परिच्छेद–९ मोल निर्धारण र हिसाब किताब

परिच्छेद–९ मोल निर्धारण र हिसाब किताब

४४. पेट्रोलियमको मूल्य निर्धारण : (१) यस सम्झौता अन्तर्गतको सबै प्रयोजनको लागि र आयकरको प्रयोजनको लागि पेट्रोलियमको मूल्य यस दफाको व्यवस्था अनुसार निर्धारण गरिनेछ ।
(२) निर्यातको लागि करार क्षेत्रबाट त्रैमासिक अवधिमा बिक्री गरिएको कच्चा तेलको मूल्य देहायको आधारमा निर्धारण गरिनेछ :
(क) विगत त्रैमासिक अवधिमा करार क्षेत्रबाट बिक्री गरिएको कच्चा तेलको लागि नेपाल सरकार वा ठेकेदारले प्राप्त गरेको भारित औसत निर्यात मूल्य वा,
(ख) विगत त्रैमासिक अवधिमा करार क्षेत्रबाट उत्पादित कच्चा तेलको कुल परिमाणको कम्तीमा दश (१०) प्रतिशत निर्यातको लागि खण्ड (क) अन्तर्गत बिक्री नभएको अवस्थामा विभाग र ठेकेदारले,
(१) नेपालको सबै उत्पादन क्षेत्रबाट निर्यात गरिएको समान दाँजोको गुरुत्व र गुणको कच्चा तेलको लागि प्राप्त भारित औसत निर्यात मूल्य र
(२) अरेवियन खाडी क्षेत्रमा उत्पादित समान दाँजोको गुरुत्व र गुणको कच्चा तेलको बजारमा प्रचलित निर्यात मूल्य, दुवैमा सबै सम्बद्ध कुराहरू उपयुक्त तरिकाले थपघट गरी आपसी मञ्जुरीद्वारा निर्धारण गरेको मूल्य ।
(३) उपदफा (२) को प्रयोजनको लागि “निर्यात मूल्य” भन्नाले जिन्सीको रूपमा सट्टापट्टा वा विशेष सहुलियतको व्यवस्था नगरी नजिकको बिक्री कारोवार (आम्सलेंथ सेल्स ट्राञ्जेक्शन) मा असम्बद्ध पक्षबाट मूल्य निर्धारण केन्द्र (भ्यालुएशन प्वाइण्ट) मा परिवत्र्य विदेशी मुद्रामा प्राप्त खूद मूल्य सम्झनु पर्छ । निर्यात मूल्यको हरहिसाब गर्दा मूल्य निर्धारण केन्द्र र नेपाल बाहिरको एफ.ओ.बी. निर्यात केन्द्र बीचको ओसारपसार, सञ्चय, हाण्डलिंग, निर्यात सुविधाहरू, कमिशन, दलाली दस्तुर तथा अन्य कुनै पूर्वाधार, सेवा वा खर्चहरू अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा स्वतन्त्र पक्षहरूको बीचमा प्रचलित दरभन्दा बढी नहुने गरी थपघट गरिनेछ । त्यस्तो पूर्वाधारहरू यस सम्झौताको कुनै पक्ष वा सम्बद्ध पक्षको पूर्ण वा
आँशिक स्वामित्वको भएमा त्यसको दस्तुर (टारिफ) दफा ३३ वा स्थापित सिद्धान्तमा आधारित हुनेछ ।
स्पष्टीकरण : “मूल्य निर्धारण केन्द्र” भन्नाले नेपालभित्रको त्यस्तो केन्द्र सम्झनु पर्छ जहाँसम्मको सेवा वा सुविधाहरू पेट्रोलियम खर्चमा समावेश भएको छ ।
(४) नेपाली बजारको लागि बिक्री गरिने कच्चा तेलको मूल्य उपदफा (२) बमोजिम सम्बन्धित त्रैमासिक अवधिको लागि निर्धारण गरिएको मूल्य बराबर हुनेछ ।
(५) त्रैमासिक अवधिमा उत्पादन तथा बिक्री गरिएको प्राकृतिक ग्याँसको मूल्य त्यस्तो प्राकृतिक ग्याँस बिक्री गर्ने करार वा करारहरू बमोजिम नेपाल सरकार वा ठेकेदारले प्राप्त गरेको भारित औसत खूद मूल्यमा निर्धारण गरिनेछ । त्यस्तो प्राकृतिक ग्याँस बिक्री गर्नको लागि करार गर्दा ठेकेदारले त्यस्तो ग्याँस प्रयोग गरिने प्रयोजन, त्यसबाट प्रतिस्थापन हुने
