परिच्छेद–८ म्याद तथा म्याद तामेली सम्बन्धी व्यवस्था

परिच्छेद–८ म्याद तथा म्याद तामेली सम्बन्धी व्यवस्था

९९. बादी आफैँले म्याद बुझाउन सक्नेः (१) बादीले प्रतिबादीलाई आफैले वा निजको कानून व्यवसायी मार्फत म्याद बुझाउन चाही सो कुरा फिरादपत्रमा उल्लेख गरेको भए बादीले वा निजको कानून व्यवसायीले फिरादपत्र दर्ता भएको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आफैँले वा कानून व्यवसायी मार्फत प्रतिबादीलाई म्याद बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाउँदा फिरादपत्र र फिरादपत्र साथ संलग्न प्रमाण कागज भए सोको एक एक प्रति समेत बुझाउनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद तथा फिरादपत्र र प्रमाणको प्रति बुझाउने प्रयोजनका लागि तामेल गर्ने म्याद दुई प्रति र फिरादपत्र तथा प्रमाणको प्रमाणित प्रति अदालतबाट बुझिलिई अनुसूची–४ बमोजिमको ढाँचामा भरपाई गरिदिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम वादी वा निजको कानून व्यवसायीले प्रतिवादीलाई म्याद बुझाउन ल्याएमा प्रतिवादीले त्यस्तो म्याद बुझिलिनु पर्नेछ र त्यसरी बुझिलिएकोमा रीतपूर्वक म्याद बुझाएको मानिनेछ ।

तर सङ्गठित संस्थालाई त्यसरी म्याद बुझाउन ल्याएमा त्यस्तो संस्थाले सो म्याद बुझिलिनु पर्नेछ ।

(५) सङ्गठित संस्थाको हकमा त्यस्तो संस्थाको मुख्य कार्यालयमा म्याद बुझाएकोमा उपदफा (४) बमोजिम सम्बन्धित संस्थालाई रीतपूर्वक म्याद बुझाएको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “मुख्य कार्यालय” भन्नाले सङ्गठित संस्थाको रजिष्टर्ड कार्यालय भए त्यस्तो कार्यालय र त्यस्तो कार्यालय नभए सङ्गठित संस्थाको कारोबार हुने मुख्य कार्यालय सम्झनु पर्छ ।

(६) उपदफा (४) बमोजिम प्रतिबादीले म्याद बुझिसकेपछि अनुसूची–५ बमोजिमको ढाँचामा भरपाई गरिदिनु पर्नेछ ।

(७) उपदफा (३) बमोजिम बादी वा निजको कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाएकोमा प्रतिबादीले म्याद बुझी गरिदिएको भरपाई निजले त्यसरी म्याद बुझाएको सात दिनभित्र अदालतमा दाखिला गर्नु पर्नेछ ।

(८) उपदफा (६) बमोजिम प्रतिबादीले म्याद बुझिलिई भरपाई गरीदिएको मितिबाट प्रतिउत्तरपत्र पेश गर्ने म्याद कायम हुनेछ ।

(९) यस दफा बमोजिम बादी वा कानून व्यवसायीले प्रतिबादीलाई म्याद बुझाउँदा निजले बुझि नलिएमा त्यस्तो बादी वा कानून व्यवसायीले उपदफा (१) बमोजिमको म्याद नाघेको दुई दिनभित्र सोही व्यहोराको प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्नेछ ।

(१०) उपदफा (९) बमोजिम बादी वा निजको कानून व्यवसायीबाट म्याद तामेल हुन नसकेको प्रतिवेदन प्राप्त भएमा अदालतले यस परिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद तामेल गर्नु पर्नेछ ।

