परिच्छेद–२

परिच्छेद–२

पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था
३. क्वारेन्टाइन चेकपोष्टको स्थापना :

(१) देहायका स्थानमा ऐनको दफा ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना गरिनेछ :–
(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी पैठारी हुने अन्तर्राष्ट्रिय नाका,
(ख) अन्तर्राष्ट्रिय विमानस्थल,
(ग) देश भित्र नै पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अधिक ओसार पसार हुने बिन्दु ।

(२) उपनियम (१) बमोजिम स्थापना भएको चेकपोष्टमा देहाय बमोजिमको व्यवस्था हुनु पर्नेछ :–

(क) पशुको आवागमनको लागि छुट्टै प्रवेश तथा प्रस्थानद्वारको व्यवस्था,
(ख) क्वारेन्टाइनको लागि प्रयोग हुने भवन तथा गोठ सजिलैसंग सरसफाई तथा निःसंक्रमण गर्न सकिने व्यवस्था,
(ग) बिभिन्न सवारी साधनबाट ढुवानी हुने पशु तथा पशुजन्य पदार्थलाई उकाल्न तथा ओराल्न प्लेटफार्मको व्यवस्था ।
४. क्वारेन्टाइन स्थलको निर्माणः(१) नियम ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना भएको स्थानमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले सिफारिसको
लागि कार्य योजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी क्वारेन्टाइन स्थल निर्माण गर्न दिन उपयुक्त देखेमा निवेदकलाई
सिफारिसपत्र दिनेछ ।
(३) उपनियम (२) बमोजिमको सिफारिसपत्र सहित निवेदन पर्न आएमा नेपाल सरकारले क्वारेन्टाइन स्थल निर्माण गर्न अनुमति दिन सक्नेछ । तर प्रजननको लागि पैठारी भएको पशुलाई पैठारीकर्ता र विभागको सहमतिमा छुट्टै क्वारेन्टाइनस्थल तोक्न सकिनेछ ।

५. क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्तहरूः

(१) क्वारेन्टाइनस्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा पूरा गर्नु पर्ने मापदण्ड देहाय बमोजिम हुनेछ :–

(क) कम्तीमा ६५०० वर्ग मिटर क्षेत्रफलको जग्गा भएको हुनु पर्ने,
(ख) पशु पालन क्षेत्र, पशु फार्म, पशु बधशाला, पशु हाट बजार र पशुको प्रत्यक्ष ओहोर दोहोर हुने ठाउँबाट कम्तीमा ५०० (पाँच सय) मिटरको दुरीमा हुनु पर्ने,
(ग) क्वारेन्टाइनमा राखिएका पशुहरूको बाहिरी पशुहरूसँग सम्पर्क हुन नपाउने गरी बार बन्देजको व्यवस्था हुनु पर्ने,
(घ) भिन्ना भिन्नै जातीका पशुहरू तथा भिन्ना भिन्नै खेपमा प्रवेश गर्ने पशुहरू राख्नको लागि अलग अलग ठाँउको व्यवस्था हुनु पर्ने,
(ङ) पशुहरूको निमित्त उपयुक्त पिउने पानी, प्रकाश, भेन्टिलेशन तथा ढल निकासको व्यवस्था हुनु पर्ने,
(च) पशुहरूलाई प्रवेश तथा प्रस्थान गराउनको लागि मुल ढोका पछि अर्को भित्री ढोका समेतको व्यवस्था हुनु पर्ने,
(छ) आवश्यक दाना, पानी, घाँस पराल आदी राख्ने ठाउँ भएको हुनु पर्ने,
(ज) पशुहरूलाई परिवहन साधनबाट ओराल्न र त्यसमा उकाल्न प्लेटफार्मको व्यवस्था हुनु पर्ने,
(झ) सजिलैसँग सफा गर्न, निःसंक्रमण गर्न र सुख्खा राख्न सकिने किसिमको भूँई निर्माण गरिएको हुनु पर्ने,
(ञ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री राख्नको लागि छुट्टाछुट्टै र पर्याप्त स्थानको व्यवस्था हुनु पर्ने,
(ट) शीत भण्डारमा राख्नु पर्ने बस्तुहरू भएमा त्यस्ता बस्तुहरू राख्ने व्यवस्था मिलाइएको हुनु पर्ने,
(ठ) निःसंक्रमण गर्नको लागि पर्याप्त स्थान र सो को लागि प्रयोग हुने रसायन तथा सामग्रीहरु राख्नको लागि उपयुक्त ठाउँ हुनु पर्ने, र
(ड) सम्बन्धित विषयका दक्ष कर्मचारीको व्यवस्था भएको हुनु पर्ने ।
(२) क्वारेन्टाइन स्थल भित्र क्वारेन्टाइन सम्बन्धी कार्य बाहेक अन्य कार्य गर्न पाइने छैन ।

