परिच्छेद–१२ संविधानको विधेयक पारित गर्ने कार्यविधि

परिच्छेद–१२ संविधानको विधेयक पारित गर्ने कार्यविधि

९०. संविधानको विधेयकको पहिलो मस्यौदा प्रस्तुत गर्न अनुमतिको लागि सूचना ः संविधान र यस
नियमावलीको अधीनमा रही संवैधानिक समितिको सभापति वा निजले तोकेको सोही समितिको
सदस्यले संविधानको विधेयकको पहिलो मस्यौदा सभामा प्रस्तुत गर्नेछ । प्रस्तुतकर्ताले सो विधेयक
प्रस्तुत गर्नुको उद्धेश्य र कारण सहितको विवरण संलग्न गरी त्यसको सूचना महासचिव वा
सचिवलाई दिनु पर्नेछ । अध्यक्षले अन्यथा आदेश दिएमा वाहेक त्यस्तो सूचना कम्तीमा सात दिन
अगावै दिनु पर्नेछ ।
स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “संविधानको विधेयक” भन्नाले संविधानको
प्रस्तावना, धारा, उपधारा, खण्ड र अनुसूची सहितको पूर्ण दस्तावेजलाई जनाउँछ ।

९१. विधेयकको पहिलो मस्यौदा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव ः (१) संवैधानिक समितिको
सभापति वा निजले तोकेको सोही समितिको सदस्यले संविधानको विधेयकको पहिलो मस्यौदा
सभामा प्रस्तुत गर्न अध्यक्षको अनुमति माग गर्नेछ ।
(२) उपनियम (१) बमोजिम संविधानको विधेयकको पहिलो मस्यौदा प्रस्तुत गर्ने अनुमति
पाए पछि संवैधानिक समितिको सभापति वा निजले तोकेको सोही समितिको सदस्यले सो
विधेयकको पहिलो मस्यौदालाई तत्काल सभा समक्ष प्रस्तुत गर्नेछ र यसरी विधेयकको पहिलो
मस्यौदा प्रस्तुत भई सके पछि निजले देहायको प्रस्ताव प्रस्तुत गर्नेछः–
(क) संविधानको विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई
जनताको प्रतिकृया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी
सार्वजनिक गरियोस् भन्ने, र
(ख) विधेयकको पहिलो मस्यौदाको प्रचार प्रसार गर्न, सुझाव संकलन गर्न र
सो बारे प्रतिवेदन समेत बुझाउन समयावधि तोकि मस्यौदा संविधान
जनमत संकलन तथा समन्वय समितिलाई जिम्मा दिइयोस् भन्ने ।
(३) उपनियम (२) बमोजिमको प्रस्ताव पेश गर्नु भन्दा कम्तीमा चार दिन अगावै
संविधानको विधेयकको पहिलो मस्यौदाको प्रति प्रत्येक सदस्यलाई उपलब्ध गराईनेछ ।

९२. जनताको प्रतिकृया प्राप्त गर्ने कार्यविधि ः (१) संविधानको विधेयकको पहिलो मस्यौदामा
जनताको प्रतिकृया प्राप्त गर्नको लागि प्रचार गरियोस् भन्ने प्रस्ताव पारित भएपछि जनमत
संकलन तथा समन्वय समितिको सभापतिले सो विधेयकको मस्यौदा प्रचार प्रसार र सोबारे
सुझाव संकलन गर्ने सम्बन्धमा कार्य योजना तयार पारी स्वीकृतिका लागि सभासमक्ष प्रस्तुत
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वीकृत भएको कार्ययोजना सार्वजनिक पत्रपत्रिकामा
प्रकाशन गर्नुका साथै सो कार्ययोजनामा निर्धारित समयभित्र काम सम्पन्न गरी सोको प्रतिवेदन
सभामा प्रस्तुत गर्नु पर्नेछ ।

९३. जनताको प्रतिकृया प्राप्त भएपछिको कार्यविधि ः नियम ९२ बमोजिम जनताको प्रतिकृया प्राप्त
भई सो सम्बन्धी जनमत संकलन तथा समन्वय समितिको प्रतिवेदन सभामा प्रस्तुत भएपछि
सभाले सो प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्देशन सहित संविधानको विधेयकको पहिलो
मस्यौदा परिमार्जन गरी संविधानको परिमार्जित विधेयक सभामा प्रस्तुत गर्न संविधानको
विधेयकको पहिलो मस्यौदा, जनताको प्रतिक्रिया सम्बन्धी प्रतिवेदन र सभाको निर्देशन लगायतका
सम्पूर्ण कागजात सहितको विवरण संवैधानिक समितिमा पठाउने छ ।

