परिच्छेद–४ लिखत तयार गर्ने कार्यविधि सम्बन्धी व्यवस्था

परिच्छेद–४ लिखत तयार गर्ने कार्यविधि सम्बन्धी व्यवस्था

२८. लिखत तयार गर्दा रीत पुर्याउनु पर्नेः (१) लिखत तयार गर्दा जुन विषयको लिखत तयार गरिने हो सो विषय स्पष्ट रूपमा खुलाई त्यसमा कुनै अशुद्धि र केरमेट नहुने गरी छापी, टाइप गरी वा हातले लेखी तयार गर्नु पर्नेछ र त्यस्तो लिखतसँग सम्बन्धित कारणीले सहीछाप गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि,–

(क) “लिखत” भन्नाले देहायका लिखत सम्झनु पर्छः–

(१) घर व्यवहारमा हुने सबै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत,

(२) धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी लिखत,

(३) करार,

(४) अख्तियार दिएको लिखत, अख्तियारनामा, मञ्जुरीनामा वा त्यस्तै प्रकृतिका अन्य कागज,

(५) सरकारी कार्यालय वा सङ्गठित संस्थामा पेश हुने कुनै पनि लिखत,

(६) अदालतमा पेश हुने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, दरखास्त लगायत जुनसुकै किसिमको लिखत,

(७) सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखत,

(८) कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य कुनै लिखत ।

(ख) “कारणी” भन्नाले लिखतको व्यहोराबाट सहीछाप गर्नु पर्ने जिम्मेवारी भएको व्यक्ति सम्झनु पर्छ ।

(ग) “सरकारी कार्यालय” भन्नाले अदालत, नेपाल सरकार वा प्रदेश सरकारको कार्यालय वा संवैधानिक निकाय सम्झनु पर्छ र सो शब्दले नेपाल सरकार वा प्रदेश सरकारको बजेट, अनुदान वा संलग्नता रहेको कुनै कार्यालय वा स्थानीय तहको कार्यालयलाई समेत जनाउँछ ।

(घ) “सङ्गठित संस्था” भन्नाले नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्था, कानून बमोजिम स्थापित संस्था, कम्पनी वा गुठी सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालय, महाविद्यालय वा बिद्यालयलाई समेत जनाउँछ ।

(२) उपदफा (१) बमोजिमका लिखत तयार गर्दा कारणवश अशुद्ध भएमा वा व्यहोरा फरक परी सच्याउनु परेमा जुन वाक्य, शब्द, अङ्क वा अक्षर सच्याउनु पर्ने हो सोही वाक्य, शब्द, अङ्क वा अक्षर फरक परेको देखिने गरी केरी वा सङ्केत गरी जे जस्तो वाक्य, शब्द, अङ्क वा अक्षर रहनु पर्ने हो त्यसरी केरिएको ठाउँभन्दा लगत्तै माथि वा तल लेखी सच्याउनु पर्नेछ र त्यसरी केरिएको वा सच्याएको प्रत्येक ठाउँमा सम्बन्धित कारणीले सहीछाप गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत केरमेट गरी सच्याउन नसकिने भएमा वा सकिने भएमा पनि सच्याइएको व्यहोराबाट द्विविधा वा शङ्का उत्पन्न हुने भएमा वा कानून बमोजिम प्रमाणीकरण गर्नु पर्ने लिखत भए त्यस्तो लिखतको सट्टा अर्को छुट्टै लिखत तयार गर्नु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको लिखतमा कुनै रकम उल्लेख गर्नु पर्दा अङ्क र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम कुनै रकम खुलाउँदा अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरा मान्य हुनेछ ।

२९. सहीछाप गर्दा पु¥याउनु पर्ने रीतः (१) लिखतमा सहीछाप गर्दा वा गराउँदा लेख्न जान्नेले आफ्नो नाम लेखी दस्तखत गर्नु पर्नेछ र लेख्न नजान्ने व्यक्तिले ल्याप्चे सहीछाप गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका लिखतमा सहीछाप गर्दा दुवै हातको बुढी औँलाको ल्याप्चे सहीछाप र लेख्न जान्नेले आफ्नो दस्तखत गरेको कुरा प्रमाणित हुने गरी सहीछाप गरेको हुनु पर्नेछः–