१००. प्रतिबादीलाई म्याद जारी गर्नेः (१) दफा ९९ बमोजिम बादी आपैmले वा निजको कानून व्यवसायी मार्फत प्रतिबादीलाई म्याद बुझाएको अवस्थामा बाहेक अदालतले फिरादपत्र दर्ता भएको मितिले तीन दिनभित्र प्रतिउत्तरपत्र पेश गर्न प्रतिबादीको नाममा म्याद जारी गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम म्याद जारी गर्दा बादीले अदालतमा दर्ता गराएको फिरादपत्रको एक प्रति र फिरादसाथ संलग्न प्रमाण समेत बुझाउनु पर्नेछ ।

(३) अदालतबाट म्याद जारी भएपछि प्रतिबादीले प्रतिउत्तर पेश गर्नुभन्दा पहिले नै फिरादपत्र वा मिसिल संलग्न कागजपत्रको नक्कल लिन निवेदन दिएमा अदालतले त्यस्तो कागजपत्रको प्रतिलिपि प्रमाणित गरी उपलब्ध गराउनु पर्नेछ ।

१०१. म्याद दिनु पर्नेः (१) अदालतले यस परिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद जारी गर्दा बाटाको म्याद बाहेक एक्काइस दिनको अवधि तोकी त्यस्तो फिरादपत्रका सम्बन्धमा प्रतिवाद वा प्रतिरक्षा गर्नको लागि अदालतमा उपस्थित हुन म्याद दिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२३ बमोजिम अदालतले प्रतिबादी कायम गरेको व्यक्तिलाई म्याद दिँदा बाटाको म्याद बाहेक सात दिनको म्याद दिनु पर्नेछ ।

१०२. म्याद तामेल गर्न लगाउनेः (१) दफा १०१ बमोजिम अदालतले म्याद जारी गर्दा तीन प्रति म्याद सूचना तयार गरी सम्बन्धित अधिकृतले दस्तखत गरी अदालतको छाप लगाई तामेल गर्न लगाउनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बादी वा निजको कानून व्यवसायी मार्फत म्याद तामेल गर्न दुई प्रति म्याद सूचना तयार गर्नु पर्नेछ ।

(३) यस परिच्छेद बमोजिम म्याद जारी गर्दा अदालतले प्रतिबादी बनाइएका एकाघरमा रहे बसेका व्यक्तिलाई एक प्रति र सो बाहेक अरु प्रतिबादीको हकमा प्रत्येक प्रतिबादीको लागि एक एक प्रतिका दरले फिरादपत्रको प्रतिलिपि सहित म्याद तामेल गर्ने वा गराउने व्यवस्था गर्नु पर्नेछ ।

१०३. म्यादको ढाँचाः (१) यस परिच्छेद बमोजिम प्रतिबादीको नाममा म्याद जारी गर्दा अनुसूची–६ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ ।
(२) प्रतिबादी बाहेक अन्य व्यक्तिका नाममा म्याद जारी गर्दा अनुसूची–७ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ ।

१०४. तामेलदारले म्याद तामेल गर्नु पर्नेः (१) तामेलदारले अदालतबाट बुझेको म्याद बाटोको म्याद बाहेक साधारणतया सात दिनभित्र तामेल गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि “तामेलदार” भन्नाले अदालतबाट जारी भएको म्याद सम्बन्धित व्यक्तिलाई बुझाई तामेल गर्न जिम्मेवारी पाएको वा खटिएको कर्मचारी सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र म्याद तामेल हुन नसकेमा निजले त्यसको कारण सहितको प्रतिवेदन सम्बन्धित अदालतमा दिनु पर्नेछ र त्यस्तो प्रतिवेदन झुट्टा देखिएमा निजलाई विभागीय कारवाही हुन सक्नेछ ।