६. क्वारेन्टाइनमा राखिने अवधि ः

(१) जुन मुलुकबाट पशु पैठारी गरिने हो सो मुलुकमा नेपालमा विद्यमान रोगको विरुद्ध खोप लगाएको अद्यावधिक र प्रामाणिक प्रमाणपत्र पेश भएमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशुलाई क्वारेन्टाइनमा राखी प्रमाणपत्र बमोजिमको पहिचान चिन्ह यकिन गरी जाँची त्यस्तो पशु स्वस्थ भएको पाइएमा छाड्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम यकिन हुन नसकेमा वा पशु स्वस्थ नपाइएमा वा खोपको प्रामाणिक प्रमाणपत्र बिना पैठारी गरिएको भएमा त्यस्ता पशुलाई क्वारेन्टाइन स्थलमा राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै पशुलाई क्वारेन्टाइनमा राख्नु पर्दा देहायका रोगको लागि देहायको अवधिसम्म र अन्य रोगको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अवधिसम्म राख्नु पर्नेछ :–

(क) रिण्डरपेष्ट( Rindetpest)– २१ दिन
(ख) पूट एण्ड माउथ् डिजिज् (Foot and Mouth Diease) – १४ दिन
(ग) पेष्टिस डेस पेटिटिस रुमिनान्ट्स्(Pestes des petits Ruminants) – २१ दिन
(घ) लम्पी स्कीन डिजिज्(Lumpy Skin Disease)– २१ दिन
(ङ) सीप पक्स एण्ड गोट पक्स(Sheep Pox And Goat Pox) – २१ दिन
(च) ब्ल्यू टङ्ग(Blue Tongue)– ४० दिन
(छ) अफ्रिकन स्वाईन फिभर(African Swine Fever)– ४० दिन
(ज) क्लासिकल स्वाईन फिभर) (Classical Swine Fever)– ४० दिन
(झ) अफ्रिकन हर्स सिक्नेस(African Horse Sickness) – ४० दिन
(ञ) भेसिकुलर स्टोमेटाइटिस(Vesicular Stomatitis)–२१ दिन
(ट) स्वाइन भेसिकुलर डिजिज्(Swine Vesicular Disease) – २८ दिन
(ठ) कन्टाजियस् बोभाईन प्ल्यूरोन्यूमोनिया (Contagious Bovine Pleuropneumonia)– ६ महिना
(ड) रिफ्ट भ्याली फिभर (Rift Valley Fever) – ३० दिन
(ढ) फाउल प्लेग(Fowl Plague)– २१ दिन
(ण) न्यू क्यासल डिजिज(New Castle Disease)– २१ दिन
(त) बर्ड फ्लु ( Highly Pathogenic Avion Influenza)–२१ दिन ।

(४) उपनियम (३) मा उल्लेख भए बाहेकका रोगको सम्बन्धमा क्वारेन्टाइनमा राख्नु पर्ने अवधि तोक्दा रोगको जैविक कारक तत्व (प्याथोजन) शरीरमा प्रवेश गरेपछि रोगका लक्षण देखा पर्ने समयावधि (इन्कुवेशन पिरियड) सँग मेल खाने गरी तोक्नु पर्नेछ ।
(५) यस नियम बमोजिम तोकिएको क्वारेन्टाइन अवधि पूरा गरेका पशुलाई क्वारेन्टाइन अधिकृतले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी तोकिएका
संक्रामक रोग विरुद्ध खोप लगाई छाडिनेछ । त्यस्तो खोप लगाउँदा लागेको खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ ।
(६) पैठारी गरिएका पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनअधिकृतले परीक्षण पश्चात उपयुक्त देखेमा छाड्न सक्नेछ ।
(७) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन प्रमाणपत्र प्रदान गरेको वा परीक्षण समाप्त भएको मितिले तीन दिनभित्र पैठारीकर्ताले लैजानु पर्छ । सो अवधि भित्र नलगेमा क्वारेन्टाइन अधिकृतले जफत गर्न सक्नेछ ।(८) मरेको पशु, दाना, सोत्तर, मल मूत्र वा पशुसँग सम्बन्धित वा पशुबाट
निस्किएका बस्तुहरू सम्बन्धित क्वारेन्टाइन अधिकृतको लिखित आदेश बिना क्वारेन्टाइन स्थलबाट बाहिर लैजान पाइने छैन ।

