परिच्छेद–५ हदम्याद सम्बन्धी व्यवस्था

परिच्छेद–५ हदम्याद सम्बन्धी व्यवस्था

४७. हदम्यादभित्र फिराद गर्नु पर्नेः (१) कुनै अदालतमा फिरादपत्र दायर गर्न कानून बमोजिम कुनै निश्चित समयावधि तोकिएकोमा त्यस्तो समयावधिलाई हदम्यादको व्यवस्था भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम हदम्यादको व्यवस्था भएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो हदम्यादभित्र अदालतमा फिरादपत्र दायर गर्नु पर्नेछ ।

(३) उपदफा (२) को प्रतिकूल हुने गरी कुनै व्यक्ति फिरादपत्र दायर गर्न अदालतमा उपस्थित भएमा निजको फिरादपत्र दर्ता हुने छैन र कुनै कारणवश दर्ता हुन गएको रहेछ भने पनि त्यस्तो फिरादपत्र खारेज हुनेछ ।

४८. हदम्यादको व्यवस्था नभएकोमा फिराद गर्न सकिनेः कुनै विषयमा फिरादपत्र दायर गर्ने सम्बन्धमा कानूनमा कुनै हदम्याद उल्लेख नभएको भए जहिले सुकै पनि फिराद गर्न सकिनेछ ।

४९. हदम्याद प्रारम्भ हुनेः (१) कुनै विषयमा फिराद गर्न जुन कानूनमा हदम्यादको व्यवस्था भएको छ सोही कानून बमोजिम नै हदम्याद प्रारम्भ भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम हदम्याद प्रारम्भ हुने सम्बन्धमा कानूनी व्यवस्था नभएकोमा फिराद गर्नु पर्ने कारण परेको मितिले हदम्याद प्रारम्भ भएको मानिनेछ ।

५०. थाहा पाएको मितिले फिराद गर्नु पर्नेः (१) दफा ४८ वा ४९ मा जुनसुकै कुरा लेखिएको भए तापनि धोका, कीर्ते, जालसाजी वा षड्यन्त्रको फलस्वरुप वा त्यस्तै अन्य कुनै कारण परी वा गोप्य रूपमा कुनै काम भई थाहा पाउन सक्ने स्थिति नभई कसैको हदम्याद गुज्रन गएकोमा निजले त्यस्तो कुरा थाहा पाएको मितिले नब्बे दिनभित्र सोही व्यहोरा उल्लेख गरी फिराद दायर गर्न आएमा अदालतले यस परिच्छेदको अधीनमा रही त्यस्तो फिरादपत्र दर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा कुनै सङ्गठित संस्थाको हकमा त्यस्तो सरकार वा तहको सम्बन्धित कार्यालय वा त्यस्तो संस्थालाई फिराद गर्नु पर्ने कुराको जानकारी भएको मितिलाई थाहा पाएको मिति मानिनेछ ।

५१. बिदापछि फिरादपत्र दर्ता हुन सक्नेः (१) हदम्याद पुग्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यस्तो बिदापछि लगत्तै अदालत खुलेको पहिलो दिन फिरादपत्र दर्ता गर्न सरोकारवालाले माग गरेमा अदालतले त्यस्तो फिरादपत्र दर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम फिरादपत्र दर्ता भएकोमा हदम्यादभित्र नै फिरादपत्र दर्ता भएको मानिनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक बिदा भन्नाले” प्रचलित कानून बमोजिम तोकिएको सार्वजनिक बिदा सम्झनु पर्छ

५२. नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको हदम्याद प्रारम्भ हुनेः (१) फिरादपत्र गर्नु पर्ने कुनै व्यक्ति नाबालक भएमा निज बालिग भएको दिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएको मानिनेछ ।

(२) फिराद गर्नु पर्ने व्यक्तिको हदम्याद प्रारम्भ हुनुभन्दा अघि नै होस ठेगानमा नरहेमा निजको होस ठेगानमा आएको दिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएको मानिनेछ ।

(३) हदम्याद प्रारम्भ भएपछि कुनै व्यक्तिको होस ठेगानमा नरहेमा हदम्याद प्रारम्भ र अन्त्य हुँदा जति अवधि निजको होस ठेगानमा नरहेको अवस्था रहन्छ त्यति नै अवधि गणना गरी हुन आउने हदम्यादको अवधिभित्र फिराद दिएमा हदम्याद भित्र नै फिरादपत्र परेको मानिनेछ ।

तर होस ठेगानमा नरहेको व्यक्ति होस ठेगानमा आएपछि बाँकी रहन आउने हदम्यादको अवधि पन्ध्र दिनभन्दा कम हुने भएमा पन्ध्र दिनको अवधि हदम्याद बाँकी रहेको मानिनेछ ।