इन्धनको मूल्य लगायत सबै सम्बद्ध कुराहरूको विचार गरी करार गरिने समयमा विद्यमान स्थिति अनुसार अनुकुल शर्त बन्देजमा अधिकतम मूल्य प्राप्त गर्ने प्रयत्न गर्नेछ ।
(६) ठेकेदारले उपदफा (२) को खण्ड (ख) बमोजिम आपसी मञ्जुरीद्वारा मूल्य निर्धारण गर्नु पर्ने देखेमा ठेकेदारले चालू त्रैमासिक अवधि समाप्त हुनु अघि यथाशीघ्र विभागलाई सूचना गर्नेछ । मूल्य निर्धारण गर्ने आधारको लागि तथ्यगत जानकारी विकास गर्ने सम्बन्धमा विभाग र ठेकेदार बीच सरसल्लाह भए पछि ठेकेदारले आगामी त्रैमासिक अवधिको कच्चा तेलको लागि लागू हुने मूल्यको लिखित प्रस्ताव विभागमा पेश गर्नेछ । त्यसपछि त्यस्तो मूल्य उपर छलफल एवं मञ्जुरी गर्न यथासम्भव चाँडो त्यस्तो मूल्य लागू हुने त्रैमासिक अवधि शुरु नहुँदै विभाग र ठेकेदार भेट्नेछ । यस्तो आपसी मन्जूरी नभएसम्मको लागि विगत त्रैमासिक अवधिको मूल्य लागू भइरहनेछ । तर सम्बन्धित त्रैमासिकको मूल्य अन्तिम रूपमा मञ्जुर भएपछि सोही अनुसार उपयुक्त थपघट गरी मिलाइनेछ ।
४५. भुक्तानी : (१) नेपाली मुद्रामा तिर्न सकिने दफा ४२, ५३ र ५४ बमोजिमको भुक्तानी बाहेक ठेकेदारले यस सम्झौताबमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने रकम डलरमा बुझाउनु पर्नेछ ।
(२) नेपाल सरकारले यस सम्झौता बमोजिम ठेकेदारलाई भुक्तानी दिनुपर्ने सम्पूर्ण
रकम नेपाली मुद्रामा दिनेछ । सो रकम ठेकेदारले ऐनको दफा १५ बमोजिम विदेशी मुद्रामा परिवर्तन गर्न सक्नेछ । विदेशी मुद्रामा उल्लिखित दायित्वको भुक्तानी, भुक्तानी गरिने दिनमा
नेपाल राष्ट्र बैंकको दरमा त्यस्ता दायित्व पूरा गर्न चाहिने विदेशी मुद्रा खरिद गर्न पर्याप्त हुने गरी गरिनेछ ।
(३) विदेशी मुद्राको सटही गर्ने प्रयोजनको लागि नेपाली मुद्राको सन्दर्भमा विदेशी मुद्राहरूको मूल्य भुक्तानी गरेको दिनमा लागू हुने राष्ट्र बैंकको खरिद तथा बिक्री दरमा निर्धारण गरिनेछ ।
४६. लेखा : (१) ठेकेदारले सबै पेट्रोलियम कार्यहरू प्रतिबिम्ब हुने गरी सम्पूर्ण वित्तीय लेखा र अभिलेखहरू अंग्रेजी भाषामा राख्नेछ । त्यस्तो लेखा र अभिलेखहरू डलरमा वा आपसी मञ्जुरी बमोजिम अन्य मुद्रामा ठेकेदारको कार्यालय काठमाडौं, नेपालमा राख्नेछ ।
(२) ठेकेदारले वार्षिक वासलात र नाफा नोक्सानीको विवरण यस सम्झौता तथा नेपालको सम्बन्धित कानून बमोजिम तयार गर्नेछ । ठेकेदारको आम्दानी, खर्च र खूद मुनाफा निर्धारण गर्ने लेखाविधि, नियम र चलन अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा सामान्यतः लागू हुने लेखाविधि, नियम र चलन अनुरूप नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(३) ठेकेदारको लेखाहरू महालेखा परीक्षकको विभागलाई मान्य हुने स्वतन्त्र लेखा परीक्षकबाट प्रमाणित गरेको हुनु पर्नेछ र लेखा परीक्षकको प्रतिवेदन सहित सम्बन्धित वर्ष समाप्त भएको नब्बे (९०) दिनभित्र विभागमा पेश गर्नेछ ।
