परिच्छेद–१५ लिखित प्रमाण परीक्षण सम्बन्धी व्यवस्था

परिच्छेद–१५ लिखित प्रमाण परीक्षण सम्बन्धी व्यवस्था

१६१. प्रमाण सम्बन्धी लिखत पेश गर्नु पर्नेः (१) बादीले फिरादपत्रमा उल्लेखित दाबी र प्रतिबादीले प्रतिउत्तरपत्रमा उल्लेख गरेको जिकिरसँग सम्बन्धित लिखित प्रमाणको सक्कल र त्यसको प्रतिलिपि फिरादपत्र वा प्रतिउत्तरपत्रसँगै पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार बादी वा प्रतिबादी भएको मुद्दामा फिरादपत्र वा प्रतिउत्तरपत्र साथ लिखित प्रमाण तत्काल पेश गर्न नसक्ने भएमा त्यसको कारण खुलाई कुन कार्यालयमा त्यस्तो प्रमाण रहेको छ वा रहन सक्ने हुन्छ त्यसको विवरण फिरादपत्र वा प्रतिउत्तरपत्रमा खुलाउन सकिनेछ ।

(३) उपदफा (२) बमोजिम फिरादपत्र वा प्रतिउत्तरपत्रमा प्रमाण सम्बन्धी विवरण उल्लेख भएकोमा अदालतले त्यस्तो प्रमाण आवश्यकतानुसार सम्बन्धित कार्यालयबाट आफैँ झिकाई बुझ्न सक्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखित प्रमाणको सक्कल प्रति तत्काल अदालतमा पेश गर्न नसकिने भएमा त्यसको कारण सहित रीतपूर्वकको प्रतिलिपि पेश गर्न सकिनेछ ।

१६२. प्रमाणको उल्लेखन गर्नु पर्नेः (१) दफा १६१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखित प्रमाणको सक्कल प्रति कुनै व्यक्ति वा संस्थाको जिम्मामा रही त्यसको सक्कल वा प्रतिलिपि तत्काल उपलब्ध गराउन नसक्ने भएमा बादी वा प्रतिबादीले फिरादपत्र वा प्रतिउत्तरपत्रमा सोही कुरा उल्लेखन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उल्लेखन भएको प्रमाण बुझ्नु पर्ने देखिएमा अदालतले त्यस्तो प्रमाणको सक्कल प्रति वा प्रतिलिपि अदालतले तोकेको अवधिभित्र पेश गर्न त्यस्तो व्यक्ति वा संस्थालाई आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश भएमा त्यस्तो व्यक्ति वा संस्थाले अदालतले तोकेको अवधिभित्र त्यस्तो प्रमाण अदालतमा पेश गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको अवधिभित्र कुनै व्यक्ति वा संस्थाले त्यस्तो प्रमाण पेश नगरेमा त्यस्तो व्यक्ति वा संस्थाको प्रमुख पदाधिकारीलाई अदालतले एक हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

१६३. समय माग गर्न सक्नेः (१) फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत लिखित प्रमाण पेश गर्न सम्भव नभएको कारण खुलाई बादी वा प्रतिबादीले समय माग गरेमा र सो कारण मनासिब देखिएमा अदालतले पन्ध्र दिनसम्मको समय दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको समयभित्र बादी वा प्रतिबादीले त्यस्तो प्रमाण अदालतमा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको समयभित्र पेश नभएको प्रमाण त्यस्तो मुद्दामा प्रमाणको रूपमा बुझ्न सकिने छैन ।

१६४. प्रमाण पेश गर्न अनुमति दिन सक्नेः (१) फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत बादी वा प्रतिबादीको जानकारीमा नआएको कुनै नयाँ र महत्वपूर्ण लिखित प्रमाण पछि जानकारीमा आएमा वा पत्ता लागेमा त्यस्तो प्रमाण पेश गर्न बादी वा प्रतिबादीले अनुमति माग गर्न सक्नेछ र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बादी वा प्रतिबादीलाई त्यस्तो प्रमाण पेश गर्न अनुमति दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रमाण अन्य व्यक्ति, संस्था वा निकायको नियन्त्रणमा रहेकोले बादी वा प्रतिबादीले आफैँले पेश गर्न संभव नभएको कारण उल्लेख गरी अदालतमा निवेदन दिएमा अदालतले त्यस्तो प्रमाण झिकाउन दफा १६२ को उपदफा (२) बमोजिम आदेश दिन सक्नेछ ।

