परिच्छेद–५

परिच्छेद–५

परिच्छेद–५
मतदान केन्द्र, मतपत्र र मतपेटिका

२२. मतदान केन्द्र तोक्नेः

(१) आयोगले निर्वाचन क्षेत्रमा आवश्यक संख्यामा मतदान केन्द्रहरू तोक्नेछ ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम तोकिएको मतदान केन्द्रको सूची अनुसूची–१८ बमोजिमको ढाँचामा आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम मतदान केन्द्रको सूची प्रकाशन गर्दा कुन कुन गाउँ वा टोलका मतदाताहरूले कुन मतदान केन्द्रमा मतदान गर्न पाउने हो सो कुरा समेत स्पष्ट उल्लेख गरिएको हुनुपर्नेछ ।

(४) उपनियम (१) बमोजिम मतदान केन्द्र तोक्दा सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नुपर्नेछ ।
(५) कुनै मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूको संख्या आयोगले तोकेको संख्या भन्दा बढी हुने भएमा वा अन्य कुनै विशेष परिस्थिति सिर्जना भएको कारणबाट अन्य छुट्टै मतदान केन्द्र तोक्नुपर्ने भएमा आयोगको स्वीकृति लिई निर्वाचन अधिकृतले सो बढी हुने मतदाताहरूको लागि वा विशेष परिस्थितिको कारणबाट छुट्टै मतदान केन्द्र तोक्न सक्नेछ ।

(६) सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने अन्य आधारहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

२३. २३. मतदान केन्द्रको क्षेत्र तोक्नेः मतदान अधिकृतले मतदान केन्द्र रहेको ठाउँको चारैतिर साधारणतया एक सय मिटरसम्मको क्षेत्रलाई चारकिल्ला तोकी मतदान केन्द्रको क्षेत्र घोषित गर्नेछ र त्यसको सूचना मतदान केन्द्रमा सर्वसाधारणले देख्ने गरी प्रकाशन गर्नेछ । त्यस्तो क्षेत्रभित्र मतदान कार्य नसकिएसम्म कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।

२४. मतदान केन्द्रमा प्रवेश निषेध गर्न सकिनेः

(१) मतदान अधिकृतले मतदान केन्द्रमा भीड हुन तथा अवाञ्छनीय रुपमा जमघट हुन वा गडवडी हुन नपाउने गरी मतदाताहरूलाई प्रवेश गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
(२) अध्यादेशको दफा ४४ को उपदफा (१) को खण्ड (घ) बमोजिम मतदान अधिकृतले कुनै व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति दिंदा मतदान कार्यको निमित्त अत्यावश्यक पर्ने व्यक्ति हो होइन भन्ने कुरा यकिन गरेर मात्र अनुमति प्रदान गर्नेछ ।

२५. मतपत्रः

(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि हल्का निलो रङ्गको तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि हल्का रातो रङ्गको मतपत्र हुनेछ ।

(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि प्रयोग गरिने मतपत्रमा उम्मेदवारको निर्वाचन चिन्ह र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्रमा राजनीतिक दलको निर्वाचन चिन्ह छापिएको हुनेछ ।

(३) प्रत्येक मतपत्रको अर्धकट्टीमा सिलसिलेवार क्रमसंख्या छापिएको हुनेछ

। (४) प्रत्येक मतदान केन्द्रमा आयोगले निश्चित गरेको क्रमसंख्याकोे मतपत्रहरू मात्र प्रयोग गरिनेछ । पुनः मतदान गराउनु पर्दा निर्वाचन अधिकृतले आयोगको स्वीकृति लिई अर्को क्रम संख्याको मतपत्रहरू निश्चित गरी मतदान अधिकृतलाई उपलब्ध
गराउनेछ ।
(५) मतपत्र सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।

२६. मतपेटिका विग्रिए वा नासिएमाः मतपेटिका बिग्रिएमा वा नासिएमा मतदान अधिकृतले आफ्नो र उपस्थित राजनीतिक दल वा उम्मेदवार वा तिनका प्रतिनिधिको समेत सहिछाप गरी गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहिछाप गराउनुपर्नेछ र सोको जानकारी निर्वाचन अधिकृतलाई दिनुपर्नेछ ।

२७. मतपत्रको सीलबन्दी खोल्नेः मतदान अधिकृतले मतदान शुरु हुनु अघि आफ्नो र उपस्थित राजनीतिक दल वा उम्मेदवार वा तिनका प्रतिनिधिहरूको सहिछाप गरी गराई मतपत्रको सीलबन्दी खोलेको मुचुल्का गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहिछाप गराउनु पर्नेछ ।

२८. मतपेटिका जाँच गर्ने र बन्द गर्ने कार्यविधिः

(१) मतदान अधिकृतले मतदान कार्य शुरु हुनु अघि उपस्थित राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिहरूको रोहवरमा
मतपेटिका खोलेर देखाई सो मतपेटिका दुरुस्त तथा रित्तो भए नभएको जाँच गर्नेछ ।