(क) आफ्नो हक छाडी दिएको वा धितो बन्धक राखेको सम्पत्तिसँग सम्बन्धित लिखत,

(ख) सरकारी कार्यालय वा सङ्गठित संस्थामा दिइने मञ्जुरीनामा वा अख्तियारनामा,

(ग) सट्टापट्टापत्र, अंशियारबीच हुने बण्डापत्र, अंश छोडपत्र वा अंश बुझेको भरपाईको लिखत,

(घ) मानो छुट्टिएको वा मानो जोडिएको लिखत,

(ङ) धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी लिखत,

(च) ऋण फिर्ता बुझाउँदा वा ऋण दिँदा लिखतको पीठमा दरपीठ नगरी छुट्टै गरिदिएको भरपाई,

(छ) ऋण दिए लिएको भोगबन्धकी, दृष्टिबन्धकी, लखबन्धकी समेतका लिखत, भाखापत्र, जमानीपत्र, कबुलियतनामा,

(ज) नासो धरौट लिए दिएको करार,

(झ) कपाली तमसुकको लिखत ।

(३) उपदफा (१) बमोजिम सहीछाप गर्दा सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखतमा सम्बन्धित अधिकारीले आफ्नो नाम र पद खुलाई दस्तखत गरी अड्डाको छाप लगाई त्यस्तो लिखतमा लिखत जारी भएको मिति उल्लेख हुनु पर्नेछ ।

३०. दस्तखत गर्दा पुर्याउनु पर्ने रीतः (१) लेख्न जान्ने व्यक्तिले लिखतमा आफ्नो पूरा नाम, थर, वतन लेखी दस्तखत गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दस्तखत गर्दा दस्तखत गर्नु पर्ने मुख्य ठाउँमा पूरा दस्तखत गरी अन्य ठाउँमा छोटकरीमा दस्तखत गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम सहिछाप गर्दा एउटै विषयको लिखत एकभन्दा बढी पृष्ठको भए प्रत्येक पृष्ठको शिर र पुछारमा दस्तखत गर्नु पर्ने कारणीले त्यस्तो लिखतमा कुनै व्यहोरा थपघट गर्न नसक्ने गरी सहिछाप गर्नु पर्नेछ ।

३१. ल्याप्चे सहीछाप गर्दा पुर्याउनु पर्ने रीत ः (१) लिखतमा ल्याप्चे सहीछाप गर्दा वा गराउँदा त्यस्तो ल्याप्चे सहीछाप गर्ने व्यक्तिको दाहिने हातको बुढी औँलाको ल्याप्चे सहीछाप लगाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा कसैको दाहिने हातको बुढी औँला नभएमा वा भएमा पनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा बायाँ हातको बुढी औँलाको, दुवै हातको बुढी औँला नभएमा वा भएमा पनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा दायाँ वा बायाँ हातको रेखा स्पष्ट देखिएको अरु कुनै एक औँलाको ल्याप्चे सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(३) दुवै हातका बुढी औँलाको ल्याप्चे सहीछाप गर्नु वा गराउनु पर्ने लिखतको हकमा कारणीको कुनै हातको बुढी औँला नभएमा वा भएमा पनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा सोही हातको रेखा स्पष्ट देखिएको अरु कुनै एक औँलाको र शङ्ख चक्रको रेखा स्पष्ट देखिएको हातको बुढी औँलाकोे सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा कुनै कारणीको दुबै हातको बुढी औँला नभएमा वा भएमा पनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा रेखा स्पष्ट देखिएका दुवै हातका अन्य कुनै एक एक औँलाको ल्याप्चे सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(५) यस दफा बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा कुनै कारणीको हातको कुनै पनि औँला नभएमा वा भएपनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा एकैहातको भए पनि रेखा स्पष्ट देखिने आवश्यकतानुसार कुनै एक वा दुई औँलाको ल्याप्चे सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(६) यस दफा बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा कुनै कारणीको हातको कुनै पनि औँला नभएमा वा भएपनि शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएमा त्यस्तो कारणीको सहीछाप दफा ३३ बमोजिम गराउनु पर्नेछ ।

(७) यस दफा बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा कानून बमोजिम कुनै एक वा दुवै बुढी औँलाको ल्याप्चे सहीछाप गराएकोमा बाहेक अन्य कुनै औँलाको ल्याप्चे सहीछाप गर्दा वा गराउँदा जुन बुढी औँला नभएको वा त्यसको शङ्ख चक्रको रेखा स्पष्ट नदेखिएको कारणले अन्य औँलाको ल्याप्चे सहीछाप गरे वा गराएको हो सो व्यहोरा सम्बन्धित लिखतमा उल्लेख गर्नु वा गराउनु पर्नेछ ।

