परिच्छेद–१६ व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर

परिच्छेद–१६ व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर

२०६. व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुनेः (१) कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति बेपत्ता पार्ने कार्य” भन्नाले देहायको कार्य सम्झनु पर्छः–

(क) कानून बमोजिम पक्राउ गर्न, अनुसन्धान गर्न वा कानून कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष त्यसरी पक्राउ गरेको वा नियन्त्रणमा लिएको मितिले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिई निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा जानकारी नदिने,

(ख) कुनै व्यक्ति, सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको नामबाट कुनै व्यक्तिलाई अपहरण गरी, कब्जा वा नियन्त्रणमा लिई वा अन्य कुनै किसिमले निजको वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरेकोमा त्यसरी वञ्चित गर्नुको कारण तथा निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा सरोकारवालालाई जानकारी नदिने ।

(३) कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, थुनामा राखी वा नियन्त्रणमा लिई वेपत्ता पारेकोे हो त्यस्तो आदेश दिने र त्यस्तो आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ ।

(४) व्यक्ति बेपत्ता पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको जिम्मेबार व्यक्तिको आदेश वा निर्देशन बमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ ।

(५) कसैले आफू मातहतको पदाधिकारी, निकाय वा समूहद्वारा व्यक्ति बेपत्ता पार्ने कार्य गर्न वा गराउन लागेको कुरा थाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा निजले समेत यस दफा बमोजिम कसूर गरेको मानिनेछ ।

(६) कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रुपमा बेपत्ता पारेमा त्यस्तो कार्यमा संलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ ।

(७) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–

(क) व्यक्ति बेपत्ता पार्नेलाई बेपत्ता पारेको अवधि र अवस्थालाई समेत विचार गरी त्यस्तो काम गर्ने मुख्य कसूरदारलाई पन्ध्र वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना,

(ख) व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार सरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।

(८) महिला वा बालबालिका बिरुद्ध उपदफा (१) बमोजिमको कसूर मानिने कार्य गर्नेलाई उपदफा (७) बमोजिम हुने सजायमा थप दुई वर्ष कैद सजाय हुनेछ ।

(९) कसैले कुनै व्यक्तिलाई बेपत्ता पारिएको अवस्थामा वेपत्ता पारिएको व्यक्तिको विरुद्ध कानून बमोजिम सजाय हुने अन्य कुनै कसूर गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापत कानून बमोजिम हुने सजायमा यस दफा बमोजिम थप सजाय हुनेछ ।

(१०) सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई यस दफामा हुने सजायमा थप एक वर्ष कैद हुनेछ ।

२०७. कसूरसँग सम्बन्धित मालसामान जफत हुनेः यस परिच्छेद अन्तर्गत सजाय हुने कसूर गर्दा सम्बन्धित धनीले जानीजानी प्रयोग गर्न दिएको वा धनीको सहमतिले प्रयोग गरिएका घर जग्गा, सवारी साधन, हातहतियार तथा अन्य सबै मालसामान जफत हुनेछन् ।

तर सरकारी भवन, साधन, हातहतियार तथा मालसामान जफत हुने छैन ।

२०८. क्षतिपूर्ति भराई लिन पाउनेः (१) बेपत्ता पारिएको व्यक्ति पछि सार्वजनिक भएमा वा गरिएमा निजले बेपत्ता पार्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ ।

(२) बेपत्ता पारिएको व्यक्तिको मृत्यु भइसकेको भए उपदफा (१) बमोजिमको क्षतिपूर्ति निजको नजिकको हकवालाले भराई लिन पाउनेछ ।

२०९. धनमाल फिर्ता गर्नु पर्नेः यस परिच्छेद बमोजिम कसैले कुनै व्यक्तिलाई बेपत्ता पार्दा त्यस्तो व्यक्तिको धनमाल समेत लिएको रहेछ भने त्यसरी बेपत्ता पार्ने व्यक्तिबाट बेपत्ता पारिएको वा निजको नजिकको हकवालालाई त्यस्तो धनमाल भए फिर्ता गर्नु पर्नेछ र नभएमा त्यस्तो धनमाल बापतको मनासिब क्षतिपूर्ति तिर्नु पर्नेछ ।

२१०. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूर भएको थाहा भएको वा बेपत्ता पारिएको व्यक्ति सार्वजनिक भएको वा गरिएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

तर उजुर गर्न सकिने परिस्थिति नभएको कारण खुलाई अदालतको अनुमति लिई प्रमाण सहित उजुर गरेमा जहिलेसुकै उजुर लाग्नेछ ।