परिच्छेद – १९ इलाज सम्बन्धी कसूर

परिच्छेद – १९ इलाज सम्बन्धी कसूर

२३०. इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुनेः (१) चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(४) उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ ।

२३१. बद्नियत चिताई इलाज गर्न नहुनेः (१) कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अङ्ग चिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–

क)    कसैको ज्यान गएकोमा जन्मकैद,

(ख)   कसैको अङ्गभङ्ग भएकोमा दफा  192 बमोजिमको सजाय ।

२३२. लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुनेः (१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा गम्भीर लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र हेलचत्र्mयाई गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

२३३. मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुनेः (१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाज सम्बन्धी विधि, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबु आमा वा संरक्षकको मञ्जुरी नलिई र त्यस्तो व्यक्ति वा बाबु आमा वा संरक्षकलाई त्यस कुराको जानकारी नदिई त्यस्तो काम गर्नु वा गराउनु हुँदैन ।

तर विपद् वा  सडक दुर्घटना भएको  वा सम्बन्धित व्यक्तिको बाबु, आमा वा संरक्षकको तत्काल मञ्जुरी लिन नसकिने वा सो कुराको जानकारी दिन नसकिने अवस्थामा त्यस्तो व्यक्तिको ज्यान जोगाउनको लागि तत्काल उपचार वा अङ्ग चिरफार गर्न कुनै बाधा पर्ने छैन ।

(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो विधि, चिरफार वा औषधिको मानव शरीरमा हुन सक्ने असर समेतलाई विचार गरी होसियारी पूर्वक गर्नु पर्नेछ ।

(३) कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनियता भङ्ग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षण गर्नु वा अङ्ग परिवर्तन गर्नु वा गराउनु हँुदैन ।

(४) उपदफा (१), (२) वा (३) विपरीत परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(५) उपदफा (१), (२) वा (३) बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारे सरह र अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।

२३४. जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुनेः (१) कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

२३५. औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुनेः (१) कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै बस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–

(क) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,

(ख) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह,

(ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,

(घ) खण्ड (क), (ख) वा (ग) को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना ।

२३६. म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुनेः (१) कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

२३७. एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुनेः (१) कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउँनु पर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

२३८. झुठ्ठा प्रतिवेदन दिन नहुनेः (१) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(३) उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ ।

(४) उपदफा (३) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।

२३९. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

२४०. हदम्यादः (१) दफा २३० को उपदफा (४), २३१, २३२, २३३ को उपदफा (४), २३५ र २३८ को उपदफा (४) बमोजिमको कामबाट ज्यान मरेकोमा दफा १८७ को उपदफा (१) मा उल्लिखित   हदम्याद लाग्नेछ

(२) दफा २३० को उपदफा (१) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।