३२. दस्तखत गर्नु गराउनु पर्नेः ल्याप्चे सहीछाप र दस्तखत गर्नु वा गराउनु पर्ने लिखतमा दफा ३१ को अवस्था परी कारणीको ल्याप्चे सहीछाप हुन नसक्ने भएमा र निजले दस्तखत गर्न सक्ने भए व्यहोरा खुलाई दस्तखत मात्र गर्नु वा गराउनु पर्नेछ ।

३३. संरक्षक वा माथवरको लिखतमा सहीछाप गराउनु पर्नेः कारणीको सहीछाप गर्नु वा गराउनु पर्ने लिखतमा दफा ३० बमोजिम दस्तखत गर्न नसक्ने र दफा ३१ को अवस्था परी ल्याप्चे सहीछाप पनि गर्न नसक्ने कारणीको हकमा निजको संरक्षक वा माथवरलाई रोहबरमा राखी निजको सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

३४. सहीछाप गर्न नसक्ने व्यक्तिले लिखत गर्दाको कार्यविधिः दफा ३२ बमोजिम लिखतमा कारणीको दस्तखत मात्र गराउँदा वा दफा ३३ बमोजिम कारणीको तर्फबाट निजको संरक्षक वा माथवरको सहीछाप गराउँदा लिखतको शिर भागमा त्यसको कारण उल्लेख गरी सम्बन्धित अधिकारीले त्यस्तो लिखत प्रमाणित गर्नु पर्नेछ ।

३५. विशेष अवस्थामा रहेका व्यक्तिको तर्फबाट लिखत गर्दाको कार्यविधिः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दृष्टिविहीन वा बोल्न नसक्ने व्यक्तिको तर्फबाट कुनै लिखत गराउँदा त्यस्तो व्यक्तिको संरक्षक वा माथवर भए निजलाई समेत रोहबरमा राखी निजले व्यक्त वा सङ्केत गरे बमोजिम लिखत तयार गरी त्यस्तो लिखतमा संरक्षक वा माथवरको समेत सहीछाप गराउनु पर्नेछ ।

(२) नाबालक वा होस ठेगानमा नभएका व्यक्तिको तर्फबाट लिखत गराउँदा संरक्षक वा माथवर भए निजलाई समेत रोहबरमा राखी निजको समेत सहीछाप गराउनु पर्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहिछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहबरमा गराउनु पर्नेछ र त्यसरी रोहबरमा रहने व्यक्तिको निजले रोजेको व्यहोरा समेत सोही लिखतमा जनाई सहिछाप गराउनु पर्नेछ ।

३६. लिखत मान्य हुनेः (१) यस परिच्छेद बमोजिम दस्तखत वा ल्याप्चे सहीछाप भएकोमा कानूनको अधिनमा रही त्यस्तो लिखत जुनसुकै प्रयोजनका लागि मान्य भई कानून बमोजिम कार्यान्वयन हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कुनै निकायबाट प्रमाणित वा पारित गर्नु पर्ने वा त्यस्तो निकायमा अभिलेख रहने वा त्यस्तो निकायबाट कार्यान्वयन हुने वा विनिमेय अधिकारपत्र मार्फत कारोबार हुने वा सार्वजनिक सूचना गरेको बोलपत्र बमोजिमका करार, ठेक्कापट्टा बाहेकका यस परिच्छेद बमोजिम दस्तखत वा ल्याप्चे सहीछाप गर्नु पर्ने पचास हजार रुपैयाँभन्दा बढी रकमको वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो रकममा नघट्ने गरी निर्धारण गरेको रकमभन्दा बढी रकमको नेपालभित्र घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षहरू स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा त्यस्तो कार्यालयबाट प्रमाणित गराउनु पर्नेछ र त्यसरी प्रमाणित गर्दा लिखतमा लिखतका कारणीहरूलाई प्रमाणित गर्ने कार्यालयले सहीछाप गराउनु पर्नेछ ।

तर पक्षहरूले चाहेमा पचास हजार रुपैयाँभन्दा कमको घरसारको लिखत पनि यस दफा बमोजिम प्रमाणित गराउन सक्नेछन् ।