१०५. म्याद तामेली सम्बन्धी कार्यविधिः (१) अदालतले म्याद तामेल गर्नको लागि तामेल गर्नु पर्ने म्यादको तीन प्रति तयार गरी तामेलदारलाई बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तामेलदारले म्याद बुझिसके पछि निजले सम्बन्धित व्यक्ति चिनेको भए सो कुरा उल्लेख गरी निजलाई जहाँसुकै फेला पारे पनि म्याद बुझाउन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम सम्बन्धित व्यक्ति फेला नपरेमा तामेलदारले निजको बसोबासको ठेगानामा गई घर वा डेरा पत्ता लगाई सम्बन्धित व्यक्तिको पहिचान गरी स्थानीय तहको सम्बन्धित वडा अध्यक्ष, वडा सदस्य, सचिव वा कुनै सरकारी कर्मचारी र कम्तीमा दुई जना स्थानीय व्यक्ति रोहबरमा राखी म्याद तामेल गरेको मिति लेखी सम्बन्धित व्यक्तिलाई सो म्याद बुझाई भरपाई गरी लिनु पर्नेछ ।

(४) म्याद जारी भएको व्यक्ति फेला नपरेमा अदालतले उपदफा (३) को कार्यविधि पूरा गरी त्यस्तो व्यक्तिको एकाघरको उमेर पुगेको अन्य कसैलाई म्याद बुझाउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम सम्बन्धित व्यक्ति वा निजको एकाघरको उमेर पुगेको कुनै व्यक्ति पनि फेला नपरेमा वा फेला परे पनि म्याद बुझी नलिएमा तामेलदारले उपदफा (३) मा लेखिएका व्यक्तिको रोहबरमा त्यस्तो व्यक्तिले बसोबास गरेको घरको दैलोमा सबैले देख्ने ठाउँमा टाँसी सोही व्यहोरा म्यादमा उल्लेख गरी तामेल गर्नु पर्नेछ ।

(६) उपदफा (२), (३), (४) र (५) बमोजिमको कार्यविधि अवलम्बन गरी म्याद तामेल गर्दा अदालतमा दाखिल गर्ने म्यादको पीठमा कुन व्यक्तिलाई के कस्तो कार्यविधि पूरा गरी म्याद बुझाई वा म्याद टाँस गरी तामेल भएको हो सो मिति र समय उल्लेख गरी बुझाएको वा टाँसिएका बखत उपदफा (३) मा उल्लेखित व्यक्तिहरू समेतको प्रष्ट बुझिने गरी सहीछाप गराउनु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम तामेल गरिएको म्यादको प्रतिमा तामेलदारले आफ्नो सहीछाप गरी त्यसको प्रतिवेदन सहितको म्यादको प्रति अदालतमा बुझाउनु पर्नेछ ।

(८) उपदफा (५) बमोजिम घर दैलामा टाँसी म्याद तामेल गरिएको भए तामेलदारले त्यस्तो म्याद सूचनाको तेस्रो प्रतिमा सोको तामेली मिति र समय जनाई सम्बन्धित स्थानीय तहमा बुझाई सोको छुट्टै भरपाई गराई लिई वा तामेली प्रतिको पीठमा सो कुरा जनाई स्थानीय तहको सम्बन्धित वडा अध्यक्ष, सदस्य, सचिव वा कुनै सरकारी कर्मचारीकोे सहीछाप गराउनु पर्नेछ ।

(९) उपदफा (८) बमोजिम तामेलदारले म्याद बुझाएकोमा सम्बन्धित स्थानीय तहले तुरुन्त त्यस्तो म्याद आफ्नो सूचना पाटीमा टाँस्नु पर्नेछ ।

(१०) यस दफा बमोजिम घर दैलोमा टाँस गरिएको म्यादको प्रति सम्बन्धित स्थानीय तहलाई नबुझाएको वा स्थानीय तहले आपूmले पाएको म्याद आफ्नो सूचना पाटीमा नटाँसेको भए तापनि उपदफा (५) बमोजिम सम्बन्धित व्यक्तिको घर दैलोमा म्याद रीतपूर्वक टाँसिएको भए कानूनसम्मत ढङ्गबाट म्याद तामेल गरिएको मानिनेछ ।

