परिच्छेद–३ राजस्व चुहावटको अनुसन्धान तथा तहकिकात

परिच्छेद–३ राजस्व चुहावटको अनुसन्धान तथा तहकिकात

 

६. राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्नेः विभागले राजस्व चुहावट गरेको वा गर्न लागेको सूचना परिच्छेद – २ बमोजिम प्राप्त गरेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात प्रारम्भ गर्नु पर्नेछ ।

७. प्रारम्भिक छानबिन गर्न गराउन सक्नेः (१) परिच्छेद – २ बमोजिम प्राप्त भएको वा अन्य कुनै स्रोतबाट विभागलाई जानकारी प्राप्त भएको राजस्व चुहावट गरेको वा गर्न लागेको सूचनाका सम्बन्धमा प्रारम्भिक छानबिन गर्नु पर्ने देखेमा महानिर्देशक आफैले वा कुनै अधिकृत कर्मचारी मार्फत प्रारम्भिक छानबिन गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रारम्भिक छानबिन गर्दा वा गराउँदा महानिर्देशकले त्यस्तो सूचनाका सम्बन्धमा स्थलगत रुपमा अध्ययन वा अवलोकन गर्न गराउन वा अन्य उपयुक्त माध्यमबाट छानबिन गर्न वा गराउन सक्नेछ ।
(३) यस नियम बमोजिम प्रारभ्मिक छानविनको लागि कुनै अधिकृतलाई खटाइएकोमा त्यस्तो अधिकृतले प्रारम्भिक छानबिन गरी सोको प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ ।

८. अनुसन्धान अधिकृत तोक्नेः (१) नियम ७ बमोजिम प्रारम्भीक छानबिन गर्दा वा प्राप्त सूचनाका आधारमा राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात गर्नु पर्ने देखिएमा महानिर्देशक आफैले अनुसन्धान तथा तहकिकात गर्न वा कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत तोकी निजबाट अनुसन्धान तथा तहकिकात गराउन सक्नेछ ।
(२) महानिर्देशकले उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत तोक्दा ऐनको दफा ८ बमोजिम अनुसन्धान तथा तहकिकात सम्पन्न गर्नु पर्ने अवधि समेत तोकी सहयोगी कर्मचारीलाई समेत खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अनुसन्धान तथा तहकिकात सम्पन्न हुन नसकेमा सोको कारण खुलाई अनुसन्धान अधिकृतले महानिर्देशक समक्ष थप अवधि माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम थप अवधि माग गरेकोे व्यहोरा मनासिब देखिएमा कसूरको प्रकृति तथा अनुसन्धान तथा तहकिकातमा भएको प्रगति समेतलाई विचार गरी महानिर्देशकले एकै पटक वा पटक पटक गरी बढीमा तीस दिनसम्म अवधि थप गरिदिन सक्नेछ ।
(५) महानिर्देशकले अनुसन्धान अधिकृत तोक्ने पत्रको ढाँचा अनुसूची–४ बमोजिमको हुनेछ ।

९. अन्य कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम तोक्नेः (१) विभागमा कार्यरत कर्मचारी बाहेकका अन्य सरकारी निकाय वा सरकारी कर्मचारीलाई ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने काम तोक्नु परेमा सोको सिफारिस सहित महानिर्देशकले अर्थ मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकाय समेतसँग परामर्श गरी मन्त्रालयले कुनै सरकारी निकाय वा कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम गर्ने गरी तोक्न सक्नेछ ।

१०. अनुसन्धान अधिकृत हेरफेर गर्न सक्नेः (१) कुनै अनुसन्धान अधिकृतलाई तोकिएको काम कुनै कारणले निजबाट सम्पन्न हुन सक्ने नदेखिएमा वा निजबाट सो काम गराउन उपयुक्त छैन भन्ने मनासिब कारण भएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोक्न सक्नेछ ।
(२) अनुसन्धान तथा तहकिकात गर्न तोकिएको राजस्व चुहावट सम्बन्धी सूचना आफ्नो नजिकको नातेदारसँग सम्बन्धित भएमा वा त्यस्तो विषयमा आफ्नो समेत साझेदारी वा हिस्सा वा संलग्नता भएमा वा सो विषयसँग सम्बन्धित व्यक्तिसँग लेनदेन, कारोबार वा व्यवहार भएमा अनुसन्धान अधिकृतले सोको जानकारी तत्काल महानिर्देशकलाई दिनु पर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजु भाइ, दिदी, बहिनी, भाउजू, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजू, छोरा, छोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाईं सम्झनु पर्छ ।
(३) उपनियम (२) बमोजिम जानकारी प्राप्त भएमा र व्यहोरा मनासिब देखिएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात गराउनु पर्नेछ ।