५३. हकवालाको हदम्याद प्रारम्भ हुनेः (१) फिरादपत्र गर्नु पर्ने नाबालक वा होस ठेगानमा नरहेको व्यक्ति बालिग वा होस ठेगानमा रहेको अवस्था नहुँदै निजको मृत्यु भएमा निजको मृत्यु भएको मितिले हदम्यादभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।

(२) कुनै नाबालक बालिग भएपछि पैँतीस दिन वा सोभन्दा बढी अवधि हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमा बाँकी हदम्यादभित्र र पैँतीस दिनभन्दा कम अवधिको हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमा त्यसरी मृत्यु भएको मितिले पैँतीस दिनभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।

(३) होस ठेगानमा नरहेको कुनै व्यक्ति होस ठेगानमा आएपछि पैँतीस दिन वा सोभन्दा बढी हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमा बाँकी हदम्यादभित्र र पैँतीस दिनभन्दा कम हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमा त्यसरी मृत्यु भएको मितिले पैँतीस दिनभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।

५४. संरक्षक वा माथवरले फिराद गर्न पाउनेः दफा ५२ वा ५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको हकमा कानून बमोजिम निजको संरक्षक वा माथवर भए त्यस्तो संरक्षक वा माथवरले यस परिच्छेद बमोजिम कानूनको हदम्यादभित्र फिराद गर्न पाउनेछ ।

५५. हदम्याद स्थगन नहुनेः संयुक्त रूपमा फिराद गर्नु पर्ने अवस्थाका व्यक्तिहरूमध्ये कुनै व्यक्ति नाबालक वा होस ठेगानमा नरहेको व्यक्ति बाहेक अन्य व्यक्तिको हकमा हदम्याद स्थगन हुने छैन ।

तर त्यस्तो नाबालक बालिग भएपछि वा होस ठेगानमा नरहेको व्यक्ति होस ठेगानमा आएपछि निजले आफ्नो हकमा दफा ५२ को अधीनमा रही छुट्टै फिरादपत्र दिन सक्नेछ ।

५६. विदेशमा भएको कारोबारको हदम्यादः विदेशमा भएको कुनै काम, कारबाही वा कारोबारको सम्बन्धमा कानून वा करार बमोजिम नेपालको कुनै अदालतमा फिरादपत्र लाग्ने व्यवस्था भएकोमा त्यस्तो काम, कारबाही वा कारोबार नेपालभित्र नै भए गरे सरह मानी यस परिच्छेदको अधीनमा रही फिराद गर्न सकिनेछ ।

५७. अधिकारक्षेत्र नभएको अदालतमा दायर भएको फिरादको हदम्यादः कसैले कुनै अदालतमा फिरादपत्र दायर गरेकोमा कुनै कारणबाट त्यस्तो फिरादपत्रको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र त्यस्तो अदालतलाई नभएको देखिएमा अदालतले तत्सम्बन्धमा कारबाही टुङ्ग्याएको मितिबाट जति अवधि हदम्याद बाँकी छँदै फिराद गरेको थियो त्यति अवधिसम्म सम्बन्धित व्यक्तिको फिराद गर्ने हदम्याद कायम रहेको मानिनेछ ।

तर,

(१) हदम्यादको अवधि सात दिनभन्दा कम रहेकोमा सात दिनसम्म फिराद गर्ने हदम्याद कायम रहनेछ ।

(२) फिराद गर्दाकै अवस्थामा अधिकारक्षेत्र नभएको भनी सो अदालतले दरपीठ गरेकोमा अधिकारक्षेत्र नभएको अदालत समक्ष कारबाही चलेको कारणले मात्र यस दफा बमोजिम फिरादपत्र दिन हदम्याद थप हुन सक्ने छैन ।

(३) फिरादपत्र दर्ता भएको अदालतलाई त्यसको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र नभएको भन्ने कुरा थाहा भएपछि त्यस्तो अदालतबाट फिरादको टुङ्गो नलगाएको कारणले मात्र कानून बमोजिमको हदम्यादभित्र अधिकार प्राप्त अदालतमा फिराद गर्न सम्बन्धित व्यक्तिलाई बाधा पुगेको मानिने छैन ।

(४) कानून बमोजिम हदम्याद गुज्रिसकेपछि पनि हदम्याद ढाँटी फिरादपत्र दर्ता गराएकोमा फिरादपत्र दर्ता गराएको कारणले मात्र अधिकारक्षेत्र कायम हुन सक्ने छैन ।

५८. हदम्याद नगुज्रनेः कसैको देहाय बमोजिमको काबु बाहिरको परिस्थिति उत्पन्न भई हदम्यादभित्र फिरादपत्र दर्ता गर्न नसकी हदम्याद गुज्रेको कुरा उल्लेख गरी निजले देहायको अवधिभित्र फिरादपत्र दर्ता गर्न ल्याएमा यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि दफा ५९ को अधीनमा रही अदालतले त्यस्तो फिरादपत्र दर्ता गर्नु पर्नेछः–

