परिच्छेद –२ फौजदारी न्यायका सामान्य सिद्धान्तहरु

परिच्छेद –२ फौजदारी न्यायका सामान्य सिद्धान्तहरु

६. कानून बमोेजिमको काम कसूर नहुनेः कानून बमोजिम गर्नु पर्ने वा कानूनले क्षम्य मानेको कामलाई कसूर मानिने छैन ।

७. कानून बमोजिम बाहेक सजाय नहुनेः कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन ।

८. तथ्यको भ्रममा परी गरेको काम कसूर नहुनेः तथ्यको भ्रममा परी कानून बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन ।

तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन ।

९. एउटै कसूरमा दोहोरो सजाय नहुनेः कुनै व्यक्ति बिरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन ।

१० स्वच्छ सुनुवाईबाट वञ्चित नहुनेः कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाईबाट वञ्चित हुने छैन ।

११. आफ्नाे बिरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नाे बिरुद्ध साक्षी हुन कर लाग्ने छैन ।

१२. कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिनेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन ।

१३. बालबालिकाले गरेको काम कसूर नहुनेः दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन ।

१४. होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिनेः कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन ।

१५. मञ्जुरी लिई गरेको काम कसूर नहुनेः ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भई गरेकोमा बाहेक कसैले अठार वर्ष माथिको कुनै व्यक्तिको मञ्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसूर मानिने छैन ।

१६. भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुनेः कसैले कुनै व्यक्तिको भलाईका लागि निजको मञ्जुरी लिई असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

१७. भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुनेः अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिको भलाईका लागि निजको संरक्षकले वा त्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तोे काम कसूर मानिने छैन ।

तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक दायित्वबाट छुट पाउने छैन ।

१८. भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुनेः कुनै व्यक्तिको भलाईका लागि तत्काल कुनै काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति कुनै कारणले त्यस्तो काम गर्न दिनको लागि तत्काल आफै मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मञ्जुरी दिन सक्ने संरक्षक पनि तत्काल उपलब्ध नभएको अवस्थामा निजको भलाईका लागि मञ्जुरी नलिएर पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाई कुनै क्षति वा हानि, नोक्सानी पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

स्पष्टीकरणः दफा १६, १७ र यस दफाको प्रयोजनका लागि “भलाई” भन्नालेः

(क) आर्थिक रुपमा प्राप्त लाभलाई जनाउने छैन,

(ख) ज्यान लिने वा मनासिब कारण विना अङ्गभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन ।

१९. मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेः दफा १५, १६ वा १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि ती दफाहरुमा लेखिएको काम कानून बमोजिम अन्य कसूर मानिने भएमा त्यस्तो काम मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेछ ।

२० मञ्जुरीः मञ्जुरी मौखिक वा लिखित रुपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिनेछ ।

तर देहायका अवस्थामा दिइएको मञ्जुरीलाई मञ्जुरी मानिने छैनः–

(क) तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि, नोक्सानी हुन सक्ने डर, त्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएको र त्यस्तो मञ्जुरी अनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी त्यसरी दिइएको हो भन्ने कुरा थाहा भएमा वा निजले विश्वास गर्नु पर्ने कुनै मनासिब कारण भएमा,

(ख) मानसिक अस्वस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,

(ग) अठार वर्ष ननाघेको बालबालिकाले मञ्जुरी दिएकोमा,

(घ) अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा ।

२१. असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुनेः कसैले कुनै व्यक्तिलाई निजको भलाईको लागि असल नियतले दिएको कुनै कुराको सूचना वा जानकारीबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

२२. डर त्रासमा परी गरेको काम कसूर नहुनेः (१) कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नाे वा आफ्नाे नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन ।

तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने छः–

(क) ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,

(ख) जवर्जस्ती करणी गरेकोमा,

(ग) राज्य बिरुद्धको कसूर गरेकोमा, वा

(घ) त्यस्तो काम गर्ने व्यक्ति आफैँले गर्दा वा आफूले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा ।

(२) उपदफा (१) बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैँले त्यस्तोे कसूर गरे सरह कानून बमोजिम सजाय हुनेछ ।

