परिच्छेद–६ बैठकको सामान्य कार्यविधि

परिच्छेद–६ बैठकको सामान्य कार्यविधि

२६. दैनिक कार्यसूची ः (१) अध्यक्षको निर्देशानुसार महासचिव वा सचिवले बैठक बस्ने प्रत्येक दिनको
कार्य सूची तयार गर्नेछ र त्यसको एक प्रति साधारणतया एक दिन अगावै प्रत्येक सदस्यलाई
उपलब्ध गराइनेछ ।
तर विशेष परिस्थितिमा अध्यक्षको निर्देशानुसार बैठक बस्ने एक घण्टा अगावै संशोधित
कार्य सूची तयार गरी त्यसको एक प्रति प्रत्येक सदस्यलाई उपलब्ध गराउन सकिनेछ ।
(२) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक अध्यक्षको अनुमति नलिई कुनै दिनको
कार्य सूचीमा नपरेको कुनै विषयमाथि सो दिन विचार गर्न सकिने छैन ।
(३) अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक सूचना दिनु पर्ने कुनै पनि कार्य आवश्यक
अवधि र अन्य प्रक्रिया पूरा नभएसम्म दैनिक कार्यसूचीमा राखिने छैन ।

२७ . कार्य व्यवस्था परामर्श समिति (१) संविधानसभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता तथा
समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र अध्यक्षले
आवश्यक ठह¥याएको अन्य विषयमा परामर्श दिन अध्यक्षको अध्यक्षतामा संविधानसभामा
प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनैतिक दलका सदस्यहरु समावेश हुने गरी बढीमा उनान्चास जना
सदस्य रहेको एक कार्य व्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ ।
(२) उपाध्यक्ष र कानून, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री समितिका क्रमशः पदेन
उपाध्यक्ष र सदस्य हुनेछन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षले आफूलाई उपयुक्त लागेको
कुनै सदस्यलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न
सक्नेछ ।

२८. समयावधिको निर्धारण ः (१) अध्यक्षले बैठकमा पेश हुने विषयमाथि छलफल गर्न समयावधि
तोक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको समयावधि समाप्त भएपछि यस नियमावलीमा
अन्यथा लेखिएकोमा बाहेक अध्यक्षले अरू छलफल हुन नदिई सो विषयको टुङ्गो लगाउन आवश्यक
सबै प्रश्नहरू निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ ।

२९. सूचना दिने तरीका ः यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक सदस्यले सूचना दिंदा दिनको
दश बजेदेखि दुई बजेसम्म महासचिव वा सचिवलाई दिनु पर्नेछ । सो समय नघाई दिइएको सूचना
त्यसपछिको कार्य दिनमा दिएको मानिनेछ ।

३०. सूचनामा संशोधन ः कुनै सूचनामा आपत्तिजनक, व्यंग्यात्मक, अनावश्यक, अनुपयुक्त वा असम्बद्ध
शब्द वा वाक्यांश प्रयोग भएको लागेमा अध्यक्षले त्यस्तो सूचना वितरण हुनुभन्दा अघि उपयुक्त
संशोधन गर्न वा गराउन सक्नेछ ।

३१. कागजपत्रको वितरण ः (१) महासचिव वा सचिवले आवश्यक कागजपत्र एवं सूचनाहरू
सदस्यहरूलाई उपलब्ध गराउनेछ ।
(२) यस नियम बमोजिम सदस्यहरुलाई उपलब्ध गराउनु पर्ने कागजपत्र एवं सूचनाहरु
प्रत्येक सदस्यसंग सम्बन्धित संविधानसभा दलको कार्यालयमा राखिएको निजको नाम उल्लेख भएको
पिजनहोलमा अध्यक्षद्वारा निर्देशित तरिकाले राख्ने व्यवस्था महासचिव वा सचिवले मिलाउनु पर्नेछ ।
यसरी पिजनहोलमा कागजपत्र एवं सूचना राखिएकोमा त्यस्तो कागजपत्र एवं सूचनाहरु सम्बन्धित
सदस्यले प्राप्त गरेको मानिनेछ ।
तर मन्त्रिपरिषद्बाट मनोनयन भएका सदस्यहरु र स्वतन्त्र सदस्यहरुको लागि
अध्यक्षद्वारा निर्धारित सचिवालयको परिसरभित्रको स्थानमा महासचिव वा सचिवले पिजनहोल राख्ने
व्यवस्था मिलाई सोको जानकारी सम्बन्धित सदस्यलाई गराउनेछ ।