१६५. सक्कल लिखत फिर्ता गर्नु पर्नेः (१) यस परिच्छेद बमोजिम प्रमाण कागजातको सक्कल प्रति र सोको प्रतिलिपि प्राप्त भएपछि सम्बन्धित अधिकृतले त्यस्तो प्रमाण कागजातको प्रतिलिपि सक्कल लिखतसँग भिडाई प्रतिलिपि प्रमाणित गरी त्यस्तो प्रतिलिपिमा पेश गर्ने व्यक्तिको सहीछाप गराई मिसिल संलग्न गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रमाणित प्रतिलिपि मिसिल संलग्न गरेपछि अदालतले त्यस्तो प्रमाणको सक्कल प्रति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम फिर्ता गरेको सक्कल प्रति आवश्यक भएमा अदालतले जुनसुकै बखत सम्बन्धित व्यक्तिबाट माग गर्न सक्नेछ । त्यसरी माग गरेको सक्कल लिखित प्रमाण निजले पेश नगरेमा सो प्रमाणलाई त्यस्तो मुद्दामा प्रमाणको रूपमा लिन सकिने छैन ।

१६६. प्रतिउत्तरपत्र पेश नभई प्रमाण बुझ्न नसकिनेः कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सामान्यतया प्रतिउत्तरपत्र पेश नभई वा प्रतिउत्तरपत्र पर्न सक्ने अवधि व्यतित नभई प्रमाण बुझ्ने कारबाही गरिने छैन ।

१६७. प्रमाण बुझ्नु पर्नेः फिरादपत्र वा प्रतिउत्तरपत्रमा उल्लेख भएको सरकारी कार्यालयमा रहेको कुनै कागजात प्रमाणको रूपमा बुझ्नु पर्ने देखिएमा प्रतिउत्तरपत्र पेश भएको मितिले र प्रतिउत्तरपत्र पेश नभएकोमा प्रतिउत्तरपत्र पेश हुन सक्ने अवधि व्यतित भएको मितिले सामान्यतया सात दिनभित्र त्यस्तो प्रमाण बुझ्न आदेश दिनु पर्नेछ ।

१६८. ठहर गर्नु पर्ने कुरामा प्रमाण बुझ्नेः (१) अदालतले मुद्दाका पक्षहरूलाई उपस्थितिको निमित्त तोकिएको तारिखका दिन बादी र प्रतिबादीको रोहबरमा फिरादपत्र, प्रतिउत्तरपत्र र पेश भएका सबै लिखत प्रमाण हेरी तथा निजहरूसँग सो विषयमा आवश्यक कुरा सोधपुछ समेत गरी त्यसबाट दुवै पक्षको कुरा मिले वा नमिलेको विषय यकिन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम यकिन गर्दा बादी दाबीका सम्बन्धमा दुबै पक्षको कुरा मिलेको देखिन आएमा अदालतले सोही दिन निर्णय गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम यकिन गर्दा दुवै पक्षको कुरा आंशिक वा पूर्ण रूपमा नमिलेको देखिन आएमा अदालतले जुन जुन कुरा नमिली ठहर गर्नु पर्ने हो सो कुरा र त्यस सम्बन्धमा बुझ्नु पर्ने थप अन्य प्रमाण स्पष्ट खुलाई सबुत प्रमाण झिकाउन आदेश दिई सबुत प्रमाण बुझ्ने तारिख तोक्नु पर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा ठहर गर्नु पर्ने विषयसँग सम्वद्ध कुरा बाहेक अन्य कुरामा प्रमाण बुझ्न सकिने छैन ।

१६९. लिखत पेश गर्न अदालतले आदेश दिन सक्नेः (१) मुद्दाका पक्षले प्रस्तुत गर्न नसकेको वा नसक्ने तर मुद्दामा ठहर गर्न आवश्यक पर्ने कुनै प्रमाण कुनै व्यक्तिको साथमा कब्जामा रहेको छ भन्ने अदालतलाई लागेमा अदालतले अवधि तोकी मुद्दाको कारबाहीको क्रममा जुनसुकै बखत प्रमाण पेश गर्न त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रमाण पेश गर्न आदेश भएकोमा सम्बन्धित व्यक्तिले आदेशमा तोकिएको अवधिभित्र अदालतमा आफैँ उपस्थित भई वा अरु कुनै व्यक्ति मार्फत त्यस्तो लिखत पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम लिखत पेश नगर्ने वा लिखत पेश गर्न नसकेको मनासिब कारण समेत उल्लेख नगर्ने व्यक्तिलाई अदालतले दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

१७०. प्रमाण बुझ्ने क्रमः (१) अदालतले अन्यथा आदेश दिएकोमा बाहेक अदालतले प्रमाण बुझ्न तोकिएको तारिखका दिन प्रमाण बुझ्दा सामान्यतयाः बादीले पेश गरेको प्रमाण बुझेपछि प्रतिबादीले पेश गरेको प्रमाण बुझ्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रमाण बुझ्दा कुनै लिखत प्रमाणको रूपमा लिन नहुने वा असान्दर्भिक विषय भएको भनी मुद्दाको कुनै पक्षले तत्काल आपत्ति गरेमा अदालतले त्यस्तो विषयमा जाँच गरी त्यस्तो आपत्ति मनासिब भए वा नभएको सम्बन्धमा तत्काल आदेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश गर्दा कुनै पक्षले पेश गरेको लिखतलाई प्रमाणको रूपमा लिन नहुने वा असान्दर्भिक भएको ठहर गरेमा त्यस्तो कुरा अभिलेख गरी मिसिल संलग्न गर्नु पर्नेछ ।

