परिच्छेद–७ फिरादपत्र तथा दाबी प्रस्तुति सम्बन्धी व्यवस्था

परिच्छेद–७ फिरादपत्र तथा दाबी प्रस्तुति सम्बन्धी व्यवस्था

८५. दाबी पेश गर्नु पर्नेः (१) कसैले कानून बमोजिम दाबी लिएको कुरालाई प्रचलन गराउन चाहेमा अदालत समक्ष त्यस्तो दाबी लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दाबी लिँदा यस परिच्छेद बमोजिमको कार्यविधि र शर्त पूरा गरी अदालतमा फिरादपत्र दिनु पर्नेछ ।

८६. हक पुग्ने विषयमा फिराद दिनु पर्नेः (१) यस परिच्छेदमा अन्यथा लेखिएकोमा बाहेक फिरादपत्र दिँदा आफ्नो हक पुग्ने विषयमा मात्र दाबी गरी फिरादपत्र दिनु पर्नेछ ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले फिरादपत्र दर्ता गर्न माग गरेमा फिरादपत्र दर्ता हुन सक्ने छैन र कुनै कारणवश दर्ता भएको भए तापनि दफा ९१ बमोजिम दिइएको फिरादपत्र बाहेक अन्य फिरादपत्र खारेज हुनेछ ।

८७. एउटै फिरादपत्र दिन सक्नेः (१) कुनै व्यक्तिले अर्को व्यक्ति विरुद्ध देवानी प्रकृतिको कुनै दाबी र त्यससँग सम्बन्धित जतिसुकै विषय भएपनि त्यस्तो विषयमा एउटै फिरादपत्र दायर गर्न सक्नेछ ।

(२) कसैले एकैपटक एउटै फिराद दिए हुने विषयमा सो नगरी पहिले दिएको मुद्दाको परिणाम विचार गरी त्यसको आधारमा पछि फिराद दिन आएमा त्यस्तो फिराद लाग्ने छैन ।

८८. बादी वा प्रतिबादीको सङ्ख्याले असर नपर्नेः कुनै एक विषयको दाबीको सम्बन्धमा कुनै एक व्यक्तिले जतिसुकै व्यक्ति उपर, जतिसुकै व्यक्तिले कुनै एक व्यक्ति उपर वा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिरादपत्र दिन सक्नेछ ।

८९. एकपटक मात्र फिरादपत्र दिनु पर्नेः (१) कुनै व्यक्तिले एकै विषयमा दफा ८७ बमोजिम कुनै व्यक्ति उपर एक अदालतमा फिरादपत्र दिई सकेपछि त्यही विषयमा त्यस्तो अदालत वा अन्य कुनै अदालतमा त्यस्तो व्यक्ति उपर अर्को फिराद दिन सक्ने छैन ।

(२) एकै विषयमा एउटा पक्षले कुनै एक अदालतमा, अर्को पक्षले अन्य अदालतमा वा दुवै पक्षले एउटै अदालतमा छुट्टाछुट्टै फिरादपत्र दिएमा पहिले दर्ता भएको फिराद बमोजिम मुद्दाको कारबाही भई अरु फिरादपत्र खारेज हुनेछ ।

तर कानून बमोजिम दुवै पक्षको फिराद लाग्ने वा दुवै पक्षले फिराद गर्नु पर्ने अवस्थामा दुवै फिरादपत्र उपर कारबाही गर्न कुनै बाधा पर्ने छैन ।

९०. फिरादपत्र हदम्यादभित्र दायर गर्नु पर्नेः (१) फिरादपत्र दिँदा आफ्नो दाबी सहित कानून बमोजिम तोकिएको हदम्यादभित्र अदालतमा फिरादपत्र दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम फिरादपत्र दिँदा कुन कानून बमोजिमको हदम्यादभित्र फिराद गरेको हो सो कुरा फिरादपत्रमा खुलाउनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) को प्रतिकूल हुने गरी दर्ता गर्न ल्याएको फिरादपत्र दरपीठ गरी फिर्ता दिनु पर्नेछ ।

९१. सार्वजनिक हित वा सरोकार निहित रहेको विवादमा जोसुकैले फिरादपत्र दिन सक्नेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको हक, हित वा सरोकार वा सार्वजनिक हित वा सरोकार निहित रहेको विवादमा अदालतको अनुमति लिई जुनसुकै व्यक्तिले फिरादपत्र दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुमति लिनका लागि फिरादपत्र सँगै छुट्टै निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम अनुमतिका लागि निवेदन परेमा अदालतले निवेदन परेको दिनमा नै त्यस्तो विषयमा निर्णय गर्नु पर्नेछ ।

९२. हक कायम गराउन फिरादपत्र दिन सक्नेः अदालतबाट कुनै मुद्दा डिसमिस, खारेज वा अन्य तरिकाले फैसला भएको वा कानून बमोजिम मिलापत्र गरिएको कारणबाट तेस्रो पक्षको हक समेत प्रभावित भएको रहेछ भने त्यस्तो व्यक्तिले थाहा पाएको मितिले पैँतीस दिनभित्र त्यस्तो फैसला वा मिलापत्र बदर गराई आफ्नो हक कायम गराई माग्न फिरादपत्र दिन सक्नेछ ।

