परिच्छेद ३ साझेदारको पारस्परिक सम्बन्ध

परिच्छेद ३ साझेदारको पारस्परिक सम्बन्ध

१२. साझेदारको आपसी सम्वन्ध – (१) साझेदारहरुको आपसमा भएको कबुलियतद्वारा साझेदारीमा हक र दायित्व कायम हुन्छ । यस्तो कबुलियत आपसको व्यवहारबाट अंकित भएको वा लिखित रुपमा पनि हुन सक्छ ।
(२) साझेदारीको कबुलियत भएकोमा सो कबुलियतमा लेखिए बमोजिम र सो नभएकोमा यस ऐनका दफा १३ देखि २६ सम्मको दफाहरु साझेदारीलाई लागू गर्नुपर्छ ।
१३. साझेदारीमा रहेको जायज्येथा – साझेदारीको जम्मा जायज्येथा देहाय बमोजिम हुनेछ –
(क) साझा कारोबार शुरु हुँदा त्यसको लागि जम्मा गरिएको सबै जायज्येथा,
(ख) साझेदारीको लागि वा त्यसका निमित्त वा त्यसका प्रयोजनमा प्राप्त गरेको जायज्येथा,
(ग) साझेदारीले कारोबार गरी कमाएको धन, र
(घ) साझेदारीमा चलाएको कारोबारबाट प्राप्त हुन आएको ख्याति (गुड वील) ।
स्पष्टीकरण – प्रसङ्गबाट अन्य इरादा देखिएकोमा बाहेक फर्मको धन हाली प्राप्त गरेको सबै सम्पत्ति र हकहरु फर्मको निमित्त प्राप्त गरेको मानिनेछ ।
१४. साझेदारी जायज्येथाको प्रयोग – साझेदारी कारोबारको प्रयोगमा बाहेक साझेदारी धनमाल साझेदारीहरुले अरु काममा लगाउन र लगाउन दिन हुँदैन ।
१५. पूँजी थप्न कर नलाग्ने – अरु साझेदारले माग गरे पनि साझेदारी कबुलियतमा तोकेको अंक भन्दा बढी पूँजी थप्न कुनै साझेदारलाई कर लाग्दैन ।
१६. साटोमा राख्न नपाउने – साझेदार कसैले पनि अन्य साझेदारको मञ्जुरी बेगर अरु कुनै व्यक्तिलाई आफ्नो सट्टामा साझेदार गराउन र राख्न पाउँदैन ।
१७. साझेदारले कममा भाग लिन पाउने – (१) कबुलियतद्वारा साझेदारी कारोबारको बन्दोबस्तमा भाग लिन नपाउने साझेदारले बाहेक
अन्य साझेदारले बिरोध नगरेसम्म प्रत्येक साझेदारले साझा कारोबारको बन्दोबस्तमा भाग लिन पाउँछ ।
तर, सबै साझेदारको मञ्जुरी बेगर साझा कारोबारसँग सम्वन्ध नभएको अरु काम साझेदारीको नामबाट गर्न भने हुँदैन ।
(२) साझेदारीको सबै वा कुनै काम सबै साझेदारले वा सो मध्ये कुनै दुई वा दुई भन्दा बढी साझेदारहरुले संयुक्त रुपमा गर्ने कबुलियत भएकोमा कुनै मनासिब माफिकको कारण परी कबुलियतबमोजिम यस्ता सबै साझेदारहरुले सो काम गर्न नभ्याउने भएमा निजहरुले आफू मध्ये कसैलाई सो काम गर्न अधिकृत गर्न सक्नेछन् ।
१८. श्रेस्ता हेर्न नक्कल लिन पाउने – साझेदारीको हिसाब किताब श्रेस्ता हेर्न चाहेमा हरेक साझेदारले हेर्न पाउनेछन् र नक्कल लिन चाहेमा सो श्रेस्ता जिम्मा लिने साझेदारले सक्कल बमोजिमको नक्कल उतारी आफ्नो सहिछाप गरी दिनुपर्छ ।
१९. पारिश्रमिक र ब्याज – (१) साझा कामको बन्दोबस्त गरे बापतको पारिश्रमिक कबुलियतद्वारा तोकिएबमोजिम हरेक साझेदारले पाउनेछन् र निजले कबूल गरे भन्दा बढी पूँजी लगाएको भए दश प्रतिशतमा नबढाई लिखत बमोजिमको ब्याज पनि पाउँछ ।
(२) कुनै साझेदारले जानी जानी लापरवाही गरी हानी नोक्सानी गरे पारेमा त्यसको बिगो निजले तिर्नुपर्छ ।
२०. साझेदारले आर्जेको मुनाफा फर्मको हुने – फर्मको कुनै करोबारको सिलसिलामा वा फर्मको धनमालको उपयोग गरी वा फर्मको कारोबारको सम्वन्धबाट वा फर्मको नाममा कुनै साझेदारले नाफा बनाएमा सो नाफा र त्यसको हिसाब समेत फर्मलाई बुझाउनु पर्छ ।
२१. साझेदारले बुझाएको रकम हिसाबमा देखाउनु पर्ने – दफा १९ र २० बमोजिम कुनै साझेदारले तिरे बुझाएमा सो रकम फर्मको आर्थिक वर्षको नाफा नोक्सानको हिसाब श्रेस्तामा स्पष्ट देखाउनु पर्छ ।
२२. नाफा नोक्सानको बाँडफाँड – (१) साझेदारहरुमा नाफा नोक्सानको हिसाब गरी बाँडफाँड गर्दा कबुलियतमा व्यवस्था, भएकोमा सोही बमोजिम र नभएकोमा बराबर दरले बण्डा लगाइनेछ ।
(२) कुनै साझेदारले साझेदारी खडा गर्दा लगाएको पूँजीमा ब्याज दिने लिने कबुलियत भए सो ब्याज मुनाफाबाट मात्र तिर्न पर्छ ।
२३. मुनाफा पाउन नसक्ने – कुनै साझेदारले आफ्नो भागको बुझाउन पर्ने पूँजी फर्मलाई तिरी बुझाइ सकेको रहेनछ भने सो बुझाउन पर्ने बाँकी अंक चुक्ता भर्ना नभएसम्म निजले पाउन पर्ने मुनाफा पाउन सक्नेछैन ।