परिच्छेद–४

परिच्छेद–४

विविध

१८. नष्ट गर्ने कार्यविधि :

(१) ऐनको दफा १४ र २९ बमोजिम कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्नु पर्दा अवस्था हेरी जलाउनु वा खाडल खनीb कम्तीमा तीन फीट पुरिने गरी गाड्नु वा विभागले निर्धारण गरेको प्रक्रिया अनुसार नष्ट गर्नु पर्नेछ ।
(२) ढुवानी गर्दा कै अवस्थामा कुनै पशुको मृत्यु भएमा रोग नफैलने गरी त्यस्तो सिनो बाहिर ल्याई उपनियम (१) बमोजिम नष्ट गर्नु पर्नेछ । त्यस्तो पशु ढुवानी गरिएको सवारी साधन समेत निःसंक्रमण गर्नु पर्नेछ ।

१९. भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार : भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री, पशु औषधि वा जैविक पदार्थको गुणस्तर जाँच गर्ने वा जाँच गर्नको लागि सोको नमूना सङ्कलन गरी विभागले तोकेको प्रयोगशालामा पठाउने,
(ख) म्याद नाघेका पशु औषधि, जैविक पदार्थ वा पशु उत्पादन सामग्री भेटिएमा नियम १८ को कार्यविधि पूरा गरी नष्ट गर्ने र सो को जानकारी विभागमा लेखी पठाउने ।
(ग) पशु औषधि वा जैविक पदार्थको विक्री वितरण आधिकारिक व्यक्तिबाट भए वा नभएको जाँच गरी विभागलाई जानकारी गराउने,
(घ) कुनै व्यावसायिक फार्मले पशुलाई नियमित रुपमा खोप दिए वा नदिएको, जैविक सुरक्षाका उपायहरू अवलम्वन गरे वा नगरेको जाँच गर्ने,
(ङ) खण्ड (घ) बमोजिम जाँच गर्दा कुनै पशुमा रोग लागेको पाइएमा वा सोको शंका लागेमा त्यस्तो पशुलाई नष्ट गर्न वा छुट्टै राख्न आदेश दिने वा विक्री वितरण गर्न रोक्का गर्ने र सो कुराको जानकारी यथाशीघ्र विभागलाई दिने,
(च) यस नियमावली बमोजिम विभागबाट सिफारिस पत्र वा अनुमतिपत्र प्रदान गरिएकोमा सो बमोजिम भए वा नभएको निरीक्षण गरी विभागb समक्ष प्रतिवेदन पेश गर्ने,
(छ) पशु नसल सुधार सम्बन्धमा स्थलगत रुपमा सुझाव संकलन गरी विभागमा पठाउने,
(ज) पशु नसल सुधार लागू गरिएको क्षेत्रमा भाले जातको पशुहरूलाई खसी पार्ने कार्य गराउने,
(झ) पशु नसल सुधार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने,
(ञ) पशु नसल सुधारको लागि पशुहरूको जाति र वीर्यको प्रयोग सिफारिस अनुसार भए वा नभएको अनुगमन गर्ने,
(ट) विभागले तोकिदिएका अन्य काम गर्ने वा गराउने ।

२०. रोगको सूचना दिनु पर्ने :

(१) कुनै पशुलाई संक्रामक रोग लागेको वा त्यस्तो रोग लागेको शंका लागेको कुरा पशु धनी वा स्थानीय निकाय वा पशु उपचारमा संलग्न पशु स्वास्थ्यकर्मी वा पशु चिकित्सक जोसुकैको जानकारीमा आएमा नजिकको पशु सेवा केन्द्र वा उपकेन्द्र वा पशु सेवा कार्यालयमा सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि सम्बन्धित प्राविधिकले जाचबुझ गर्दा अनुसूची–१० मा उल्लिखित रोग लागेको शङ्का गर्नु पर्ने
आधार भएमा पशु सेवा कार्यालयको प्रमुखले विभागले तोकेको भेटनरी अधिकृतका साथै क्षेत्रीय पशु सेवा निर्देशनालय र क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालालाई समेत
सो कुराको सूचना यथाशीघ्र दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो भेटनरी अधिकृतले सो सम्बन्धमा आवश्यक अध्ययन गरी २४ (चौबीस) घण्टा भित्र विभागलाई जानकारी गराउनु पर्नेछ ।
४) ढुवानीको क्रममा कुनै पशुको मृत्यु भएमा त्यस्तो पशुको धनी वा ढुवानीकर्ताले नजिकको पशु सेवा केन्द्र, उपकेन्द्र, पशु क्वारेन्टाईन कार्यालय, चेकपोष्ट वा जिल्ला पशु सेवा कार्यालयमा सोको जानकारी दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम सूचना प्राप्त भएपछि त्यस्तो निकायको प्राविधिक वा प्रमुखले पशु मर्नाको कारण यकीन गर्न आवश्यक पर्ने नमूना सङ्कलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउनु पर्नेछ र मृत पशुलाई
नियम १८ बमोजिमको कार्यविधि पूरा गरी नष्ट गर्न लगाउनु पर्नेछ ।

२१. जैविक पदार्थ सम्बन्धी विशेष व्यवस्था : जैविक पदार्थको उत्पादन, निकासी, पैठारी वा विक्री वितरण गर्न चाहनेले यस ऐन बमोजिम सिफारिसपत्र वा अनुमतिपत्र पाउनको लागि निवेदन दिँदा अनुसूची–११ मा उल्लिखित विवरण समेत उपलव्ध गराउनु पर्नेछ ।
२१क.कार्यालय तोकिएकोः ऐनको दफा २ को खण्ड (ट) को प्रयोजनको लागि सोही ण्डमा उल्लिखित कार्यालयको अतिरिक्त केन्द्रीय पशु क्वारेन्टाईन कार्यालय, पशु
क्वारेन्टाईन कार्यालय र भेटेनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयलाई समेत तोकिएकोछ ।

२२. पोशाक लगाउनु पर्नेः क्वारेन्टाइनमा काम गर्ने कर्मचारीले विभागले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ ।

२२क.निर्देशिका तथा संहिता बनाउन सक्ने : ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न कृषि तथा सहकारी मन्त्रालयले आवश्यक निर्देशिका तथा संहिता
बनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिका तथा संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

२३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।

द्रष्टब्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।