११. बयान गराउन वा जानकारी वा सूचना लिन सक्नेः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कसैसँग सोधपुछ गर्नु पर्ने, कुनै सूचना वा जानकारी लिनु पर्ने देखिएमा वा बयान लिनु पर्ने भएमा सम्बन्धित व्यक्तिलाई उपस्थित गराई सोधपुछ गर्न, कुनै सूचना वा जानकारी लिन वा बयान गराउन सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा, कुनै सूचना वा जानकारी लिंदा वा वयान गराउँदा आफूले अनुसन्धान तथा तहकिकात गर्नु पर्ने विषयमा सम्बन्धित व्यक्तिले स्पष्ट रुपमा बुझ्न सक्ने गरी आवश्यक विषयमा प्रश्नहरु सोधी जानकारी, सूचना वा जवाफ लिनु वा वयान गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै व्यक्तिलाई उपस्थित गराउन अनुसन्धान अधिकृतबाट लेखिने पत्रको ढाँचा अनुसूची – ५ बमोजिमको हुनेछ ।
(४) अनुसन्धान अधिकृतले उपनियम (१) बमोजिम कुनै व्यक्तिको बयान गराउँदा अनुसूची – ६ बमोजिमको ढाँचामा गराउनु पर्नेछ ।

१२. पक्राउ पूर्जी जारी गर्नेः राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा ऐनको दफा १२ बमोजिम कुनै व्यक्तिलाई पक्राउ गर्नु परेमा अनुसन्धान अधिकृतले अनुसूची–७ बमोजिमको ढाँचामा पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।

१३. थुनुवा पूर्जी दिनु पर्नेः राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कुनै व्यक्तिलाई पक्राउ गरी थुनामा राख्दा अनुसूची–८ बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिनु पर्नेछ ।

१४. खानतलासी तथा बरामद सम्बन्धी कार्यविधिः (१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा त्यस्तो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा दशी प्रमाण कुनै व्यक्तिसंग वा कुनै ठाउँमा छ भन्ने शंका गर्नु पर्ने मनासिब कारण भएमा निजले कसैको घर कम्पाउण्ड व्यापारिक परिसर, गोदाम, कारखाना वा जुनसुकै ठाउँमा प्रवेश गर्नु अघि अनुसूची–
९ बमोजिमको ढाँचामा खानतलासी सम्बन्धी सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खानतलासी गर्दा उक्त स्थानमा फेला परेका राजस्व चुहावट सम्बन्धी कसूरसँग सम्बन्धित वस्तुहरुको विवरण उल्लेख गरी माल वस्तुको धनी र उपलब्ध भएसम्म स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा अनुसूची–१० बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खानतलासी गर्दा बरामद भएको नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान आफूस“ग लानु परेमा अनुसन्धान अधिकृतले अनुसूची–११ बमोजिमको ढा“चामा त्यस्तो मालसमान बुझेको भर्पाइ सम्बन्धित वस्तुको धनी वा सो वस्तु जिम्मा रहेको व्यक्ति तथा कुनै संगठित संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक वा पदाधिकारी वा जिम्मेवार कर्मचारीलाई दिनु
पर्नेछ ।
(४) बरामद भएको वस्तुको धनीले उपनियम (३) बमोजिम भरपाइ लिन इन्कार गरेमा बरामद भएको स्थानमा उपलब्ध भएसम्म स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र कम्तीमा दुई जना स्थानीय व्यक्तिको रोहबरमा त्यस्तो भरपाइ टाँस गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको स्थानीय निकायको प्रतिनिधि वा सरकारी कर्मचारी र स्थानीय दुई जना व्यक्ति फेला नपरेमा काम तामेल गर्ने कर्मचारीले सो व्यहोरा मुचुल्कामा नै उल्लेख गरी त्यस्तो नगद, जिन्सी वा बिल बिजक, कागजात वा अन्य कुनै मालसमान बरामद गरिएको स्थानमा त्यस्तो भरपाइ टाँस गरे पछि सम्बन्धित व्यक्तिले रीतपूर्वक भरपाइ बुझेको मानिनेछ ।
(६) बरामदी मुचुल्कामा स्थानीय निकायका प्रतिनिधि वा कुनै सरकारी कर्मचारी तथा कम्तीमा दुई जना स्थानीय व्यक्ति उपलब्ध नभएमा सोही व्यहोरा खोली खानतलासी गर्न जाने टोलीका कर्मचारीहरुलाई रोहबरमा राखी काम सम्पन्न गर्नु पर्नेछ ।
(७) सम्बन्धित व्यक्ति फेला नपरेमा वा निजले रोहबरमा बस्न अस्वीकार गरेमा बरामदी मुचुल्कामा सोही व्यहोरा उल्लेख गर्नु पर्नेछ ।