(३) उपदफा (२) बमोजिम लिखत प्रमाणित गराउन आएमा सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले पनि लिखतका पक्षहरूको नाम, थर, ठेगाना, लिखत भएको मिति र लेनदेन भएको रकम वा लिखतमा उल्लेख भएको बिगो समेत खुलाई अभिलेख राखी त्यस्तो लिखत त्यसै दिन प्रमाणित गरिदिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम लिखत प्रमाणित गर्दा स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले बढीमा दुई सय रुपैयाँसम्म दस्तुर लिन सक्नेछ ।

(५) यस दफा बमोजिम रीत नपुगेको लिखत अदालतबाट कार्यान्वयन हुने छैन ।
तर यो दफा प्रारम्भ हुनु अगावै तत्काल प्रचलित कानून बमोजिम तयार भएको लिखतको मान्यता वा कार्यान्वयनका सम्बन्धमा यो दफाको व्यवस्थाले प्रतिकूल असर गर्ने छैन ।

३७. लिखतमा पहिचानको विवरण उल्लेख हुनु पर्नेः (१) दफा २९ को उपदफा (२) बमोजिमका लिखत तयार गर्दा लिखतसँग सम्बन्धित मुख्य कारणीको स्पष्ट पहिचान खुल्ने गरी लिखत तयार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पहिचान खुलाउँदा सम्बन्धित व्यक्तिको बाबु, आमा, बाजे, बज्यै र आफ्नो सहित तीन पुस्ते विवरण, पति वा पत्नीको नाम, नागरिकता नम्बर, उमेर, नागरिकता जारी भएको मिति र जिल्ला, निजको स्थायी बसोबासको ठेगाना तथा अस्थायी बसोबास गरेकोमा त्यस्तो ठेगाना समेत र विदेशी नागरिक भए निजको नागरिकताको विवरण, राहदानी नम्बर, राहदानी जारी गर्ने मुलुक र राहदानी जारी भएको मिति तथा निजको ठेगाना, इमेल ठेगाना, फोन नम्बर उल्लेख गर्नु पर्नेछ ।

(३) यस परिच्छेद बमोजिम संरक्षक वा माथवरलाई रोहबरमा राखी लिखत गराउँदा संरक्षक वा माथवरको नाम, थर, वतन, नागरिकता नम्बर र विदेशी नागरिक भए निजको राहदानी नम्बर, राहदानी जारी गर्ने मुलुक र राहदानी जारी भएको मिति, इमेल ठेगाना र टेलिफोन नम्बर उल्लेख गर्नु पर्नेछ ।

३८. सङ्गठित संस्थाको विवरण उल्लेख गर्नु पर्नेः (१) सङ्गठित संस्थाको तर्फबाट कुनै लिखत गर्दा वा गराउँदा त्यस्तो संस्थाको स्पष्ट पहिचान खुल्ने विवरण, दर्ता नम्बर तथा रजिष्टर्ड वा प्रधान कार्यालय रहने ठाउँ उल्लेख गरी त्यसको सञ्चालकको निर्णय बमोजिम अधिकार प्राप्त व्यक्तिको यस परिच्छेद बमोजिम लिखतमा सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सहीछाप गर्दा वा गराउँदा त्यस्तो संस्थाको तर्फबाट सहीछाप गर्ने व्यक्तिले ल्याप्चे सहीछाप गर्नु वा गराउनु पर्ने छैन ।
तर दस्तखत गरेपछि त्यस्तो संस्थाको छाप लगाउनु पर्नेछ ।

(३) दफा ३७ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्गठित संस्था कारणी भएको लिखतमा तीन पुस्तेको विवरण उल्लेख गर्नु पर्ने छैन ।