(११) कुनै सङ्गठित संस्थालाई कुनै मुद्दाका सम्बन्धमा म्याद तामेल गर्नु पर्दा त्यस्तो संस्थाको रजिष्टर्ड कार्यालय, प्रधान कार्यालय वा कारोबारको मुख्य कार्यालयमा त्यस बखत मुख्य भई काम गर्ने व्यक्तिलाई तामेल गर्नु पर्नेछ ।
तर त्यस्तो व्यक्ति उपलब्ध नभएमा त्यस्तो संस्थाको त्यस्तो कार्यालयमा कार्यरत कुनै पदाधिकारी वा कर्मचारीलाई म्याद बुझाई तामेल गर्न सकिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले सङ्गठित संस्थाको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले त्यस्तो संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रबन्ध सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक वा कम्पनीको हकमा कम्पनी सचिव समेतलाई जनाउँछ ।

(१२) उपदफा (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालय, संवैधानिक निकाय वा अदालतको नाममा म्याद तामेल गर्दा त्यस्तो कार्यालयको प्रमुख, प्रशासकीय प्रमुख वा त्यस्तो जिम्मेवारी पाएको कुनै पदाधिकारी वा निजको निमित्त भई काम गर्ने पदाधिकारी र त्यस्तो कुनै पदाधिकारी उपलब्ध हुन नसकेमा सोही कुरा उल्लेख गरी त्यस्तो कार्यालय, निकाय वा अदालतमा म्याद बुझाई तामेल गर्नु पर्नेछ ।

(१३) कुनै सरकारी कार्यालय, संवैधानिक निकाय, अदालत, कुनै सङ्गठित संस्था वा त्यसका पदाधिकारी वा कर्मचारीको नाममा सो हैसियतमा म्याद तामेल गर्नु पर्दा त्यस्तो कार्यालय, निकाय, अदालत वा संस्था वा त्यसका पदाधिकारी, कर्मचारीलाई बुझाई तामेल गर्नु पर्नेछ ।

(१४) उपदफा (११), (१२) र (१३) बमोजिम म्याद तामेल हुन नसकेमा सोको कारण सहित तामेलदारले सम्बन्धित अदालतमा तीन दिनभित्र प्रतिवेदन दिनु पर्नेछ ।

(१५) उपदफा (१४) बमोजिम प्रतिवेदन पेश हुन आएमा अदालतले त्यस्तो कार्यालय, निकाय, अदालत वा सङ्गठित संस्था वा त्यसका पदाधिकारी वा कर्मचारीको नाममा सो हैसियतमा हुलाक मार्फत म्याद तामेल गर्ने आदेश दिन सक्नेछ ।

(१६) उपदफा (१५) बमोजिम आदेश भएकोमा त्यस्तो कार्यालय, निकाय, अदालत वा सङ्गठित संस्था वा त्यसका पदाधिकारी वा कर्मचारीको सो हैसियतमा म्याद पठाउँदा सोही व्यहोरा उल्लेख गरी सम्बन्धित अदालतबाट रजिष्ट्ररी पत्र पठाई तामेल गर्न सकिनेछ ।

(१७) उपदफा (१६) बमोजिम हुलाकद्वारा पठाएको म्यादको फिर्ती रसिद अदालतमा दाखिल भएपछि सो म्याद अन्यथा प्रमाणित भएकोमा बाहेक रीतपूर्वक तामेल भएको मानिनेछ ।

(१८) कुनै स्थानीय तहको क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिको घर धुरी वा ब्लक नम्बर कायम भई क्रमबद्ध रूपमा अङ्कित गरी अभिलेख कायम गरिएको भएमा सो ठाउँमा वा त्यस्ता व्यक्तिले आफ्नो कारोबार, व्यवसाय वा कुनै विषयमा हुलाकद्वारा म्याद तामेल गर्न सक्ने गरी अदालतले मञ्जुरी दिएको रहेछ भने यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले सो व्यवस्थाको अधीनमा रही म्याद तामेल गर्न सक्नेछ ।