९३. सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिन सक्नेः (१) सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र वा प्रतिउत्तरपत्र दिनु पर्दा फिरादपत्र वा प्रतिउत्तरपत्र दायर गर्ने प्रयोजनको लागि त्यस्तो संस्थाको सम्बन्धित कानून, विधान वा नियम बमोजिम अधिकार प्राप्त सञ्चालक, सञ्चालक समिति वा व्यवस्थापन समिति वा त्यस्तो हैसियतका समितिको निर्णयबाट अधिकार प्राप्त प्राकृतिक व्यक्तिले सोही कुरा फिरादपत्र वा प्रतिउत्तरपत्रमा उल्लेख गरी फिरादपत्र वा प्रतिउत्तरपत्र दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम फिरादपत्र वा प्रतिउत्तरपत्र दिँदा फिरादपत्र वा प्रतिउत्तरपत्र दिने सम्बन्धमा त्यस्तो सञ्चालक, सञ्चालक समिति वा व्यवस्थापन समिति वा त्यस्तो हैसियतका समितिको निर्णयको प्रति समेत फिरादपत्र वा प्रतिउत्तरपत्र साथ संलग्न गर्नु पर्नेछ ।

(३) नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहका कार्यालय, संवैधानिक निकाय वा अदालतको तर्फबाट फिराद वा प्रतिउत्तरपत्र दायर गर्नु पर्दा त्यस्तो कार्यालय, निकाय वा अदालतको प्रशासनिक प्रमुखको रूपमा काम गर्ने पदाधिकारीबाट फिरादपत्र वा प्रतिउत्तरपत्र दायर गर्न सकिनेछ ।

९४. फैसला भएको विषयमा फिरादपत्र दिन नहुनेः (१) कुनै विषयमा एक पटक फैसला भएपछि त्यस्तो फैसला उपर कानून बमोजिम पुनरावेदन नगरी सोही विषयमा उही व्यक्ति उपर सोही पक्षले फिरादपत्र दिन सक्ने छैन ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी दर्ता भएको फिरादपत्र खारेज हुनेछ ।

(३) उपदफा (१) को प्रतिकूल हुने गरी दिएको फिरादपत्रको आधारमा भएको फैसला बदर हुनेछ ।

९५. फिरादपत्रको ढाँचाः फिरादपत्र दिँदा अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरी दिनु पर्नेछ ।

९६. फिराद दाबी स्पष्ट हुनु पर्नेः (१) फिरादपत्र दिँदा बादीले कुन विषयमा के कस्तो दाबी गरेको हो र त्यस्तो दाबी कुन कुन आधार र प्रमाण बमोजिम गरिएको हो सो कुरा किटानीसाथ फिरादपत्रमा खुलाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दाबी स्पष्ट नभएको र अदालतबाट के कस्तो काम कारबाही गर्नु पर्ने हो सो स्पष्ट नखुलाइएको फिरादपत्र रीतपूर्वक भएको मानिने छैन र त्यस्तो फिरादपत्र दर्ता हुने छैन ।

९७. फिराद दस्तुरः फिरादपत्र दिँदा दुई सय रुपैयाँ फिराद दस्तुर लाग्नेछ ।

९८. फिरादपत्रको दर्ताः (१) कसैले फिरादपत्र दर्ता गर्न ल्याएमा सम्बन्धित कर्मचारीले त्यस्तो फिरादपत्र यस परिच्छेद बमोजिम रीत पुगे वा नपुगेको तथा फिरादमा उल्लेख गरिएको सबुत प्रमाण संलग्न भए वा नभएको जाँची रीत पुगेको देखिएमा अनुसूची–२ बमोजिमको दायरी किताबमा फिरादपत्र दर्ता गरी सम्बन्धित पक्षलाई अनुसूची–३ बमोजिमको ढाँचामा फिरादपत्र दर्ता भएको भरपाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम फिरादपत्र दर्ता गर्न ल्याउँदा फिरादपत्र र प्रमाणको प्रतिलिपि एक जनासम्म प्रतिबादी भए दुई प्रति र त्यसपछिका प्रत्येक प्रतिबादीका लागि एक प्रतिका दरले फिरादपत्र तथा प्रमाणको प्रतिलिपि दाखिला गर्नु पर्नेछ ।

तर एकाघरका प्रतिबादी जतिसुकै सङ्ख्यामा रहेको भएपनि त्यस्ता प्रतिबादीको लागि एक प्रति मात्र दाखिला गर्न सकिनेछ ।

(३) फिरादवालाले एक प्रतिभन्दा बढी प्रति फिरादपत्र वा प्रमाणको प्रतिलिपि दाखिला गर्दा सक्कल बमोजिम नक्कल दुरुस्त छ भनी लेखी सहीछाप समेत गरी अदालतले सो नक्कललाई सक्कलसँग रुजु गर्नु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम जाँच गर्दा फिरादपत्र रीत नपुगेको भएमा रीत नपुगेको कारण फिरादपत्रमा जनाई दरपीठ गर्नु पर्नेछ ।