१७१. कागज गराउन सक्नेः (१) कुनै पक्षसँग मुद्दाका विषयमा कुनै कुरा सोध्नु परेमा अदालतले अर्काे पक्षको रोहबरमा जुनसुकै बखत सोधी निजको कागज गराउन सक्नेछ ।

(२) कानून बमोजिम फिरादपत्र लिई कारबाही, सुनुवाई र किनारा गर्नु पर्ने विषयमा बाहेक अरु कुनै उजुरीबाट कारबाही, सुनुवाई गरी किनारा गर्नु पर्ने मुद्दामा अदालतले बादी वा प्रतिबादीसँग खुलाउनु पर्ने कुराको प्रमाण समेत खुलाई निजको बयान गराई अभिलेख गरी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

१७२. सद्दे किर्तेमा बयान गराउनु पर्नेः (१) प्रमाण बुझ्न तोकिएको तारिखमा बादीले पेश गरेको प्रमाणको कागज प्रतिबादीलाई र प्रतिबादीले पेश गरेको प्रमाणको कागज बादीलाई सक्कलै देखाई सुनाई निजले त्यस्तो कागजलाई सद्दे, कीर्ते वा जालसाजी नामाकरण गरेमा अदालतले सोही व्यहोराको बयान गराई अभिलेख गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम देखाउँदा वा सुनाउँदा तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याउन नसक्ने भई कुनै पक्षले म्याद माग गरेमा अदालतले तीन दिनसम्मको म्याद दिनु पर्नेछ ।

(३) मुद्दाको पक्ष बाहेक अरुको सहीछाप परेको कागज पेश भएमा तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याई नामाकरण गर्न नसक्ने भई मुद्दाका कुनै पक्षले म्याद मागेमा प्रमाण सहित सद्दे, कीर्ते वा जालसाजीमा बयान गर्न पन्ध्र दिनसम्मको म्याद दिन सकिनेछ ।

(४) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र बयान गर्ने व्यक्तिले सद्दे, कीर्ते वा जालसाजी जे नामाकरण गर्दछ अदालतले सोही अनुरुप बयान गराई अभिलेख गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम बयान गराउँदा कुनै पक्षले त्यस्तो लिखत कीर्ते वा जालसाजी हो भन्ने बयान गरेमा अदालतले सो दिन मुद्दाका सबै पक्षहरू हाजिर रहेको भए निजहरूको सोही दिन र कुनै पक्ष हाजिर नरहेको भए त्यस्तो पक्षको हकमा त्यसपछि हाजिर भएकै दिन बयान गराउनु पर्नेछ ।

(६) वारिस वा कानून व्यवसायी तारिखमा रहेको मुद्दामा सम्बन्धित पक्षलाई नै झिकाउनु आवश्यक देखिएमा अदालतले त्यस्तो पक्षलाई झिकाई निजको बयान गराउनु पर्नेछ ।

(७) यस दफा बमोजिम प्रमाणको कागज देखाउँदा वा सुनाउँदा सम्बन्धित पक्षले सद्दे, कीर्ते वा जालसाजी छुट्टाउन नसक्ने भएमा अदालतले त्यस्तो प्रमाणको कागज जाँच गर्न सम्बन्धित विशेषज्ञ समक्ष पठाउन सक्नेछ ।

१७३. सद्दे, कीर्ते वा जालसाजीको लागि सुनाउनु नपर्नेः (१) कानून बमोजिम प्रमाण लिन नसकिने लिखत सद्दे, कीर्ते वा जालसाजीको प्रयोजनको लागि सुनाउनु वा देखाउनु पर्ने छैन ।

(२) कुनै प्रतिबादीले प्रमाणको रूपमा पेश गरेको लिखतबाट अन्य कुनै प्रतिबादीलाई असर पर्ने रहेछ भने अदालतले दफा १७२ को प्रक्रिया अवलम्बन गरी असर पर्ने प्रतिबादीलाई त्यस्तो प्रमाण देखाई सुनाई निजको बयान गराउनु पर्नेछ ।

