परिच्छेद – ८ राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर

परिच्छेद – ८ राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर

१४७. व्यक्ति विशेषले सार्वजनिक घर, जग्गा आफ्नाे बनाउन नहुनेः (१) कसैले देहायको घर वा जग्गा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्वस्वीकृति विना दर्ता गरी वा नगरी आफ्नाे बनाउन वा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो घर वा जग्गाको भोग चलनमा कुनै किसिमको बाधा अबरोध गर्न हुँदैनः—

(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सार्वजनिक संस्थाको नाममा रहेको  घर जग्गा,

(ख) परापूर्वदेखि सामुदायिक वा सार्वजनिक भोग चलनमा रहेको सामुदायिक वा सार्वजनिक घर जग्गा ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) उपदफा (१) मा उल्लिखित घर, जग्गा कुनै व्यक्ति विशेषको नाममा दर्ता वा नामसारी भइसकेको भए त्यस्तो दर्ता समेत स्वतः बदर हुनेछ ।

१४८. व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नाे बनाउन नहुनेः (१) कसैले कुनै सार्वजनिक सम्पदा दर्ता गरी वा नगरी निजी बनाउन वा त्यस्तो सम्पदाको सार्वजनिक भोग चलनमा कुनै किसिमले बाधा अवरोध गर्न वा अन्य कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो सम्पदालाई कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक सम्पदा” भन्नाले देहाय बमोजिमका सम्पदा सम्झनु पर्छः–

(क) परापूर्वदेखि सार्वजनिक रुपमा हिँडी आएको बाटो,

(ख) सार्वजनिक रुपमा भोग चलन हुदै आएको सडक, गौचर, पानीघाट, चिहान, मसानघाट, धारो, पधेरो, कुवा, पोखरी, पोखरीको डिल, खानेपानीको मूल, नहर, कुलो, गाईवस्तु चराउने चौर वा निकाल्ने निकाश,

(ग) हाट बजार लाग्ने स्थान,

(घ) देवस्थल, मठ, मन्दिर, स्तुप, गुम्वा, मस्जिद वा गिर्जाघर,

(ङ) पाटी, पौवा सत्तल, चौतारो,

(च) ऐतिहासिक मूर्ति, शालिक, साँस्कृतिक स्तम्भ वा स्मारक,

(छ) धार्मिक वा साँस्कृतिक कार्य वा समारोह गर्ने ठाउँ,

(ज) नेपाल सरकारले तोकेको राष्ट्रिय वन वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहकोे स्वामित्व रहेको वन वा त्यसको कुनै अंश ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) उपदफा (१) बमोजिमको सार्वजनिक सम्पदा कसैको नाममा दर्ता वा नामसारी भइसकेको भए सो समेत स्वतः बदर हुनेछ ।

१४९. प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुनेः (१) कसैले कानून बमोजिम बाहेक प्राकृतिक सम्पदामाथि कुनै किसिमले अतिक्रमण वा कब्जा गर्न वा त्यस्तो सम्पदा बिक्री वितरण गर्न वा त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “प्राकृतिक सम्पदा” भन्नाले देहायका सम्पदालाई सम्झनु पर्छः–

(क) प्राकृतिक वातावरण, वनस्पति र वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारले तोकेको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु वा शिकार आरक्ष,

(ख) नेपाल सरकारले तोकेको संरक्षण क्षेत्र, नदी, नाला, खोला, ताल तलैया, सीमसार क्षेत्र वा प्राकृतिक झरना, हिमशिखर वा त्यसको कुनै अंश, उच्च पहाडी चुचुरो,

(ग) प्रचलित कानून वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेको वन्यजन्तु, वनस्पति वा भू–बनौट,

(घ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेका वन्यजन्तुको वासस्थान, पर्यावरणीय पद्धति वा बिक्री वितरण, निकासी वा पैठारीमा निषेध गरेका जडिबुटी ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र विगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा दशलाख रुपैयाँंसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१५०. सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुनेः

(१) कानून बमोजिम बाहेक कसैले कुनै सार्वजनिक भौतिक संरचना अनधिकृत रुपमा कब्जा गर्न, त्यस्तो संरचना प्रयोग हुन नदिन वा कुनै किसिमले हानि, नोक्सानी वा विनाश गर्न हुँदैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक भौतिक संरचना” भन्नाले सार्वजनिक रुपमा प्रयोग हुने देहायका संरचना सम्झनु पर्छः–

(क) सडक, बाटो, पुल, सुरुङ्ग, विमानस्थल,

(ख) जलाशय, नहर, खानेपानीको मुहान तथा पोखरी, विद्युत गृह, विद्युत प्रसारण केन्द्र वा त्यसको लाइन,

(ग) रज्जुमार्ग, केवुलकार, दूरसञ्चार सम्बन्धी उपकरण, रेडियो स्टेशन, टेलिभिजन प्रशारण केन्द्र तथा त्यसको टावर,

(घ) रेल तथा रेलमार्ग,

(ङ) सार्वजनिक बस विसौनी, सार्वजनिक उद्यान, वा

(च) अन्य यस्तै संरचना ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँंसम्म जरिबाना हुनेछ ।

१५१. राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) कसैले नेपालसंँग मैत्री सम्बन्ध भएको मुलुक विरुद्ध घृणा फैलाउने वा त्यस्तो मुलुकको अपमान गर्ने नियतले त्यस्तो मुलुकको राष्ट्रिय झण्डा जलाउन, त्यसकोे जानीजानी दुरुपयोग गर्न वा त्यस्तो झण्डा वा त्यस्तो मुलुकको निशान छापको दुरुपयोग गर्न वा सार्वजनिक नैतिकता र शिष्टाचारको दृष्टिकोणबाट प्रयोग गर्न नहुने वस्तु, ठाउँ वा अवस्थामा त्यस्तो झण्डा वा छापको प्रयोग गर्न हुँदैन ।

(४) कसैले संयुक्त राष्ट्र संघ वा संयुक्त राष्ट्र संघसँग सम्वद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्य रहेको कुनै अन्तरराष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा वा अपमान गर्ने नियतले त्यस्ता संस्थाको झण्डा वा निशान छाप कुनै किसिमले दुरुपयोग गर्न वा त्यस्ता संस्थाको स्वीकृति विना त्यस्तो झण्डा वा त्यस्तो संस्थाको चिह्न, सवारी साधन वा अन्य कुनै वस्तु प्रयोग गर्न हुँदैन ।

(५) उपदफा (३) वा (४) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१५२. राष्ट्रिय विभूतिको अपमान गर्न नहुनेः (१) कसैले नेपाल सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानीजानी घृणा, अपमान वा बदनाम गर्न, त्यस्ता विभूतिको शालिक, स्तम्भ वा स्मारक भत्काउन वा हानि, नोक्सानी गर्न हुँदैन ।

तर त्यस्ता विभूतिको जीवनी अध्ययन अनुसन्धान वा मूल्याङ्कनको सन्दर्भमा असल नियतले गरिएको टिका टिप्पणीलाई यस दफा बमोजिमको कसूर मानिने छैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१५३. क्षतिपूर्ति भराई दिनु पर्नेः दफा १५० बमोजिमको कसूर गरेको कारणबाट भएको हानि, नोक्सानी बापत कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

१५४. हदम्यादः यस परिच्छेदको दफा १४७, १४८ र १४९ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ र अन्य दफा अन्तर्गतको कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिनापछि उजुर लाग्ने छैन ।