९४. परिमार्जित विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव ः(१) नियम ९२ बमोजिम प्राप्त
प्रतिवेदन उपर छलफल गरी नियम ९३ बमोजिम सभाले दिएको निर्देशन अनुसार संवैधानिक
समितिले संविधानको विधेयकमा आवश्यक परिमार्जन गर्नेछ र यसरी परिमार्जन गरिसके पछि
तयार पारेको संविधानको परिमार्जित विधेयक अध्यक्षको अनुमति लिई संवैधानिक समितिको
सभापति वा निजले तोकेको साही समितिको सदस्यले संविधानसभामा प्रस्तुत गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सभामा पेश भएको संविधानको परिमार्जित विधेयक सामान्य
छलफल हुनु भन्दा कम्तीमा तीन दिन अगावै प्रत्येक सदस्यहरुलाई वितरण
गरिनेछ ।

९५. विधेयकमा सामान्य छलफल ः (१) नियम ९४ बमोजिम संविधानको विधेयक सभामा प्रस्तुत
भएपछि सो विधेयक उपर सामान्य छलफलको निमित्त अध्यक्षले मिति र समय तोक्नेछ ।
(२) सामान्य छलफलको क्रममा संविधानको विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल
गरिनेछ । त्यसरी छलफल गर्दा संविधानको विधेयकको आधारभूत संरचनामा स्पष्ट गर्न आवश्यक
देखिएमा बाहेक सो विधेयकका धाराहरु माथि छलफल गरिने छैन र विधेयकमा कुनै संशोधन पेश
गर्न सकिने छैन

९६. प्रस्ताव पेश गर्न अधिकृत गर्न सकिने ः संविधानको विधेयक प्रस्तुतकर्ता सभापति स्वयं उपस्थित
हुन असमर्थ छ भन्ने कुरामा अध्यक्ष सन्तुष्ट भएमा अध्यक्षले तोकेको संविधान मस्यौदा समितिको
कुनै सदस्यले सो विधेयकको सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

९७. विधेयकमा संशोधनको सूचना ः संविधानको विधेयकमा संशोधन पेश गर्न चाहने कुनै पनि
सदस्यले सो विधेयकमाथिको सामान्य छलफल समाप्त भएको एक हप्ताभित्र आपूmले पेश गर्न
चाहेको संशोधन सहितको सूचना महासचिव वा सचिवलाई दिनु पर्नेछ ।

९८. संशोधन सम्बन्धी शर्तहरू ः (१) देहायका शर्तहरूका अधीनमा रही विधेयकमा संशोधन पेश गर्न
सकिनेछ ः–
(क) संशोधन विधेयकको विषयसँग सम्बद्ध र विधेयकको परिधिभित्रको हुनु
पर्नेछ ।
(ख) संशोधन मूल विधेयकमा निहित सिद्धान्तको विपरीत हुनु हुँदैन ।
(ग) संशोधन अस्पष्ट, निरर्थक वा महत्वहीन हुनु हुँदैन ।
(घ) कुनै धारामा गर्न खोजिएको संशोधन उक्त धारामा रहेको कुरासँग
सम्बद्ध हुनु पर्नेछ ।
(ङ) संशोधन सभाद्वारा नियम ८२ को उपनियम (९) बमोजिम पारित
अवधारणा सम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन र नियम ९५ को
उपनियम (२) बमोजिम स्वीकृत सिद्धान्तको विपरीत हुनु हुँदैन ।
(च) संशोधन विधेयकको कुन धारा वा उपधारा वा खण्डको कुन व्यवस्था वा
शब्दावलीको सट्टामा के कस्तो व्यवस्था वा शब्दावली राख्न खोजिएको
हो भन्ने कुरा स्पष्ट खुलाएको हुनु पर्नेछ ।
(२) अध्यक्षलाई यस नियमको अधीनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, कारण सहित
अस्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा
बढी संशोधनहरूलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।

९९. संशोधनहरूको क्रम ः अध्यक्षबाट स्वीकृत भएका संशोधनहरू यथासम्भव क्रम मिलाई संशोधनको
सूचीमा राखिनेछन् ।

१००. सामान्य छलफल समाप्त भएपछिको कार्यविधि ः संविधानको विधेयक माथि सामान्य छलफल
समाप्त भएपछि प्रस्तुतकर्ता सभापतिले सो विधेयक माथि सभामा दफावार छलफल गरी पारित
गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।