(१९) कुनै सरकारी कार्यालय, संवैधानिक निकाय, अदालत वा सङ्गठित संस्थाको पदाधिकारी वा कर्मचारीको रूपमा रहेको कुनै व्यक्तिका नाममा जारी भएको म्याद उपदफा (२), (३), (४) र (५) बमोजिम तामेल गर्न नसकिएको भन्ने सम्बन्धित तामेलदारको प्रतिवेदन प्राप्त भएमा अदालतले त्यस्तो व्यक्तिलाई उपदफा (१३) वा (१५) बमोजिम म्याद तामेल गर्न आदेश दिन सक्नेछ ।

(२०) उपदफा (१९) बमोजिम आदेश भएमा अदालतले त्यस्तो आदेश बमोजिम सम्बन्धित व्यक्तिको नामको म्याद सूचना तामेल गर्नेछ ।

(२१) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाका पक्ष विपक्षले कुनै लिखत, सम्बन्धित विषय वा कारोबारको विषयमा एकअर्कालाई सूचना गर्न वा विवादको सम्बन्धमा म्याद पठाउन इमेल, फ्याक्स जस्ता विद्युतीय सूचना आदान प्रदान गर्ने ठेगानाको व्यवस्था गरेको भए अदालतले त्यस्तो ठेगानामा विद्युतीय सूचना मार्फत म्याद तामेल गर्न सक्नेछ ।

(२२) यस दफाका विभिन्न उपदफामा उल्लिखित कार्यविधि अवलम्बन गर्दा पनि सम्बन्धित व्यक्तिको नाममा म्याद तामेल हुन नसकेको व्यहोराको प्रतिवेदन तामेलदारबाट प्राप्त भएमा र प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले त्यस्तो व्यक्तिको नामको म्याद राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्न आदेश दिनेछ ।

(२३) उपदफा (२२) बमोजिम आदेश भएकोमा सोही आदेश बमोजिम म्याद तामेल गरिनेछ ।

(२४) उपदफा (२२) बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्दा लागेको खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्नेछ ।

१०६. अदालतमा नै म्याद तामेल गर्न सक्नेः (१) दफा १०५ वा १०७ मा जुनसुकै कुरा लेखिएको भए तापनि तामेलदारले देहायका व्यक्तिका नाममा जारी भएको म्याद त्यस्तो व्यक्तिलाई अदालतमा नै बुझाई तामेल गर्न सक्नेछः–

(क) सम्बन्धित अदालतका कर्मचारी वा पदाधिकारी भए निज अदालतमा हाजिर हुँदा,

(ख) सम्बन्धित अदालतमा अर्को कुनै मुद्दामा तारिखमा रहेको पक्ष भए त्यस्तो पक्ष अदालतमा उपस्थित हुँदा,

(ग) सम्बन्धित अदालतमा रहेको कुनै मुद्दामा कुनै पक्षको प्रतिनिधित्व गर्ने वारिस भए त्यसरी प्रतिनिधित्व गरी अदालतमा उपस्थित हुँदा,

(घ) सम्बन्धित अदालतमा कानून व्यवसायको सिलसिलामा उपस्थित हुने कानून व्यवसायी भए त्यस्तो व्यवसायको सिलसिलामा अदालतमा उपस्थित हुँदा,

