परिच्छेद – ४ सार्वजनिक न्याय विरुद्धका कसूर

परिच्छेद – ४ सार्वजनिक न्याय विरुद्धका कसूर

८९. झुठ्ठा प्रमाण बनाउन नहुनेः (१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले न्यायिक वा अन्य कानूनी कारबाहीमा प्रमाणको रुपमा प्रयोग गराउने नियतले कुनै झुठ्ठा प्रमाण बनाउन वा झुठ्ठा परिस्थितिको सिर्जना गर्न वा कुनै झुठ्ठा लिखत वा विद्युतीय अभिलेख बनाउन वा कुनै लिखत वा विद्युतीय अभिलेखमा झुठ्ठा कुरा जनाउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
तर त्यस्तो झुठ्ठा प्रमाणको आधारमा कुनै व्यक्तिलाई जन्मकैदको सजाय भएको रहेछ भने सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जुन कसूरको सम्बन्धमा झुठ्ठा प्रमाण खडा भएको हो त्यस्तो कसूरमा हुन सक्ने अधिकतम सजायभन्दा बढी हुने गरी यो दफा अन्तर्गत सजाय हुने छैन ।

९०. झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुनेः (१) कुनै कुराको सम्बन्धमा कानून बमोजिम पेश गर्र्ने, प्रमाणित गर्ने, प्रमाणीकरण गर्ने, सत्यतथ्ययुक्त विवरण (एफिडेभिट) पेश गर्ने वा प्रमाणपत्र दिने अख्तियारी वा कर्तव्य भएको व्यक्तिले जानीजानी झुठ्ठा कुरा उल्लेख गरी पेश गर्न, प्रमाणित गर्न, प्रमाणीकरण गर्न वा प्रमाणपत्र दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँँसम्म जरिबाना हुनेछ ।

९१. झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुनेः (१) कसैले कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हो भन्ने जानीजानी त्यस्तो प्रमाण वा प्रमाणपत्रलाई साँचोे प्रमाण वा प्रमाणपत्रको रुपमा प्रयोग गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

९२. लिखत नष्ट गर्न नहुनेः (१) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा कुनै लिखत वा विद्युतीय अभिलेख प्रमाणको रुपमा पेश गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानीजानी त्यस्तो लिखत वा अभिलेख नष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनै प्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा पेश भएको कुनै लिखत वा विद्युतीय अभिलेख कसैले कानून विपरीत जानीजानी नष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनै प्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन वा गैरकानूनी रुपमा हटाउन वा अनधिकृत रुपमा कसैलाई दिनु हुँदैन ।

(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(५) उपदफा (१) वा (३) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरेमा निजलाई सोही उपदफामा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ ।

९३. कसूरको प्रमाण दवाउन नहुनेः (१) कसैले कुनै कसूरदारलाई बचाउने नियतले निजले गरेको कसूर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

९४. सूचना दिन अवरोध पुर्याउन नहुनेः (१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको विषयमा प्रहरी वा अधिकार प्राप्त अधिकारी समक्ष खबर वा सूचना दिन जाने व्यक्तिलाई कसैले छेकथुन गर्न वा अन्य कुनै किसिमले बाधा अवरोध पुर्याउनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

९५. कसूरदारलाई आश्रय दिन नहुनेः (१) कसैले कुनै कसूरदारलाई जानीजानी पक्राउ हुनबाट वा कानून बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिनु हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कसूरदार” भन्नाले कुनै कसूरमा शङ्कास्पद रहेको, अभियुक्त बनाइएको वा अदालतबाट दोषी ठहर भएको व्यक्ति सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–

(क) जन्मकैद वा बीस वर्षसम्म कैद सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना,

(ख) दश वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना,

(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कसूरको कसूरदारलाई आश्रय दिएको भए त्यस्तो कसूरमा हुन सक्ने कैद वा जरिबानाको उपल्लो हदको चार खण्डको एक खण्डसम्म कैद वा जरिबाना वा दुवै ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको पति वा पत्नी वा बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा, बुहारी, ज्वाइँले आश्रय दिएकोमा यस दफा बमोजिमको कसूर भएको मानिने छैन ।