१०१. संशोधन सहित धाराहरुको छलफल ः (१) संशोधनमा विचार गर्दा सामान्यतया संविधानको
विधेयकका धाराहरूको क्रमानुसार गरिनेछ र अध्यक्षले नाम बोलाएको सदस्यले वा निजले
अधिकृत गरेको सदस्यले संशोधन प्रस्तुत गर्न सक्नेछ ।
(२) संशोधनमाथिको छलफलबाट यथावत रहेको वा संशोधन स्वीकार गरिएको प्रत्येक
धाराका सम्बन्धमा क्रमानुसार अध्यक्षले “यो धारा विधेयकको अङ्ग बनोस्” भन्ने प्रस्ताव निर्णयार्थ
पेश गर्नेछ ।
तर समयको मितव्ययिताको लागि छलफलमा दोहोरोपन हटाउन एकै धारा वा सो
अन्तर्गत प्राप्त अन्योन्याश्रित संशोधनहरूलाई एकसाथ छलफल गर्ने अनुमति दिन सकिनेछ र
धाराहरूमाथिको छलफलको क्रममा विधेयकको कुनै भाग वा धारालाई अघि–पछि गरी छलफलमा
राख्न वा कुनै भाग वा धारालाई पछि विचार गर्ने गरी मुलतबी राख्न सकिनेछ ।

१०२. संशोधन फिर्ता लिन सकिने ः संशोधन प्रस्तुतकर्ता सदस्यले बैठकको स्वीकृति लिई संशोधन
फिर्ता लिन सक्नेछ ।

१०३. अनुसूचीहरूमाथि छलफल ः अध्यक्षले अन्यथा निर्णय गरेमा बाहेक संविधानको विधेयकमा रहेका
अनुसूची र त्यसमा प्राप्त संशोधनहरूमाथिको छलफल सम्बन्धित धारामाथिको छलफलको लगत्तै
पछि गरिनेछ र बैठकको निर्णयको लागि राखिने प्रश्न पनि सोही क्रममा प्रस्तुत गरिनेछ ।

१०४ प्रस्तावना र नामको प्रस्तुति ः संविधानको विधेयकका अन्य सबै धाराहरू र अनुसूचीहरू भए सो
समेत उपर निर्णय भएपछि मात्र अध्यक्षले सो विधेयकको प्रस्तावना र नाम सम्बन्धी धारालाई
मूल रूपमा वा संशोधित रूपमा विधेयकको अङ्ग बनाइयोस् भनी अन्त्यमा प्रस्ताव गर्नेछ ।

१०५. विधेयक पारित गर्ने प्रस्ताव ः सभामा दफावार छलफल भएकोमा सो समाप्त भएपछि विधेयक
प्रस्तुतकर्ता सदस्यले संविधानको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

१०६. संविधानको विधेयक पारित गर्ने विधि ः संविधानसभाले संविधानको विधेयक पारित गर्दा
संविधानको धारा ७० मा उल्लिखित कार्यविधि अवलम्वन गर्नेछ ।

१०७. आनुषंगिक सुधार गर्ने अध्यक्षको अधिकार ः (१) उपनियम (२) बमोजिमको समितिको
सिफारिसमा अध्यक्षले सभाबाट पारित भईसकेको संविधानको विधेयकमा आवश्यक देखेमा सो
विधेयकका धाराहरूको संख्याको क्रम मिलाउन र आवश्यक आनुषंगिक सुधारहरू गर्न सक्नेछ ।
(२) सभाबाट पारित संविधानको विधेयकमा धाराहरुको क्रम संख्याको सम्बन्धमा र अन्य
सामान्य विषयमा सुधार नगरी नहुने कुनै त्रुटि देखिएमा सोको आनुषंगिक सुधार गर्नको लागि
अध्यक्ष समक्ष सिफारिस गर्न देहाय बमोजिमको एक समिति रहनेछः–
(क) संवैधानिक समितिको सभापति – पदेन सभापति
(ख) कार्य व्यवस्था परामर्श समितिको परामर्शमा
अध्यक्षद्वारा मनोनीत चार जना सदस्य – सदस्य
(३) कुनै सदस्यले सभाबाट पारित संविधानको विधेयकमा आनुषंगिक सुधार गर्नु पर्ने कुनै
विषय देखेमा सोको सूचना उपनियम (२) बमोजिम गठित समितिलाई दिन सक्नेछ ।

१०८. विधेयकको प्रमाणीकरण ः (१) संविधानसभाबाट पारित भएको संविधानको विधेयकको अन्तमा
संविधानसभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन ।
(२) संविधानसभाबाट पारित भई उपनियम (१) बमोजिम सदस्यहरुले हस्ताक्षर गरेको
संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण
गर्नेछ ।
तर कुनै सदस्यको हस्ताक्षर हुन बाँकी रहेको कारणले मात्र यस नियम बमोजिम
संविधानको विधेयकको प्रमाणीकरण गर्न बाधा पर्ने छैन ।
(३) उपनियम (२) बमोजिम प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी
निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित
संविधानको प्रति अध्यक्षले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली
जनता समक्ष संविधान सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछ ।
(४) उपनियम (२) बमोजिम प्रमाणीकरण भएको संविधानको एकप्रति संविधानसभा
सचिवालयको अभिलेखमा राखी अर्को एक एक प्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयमा पठाइनेछ ।