(ङ) साक्षीको रूपमा उपस्थित भएको व्यक्ति भए सो हैसियतमा अदालतमा उपस्थित हुँदा ।

(२) उपदफा (१) बमोजिमका व्यक्तिलाई तामेलदारले निज सम्बन्धित अदालतमा उपस्थित हुँदाका बखत म्याद बुझाउन ल्याएमा निजले बुझिलिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम बुझाउन ल्याएको म्याद कुनै व्यक्तिले बुझिलिन नसकिने जनाउ दिएमा तामेलदारले सो कुराको प्रतिवेदन अदालतलाई तुरुन्त दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्राप्त भएको प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले त्यस्तो व्यक्तिको हकमा अदालतबाट जारी भएको त्यस्तो म्याद निजले नबुझेसम्म सो अदालतमा निजले वारेसको हैसियतमा प्रतिनिधित्व गर्न, तारिख लिन, कानून व्यवसाय गर्न वा साक्षीको हैसियतमा बकपत्र गर्न नपाउने गरी रोक लगाउने आदेश गर्नेछ ।

१०७. म्याद तामेल भएको मानिनेः (१) अदालतबाट जारी भएको म्याद सम्बन्धित व्यक्तिलाई यस परिच्छेद बमोजिम कुनै पनि ठाउँमा वा निजको ठेगानामा बुझाई वा यस संहिता बमोजिम अन्य कुनै अभिलेख गर्न सकिने उपायद्वारा निजलाई जानकारी गराएमा म्याद तामेल भएको मानिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्याद प्राप्त गर्ने व्यक्ति अदालतमा उपस्थित भई आफैँले म्याद बुझिलिन निवेदन गरेमा निजलाई अदालतमा नै म्याद बुझाउनु पर्नेछ र त्यसरी म्याद बुझाएकोमा रीतपूर्वक म्याद बुझाएको मानिनेछ ।

१०८. तामेलदारलाई सहयोग गर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम म्याद तामेल गर्दा स्थानीय तहका सम्बन्धित वडा अध्यक्ष, सदस्य, सचिव वा कुनै सरकारी कर्मचारी र स्थानीय व्यक्तिले सम्बन्धित व्यक्तिको घरद्वार खोजी, देखाई, चिनाई, पहिचान गराई म्याद तामेल गर्न आवश्यक पर्ने सबै सहयोग गरी त्यस्तो म्याद तामेली गर्दा साक्षी बसी सहीछाप गरी म्याद तामेल गर्ने काममा तामेलदारलाई सहयोग गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्याद तामेल गर्दा स्थानीय तहका सम्बन्धित वडा अध्यक्ष, सदस्य, सचिव वा कुनै सरकारी कर्मचारी र अन्य स्थानीय व्यक्तिले साक्षी बसी तामेल गर्न सहयोग नगरेको वा सहयोग गर्न इन्कार गरेको कारणले मात्र अन्य कार्यविधि पूरा गरी रीतपूर्वक तामेल भएको म्याद बेरीतको हुने छैन ।

१०९. असहयोग गर्ने व्यक्तिलाई सजाय हुनेः दफा १०८ बमोजिम सहयोग गर्ने कर्तव्य भएको व्यक्तिले म्याद तामेल गर्दा कुनै सहयोग नगरेको भन्ने तामेलदारको प्रतिवेदन प्राप्त भएमा र त्यस्तो प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित अदालतले त्यसरी सहयोग नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

११०. तामेल गरिएको म्याद जाँच्नु पर्नेः तामेलदारले यस परिच्छेद बमोजिम म्याद तामेल गरी प्रतिवेदन दिना साथ अदालतको सम्बन्धित अधिकृत कर्मचारीले त्यस्तोे म्याद रीतपूर्वक तामेल भएको छ वा छैन जाँच गरी रीत पूर्वक तामेल भएको देखिएमा सो प्रमाणित गरी मिसिल सामेल राख्नु पर्नेछ ।

१११. पुनः तामेल गर्न लगाउनेः (१) दफा ११० बमोजिम जाँच गर्दा कानूनको रीत पुर्याई म्याद तामेल गरी ल्याएको नदेखिएमा वा त्यस्तो म्याद तामेलीको सम्बन्धमा कसैको उजुर परी बुझ्दा बेरीतसँग म्याद तामेल भएको वा तामेल नै नभएको देखिएमा अदालतले पुनः रीत पुर्याई तामेल गर्न सम्बन्धित तामेलदार वा अर्को तामेलदारलाई आदेश दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश भएकोमा त्यस्तो तामेलदारले यस परिच्छेद बमोजिम पुनः म्याद तामेल गर्नु पर्नेछ ।

