परिच्छेद–११ प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्था

परिच्छेद–११ प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्था

१३१. हकदैया, हदम्याद वा अधिकारक्षेत्र नभएको जिकिर लिन सक्नेः प्रतिबादीले प्रतिउत्तरपत्र पेश गर्दा देहायको कुनै वा सबै विषयमा जिकिर लिन चाहेमा त्यस्तो विषय प्रतिउत्तरपत्रमा उल्लेख गर्नु पर्नेछः–

(क) बादीलाई मुद्दा दायर गर्ने हकदैया नभएको,

(ख) फिरादपत्र हदम्यादभित्र दायर नभएको,

(ग) जुन अदालतमा फिरादपत्र दर्ता भएको छ सोही अदालतलाई फिराद दाबीका सम्बन्धमा कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र नभएको ।

१३२. प्रारम्भिक सुनुवाई गर्नु पर्नेः (१) प्रतिबादीले प्रतिउत्तरपत्र दिँदा दफा १३१ मा उल्लिखित कुनै वा सबै विषयको जिकिर लिएमा अदालतले त्यस मुद्दामा प्रमाण बुझ्ने, सुनुवाई गर्ने वा किनारा गर्ने कारबाही प्रारम्भ गर्नु अघि त्यस्तो विषयमा प्रारम्भिक सुनुवाई गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा बादी र प्रतिबादीको तारेख मिलान भएपछिको अर्को तारिखका दिन प्रतिबादीले जिकिर लिएको बिषयमा सीमित रही अदालतले प्रारम्भिक सुनुवाई गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा अदालतले त्यस्तो मुद्दामा बादीलाई फिरादपत्र दर्ता गर्ने हकदैया भए वा नभएको, हदम्यादभित्र फिरादपत्र दर्ता भए वा नभएको वा अदालतलाई त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र भए वा नभएको विषयमा निरुपण गरी आदेश वा निर्णय गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा प्रतिउत्तरपत्रवालाले हकदैया नभएको, हदम्यादभित्र फिरादपत्र नपरेको वा अदालतको क्षेत्राधिकार नभएको सम्बन्धमा लिएको जिकिर मनासिब नदेखिएमा अदालतले त्यस्तो मुद्दाको कानून बमोजिम कारबाही, सुनुवाई र किनारा गर्नेछ ।

१३३. मुद्दा खारेज भएमा कारबाही अन्त्य हुनेः (१) दफा १३२ बमोजिम प्रारम्भिक सुनुवाई गर्दा त्यस्तो मुद्दामा फिरादपत्र दर्ता गर्ने हकदैया नभएको, हदम्यादभित्र मुद्दा दायर नभएको वा जुन अदालतमा फिरादपत्र दर्ता भएको छ त्यस अदालतलाई त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र नरहेको देखिएमा अदालतले त्यस्तो मुद्दा खारेज गर्ने फैसला गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मुद्दा खारेज गर्ने फैसला भएमा त्यस्तो मुद्दाको कारबाही अन्त्य हुनेछ ।

१३४. निरुपण भएको विषयको जिकिर लिन नपाइनेः (१) दफा १३२ बमोजिम आदेश गर्दा अदालतले त्यस्तो मुद्दामा फिरादपत्र दर्ता गर्ने हकदैया भएको, हदम्यादभित्र मुद्दा दायर भएको वा त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारक्षेत्र त्यस्तो अदालतलाई भएको आदेश गरेमा प्रतिबादीले त्यस मुद्दामा पुनरावेदन गर्दा वा मुद्दा दोहोर्याउन तथा पुनरावलोकनको लागि निवेदन दिँदा सोही विषयमा पुन जिकिर लिन सक्ने छैन ।

(२) कसैले उपदफा (१) को प्रतिकूल हुने गरी जिकिर लिए पनि त्यस उपर सुनुवाई हुने छैन ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले दफा १३२ को उपदफा (३) बमोजिम गरेको आदेश उपर दफा १५७ बमोजिम र निर्णय उपर दफा २०५ बमोजिम सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन वा पुरावेदन गर्न सकिनेछ ।