७. परीक्षण गर्ने कार्यविधि :

(१) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशुvउत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि देहाय बमोजिम हुनेछ :–

(क) पशु परीक्षण गर्ने कार्यविधि :
(१) शारीरिक निरीक्षण तथा क्लीनिकल परीक्षण गर्ने,
(२) आवश्यकता अनुसार प्रयोगशाला परीक्षण गर्ने,
(३) संक्रामक रोग भएको शंका लागेको अवस्थामा रोग परीक्षणको अन्य विधि वा प्रविधिसमेत प्रयोग गर्ने ।

(ख) पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि :

(१) निकाशी गर्ने देशबाट जारी गरिएको प्रमाणपत्रमा उल्लेख भए अनुसारकै भौतिक स्वरुप भए वा नभएको जाँच गर्ने,
(२) तौल, प्याकिङ, लेबुल तथा शिलबन्दी ठीक भए वा नभएको जाँच गर्ने,
(३) शिलबन्दी नभएको वा शिलबन्दी ठीक नभएकोमा :
(अ) बास्ना, रंग एवं बस्तुको अवस्थाको सम्बन्धमा परीक्षण गर्ने,
(आ) अवशेष, संक्रमण गर्ने तत्व तथा परिवर्तित संकेतको पहिचान गर्ने,
(इ) उपयुक्त तापक्रममा यथेष्ट समयसम्म रहे वा नरहेको पहिचान गर्ने,

(२) उपनियम (१) को खण्ड (ख) बमोजिम परीक्षणको लागि नमूना लिंदा सम्बन्धित प्याकेज वा पार्शल सङ्ख्याको कम्तीमा दश प्रतिशत प्याकेज वा पार्शलबाट
नमूना लिनु पर्नेछ ।

(३) कुनै पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको प्रयोगशाला परीक्षणको नतिजा तुरुन्त उपलब्ध हुन नसक्ने भएमा र त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीबाट जनस्वास्थ्य तथा पशु स्वास्थ्यमा प्रत्यक्ष दुष्प्रभाव पर्न सक्ने अवस्था नभएमा त्यस्तो खेपको पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको नमूना सङ्कलन गरिसकेपछि त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ र पशु उत्पादन सामग्रीको पैठारीकर्ताले प्रयोगशालाको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म बिक्री वितरण गर्न नपाउने शर्तमा कबुलियत गराई स्थान हद तोकी छाडिदिनु पर्नेछ ।