१५. तारेख वा बैड्ढ जमानतमा छाड्न सक्नेः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु आवश्यक नदेखिएमा अनुसन्धान अधिकृतले त्यस्तो अभियुक्तलाई ऐन बमोजिम तारेखमा छोड्न वा निजसँग धरौटी वा जमानी माग्न वा बैड्ढ जमानत माग गर्न सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले माग गरेको धरौटी, जमानी वा बैङ्क जमानत दाखिला गर्न नसकेमा अनुसन्धान अधिकृतले अभियुक्तलाई थुनामा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।

१६. आदेश पर्चा खडा गर्नु पर्नेः (१) अनुसन्धान अधिकृतले राजस्व चुहावट सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेको अभियुक्तलाई अनुसन्धान तथा तहकिकातको सिलसिलामा तारेखमा छोड्ने, निजसँग धरौटी वा जमानी माग्ने वा बैङ्क जमानत माग्ने वा थुनामा राखी पुर्पक्ष गर्दा सोको आधार र कारण खुलाई आदेश पर्चा खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको आदेश पर्चाको ढाँचा अनुसूची–१२ बमोजिम हुनेछ ।

१७. धरौटी, जमानी वा बैड्ढ जमानत माग्ने कार्यविधिः (१) अनुसन्धान अधिकृतले अभियुक्तलाई नियम १५ बमोजिम धरौटी, जमानी वा बैङ्क जमानत माग्दा राजस्व चुहावट सम्बन्धी कसूरको विगो खुलेको विगो तथा निजलाई हुन सक्ने जरिवानालाई समेत खाम्ने गरी माग्नु पर्नेछ ।
(२) अभियुक्तले उपनियम (१) बमोजिम मागिएको धरौटी वा जेथा जमानी दिंदा अनुसूची–१३ बमोजिमको ढाचामा दिनु पर्नेछ ।
(३) अभियुक्तको तर्फबाट कुनै व्यक्तिले जेथा जमानी दिएकोमा त्यस्तो व्यक्तिले अनुसूची – १४ बमोजिमको ढाचामा कागज गर्नु पर्नेछ ।
(४) अनुसन्धान अधिकृतले यस नियम बमोजिम बैङ्क जमानत लिंदा प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “क” वर्गको बैङ्क तथा वित्तीय संस्थाबाट मात्र लिनु पर्नेछ ।
(५) यस नियम बमोजिम अभियुक्तबाट धरौटी, जेथा जमानी वा बैङ्क जमानत लिएकोमा विभागले अनुसूची–१५ बमोजिमको ढाचामा सोको अभिलेख खडा गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको अभिलेखमा अभियुक्तको नाम ,थर, वतन, आदेश भएको मिति र व्यहोरा, आदेश दिने पदाधिकारी समेत स्पष्ट खुलाउनु पर्नेछ ।

१८. तारेख पर्चा दिनु पर्नेः (१) अनुसन्धान अधिकृतले कुनै अभियुक्तलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएमा अनुसूची – १६ बमोजिमको ढाँचामा तारेख किताब खडा गरी तारेख दिनु पर्नेछ ।
(२) अभियुक्तलाई तारेख दिने तारेख पर्चाको ढाँचा अनुसूची–१७ बमोजिम हुनेछ ।

१९. थप जानकारी लिन वा ततिम्बा बयान गराउन सक्नेः अनुसन्धान अधिकृतले आवश्यक देखेमा अनुसन्धान तथा तहकिकातको सिलसिलामा राजस्व चुहावट सम्बन्धी कसूर सम्बन्धी जानकारी भएको कुनै व्यक्तिसँग थप जानकारी लिन वा अभियुक्तसँग त्यस्तो कसूरका सम्बन्धमा थप जानकारी लिन वा कारण खुलाई निजसँग ततिम्बा बयान गराउन सक्नेछ ।

२०. कारोबारको विवरण माग गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले ऐनको दफा ९ को उपदफा (९) बमोजिम अभियुक्तको कुनै कार्यालय, संघ।संस्था वा कुनै बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थामा रहेको कारोबारको विवरण तथा धितोपत्रमा भएको आर्थिक कारोबारको विवरण माग गर्दा अनुसूची – १८ बमोजिमको ढाँचामा सम्बन्धित निकाय वा संस्थामा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण माग गरेकोमा विभागले अनुसूची – १९ बमोजिमको ढाँचामा सो सम्बन्धी अभिलेख खडा गरी उक्त अभिलेखमा राजस्व चुहावट सम्बन्धी सूचना नम्बर, अभियुक्तको नाम, थर, वतन, कारोवारको विवरण तथा विवरण माग गर्न लेखिएको पत्रको मिति र चलानी नम्बर समेत खुलाउनु पर्नेछ ।