३९. दस्तखत पर्याप्त हुनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक पदाधिकारीले त्यस्तो पदाधिकारीको हैसियतमा कुनै लिखतमा दस्तखत गर्दा, कुनै सङ्गठित संस्थाका पदाधिकारीले पदीय हैसियतमा कुनै लिखतमा दस्तखत गर्दा, कुनै अध्ययन, अनुसन्धान, छानबीन वा जाँचबुझको प्रतिवेदन तयार गर्दा वा कानून बमोजिम ल्याप्चे सहीछाप आवश्यक हुने भनी उल्लेख भएका लिखतमा बाहेक अन्य लिखतमा सहीछाप गर्दा ल्याप्चे सहीछाप आवश्यक पर्ने छैन र सम्बन्धित पदाधिकारीको नाम र पद खुलाई मिति समेत उल्लेख गरी रीतपूर्वकको दस्तखत भएमा त्यस्तो लिखत रीतपूर्वक तयार भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम लिखत तयार भएकोमा सम्बन्धित पदाधिकारीको नाम र पद नखुलेको भएमा पनि त्यसरी नाम र पद नखुलाउने पदाधिकारीलाई अदालतले पाँचसय रुपैयाँसम्म जरिबाना गरी त्यस्तो लिखतलाई रीत पुगेको मानी प्रमाणको रूपमा ग्रहण गर्न र त्यस्तो लिखतका आधारमा नालिस सुनी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नेछ ।

४०. सहीछाप पक्का मसीले गर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम ल्याप्चे सहीछाप गर्दा वा गराउँदा नउड्ने पक्का रंग भएको छाप वा अन्य साधनबाट औँलाको शङ्ख चक्रको रेखा रंगाई त्यसको छाप लिखतमा गर्नु वा गराउनु पर्नेछ ।

(२) दस्तखत गर्ने व्यक्तिले दस्तखत गर्दा नउड्ने पक्का मसीले गर्नु पर्नेछ ।

४१. लिखत तयार गर्दा ठाउँ र मिति उल्लेख गर्नु पर्नेः दफा २९ को उपदफा (२) बमोजिमको लिखत तयार गर्दा लिखतको मुख्य व्यहोरा उल्लेख गरेपछि त्यसको अन्त्यमा त्यस्तो लिखत तयार भएको ठाउँ र मिति उल्लेख गर्नु पर्नेछ ।

४२. साक्षी राख्नु पर्नेm (१) कानून बमोजिम साक्षी राखी तयार गर्नु पर्ने लिखतमा करार गर्न योग्य कम्तीमा दुई जना व्यक्ति साक्षी राखी निजहरूको रोहबरमा लिखत बमोजिमको काम, कारोबार भएको व्यहोरा उल्लेख गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उल्लेख भएका साक्षीको पहिचान खुल्ने विवरण र ठेगाना उल्लेख गरी यस परिच्छेद बमोजिम सहीछाप गर्नु वा गराउनु पर्नेछ ।

(३) यस परिच्छेद बमोजिम तयार गरिएको लिखत कारणी आफैले लेखेको भए सोही व्यहोरा र अन्य व्यक्तिले मस्यौदा गरी तयार गरेको भए सोही व्यहोरा उल्लेख गरी लेखकले आफ्नो पहिचान खुल्ने विवरण र ठेगाना समेत लेखी दस्तखत गर्नु पर्नेछ ।

(४) कुनै लिखत तयार गर्न कानून बमोजिम कुनै इजाजतपत्र लिनु पर्ने रहेछ भने उपदफा (३) बमोजिम मस्यौदा तयार गर्ने लेखकले त्यसको विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

४३. रीत नपुगेको लिखत मान्य नहुनेः (१) यस परिच्छेद बमोजिम रीत नपु¥याई तयार गरिएको लिखत मान्य हुने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा लिखतको प्रकृति हेरी दुई सय रुपैयाँसम्म जरिबाना गरी त्यस्तो लिखतलाई मान्यता दिन सकिनेछः–

(क) लेख्न जान्नेले रीतपूर्वक दस्तखत मात्र गरी ल्याप्चे सहीछाप नगरेको वा ल्याप्चे सहीछाप गरेकोमा प्रष्ट नदेखिने गरी गरेको,

(ख) लेख्न जान्नेले दस्तखत नगरी ल्याप्चे सहीछाप मात्र गरेको,

(ग) लिखतको पुछारमा मिति टुङ्गिएको ठाउँमा कारणीको सहीछाप नगराएको,

(घ) साक्षी नराखेको वा राखेको साक्षीको दस्तखत नगराएको,

(ङ) नाम, थर, वतन र पद समेत लेख्नु पर्नेमा थर, वतन वा पदमध्ये कुनै वा सबै छुटाएको ।

(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम विद्युतीय माध्यमबाट कुनै लिखत तयार गर्न सकिने गरी कानूनी व्यवस्था भएकोमा त्यसरी तयार गरिएको लिखतलाई रीत पूर्वक तयार गरेको लिखत मानिनेछ ।