११२. तामेल गर्ने व्यक्तिलाई जरिबाना हुनेः तामेलदारले सम्बन्धित व्यक्ति फेला नपरी घर दैलोमा टाँस गरिएको म्यादको तेस्रो प्रति सम्बन्धित स्थानीय तहमा नबुझाएमा त्यसरी नबुझाउने तामेलदारलाई पटकै पिच्छे एक हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो तामेलदारलाई सम्बन्धित अदालतले विभागीय कारबाही गर्न समेत आदेश दिन सक्नेछ ।

११३. वारेस वा कानून व्यवसायीलाई म्याद तामेल गर्न सकिनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई तामेल गर्नु पर्ने म्याद बुझिलिन निजबाट कानून बमोजिम वारिस वा कानून व्यवसायी नियुक्त भएको रहेछ भने त्यस्तो म्याद सो वारिस वा कानून व्यवसायीलाई तामेल गर्न सकिनेछ ।

(२) दफा १०६ को उपदफा (१) को खण्ड (ग) वा (घ) र यस दफा बमोजिम वारिस वा कानून व्यवसायीलाई म्याद तामेल गर्दा अनुसूची–८ बमोजिमको ढाँचामा भरपाई गराउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम पक्षको वारिस वा कानून व्यवसायीलाई वा अधिकृत वारिस नियुक्त भएको मुद्दामा सम्बन्धित अधिकृत वारिसलाई म्याद बुझाएमा वा तामेल गरेमा यस परिच्छेद बमोजिम रीतपूर्वक म्याद बुझाएको वा तामेल गरेको मानिनेछ ।

११४. घर ठेगाना पत्ता नलागेका व्यक्तिको नामको म्यादको तामेलीः (१) दफा १०५ मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले घर ठेगाना पत्ता नभएको व्यक्तिको नामको म्याद सूचना तामेल गर्नु पर्दा त्यस्तो व्यक्तिको गाउँ, शहर र टोल लेखिएको भए सोही ठेगानामा र गाउँ, शहर र टोल पनि पत्ता नलागेको भए सोही व्यहोरा जनाई अदालतको सूचना पाटीमा टाँस गरी राष्ट्रियस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशन गरी म्याद तामेल गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पत्रिका मार्फत म्याद तामेल भएकोमा रीतपूर्वक म्याद तामेली भएको मानिनेछ ।

११५. इलाका बाहिरको व्यक्तिको म्याद तामेलीः (१) मुद्दा परेको अदालतको प्रादेशिक क्षेत्राधिकारभन्दा बाहिर रहे बसेको व्यक्तिको नामको म्याद तामेल गर्नु पर्दा त्यस्तो अदालतको आदेश साथ निज रहे बसेको इलाकामा प्रादेशिक क्षेत्राधिकार भएको अदालतमा म्याद सहितको सूचनाको आवश्यक प्रति पठाउनु पर्नेछ र त्यसरी पठाउँदा विद्युतीय माध्यमको समेत प्रयोग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अर्काे अदालतबाट म्याद सहितको सूचना प्राप्त भएमा त्यस्तो अदालतले पनि यस परिच्छेद बमोजिमको रीत पु¥याई म्याद तामेल गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम म्याद तामेल भएपछि त्यस्तो अदालतले त्यस्तो म्याद सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।

११६. बेरितसँग म्याद तामेल गर्ने, गराउने वा बाधा विरोध गर्नेलाई सजाय हुनेः देहायका कार्य गर्ने व्यक्तिलाई सम्बन्धित तामेलदारको प्रतिवेदन वा कसैको उजुरीको आधारमा कारबाही प्रारम्भ गरी अदालतले दश हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछः–