(४) नेपाल सरकारलाई यस सम्झौता बमोजिमका शर्तहरू ठेकेदारले पालना गरे नगरेको जाँच्ने प्रयोजनको लागि ठेकेदारको यस सम्झौतसँग सम्बन्धित कुनै पनि वर्षको खाता र लेखा त्यस्तो खाता र लेखासँग सम्बन्धित वर्ष समाप्त भएको दुई वर्ष सम्म कुनै पनि समयमा निरीक्षण र लेखापरीक्षण गर्ने अधिकार हुनेछ । त्यस्तो निरीक्षण वा लेखापरीक्षण पूरा भएको साठी (६०) दिनभित्र कुनै आपत्ति जनक कुरा भए लिखित रूपमा जनाउनु पर्नेछ ।
(५) विभागले ठेकेदारको यस सम्झौतासँग सम्बन्धित खाता र लेखाहरू निरीक्षण र लेखा परीक्षण गर्न अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योग सम्बन्धी अनुभव भएको स्वतन्त्र लेखापालहरूको फर्मलाई नियुक्त गर्न सक्नेछ । ठेकेदारले त्यस्तो स्वतन्त्र लेखापालहरूको फर्मको शुल्क र खर्चको भुक्तानी गर्नेछ र त्यस्तो भुक्तानी पेट्रोलियम खर्च मानिनेछ ।
४७. पेट्रोलियम खर्चको विवरण : (१) ठेकेदारले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस (३०) दिनभित्र देहायका कुराहरू खुलाइ विभागमा पेट्रोलियम खर्चको विवरण पेश गर्नेछ :–
(क) विगत त्रैमासिक अवधिबाट अघि सारेको उपर नभएको पेट्रोलियम खर्चको कूल रकम ।
(ख) त्रैमासिक अवधिमा खर्च गरेको र विभागले तोकिदिएबमोजिम खर्चहरूको वर्गीकरणमा छुट्याइएको पेट्रोलियम खर्चको रकम ।
(ग) रकमको हर हिसाब देखाई त्रैमासिक अवधिमा उपर गरेको पेट्रोलियम खर्चको रकम ।
(घ) त्रैमासिक अवधिको अन्त्यसम्ममा उपर नभएको अर्को त्रैमासिक अवधिमा अघि सारिने पेट्रोलियम खर्चको कूल रकम ।
(२) उपर नभएको पेट्रोलियम खर्चको त्रैमासिक विवरणलाई समर्थन गर्न चाहिने सबै कागजातहरू कार्यालयमा काम गर्ने कुनै समयमा विभागीय निरीक्षणको लागि काठमाडौंमा ठेकेदारको कार्यालयमा उपलब्ध हुन पर्नेछ ।
(३) पेट्रोलियम खर्चको विवरणले समेटेको त्रैमासिक अवधि समाप्त भएको एकसय बीस (१२०) दिनभित्र विभागले त्यस्तो विवरणमा आफूले बेठीक सम्झेको कुरा ठेकेदारलाई सुचित गर्न सक्नेछ । त्यस्तो सूचना लिखित रूपमा हुनु पर्नेछ र त्यस्तो सूचनामा उक्त विवरणमा ठीक नदेखिएको कुरा र त्यसको कारण समेत उल्लेख हुनु पर्नेछ । त्यस्तो सूचना
प्राप्त भएपछि ठेकेदारले विभागसँग सम्पर्क राखी सन्तोषपूर्ण समाधान गर्नेछ । उल्लिखित अवधिभित्र विभागले ठेकेदारलाई त्यस्तो सूचना नदिएमा त्यस्तो विवरण स्वीकार गरिएको मानिनेछ ।
(४) पेट्रोलियम खर्च नमान्ने विभागको अधिकार खर्च भएको प्रमाणित गर्न पर्याप्त कागजात पेश नभएको खर्च र परिच्छेद–७ को पेट्रोलियम खर्चको परिभाषाभित्र नपरेको खर्चसम्ममा सीमित हुनेछ ।