३२. बैठकको प्रारम्भ ः अध्यक्षको बैठक कक्षमा आगमन भई राष्ट्रिय धुन बजे पछि सभाको बैठक प्रारम्भ
हुनेछ ।

३३. बैठकमा पालन गर्नु पर्ने कुराहरू ः बैठकमा देहायका कुराहरू पालन गर्नु पर्नेछ ः–
(क) अध्यक्ष सभाकक्षमा प्रवेश हुँदा सबैले सम्मान प्रकट गर्न उठ्नु पर्छ ।
(ख) अध्यक्षले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नु पर्छ ।
(ग) बैठक स्थगित भई अध्यक्ष सदनबाट बाहिर निस्के पछि मात्र अरु सदस्यहरुले सभाकक्ष
छाड्नु पर्छ ।
(घ) बैठकमा भाग लिने सदस्यले बोल्दा अध्यक्षलाई सम्बोधन गरेर मात्र बोल्नु पर्छ र
अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक उभिएर बोल्नु पर्छ ।
(ङ) अध्यक्षले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्नु हुँदैन र
शान्तिपूर्वक अध्यक्षले बोलेको कुरा सुन्नु पर्छ ।
(च) अध्यक्षको आसन र बोलिरहेको सदस्यको वीचबाट हिंड्नु हुँदैन ।
(छ) कुनै सदस्यले बोलिरहेको समयमा अशान्ति गर्न वा बैठकको मर्यादा भंग हुने वा
अव्यवस्था उत्पन्न हुने कुनै काम गर्नु हुँदैन ।
(ज) सभाकक्षमा अध्यक्षको सामुन्नेबाट वारपार गरी हिंड्न वा अध्यक्षको आसनतर्फ पिठ्यूँ
फर्काएर बस्न हुँदैन ।
(झ) बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक,
समाचारपत्र वा अन्य कागजपत्रहरु पढ्नु हुँदैन ।
(ञ) बैठकको अवधिभर बैठक कक्षमा मोवाईल फोन बन्द गर्नु पर्नेछ ।

३४. छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने कुराहरू ः बैठकमा हुने छलफलमा भाग लिने
सदस्यले देहायका कुराहरूको पालन गर्नु पर्नेछ ः–
(क) अध्यक्षको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्नेछ र अध्यक्षले निजको नाम बोलाएपछि
वा इशारा गरेपछि मात्र बोल्नु पर्नेछ ।
(ख) अध्यक्षले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक
अध्यक्षको आचरणको आलोचना गर्नु हुँदैन ।
(ग) संविधानको धारा ६० ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्नु हुँदैन ।
(घ) व्यक्तिगत आक्षेप लगाउन हुँदैन ।
(ङ) व्यवस्थापिका–संसदको जिम्मेवारी अन्तर्गतको विषयवस्तुमा बोल्नु हुदैन ।
(च) अशिष्ट, अश्लील, अपमानजनक वा कुनै आपत्तिजनक शब्द बोल्न हुँदैन ।
(छ) सभा वा अध्यक्षको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा
बाहेक सभा वा अध्यक्षको कुनै पनि निर्णयको आलोचना गर्नु हुँदैन ।
(ज) बोल्न पाउने अधिकारलाई बैठकको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्नु हुँदैन ।

३५. छलफलमा बोल्ने क्रम ः बैठकमा बोल्ने र उत्तर दिने क्रम देहाय बमोजिम हुनेछ ः–
(क) प्रस्ताव पेश गर्ने सदस्यले बोलिसकेपछि अध्यक्षले नाम बोलाएको वा इशारा गरेको क्रम
बमोजिमका सदस्यले बोल्न पाउनेछन् ।
(ख) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक अध्यक्षको अनुमतिबिना कुनै सदस्यले
एउटै प्रस्तावमा एक पटक भन्दा बढी बोल्न पाउने छैन ।
(ग) प्रस्ताव पेश गर्ने सदस्यले उत्तर दिनको निमित्त छलफलको अन्त्यमा फेरि बोल्न
पाउनेछ । सो प्रस्तावको सम्बन्धमा छलफलमा पहिले भाग लिएको वा नलिएको जेसुकै
भएतापनि प्रस्तावक सदस्यले उत्तर दिइसकेपछि अध्यक्षको अनुमति नलिई फेरि बोल्न
पाउनेछैन ।
(घ) प्रस्तावमा संशोधन पेश गर्ने सदस्यलाई अध्यक्षको अनुमतिबिना उत्तर दिने अधिकार हुने
छैन ।
(ङ) प्रस्ताव पेश गर्ने सदस्यले उत्तर दिइसकेपछि छलफल समाप्त भएको मानिनेछ ।