(२) उपनियम (१) बमोजिम मतपेटिका जाँच गरिसकेपछि निजहरूकै रोहवरमा रित्तो मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बाँकी राखी मतपेटिकाको बिर्को बन्द गरी सुरक्षण सिल लगाई मतदान केन्द्रमा उपस्थित राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिको सहिछाप गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहिछाप गराउनुपर्नेछ ।

(३) उपनियम (२) बमोजिम मतपेटिका बन्द गरेपछि मतदान कार्य शुरु गर्दा आफ्नो र मतदान केन्द्रमा उपस्थित राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिको सहिछाप गरी गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहिछाप गराउनुपर्नेछ ।

२९. मतपत्र दिने कार्यविधिः

(१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले सो मतदाताको नाम, थर, उमेर, ठेगाना सोधी निजको नाम मतदाता नामावलीमा समावेश भएको छ छैन र दर्ता भएको व्यहोरासँग भिड्छ भिड्दैन सो जाँच गर्नेछ । यसरी जाँच गर्ने क्रममा मतदान अधिकृतले आयोगले तोकेको मतदाताको परिचय खुल्ने कुनै पनि किसिमको कागजात, लिखत वा परिचय–पत्र सम्बन्धित मतदातासँग माग गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको व्यहोरामा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा लेखिएको व्यक्ति निजनै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजलाई मतदान गर्न अनुमति दिनेछ ।

(३) मतदातालाई मतदान गर्न मतपत्र दिनुअघि मतदान अधिकृतले वा निजले खटाएको कर्मचारीले मतदाताको बाँया हातको बुढी औलाको नङ्ग र मासुको जोर्नीमा जाँच गरी मसिको चिन्ह लगाउनुपर्नेछ । मतदाताको बाँया हातको बुढी औला नभए क्रमशः अन्य औलामा र बाँया हातमा कुनै औला नभए दायाँ हातको सोही क्रमानुसारको औलाको नङ्ग र मासुको जोर्नीमा चिन्ह लगाउनुपर्नेछ । मतदाताको दुबै हातमा कुनै औला नभएमा सोही व्यहोरा कैफियत जनाई निजले रोजेको व्यक्तिद्वारा मतदान गर्ने व्यवस्था
गर्नुपर्नेछ ।

(४) उपनियम (३) बमोजिम चिन्ह लगाई सकेपछि मतपत्रको अर्धकट्टीमा मतदाताको सहिछाप गराई मतदाता नामावलीमा रेजा चिन्ह लगाई मतदातालाई सर्वप्रथम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि प्रयोग हुने मतपत्र दिनुपर्नेछ । तर मतदाता नामावलीमा रेजा चिन्ह लगाउन बाहेक अन्य कुनै चिन्ह, संकेत वा व्यहोरा लेख्न हुंदैन ।

(५) उपनियम (४) बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि प्रयोग हुने मतपत्र मतपेटिकामा खसाली सकेपछि मतदाता मतदान केन्द्रबाट बाहिर ननिस्कदै मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्ता मतदातालाई समानुपातिक निर्वाचन प्रणालीको लागि प्रयोग हुने मतपत्र दिनुपर्नेछ ।

३०. मतदान गर्ने तरीकाः (१) मतदाताले मतपत्र लिएपछि मतसंकेत गर्ने गोप्य स्थानमा गई आफूले रोजेको राजनीतिक दल वा उम्मेदवारको चिन्ह भएको मतपत्रको कोठामा नियम

३१ मा उल्लेख भए बमोजिम मतसंकेत गर्ने छाप लगाउनुपर्नेछ र सो मतपत्रलाई पट्टयाई मतपेटिका भित्र खसाल्नुपर्नेछ ।

(२) मतसंकेतको लागि छाप लगाउने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(३) कुनै मतदाता मतसंकेत गर्ने गोप्य स्थानमा मतपत्रमा मतसंकेत गर्ने छाप लगाउने र मतपत्र पट्टयाउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।

(४) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्नेछ ।

३१. ३१. मतपत्रमा छाप लगाउनुपर्नेः (१) मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि मतदान गर्दा मतपत्रमा आफूले रोजेको कुनै एक जना उम्मेदवारको लागि छुट्टयाईएको कोठामा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि मतदान गर्दा आफूले रोजेको कुनै एक राजनीतिक दलको लागि छुट्टयाइएको कोठामा स्वस्तिक ( ) चिन्ह लगाई मतसंकेत गर्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम मतसंकेत गर्दा कसैले नदेख्ने गरी मतसंकेत गर्न तोकिएको गोप्य स्थानमा गई स्वस्तिक चिन्ह लगाई मतसंकेत गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम मतसंकेत गरेपछि सो मतसङ्केत गरेको चिन्ह नदेखिने गरी मतपत्र पट्टयाई मतपेटिका भित्र खसाल्नुपर्नेछ ।