(क) अदालतले जारी गरेको म्याद मनासिब कारण विना तामेल नगराएमा,

(ख) झुट्टा व्यहोरा लेखाई वा झुट्टा व्यहोरा पारी म्याद तामेल गरे वा गराएमा,

(ग) म्याद सूचना तामेल गर्न बाधा विरोध गरेमा,

(घ) टाँसेको म्याद च्याते वा उक्काएमा ।

११७. बेरीतको म्याद बदर हुनेः (१) यस परिच्छेद बमोजिमको कार्यविधि पूरा गरी म्याद तामेल नभएको वा म्याद नै तामेल नगरेको सम्बन्धमा मुद्दा किनारा हुनु अघि जहिले सुकै पनि मुद्दाको पक्षले अदालतमा निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब रहेको अदालतबाट ठहर भएमा बेरीतसँग तामेल भएको म्याद बदर गरी पुनः म्याद तामेल गर्न वा सम्बन्धित पक्षलाई म्याद बुझिलिन अदालतले आदेश दिन सक्नेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम तामेल गरी ल्याएको म्याद अदालतले जाँच्दा रीत नपुर्याई तामेल गरी ल्याएको देखिएमा त्यस्तो म्याद बदर गरी पुनः रीत पुर्याई तामेल गर्न लगाउनु पर्नेछ ।

११८. प्रतिउत्तरपत्र सरहको पुनरावेदन दिन सक्नेः (१) यस परिच्छेद बमोजिमको कार्यविधि पूरा नगरी बेरीतसँग म्याद तामेल गरेको कारण मुद्दामा प्रतिरक्षा गर्न वा प्रतिउत्तरपत्र पेश गर्न नपाई आफ्नो विरुद्धमा तल्लो अदालतबाट एकतर्फी फैसला भएको व्यहोरा उल्लेख गरी त्यस्तो फैसला भएको छ महिनाभित्रमा थाहा पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित प्रतिबादीले प्रतिउत्तरपत्र सरहको पुनरावेदन सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पेश गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिउत्तरपत्र सरहको पुनरावेदन प्राप्त भएमा पुनरावेदन सुन्ने अदालतले सो पुनरावेदनपत्र उपर सुनुवाई गर्नु अघि फिरादपत्रमा प्रतिबादी बनाइएका वा अदालतले दफा १२३ बमोजिम प्रतिबादी कायम गरेको व्यक्तिलाई रीतपूर्वक म्याद तामेल भए वा नभएको सम्बन्धमा ठहर गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सुनुवाई गर्दा प्रतिबादी वा अदालतले दफा १२३ बमोजिम प्रतिबादी कायम गरेको व्यक्तिलाई रीतपूर्वक म्याद तामेल नगरेको भन्ने पुनरावेदन सुन्ने अदालतबाट ठहर भएमा त्यस्तो मुद्दामा तल्लो अदालतबाट भएको एकतर्फी फैसला बदर गरी पुनरावेदनपत्रलाई नै प्रतिउत्तरपत्र कायम गरी कानून बमोजिम मुद्दाको पुनः कारबाही, सुनुवाई र किनारा गर्न तल्लो अदालतलाई आदेश दिई मुद्दाको मिसिल त्यस्तो अदालतमा पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम पुनरावेदन सुन्ने अदालतबाट आदेश सहितको मिसिल प्राप्त भएमा सम्बन्धित अदालतले त्यस्तो मिसिल प्राप्त भएको तीन दिनभित्र बाटोको म्याद बाहेक सात दिनको म्याद बादीका नाममा तामेल गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम म्याद तामेल भएकोमा म्यादभित्र बादी हाजिर भए वा म्याद समाप्त भएपछि कानून बमोजिम मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।