(क) फिरादपत्र दर्ता गर्नु पर्ने व्यक्तिको कोही मृत्यु भई परम्परा अनुसार निज आफैँ किरिया वा किरिया सरहको शोकवरण गरी बस्नु परेको भए त्यस्तो व्यक्तिको मृत्यु भएको पन्ध्र दिन पुगेको मितिले बाटोको म्याद बाहेक सात दिन,

(ख) फिराद दर्ता गर्नु पर्ने व्यक्ति महिला भई सुत्केरी भएको भए सुत्केरी भएको मितिले बाटाको म्याद बाहेक साठी दिन,

(ग) खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा कफ्र्यूको घोषणा भएको वा अन्य कुनै कारणले सार्वजनिक यातायातको साधन नचलेको भए बाटो खुलेको वा सार्वजनिक यातायातको साधन चलेको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन,

(घ) फिराद दर्ता गर्नु पर्ने व्यक्तिलाई कसैले अपहरण गरी लगेको वा शरीर बन्धक बनाएको भए त्यस्तो अपहरण वा बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन,

(ङ) भूकम्प वा ज्वालामुखी आदि जस्ता विपद् परेको भए त्यस्तो विपद् परेको मितिले बाटोको म्याद बाहेक दश दिन,

(च) कुनै दुर्घटनाको कारण अचेत वा हिँडडुल गर्न नसक्ने भई वा अचानक कुनै कडा रोग लागेको कारण हिँडडुल गर्न नसकेकोले अस्पतालमा भर्ना भई उपचाररत रहनु परेको अवस्थामा त्यसरी भर्ना भएको मितिले बाटोका म्याद बाहेक पन्ध्र दिन ।

५९. हदम्याद गुज्रनुको कारणको प्रमाण पेश गर्नु पर्नेः (१) दफा ५० वा ५८ बमोजिमको अवस्था परी फिराद गर्दा कुनै व्यक्तिले हदम्यादभित्र फिराद गर्न नसकेमा त्यसलाई पुष्टि गर्न आवश्यक पर्ने प्रमाण सहित अदालतमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन साथ प्रमाण पेश गर्न नसक्ने कारण देखाई यसको लागि म्याद मागेमा अदालतले त्यस्तो प्रमाण पेश गर्नको निमित्त फिराद दायर गर्न चाहने व्यक्तिलाई पन्ध्र दिनमा नबढाई उपयुक्त ठहराएको म्याद दिन सक्नेछ ।

६०. स्वीकृति प्राप्त गरेको मितिबाट हदम्याद प्रारम्भ हुनेः कुनै व्यक्ति, संस्था वा पदाधिकारी उपर फिराद गर्नु अघि कानून बमोजिम कसैको स्वीकृति प्राप्त गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो स्वीकृतिको सूचना प्राप्त गरेको मितिबाट तत्सम्बन्धमा फिराद गर्ने हदम्याद प्रारम्भ भएको मानिनेछ ।

६१. अधिकारी तोकिएपछि हदम्याद प्रारम्भ हुनेः कुनै कानूनमा मुद्दा हेर्ने अधिकारी, अदालत वा निकाय तोक्ने अधिकार नेपाल सरकार, अन्य कुनै निकाय वा पदाधिकारीलाई भएकोमा हदम्यादभित्र त्यस्तो अधिकारी, अदालत वा निकाय तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा त्यसरी अधिकारी, अदालत वा निकाय तोकिएको मितिबाट सम्बन्धित कानून अन्तर्गत पैँतीस दिनभित्र फिरादपत्र दायर गर्ने हदम्याद प्रारम्भ हुनेछ ।

तर दफा २५ बमोजिम जिल्ला अदालतमा मुद्दा दायर भएकोमा सोही बमोजिम हुनेछ ।

६२. हदम्याद सम्बन्धी अवधिको गणनाः (१) हदम्यादको अवधि दिन गन्तीमा तोकिएको भए जति दिन तोकिएको छ त्यति नै दिन गन्तीको हिसाबले गणना गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिन गन्ती गर्दा हदम्याद प्रारम्भ भएको भोलिपल्टदेखि गणना गरी हदम्यादको अवधि कायम गर्नु पर्नेछ ।

(३) हदम्यादको अवधि महिनामा तोकिएको भए जति दिनको महिना भएपनि सक्रान्तिको हिसाबले जति महिना तोकिएको हो त्यति नै महिनाको हिसाबले गणना गर्नु पर्नेछ ।

(४) हदम्यादको अवधि वर्षमा तोकिएको भए बाह्र महिनाको अवधिलाई एक वर्ष मानी जति वर्ष तोकिएको हो त्यति नै वर्षको हिसाबले गणना गर्नु पर्नेछ ।