३२. ३२. नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेः

(१) कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नामले मतदान गर्नको लागि मतपत्र लिन आएमा राजनीतिक दल वा उम्मेदवार वा तिनको प्रतिनिधिले पचास रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष अनुसूची–१९ बमोजिमको ढाँचामा निवेदन दिई विरोध गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम विरोध भएमा मतदान अधिकृतले सो सम्बन्धमा आवश्यक प्रमाण बुझी निर्णय गर्नुपर्नेछ र यसरी पर्न आएको विरोध र सोको निर्णय तुरुन्त अभिलेख जनाई राख्नुपर्नेछ ।

(३) उपनियम (२) बमोजिम निर्णय गर्दा विरोध ठीक ठहरेमा मतदान अधिकृतले सो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ । विरोध ठीक नठहरेमा सो धरौटी रकम जफत हुनेछ ।

३३. ३३. विद्युतीय उपकरणको प्रयोगः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि कुनै वा सवै निर्वाचन क्षेत्र वा कुनै निर्वाचनमा आयोगले विद्युतीय उपकरणको प्रयोग गर्ने व्यवस्था गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम आयोगले विद्युतीय उपकरण प्रयोग गर्ने व्यवस्था गरेको निर्वाचन क्षेत्र वा निर्वाचनमा मतदाताले मतदान गर्दा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेछ ।

(३) विद्युतीय उपकरण प्रयोग गर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

४. मतपेटिकाको मतपत्र खसाल्ने प्वाल सुरक्षण सिल लगाई बन्द गर्नेः मतदान केन्द्रमा मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतपेटिकाको मतपत्र खसाल्ने प्वाल आयोगद्वारा निर्धारित तरीका बमोजिम बन्द गरी सुरक्षण सिल लगाई मतदान केन्द्रमा उपस्थित राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिको समेत सहिछाप गरी गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहिछाप गराउनुपर्नेछ ।

३५. मतपत्रको फाँटवारी राख्नेःमतदानको काम समाप्त भएपछि मतदान अधिकृतले आयोगद्वारा निर्धारित ढाँचामा मतपत्रको फाँटवारी तयार गरी राख्नुपर्नेछ ।

३६. ३६. बाँकी मतपत्र र कागजात सुरक्षित राख्नेः मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतदानको काममा प्रयोग गरी बाँकी रहेका देहायका मतपत्रहरू र अन्य कागजातहरू छुट्टाछुट्टै खाममा बन्द गरी खामको बाहिर कस्तो र कति मतपत्र वा कागजात रहेको छ सो उल्लेख गरी आफ्नो र मतदान केन्द्रमा उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिले चाहेमा निजहरूको समेत सहिछाप गरी गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजनाको सहिछाप गराउनुपर्नेछ ः–
(क) प्रयोग नभएका मतपत्रहरू,
(ख) रद्द गरिएका मतपत्रहरू,
(ग) मतपेटिका बाहिर रहेका मतपत्रहरू,
(घ) मत नदिने निश्चय गरी मतदाताले मतदान अधिकृतलाई फिर्ता दिएका मतपत्रहरू,
(ङ) आयोग वा निर्वाचन अधिकृतको निर्देशन अनुसार खाम बन्द गरी लाहाछाप लगाई राख्नुपर्ने अन्य कुनै कागजात ।

३७. ३७. मतपेटिका र कागजात निर्वाचन अधिकृतलाई बुझाउनेः (१) मतदान अधिकृतले नियम ३४ बमोजिम सुरक्षण सिल लगाईएका मतपेटिका र नियम ३६ बमोजिमको मतपत्र तथा कागजात राखेको बन्दी खामहरू र अन्य निर्वाचन सामग्री तथा कागजात सुरक्षित रुपमा ल्याई निर्वाचन अधिकृतलाई तुरुन्त बुझाउनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम मतपेटिका र कागजात बुझेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सोको भर्पाई दिनुपर्नेछ ।

३८. विशेष परिस्थितिमा मतदान स्थगित गर्नेः

(१) अध्यादेशको दफा ४० को उपदफा (१) बमोजिम हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण संचालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा काबू वाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान केन्द्रमा नियुक्त मतदान अधिकृत वा सो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत विश्वस्त भई सो मतदान केन्द्रको मतदान स्थगित गर्नुपर्ने अवस्था परेमा मतदान अधिकृत वा निर्वाचन अधिकृतले त्यसरी मतदान स्थगित गर्नुपर्ने कारण समेत खुलाई आफ्नो र मतदान केन्द्रमा उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको समेत सहिछाप गरी गराई मुचुल्का तयार गर्नुपर्नेछ र निजहरूले सहिछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहिछाप गराउनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम मतदान स्थगित गर्ने मुचुल्का गरिसकेपछि मतदान स्थगित गर्नु परेको कारण समेत स्पष्ट उल्लेख गरी मतदान अधिकृत वा निर्वाचन अधिकृतले मतदान स्थगितको सूचना प्रकाशित गर्नुपर्नेछ ।