परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “मुलुकी देवानी कार्यविधि (संहिता) , २०७४” रहेकोछ ।

(२) यो संहिता सम्वत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका देवानी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ ।

(ख) “कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ ।

(ग) “दरपीठ” भन्नाले कानून बमोजिम दर्ता गर्न नसकिने लिखतमा सम्बन्धित अधिकृतले दर्ता गर्न नसकिनाको आधार र कारण खुलाई आफ्नो हस्ताक्षर गरी सोही लिखतकोे पीठ, अन्य कुनै भाग वा छुट्टै कागजमा गरेको आदेश सम्झनु पर्छ ।

(घ) “देवानी मुद्दा” भन्नाले कानून बमोजिम फौजदारी मुद्दाको रूपमा परिभाषित गरिए बाहेकका कानूनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्ति सम्बन्धी मुद्दा सम्झनु पर्छ र सो शब्दले देहायको विषय र सोसँग सम्बन्धित मुद्दा समेतलाई जनाउँछ ः–

(१) नाता कायम वा सम्बन्ध विच्छेद,

(२) दस्तुर, पारिश्रमिक, तलब, भत्ता वा ज्याला,

(३) अंश, अपुताली, दान बकस, संरक्षक, माथवर, मातृक तथा पैत्रिक अख्तियारी, धर्मपुत्र वा धर्मपुत्री,

(४) कुनै करार, अर्धकरार वा अनुचित सम्वृद्धि अन्तर्गतको कुनै हक वा दाबी,

(५) दुष्कृति, अर्धदुष्कृति वा त्रुटिपूर्ण उत्पादन सम्बन्धी हक वा दाबी,

(६) सुविधाभार,

(७) क्षतिपूर्ति,

(८) देवानी प्रकृतिको अन्य कुनै विषय ।

(ङ) “न्यायाधीश” भन्नाले मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अदालतको अधिकारी सम्झनु पर्छ र सो शब्दले देवानी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकार प्राप्त अधिकारी समेतलाई जनाउँछ ।

(च) “पुनरावेदनपत्र” भन्नाले तल्लो अदालतको निर्णयमा चित्त नबुझी सो निर्णय सच्याउनको लागि आफ्नो जिकीर सहित माथिल्लो अदालतमा दिएको निवेदन सम्झनु पर्छ ।

(छ) “प्रतिउत्तरपत्र” भन्नाले फिरादपत्रको दाबी स्वीकार वा इन्कार गरी अदालतमा पेश गरेको लिखित जवाफ सम्झनु पर्छ र सो शब्दले प्रतिउत्तरपत्र सरहको बयान समेतलाई जनाउँछ ।

(ज) “प्रतिदाबी” भन्नाले बादीले गरेको दाबी उपर प्रतिबादीले गरेको दाबी सम्झनु पर्छ ।

(झ) “प्रतिबादी” भन्नाले प्रतिउत्तरपत्र पेश गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रतिबादी सरह बयान गर्ने वा अदालतले प्रतिबादी कायम गरेको व्यक्ति समेतलाई जनाउँछ ।

(ञ) “फिरादपत्र” भन्नाले कुनै विषयमा आफ्नो हक, हित वा सरोकार कायम गर्न वा दाबी कार्यान्वयन गर्न माग गरी पेश गरेको उजुरी, नालिस, दाबी वा निवेदन सम्झनु पर्छ र सो शब्दले फिरादपत्र सरहको बयान वा प्रतिउत्तरपत्रमा उल्लेख गरिएको प्रतिदाबी समेतलाई जनाउँछ ।

(ट) “मिसिल” भन्नाले फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र तथा सोसँग सम्बन्धित सबुत प्रमाण र अन्य कागजात सङ्कलन गरी अदालतमा राखिएको मुद्दासँग सम्बन्धित फाइल सम्झनु पर्छ ।

(ठ) “मुद्दा” भन्नाले देवानी मुद्दा सम्झनु पर्छ ।

(ड) “म्याद” भन्नाले मुद्दाको रोहमा कुनै व्यक्तिको नाममा अदालतबाट जारी गरिने सूचना वा इतलायनामा सम्झनु पर्छ ।

(ढ) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्ति समेतलाई जनाउँछ ।

(ण) “बादी” भन्नाले फिरादपत्र दिने व्यक्ति सम्झनु पर्छ ।

(त) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।

(थ) “सम्पत्ति” भन्नाले चल वा अचल सम्पत्ति सम्झनु पर्छ ।

३. छुट्टै कानूनमा लेखिएको कुरामा असर नपर्नेः (१) विषय विषयमा छुट्टा छुट्टै बनेका कानूनमा लेखिएका कार्यविधिका सम्बन्धमा सोही कानून बमोजिम हुनेछ र त्यस्तो विषयमा यस ऐनको व्यवस्थाले कुनै असर पार्ने छैन ।

(२) उपदफा (१) बमोजिमको कानूनमा नलेखिएको कार्यविधिको विषयमा यस ऐनमा लेखिए बमोजिम हुनेछ ।