३६. सम्बद्धता ः (१) सदस्यले बोलेको कुरा संविधानसभाको विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनु
पर्नेछ ।
(२) कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार
दोहो¥याइरहेमा अध्यक्षले निजको व्यवहारप्रति बैठककोे ध्यान आकर्षित गर्दै निजलाई बोल्न बन्द
गर्न आदेश दिन सक्नेछ । त्यस्तो आदेश हुनासाथ सो सदस्यले बोल्न बन्द गरी आफ्नो स्थानग्रहण
गर्नु पर्नेछ ।

३७. स्पष्टीकरण माग गर्न वा दिन सकिने ः (१) छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै
सदस्यले कुनै स्पष्टीकरण माग गर्न आवश्यक सम्झेमा अध्यक्ष मार्पmत माग गर्न पाउनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुमति लिई कुनै
सदस्यले बैठकको जानकारीको लागि आपूmसँग सम्बन्धित अन्य विषयमा स्पष्टीकरण दिन
सक्नेछ ।
तर त्यस्तो स्पष्टीकरण दिंदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन र सो
स्पष्टीकरणमाथि कुनै छलफल गर्न पाइने छैन ।

३८. छलफल समाप्तिको प्रस्ताव ः (१) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कुनै सदस्यले
सभामा पेश भइसकेको प्रस्तावमाथिको छलफल समाप्त गरियोस् भन्ने प्रस्ताव अध्यक्षको अनुमति
लिई कुनै पनि समयमा पेश गर्न सक्नेछ ।
(२) मूल प्रस्तावमा आवश्यक छलफल भइसकेको लागेमा अध्यक्षले छलफल समाप्त
गरियोस् भन्ने प्रस्ताव संविधानसभाको निर्णयार्थ पेश गर्न सक्नेछ ।
(३) छलफल समाप्त गरियोस् भन्ने प्रस्तावमाथि कुनै संशोधन पेश गर्न वा छलफल गर्न
पाइने छैन र त्यस्तो प्रस्ताव स्वीकृत भएमा अध्यक्षले मूल प्रस्तावलाई अरू बढी छलफल हुन
नदिई संविधानसभाको निर्णयार्थ पेश गर्नेछ ।
(४) कुनै छलफल अनावश्यक किसिमले लम्बिएको छ भन्ने लागेमा अध्यक्षले बैठकको
राय बुझी छलफल अन्त्य हुने समय तोक्न सक्नेछ र त्यसरी समय तोकिएकोमा अध्यक्षले सो
समयावधिभित्र छलफल समाप्त भएको मानी मूल प्रस्तावमा संविधानसभाको निर्णय प्राप्त गर्न
आवश्यक सबै प्रश्नहरू निर्णयार्थ बैठकमा पेश गर्न सक्नेछ ।

३९. नियमापत्ति ः (१) सभा समक्ष तत्काल विचाराधीन रहेको कुनै कुरामा कुनै सदस्यलाई कुनै नियम
उल्लंघन भएको छ भन्ने लागेमा जुन नियम उल्लंघन भएको हो सो खुलाई नियमापत्ति उठाउन
सकिनेछ ।
(२) नियमापत्ति उठाउने सदस्यले अध्यक्षबाट स्वीकृति सूचक अभिव्यक्ति वा इशारा
पाएपछि बोलिरहेको सदस्यले बोल्न बन्द गर्नु पर्नेछ ।
(३) नियमापत्ति उठाउने सदस्यले आफ्नो कुरा र आधार स्पष्ट गरी नियमापत्ति सम्बन्धी
कुरा मात्र बोल्न पाउनेछ र नियमापत्ति उठाइसकेपछि निजले आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ ।
(४) बैठकमा उठाइएको नियमापत्तिको निर्णय अध्यक्षले गर्नेछ र निजको निर्णय अन्तिम
हुनेछ ।