८. क्वारेन्टाइन अधिकृतको कामः

(१) क्वारेन्टाइन अधिकृतले गर्नु पर्ने काम देहाय बमोजिम हुनेछ :–

(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी निरीक्षण गर्ने र पशुहरूको लागि दाना, पानी तथा औषधि उपचार भए वा नभएको
जाँच गर्ने,
(ख) प्रयोगशाला परीक्षणको लागि पठाइएको नमूनाको नतीजा प्राप्त नभएसम्म त्यस्ता पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्नु पर्ने भएमा उपयुक्त किसिमले राखे वा नराखेको निरीक्षण गर्ने,
(ग) प्रत्येक खेपका पशुहरू लगेपछि क्वारेन्टाइन स्थलको सरसफाई र निःसंक्रमण गराउने,
(घ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परिवहन गर्न प्रयोग गरिएका सवारी साधनहरू राम्रोसँग सरसफाई तथा निःसंक्रमण भए वा नभएको निरीक्षण गर्ने र सरसफाई तथा निःसंक्रमण नभएको पाइएमा सो कार्य गर्न लगाउने,
(ङ) विदेशी मुलुकबाट आएका परिवहनका साधनहरूद्वारा निष्काशित फोहर मैला रोग नफैलने गरी उचित तरीकाले व्यवस्था भएको छ वा छैन निरीक्षण गर्ने र आवश्यकता अनुसार तह लगाउने व्यवस्था मिलाउने,
(च) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीसँग सम्बन्धित प्रमाणपत्र र अन्य कागजातहरू जाँच्ने,
(छ) पैठारी गरिएका पशुमा कुनै संक्रामक रोग भएको पाइएमा वा शंका लागेमा सो विषयमा स्थानीय पशु सेवा कार्यालय, विभाग, कृषि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई छिटो साधनद्वारा सूचना पठाउने,
(ज) पैठारी गरिएका पशुमा संक्रामक रोग भएको र पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै हानिकारक तत्व भएको शंका लागेमा त्यसको नमूना संकलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउने र परीक्षणको नतिजा प्राप्त नभएसम्म त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्ने,
(झ) छिमेकी मुलुकका क्वारेन्टाइन चेकपोष्टसँग सम्पर्क तथा समन्वय कायम राख्ने ।
९. असंक्रमण क्षेत्रबाट ढुवानी भएको मानिने : कुनै विमानस्थल संक्रमण स्थल हो भनी सम्बन्धित अधिकारीबाट घोषणा भएकोमा बाहेक त्यस्तो विमानस्थलबाट वा सो
विमानस्थलमा अवतरण भई आएको विमानबाट ढुवानी भई नेपाल । भित्र भित्रिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री असंक्रमण क्षेत्रबाट सिधै ढुवानी भई आएको मानिनेछ ।

१०. क्वारेन्टाइन प्रमाणपत्र :

(१) पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची–२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ ।
(२) देहायका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नु पर्दा अनुसूची–३ को देहायका फाराममा तोकिएको ढाँचामा क्वारेन्टाइन अधिकृत वा विभागले तोकेको भेटेरिनरी अधिकृतले स्वास्थ्य वा सेनिटरी प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ :–
(क) कुकुर तथा विरालोको लागि फाराम–१
(ख) घर पालुवा तथा जङ्गली पशुको लागि फाराम–२

(ग) पशुको वीर्यको लागि फाराम–३
(घ) पशुको मासुको लागि फाराम–४
(ङ) पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि फाराम–५
(च) घोडा जातिका पशुको लागि फाराम–६
(छ) पंक्षीका लागि फाराम–७
(ज) विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर कोरलिएका चल्लाको लागि फाराम–८
(३) उपनियम (२) बमोजिम जारी गरिएको प्रमाणपत्र जारी गरेको मितिले दश दिनसम्मको लागि मान्य हुनेछ ।

११. लिलाम बिक्री गर्न सक्ने :

(१) नियम ६ को उपनियम (७) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्दा क्वारेन्टाइन अधिकृतले अवस्था हेरी सात दिनदेखि पन्ध्र दिनसम्मको म्याद दिई देहायका कुराहरू समेत खुलाई सूचना प्रकाशन गर्नु पर्नेछ :


(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको विवरण,
(ख) न्यूनतम मूल्य,
(ग) लिलाम बढाबढ हुने मिति, समय र स्थान,
(घ) लिलाम सकार गर्न बोलिएको अंकको पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा,
(ङ) अन्य आवश्यक कुराहरू ।

३) उपनियम (२) को खण्ड (ख) बमोजिम न्यूनतम मूल्य निर्धारण गर्नको लागि देहायको मूल्य निर्धारण समिति रहनेछ :–
(क) क्वारेन्टाइन अधिकृत – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय – सदस्य
(ग) प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य

(४) लिलाम सकार गरेको पशु, पशु जन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकेको अवधिभित्र कबोल गरेको पूरा रकम बुझाई नउठाएमा राखिएको धरौटी जफत गरी पुनः लिलाम गर्न सकिनेछ ।
(५) लिलाम बढाबढ गर्दा न्यूनतम मूल्य कबोल नगरेमा पुनः लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुनः लिलाम बढाबढ गर्दा न्यूनतम् मूल्यको दश प्रतिशतसम्म घटि कबोल हुन आएमा पनि लिलाम विक्री गर्न सकिनेछ । यसरी पनि लिलाम बढाबढ हुन नसकेमा क्वारेन्टाइन अधिकृतले जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सिधै विक्री गर्न सक्नेछ ।