परिच्छेद – २५ लिखत सम्बन्धी कसूर

परिच्छेद – २५ लिखत सम्बन्धी कसूर

२७६. कीर्ते गर्न नहुनेः (१) कसैले कीर्ते गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि,–

(क) “लिखत” भन्नाले लिखतमा लागेको सही, औँठा छाप, छाप र लिखतमा जनिएको अङ्क, अक्षर, मिति वा अन्य कुनै व्यहोरा सम्झनु पर्छ ।

(ख) “झुठ्ठा लिखत बनाउने काम” भन्नाले देहायको कुनै काम सम्झनु पर्छः–

(१) जुन अधिकारी वा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहीछाप गरेको होइन त्यस्तो अधिकारी वा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहिछाप गरेको हो भन्ने विश्वास पार्ने किसिमबाट बेइमानीपूर्वक लिखत वा त्यसको अंश तयार गर्ने, विद्युतीय अभिलेख तयार गर्ने वा पठाउने, विद्युतीय अभिलेखमा डिजिटलहरु संरक्षण गर्ने,

(२) विना अधिकार वा वेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी, परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पार्ने,

(३) मानसिक अस्वस्थताको कारणबाट होस ठेगानमा नभएको, मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको वा छलकपटमा पारिएको कारणले कसैले लिखतमा लेखिएको कुराको मतलव बुझ्न सक्दैन भन्ने जानीजानी त्यस्तो व्यक्तिलाई लिखत बनाउन, सहिछाप गर्न वा लिखतमा लेखिएको कुनै कुरा बदल्न लगाउने,

(४) एक कामको लागि सहीछाप गरी लिफा, कागज वा छाप लिए दिएकोमा त्यस्तो काममा नलगाई अर्कै प्रयोजनको लिखत खडा गर्ने वा सोमा लगाउने ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–

(क) राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,

क१) प्रदेश   प्रमुखबाट प्रमाणीकरण  भएको लिखत कीर्ते गर्नेलाई खण्ड (क) बमोजिमको कैद र जरिबाना,”

(ख) अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँ सम्म जरिबाना,

(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँँसम्म जरिबाना,

(घ) खण्ड (क), (ख) र (ग) मा लेखिएदेखि बाहेक अन्य कुरा कीर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना ।

(४) कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुनेछ ।

(५) कसैले कीर्ते गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनु पर्नेछ ।

२७७. कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुनेः (१) कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले बेइमानीपूर्वक त्यस्तो लिखत सद्दे सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँँसम्म जरिबाना हुनेछ ।

(३) कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरे सरहको सजाय हुनेछ ।

२७८. कीर्ते लिखत बनाउने औजार बनाउन नहुनेः (१) कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तोे काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरीद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

२७९. जालसाजी गर्न नहुनेः (१) कसैले जालसाजी गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कीर्ते मानिने कसूर बाहेक कसैको हक मेट्ने, हदम्याद, तारेख जाने, कुनै किसिमले हानि, नोक्सानी गर्ने वा कसैलाई क्षति वा लाभ पु¥याउने नियतले जानीजानी नभए वा नगरेको कुरा भए गरेको हो भनी वा झुठ्ठा मिति, अङ्क वा व्यहोरा उल्लेख गरी लिखत बनाएमा वा त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वा आप्mनो हक नभएको कुरामा हक भएको देखाई कुनै काम गरेमा जालसाजीको कसूर गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(४) कसैले जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुनेछ ।

(५) कसैले जालसाजी गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनु पर्नेछ ।

२८०. जालसाजी लिखत सद्दे सरह व्यवहारमा ल्याउन नहुनेः (१) कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जालसाजी गरे सरहको सजाय हुनेछ ।

२८१. मतियार मानी सजाय हुनेः (१) कीर्ते कागज हो भनी जानीजानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीर्ते कसूरको मतियार मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको मतियारलाई दफा २७६ को उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।

२८२. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी, भएकोमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी भएको व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

२८३. हदम्यादः सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।