९६. कसूर भएको जानकारी दिनु पर्नेः (१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानकारी नदिई बस्न वा कुनै कसूर भएको थाहा पाएकोे व्यक्तिले जानीजानी झुठ्ठा जानकारी दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

९७. सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुनेः (१) कसैले अदालत वा अधिकार प्राप्त अधिकारीको निर्णय बमोजिम जफत हुने भएको वा तायदाती, रोक्का, लिलाम वा बिक्री हुने वा चलन चलाई दिनु पर्ने भएको सम्पत्ति वा त्यस्तो सम्पत्ति वा जायजात उपरको अधिकार वदनियत साथ जफत, तायदाती, जायजात, रोक्का, लिलाम वा बिक्री हुनबाट वा चलन चलाउनबाट रोक्नको लागि त्यस्तो सम्पत्ति वा त्यस उपरको अधिकार दबाउन, कसैलाई हस्तान्तरण गर्न वा गराउन वा त्यस्तो सम्पत्ति वा अधिकार उपर दावी गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

९८. झुठ्ठा उजुरी दिन नहुनेः (१) कसैले कसैलाई क्षति पुर्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्न अधिकारी समक्ष झुठ्ठा कुराको दावी लिई वा अभियोग लगाई कुनै व्यक्तिका बिरुद्ध उजुरी वा सूचना दिनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जुन कसूरको झुठो अभियोग लगाएको हो त्यस्तो कसूरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनेछ ।

तर नेपाल सरकारवादी हुने मुद्दाको हकमा यस दफाको व्यवस्था लागू हुने छैन ।

(३) उपदफा (१) बमोजिमको कसूरबाट पीडित व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी पुगेको भए निजलाई त्यस बापतको क्षतिपूर्ति कसूरदारबाट भराई दिनु पर्नेछ ।

९९. बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुनेः (१) कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी भएमा निजले त्यस्तो कसूरदारबाट क्षतिपूर्ति भराई लिन सक्नेछ ।

१००. जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुनेः (१) कुनै कसूरको अभियोग लागि जमानतमा छुटेको व्यक्ति मनासिब कारण विना जमानतको शर्त विपरीत जमानत दिएको कार्यालय वा अदालतमा अनुपस्थित हुनु हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “जमानत” भन्नाले नगद जेथा, बैङ्क जमानत वा हाजिर जमानत सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) यस दफा बमोजिम अनुपस्थित भएको व्यक्ति निजलाई आरोप लागेको कसूरको कसूरदार ठहरिएमा निजलाई त्यस्तो कसूरमा हुने सजायमा यस दफा बमोजिमको सजाय समेत थप हुनेछ ।

(४) कानून बमोजिम हाजिर जमानीमा छुटेको व्यक्ति त्यस्तो जमानत बमोजिम कार्यालय वा अदालतमा उपस्थित नभएमा त्यसरी हाजिर जमानी दिने व्यक्तिलाई पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(५) यस दफा बमोजिम सजाय पाएको व्यक्ति तीन वर्षसम्म हाजिर जमानी हुन योग्य हुने छैन ।

१०१. पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुनेः (१) कुनै व्यक्तिलाई पक्राउ गर्न कानून बमोजिम पक्राउ पूर्जी जारी भएकोमा त्यस्तो व्यक्तिले पक्राउको सिलसिलामा वा पक्राउ पर्दा वा पक्राउ परिसकेको भए पक्राउबाट बच्नको लागि जानीजानी बल प्रयोग गरी बाधा विरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिले थुनाबाट भाग्न वा भाग्ने उद्योग गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१०२. पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुनेः (१) कानून बमोजिम पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई पक्राउको सिलसिलामा वा पक्राउ गर्दा वा निजलाई पक्राउ गरिसकेको भए निजलाई पक्राउबाट उम्काउनको लागि कसैले जानीजानी बाधा बिरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिलाई जानीजानी भगाउन वा भाग्नको लागि मद्दत गर्नु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरे वा गराएमा निजलाई उपदफा (२) मा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ ।

१०३. हदम्यादः (१) दफा १०१ वा १०२ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर लाग्नेछ ।

(२) दफा १०० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।