परिच्छेद –२६ आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर

परिच्छेद –२६ आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर

२८४. आपराधिक प्रवेश गर्न नहुनेः (१) कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछः–

(क) कुनै कसूर गर्ने, वा

(ख) जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने वा झिझ्याउने ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–

(क) उपदफा (२) को खण्ड (क) को प्रयोजनका लागि आपराधिक प्रवेश गर्नेलार्ई त्यस्तो कसूरको उद्योग गरे सरहको सजाय,

(ख) उपदफा (२) को खण्ड (ख) को उद्देश्यले कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय ।

स्पष्टीकरणःयस दफाको प्रयोजनको लागिः

(१) अस्थायी बसोबास गरेको ठाउँलाई पनि घर मानिनेछ ।

(२) सनातनदेखि प्रयोग गर्दै आएको बाटो, निकास, पानीघाट, सिँचाईको कुलो, मसानघाट, देवालयमा प्रवेश गरेको वा प्रयोग गरेकोमा आपराधिक प्रवेश गरेको मानिने छैन ।

२८५. आपराधिक उपद्रव गर्न नहुनेः(१) कसैले आपराधिक उपद्रव गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक उपद्रव गरेको मानिनेछः–

(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको सङ्गठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने नियतले वा त्यस्तो क्षति पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई वा लापरबाही वा हेलचक्य्राइँ गरी कुनै सरकारी, सार्वजनिक वा निजी सम्पत्ति नाश गरेमा वा त्यसको मूल्य, महत्व वा उपयोगिता घट्ने कुनै काम गरेमा,

(ख) सार्वजनिक वा निजी ढल, निकास, कुलो, पँधेरो, सडक, पुल वा कुनै सञ्चार वा यातायातको साधन इत्यादिको हानि, नोक्सानी वा अनुचित क्षति पुर्याएमा वा क्षति पुग्ने कुनै काम गरेमा वा सोको उपयोगमा जानीजानी कुनै किसिमले बाधा अवरोध हानि, नोक्सानी वा अनुचित क्षति पुर्याएमा वा क्षति पुग्ने कुनै काम गरेमा,

(ग) अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक सुविधाको लागि राखिएको कुनै सङ्केत वा चिह्न नासेमा, हटाएमा, मेटेमा वा बिगारेमा,

(घ) झुटो अफवाह फैलाएर वा अरुलाई धोका हुने कुनै साधनको प्रयोग गरेर अर्काको काम कारोबार वा व्यवसायमा बाधा पुर्याएमा वा अर्काको व्यापारको ख्यातिलाई क्षति पुर्याएमा,

(ङ) अर्काको चिठ्ठी, सूचना, पुलिन्दा वा अन्य कुनै माल लुकाएमा वा बदनियतसाथ ढिलो पुग्ने गराएमा ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–

(क) नेपाल सरकारले संरक्षण गरेको वा कानून बमोजिम संरक्षित कुनै वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्व नै विनाश गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज वा आरक्ष वा संरक्षित क्षेत्र, विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक वा पुरातात्विक स्मारक वा स्तम्भ, ऐतिहासिक वा पुरातात्विक महत्वका वस्तु सङ्कलन गरी राखिएको स्थान वा सङ्ग्रहालय, ऐतिहासिक लिखतहरु राखिएको अभिलेखालय, जङ्गी वा प्रहरीको हातहतियार तथा खरखजाना राखिएको सैनिक वा अर्धसैनिक घर वा ठाउँ, सुरक्षण छापाखाना, सिक्का टकमारी गर्ने टक्सार, कारखाना, बैङ्क नोट छाप्ने वा थुपार्ने नेपाल राष्ट्र बैङ्कको गोदाममा आगो लगाएमा वा विष्फोटक पदार्थ प्रयोग गरेमा जन्मकैदको सजाय र विगो बमोजिम जरिबाना,

(ख) खण्ड (क) मा लेखिए बाहेकका ऐतिहासिक, पुरातात्विक वा धार्मिक स्मारक वा स्तम्भ, सार्वजनिक वा सरकारी महत्वका कागजात रहेको भवन वा तहविल रहेको अदालत, संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संस्था, विदेशी कूटनीतिक नियोग वा अन्तरराष्ट्रिय वा अन्तरसरकारी संस्थाको कार्यालयमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेको भए पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद र विगो बमोजिम जरिबाना,

(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै काम गरी कुनै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याई आपराधिक उपद्रव गरेको भए चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना,

(घ) कसैको घर, कार्यालय वा कुनै सम्पतिमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेकोमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँँसम्म जरिबाना,

(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना ।

(४) यस दफा बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी भएमा हानि, नोक्सानी भएको विगो बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ ।

२८६. लुटपिट गर्न नहुनेः(१) कसैले लुटपिट गर्नु वा गराउनु हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनका लागि कसैले आफ्नाे हक नपुग्ने वा अन्य कसैको स्वामित्व, जिम्मा वा नियन्त्रणमा रहेको सम्पत्ति चोरी वा ठगी गरेको अवस्थामा बाहेक अरु कुनै किसिमले जबर्जस्ती गरी वा नगरी खोसी, धरपकड वा लछार पछार गरी वा त्यस्तो गर्ने धम्की दिई लैजाने वा हानि, नोक्सानी गर्ने नियतले कुनै काम गरेमा लुटपिट गरेको मानिने छ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको विगोको पच्चीस प्रतिशतसम्म जरिबाना वा दुवै सजाय हुनेछ र लुटपिट भएको सम्पतिको विगो कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ ।

२८७. कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुनेः (१) कुनै कसूर गरी प्राप्त गरेको सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिब कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्न वा खरीद–बिक्री गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्ष कैद वा पचास हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) उपदफा (१) बमोजिम लिए राखेको वा खरिद बिक्री गरेको सम्पत्ति सो सम्पत्तिको धनीलाई फिर्ता गर्नु पर्नेछ ।

२८८. हदम्यादः दफा २८४ र २८५ अन्तर्गतको कसूर त्यस्तो कसूर भएको मितिले छ महिनाभित्र र दफा २८६ को अन्तर्गतको कसूरमा सो भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूर त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।