२३. अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुनेः कसैलाई कुनै हानि, नोक्सानी हुने कुनै काम तत्काल नगरे आफ्नाे वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिमा त्यसभन्दा ठूलो हानि, नोक्सानी हुने निश्चित भई आपराधिक नियत विना र संभावित ठूलो हानि, नोक्सानी रोक्ने वा टार्ने उद्देश्यले असल नियतले त्यस्तो हानि, नोक्सानी हुने काम गरेमा हानि पुग्न सक्छ भन्ने जानीजानी गरेको कारणले मात्र त्यस्तो काम कसूर मानिने छैन ।

२४ निजी रक्षाको लागि गरेको काम कसूर नमानिनेः (१) यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन ।

(२) प्रत्येक व्यक्तिलाई आफ्नाे वा अरु कसैको जिउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउने अधिकार हुनेछ ।

(३) यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउन सकिदैन भन्ने मनासिब विश्वास भएमा वा विश्वास गर्नु पर्ने मनासिब कारण भएमा मात्र प्रयोग गर्नु पर्नेछ ।

२५. निजी रक्षाको अधिकारमा बन्देजः (१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका बिरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैनः–

(क) कसैको जिउ वा सम्पत्तिमा गैर कानूनी क्षति पुर्याउने काम हुँदाका बखत त्यस्तोे क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,

(ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,

(ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,

(घ) कुनै राष्ट्रसेवकले आफ्नाे पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,

(ङ) कुनै राष्ट्रसेवकले आफ्नाे पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट बञ्चित हुने छैनः–

(क) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको पैmसला वा आदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचय वा सो काम गर्न पाएको अधिकारपत्र माग गर्दा पनि निजले आफ्नाे परिचय नदिएमा वा त्यस्तो काम गर्न पाएको अधिकारपत्र नदेखाएमा,

(ख) उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा,

(ग) उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशन अनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्न अधिकारपत्र भएकोमा माग गर्दा पनि त्यस्तोे अधिकार पत्र नदेखाएमा ।

(३) दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन ।

२६. ज्यान लिने अधिकार नहुनेः (१) यस परिच्छेद बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैलाई कसैको ज्यान लिने अधिकार हुनेछैन ।

(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि दफा २५ को उपदफा (३) को अधीनमा रही देहायको अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर मानिने छैनः–

(क) आफू वा अरु कसैमाथि भएको आक्रमण बिरुद्ध तत्काल रक्षा नगर्दा आफ्नाे वा अरु कसैको ज्यान जान वा आफू वा अरु कसैलाई गम्भीर चोट लाग्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने मनासिब विश्वास भएमा,

(ख) जवर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जवर्जस्ती करणी गर्दाका बखत वा गरिसके पछि पीडितबाट तत्काल कुनै काम भएकोमा,

(ग) ज्यान मार्ने, बन्धक वा अपहरण गराउन मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने नियतले शरीर बन्धक लिएकोमा वा अपहरण गरेकोमा,

(घ) मानिस बस्ने, पूजा वा प्रार्थना गर्ने, सम्पत्ति राख्ने कुनै घर, पाल वा सवारी साधनलाई घेराबन्दी गरी, जोखिमपूर्ण हातहतियार प्रयोग गरी, आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी क्षति पुर्याउन खोजेकोमा,

(ङ) डाँकाको कसूर बिरुद्ध रक्षा गर्नु परेमा,

(च) कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्थाको सम्पत्ति वा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अधिकार प्राप्त अधिकारीको आदेशबाट खटिएको सुरक्षाकर्मीले त्यस्तो व्यक्ति वा सम्पत्ति बिरुद्ध भएको आक्रमण रोक्न तत्काल प्रतिकार गर्नु परेकोमा ।

२७. मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुनेः साधारण समझको व्यक्तिले गरेको मामुली किसिमको हानि, नोक्सानीलाई कसूर मानिने छैन ।

२८. बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुनेः कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसूर गर्न लगाएको रहेछ भने त्यसरी कसूर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तोे कसूर गरे सरह सजाय हुनेछ ।

२९. निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुनेः यस ऐन वा कानून बमोजिम निरपेक्ष आपराधिक दायित्व हुने कसूरमा त्यस्तोे कसूर मनसायपूर्वक गरेको हो वा होइन भन्ने कुरा परीक्षण हुने छैन ।

३०. सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुनेः कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन वा कानून बमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नु पर्नेछ ।

३१. समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुनेः दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसूर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुनेछ ।

३२. अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुनेः (१) अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ ।

(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ ।