेत्रबाट व्यापारिक परिमाणमा उत्पादित पेट्रोलियम पहिलो पटक बिक्री वितरण गरेको दिन सम्झनु पर्छ ।
(फ) “रोयल्टी” भन्नाले ऐनको दफा १३ बमोजिम नेपाल सरकारले राखिने पेट्रोलियमको परिमाण सम्झनु पर्छ ।
(ब) “लागू मिति” भन्नाले नेपाल सरकार र ठेकेदारले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गरेको मिति सम्झनु पर्छ ।
(भ) “स्थल (फिल्ड)” भन्नाले कुनै एक भौगर्भिक बनावटको अवस्था वा समस्थितिक अवस्थासँग आवद्ध वा सम्बद्ध भएका र व्यापारिक रूपमा पेट्रोलियम उत्पादन गर्न सकिने एक वा धेरै पेट्रोलियम भण्डार भएको क्षेत्र सम्झनु पर्छ ।
(म) “नेपाल सरकारको भाग” भन्नाले दफा ३४ अन्तर्गत निर्धारण गरेबमोजिम करार क्षेत्रमा उत्पादित पेट्रोलियम मध्ये नेपाल सरकारको पेट्रोलियमको भाग सम्झनु पर्छ ।
(य) “त्रैमासिक अवधि (क्यालेण्डर क्वार्टर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टूवर १ बाट शुरु भई मार्च ३१, जुन ३० सेप्टेम्बर ३० वा डिसेम्बर ३१ मा अन्त्य हुने तीन (३) महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।