४४. कारणीले गरेको लिखत मान्य हुनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत कारणी स्वयम्ले आफ्नो दस्तखत बाट लेखिएको कुरा प्रमाणित भएमा त्यस्तो लिखत कानून बमोजिम मान्य हुनेछ ।

४५. कैफियत जनाई लिखत दर्ता गर्न सकिनेः (१) कसैले सरकारी कार्यालय वा सङ्गठित संस्थामा दर्ता गर्न ल्याएको लिखतमा अक्षर बुझिने गरी थपी केरमेट गरी दर्ता गर्न ल्याएमा सम्बन्धित अधिकारीले त्यसरी थप वा केरमेट गरेको ठाउँमा निजको सहीछाप गराई जुन ठाउँमा अक्षर थपे वा केरमेट गरेको छ त्यस्तो कुरा त्यस्तो लिखतमा कैफियत जनाई प्रमाणित गरी दर्ता गर्नु पर्नेछ ।

(२) कुनै सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट दर्ता गराउन ल्याएको लिखतमा कुनै अक्षर थप वा केरमेट भई त्यस्तो कार्यालय वा संस्थाको प्रमुख वा निजबाट अधिकार प्राप्त अधिकारीले दस्तखत गरेको भएमा सोही लिखत दर्ता गर्न सकिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम रीत नपुगी कुनै लिखत दर्ता गर्न ल्याएमा त्यस्तो सरकारी कार्यालय वा संस्थाको अधिकार प्राप्त अधिकारीले जुन कारणले लिखत दर्ता गर्न नहुने हो त्यसको कारण स्पष्ट रूपमा खुलाई लिखतको पीठमा सो कुरा लेखी मिति समेत राखी आफ्नो दस्तखत गरी दर्ता गर्न ल्याउनेको भरपाई गराई लिखत फिर्ता दिनु पर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालय वा सङ्गठित संस्थामा दर्ता भएको कुनै पनि लिखत कसैलाई फिर्ता दिई अर्को साटी लिन र अङ्क अक्षर थपी मेटी, केरी, घटी वा बढी पार्न हुँदैन ।

४६. लिखतको प्रतिलिपि उपलब्ध गराउनु पर्नेः (१) मुद्दामा सरोकार भएको व्यक्ति वा निजको कानून व्यवसायीले अदालतमा पेश भएको फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, बादी वा प्रतिबादीले पेश गरेका प्रमाण सम्बन्धी लिखत वा फैसला लगायत मुद्दाको मिसिल संलग्न कागजपत्रको प्रतिलिपि माग गरी निवेदन दिएमा अदालतले यथाशीध्र त्यस्तो लिखतको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

तर फैसलाको प्रतिलिपि जुनसुकै कानून व्यवसायीले लिन पाउनेछ ।

(२) उपदफा (१) मा लेखिए बाहेक कुनै सरकारी कार्यालय वा सङ्गठित संस्थामा रहेको लिखतमा आफ्नो सरोकार रहेको व्यहोरा खुलाई लिखतको सरोकारवाला व्यक्तिले लिखतको प्रतिलिपि माग गरी सम्बन्धित कार्यालय वा सङ्गठित संस्थामा निवेदन दिन सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कसैले प्रतिलिपि माग गरी दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित सरकारी कार्यालय, सङ्गठित संस्था वा निवेदक आफैँले प्रतिलिपि सारी वा छाँयाप्रति बनाई लिने भएमा प्रतिपृष्ठ पाँच रुपैयाँ र सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट नै प्रतिलिपि बनाई उपलब्ध गराउने भएमा प्रतिपृष्ठ दश रुपैयाँ दस्तुर लाग्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रतिलिपि उपलब्ध गराउँदा सरकारी कार्यालय वा सङ्गठित संस्था वा निवेदकबाट माग भए बमोजिम प्रतिलिपि उपलब्ध गराइएको र सक्कल प्रति अनुरुप प्रतिलिपि रहेको व्यहोरा प्रमाणित गरी निवेदकलाई सोही दिन प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम गोप्य राख्नु पर्ने वा सार्वजनिक गर्न नहुने लिखत वा अदालतले सार्वजनिक नगर्न आदेश दिएको लिखतको प्रतिलिपि उपलब्ध गराइने छैन ।