२१. रोक्का राखिएको राहदानी वा धरौटी, जेथा जमानी वा बैङ्क जमानत फुकुवाः (१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तककिकातको क्रममा रोक्का राखिएको राहदानी रोक्का राखिरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई अनुसूची – २० बमोजिमको ढाँचामा अभिलेख जनाई राहदानी रोक्का राख्ने निकायमा फुकुवाको लागि लेखी पठाउनु पर्नेछ ।
(२) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा धरौटी, जमानी वा बैड्ढ जमानत मागिएको र अभियुक्त वा निजको तर्फबाट धरौटी, जमानी वा बैड्ढ जमानत लिएकोमा सो सम्बन्धमा मुद्दा नचल्ने निर्णय भएमा विभागले त्यस्तो नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्नेछ ।
(३) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले सफाई पाउने ठहर भई सो अन्तिम भएमा वा पुनरावेदन परेकोमा पुनरावेदनको अन्तिम टुङ्गो लागेपछि अभियुक्त वा निजको तर्फबाट राखिएको नगद धरौटी वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्छ ।
(४) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले त्यस्तो कसूर गरेको ठहर भएमा निज वा निजको तर्फबाट लिइएको धरौटी, जमानी वा बैङ्क जमानतबाट फैसला बमोजिम लाग्ने दण्ड जरीवाना कटाई बाँकी सम्पत्ति निजलाई फुकुवा गरिदिनु पर्नेछ ।
(५) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कब्जामा लिइएको मालवस्तु वा कागजपत्र कब्जामा लिइरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई सोको अभिलेख जनाई सम्बन्धित व्यक्तिबाट भरपाइ गरी लिई त्यस्तो मालवस्तु वा कागजपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिनु पर्नेछ ।

२२. अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेः अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न गरेपछि आफ्नो राय सहित अनुसूची– २१ बमोजिमको ढाँचामा महानिर्देशक समक्ष अनुसन्धान तथा तहकिकात सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेछ ।

२३. सरकारी वकिल समक्ष मिसिल पठाउनु पर्नेः महानिर्देशकको स्वीकृत प्राप्त भएपछि अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको कार्य सम्पन्न भएपछि आफ्नो राय सहित मुद्दा दायर गर्ने सम्बन्धमा सक्कल मिसिल, प्रमाण तथा विवरण संलग्न गरी आवश्यक निर्णयका लागि सम्बन्धित सरकारी वकिल कार्यालय समक्ष अनुसूची– २२ बमोजिमको ढाँचामा लेखी पठाउनु पर्नेछ ।

२४. अभियोगपत्र दायर गर्नेः (१) सम्बन्धित सरकारी वकिल कार्यालयवाट मुद्दा दायर गर्ने गरी राय प्राप्त भएमा ऐनको दफा २० को अधीनमा रही अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष अभियोग पत्र दायर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभियोगपत्रमा देहायका कुराहरु खुलाउनु पर्नेछः–
(क) अभियुक्तको नाम, थर वतन (स्थायी, अस्थायी तथा सम्पर्क ठेगाना, टेलिफोन, इमेल)
(ख) आरोप वा अभियोग लगाइएको विषय तथा तथ्यहरु,
(ग) सम्बद्ध कानून,
(घ) कानून तथा तथ्यको विश्लेषण,
(ङ) अपराधका तत्वहरु,
(च) राजस्व चुहावट गरेको यथार्थ विवरण (रकम समेत खुलाउने),
(छ) राजस्व चुहावट सम्बन्धी कसूरको मात्रा निर्धारण गर्ने आधार,
(ज) सजायको माग दावी,
(झ) अन्य प्रासङ्गिक कुराहरु ।
(३) उपनियम (१) बमोजिम अभियोगपत्र दायर गरे पश्चात प्राप्त थप प्रमाणका आधारमा कुनै व्यक्ति उपर अभियोग लगाउनु पर्ने भएमा यसै नियमावली बमोजिमको प्रकृया पूरा गरी थप अभियोगपत्र दायर गर्न सकिनेछ ।

(४) अभियोगपत्रको ढाँचा अनुसूची–२३ बमोजिमको हुनेछ ।