परिच्छेद – ९ धर्म सम्बन्धी कसूर

परिच्छेद – ९ धर्म सम्बन्धी कसूर

१५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएकोे रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ ।

१५६. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१५७. धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः (१) कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१५८. धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।

(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।

(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ ।

१५९. हदम्यादः दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएकोे मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।