परिच्छेद – १७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर

परिच्छेद – १७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर

२११. अपहरण गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछः–

(क) कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा,

(ख) कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा ।

२१२. शरीर बन्धक लिन नहुनेः (१) कसैले कसैको शरीर बन्धक लिन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरी विना बल प्रयोग गरी वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक रुपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मञ्जुरी लिई असल नियतबाट सम्बन्धित व्यक्तिको हितको लागि उपचार गर्ने क्रममा वा अन्य कुनै प्रयोजनका लागि कसैको निगरानी वा नियन्त्रणमा राखिएकोमा शरीर बन्धक लिएको मानिने छैन ।

२१३. अपहरण वा शरीर बन्धक लिएमा हुने सजायः कसैले ज्यान लिने, कुटपिट गरी चोट पु¥याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा बिरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँँ सम्म जरिबाना हुनेछ ।

२१४. थप सजाय हुनेः (१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँंसम्म जरिबाना हुनेछ ।

(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वा कानून बमोजिम कसूर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ ।

(३) दफा २११ र २१२ को कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ ।

२१५. दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुनेः (१) यस परिच्छेदमा लेखिएको कसूर गर्न दुरुत्साहन दिने वा आदेश दिने व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरह सजाय हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो कुराको उद्योग वा षड्यन्त्र गर्ने वा मतियार हुने व्यक्तिलाई सो कसूरमा हुने सजायको आधा सजाय हुनेछ ।

२१६. आत्मसमर्पण गरेमा सजाय कम हुनेः यस परिच्छेद अन्तर्गतको कसूर गर्ने व्यक्तिले कसूर गर्दा गर्दैको बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वा अन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ ।

२१७. क्षतिपूर्ति भराई दिनु पर्नेेः (१) यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ ।

२१८. हदम्यादः (१) यस परिच्छेद अन्तर्गतका कुनै कसूर गरी कसैको ज्यान लिएकोमा जहिले सुकै पनि उजुर गर्न सकिने छ ।

(२) उपदफा (१) मा लेखिए बाहेक यस परिच्छेद अन्तर्गतको कुनै कसूर भए गरेको मितिले दुई वर्ष र दफा २११ र २१२ अन्तर्गतको कसूर भएकोमा सम्बन्धित व्यक्ति त्यस्तो कसूरबाट मुक्त भएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।