१७४. पुनरावेदन सुृन्ने अदालतबाट प्रमाण बुृझ्नेः पुनरावेदन परी वा केही व्यहोराले निर्णय जाँचका लागि अदालतमा प्राप्त भएको मुद्दामा प्रमाणको लागि पेश भएको लिखित प्रमाण सद्दे, कीर्ते वा जालसाजी छुट्याई इन्साफ गर्नु पर्ने अवस्था देखिएमा र त्यस्तो कार्यविधि पूरा नगरी तल्लो अदालतबाट मुद्दा फैसला भएको रहेछ भने पुनरावेदन सुन्ने अदालतले त्यस्तो कागज सक्कलै झिकाई पक्षको बयान गराउनु पर्नेछ ।

१७५. बयान लिई कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेः कुनै देवानी मुद्दामा प्रतिबादीको प्रतिउत्तरपत्र वा बयानबाट उठेको कानून बमोजिम फौजदारी कायम हुने मुद्दा सोही मिसिलबाटै पक्षको बयान गराई मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

तर कानून बमोजिम कुनै खास किसिमका मुद्दा मात्र हेर्ने अधिकार पाएको अदालतले सोही कानून बमोजिमका मुद्दाको मात्र कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

१७६. प्रभावित पक्षलाई बुझ्नु पर्नेः मिसिल संलग्न कागजातको अध्ययनबाट मुद्दामा कुनै कुरा ठहर गर्दा मुद्दाका पक्ष बाहेक तेस्रो व्यक्तिको हक समेत प्रभावित हुने देखिएमा वा त्यस्तो व्यक्ति समेत मुद्दामा सम्बन्धित देखिन आएमा अदालतले त्यस्तो व्यक्तिलाई समेत बुझी निजलाई आफ्नो कुरा भन्ने मनासिब समय र मौका दिई निजले पेश गरेको प्रमाणको आधारमा निजलाई कारणी सरह तारिखमा राखी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

१७७. नाप, जाँच वा नक्सा गर्न सक्नेः (१) विवाद परेको अचल सम्पत्तिको नाप, नक्सा वा नाप जाँच नगरी मुद्दाको किनारा गर्न नहुने देखिएमा अदालतले त्यस्तो सम्पत्तिको नाप, जाँच वा नक्सा गराउन आदेश दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश भई त्यस्तो सम्पत्तिको नाप, जाँच वा नक्सा गराउनु परेमा अदालतले दुवै पक्षलाई त्यस्तो नाप, नक्सा वा जाँच गर्नु पर्ने ठाउँ तोकी त्यस्तो ठाउँमा हाजिर हुन जानु भनी तारिख तोकी वा तारिखको सूचना दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम तोकिएकोे तारिखको दिन अदालतका कम्तीमा राजपत्रअनङ्कित द्वितीय श्रेणीका एकजना कर्मचारी र अमिन अचल सम्पत्ति नाप जाँच हुने ठाउँमा गई मुद्दाका दुवै पक्ष, उपलब्ध भएसम्म स्थानीय तहका कम्तीमा एक जना प्रतिनिधि र कम्तीमा दुई जना स्थानीय व्यक्तिलाई समेत रोहबर राखी जुन अचल सम्पत्तिको नाप, नक्सा वा जाँच गर्न पर्ने हो सो नापी जाँची नक्सा मुचुल्का समेत तयार गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम नाप, जाँच वा नक्सा गरिसकेपछि अदालतबाट खटी गएका कर्मचारीले त्यस्तो नक्सा मुचुल्कामा सम्बन्धित पक्ष, स्थानीय व्यक्ति र स्थानीय तहका प्रतिनिधिको सहीछाप गराई त्यस्तो मुचुल्कामा आफ्नोे नाम लेखी सहीछाप गरी नाप, जाँचको तीनप्रति नक्सा तयार गरी त्यस्तो नक्सामा समेत नापजाँच गर्ने कर्मचारीको नाम, थर तथा पद खुलाई सहीछाप गरी त्यसको एक एक प्रति मुद्दाका पक्षलाई दिई बुझिलिएको भरपाई गराई बाँकी एक प्रति नक्सा, भरपाई र मुचुल्का अदालतमा दाखिला गरी सम्बन्धित मिसिल सामेल गर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम नाप जाँच वा नक्सा गर्दा पक्षहरू उपस्थित नभएमा वा उपस्थित भए पनि नक्सा मुचुल्कामा सहीछाप गर्न मञ्जुर नगरेमा वा पक्षहरू तारिखमा हाजिर नभएको मुद्दा भए उपदफा (४) बमोजिमका अन्य व्यक्तिहरू राखी नक्सा, नाप वा जाँच गरी पक्ष उपस्थित नभएको वा भए पनि सहीछाप नगरेको व्यहोरा कैफियत जनाई खटिएका कर्मचारीले आफ्नो र स्थानीय तहको कम्तीमा एक जना प्रतिनिधिको सहीछाप गरी गराई त्यस्तो नक्सा मुचुल्का अदालतमा दाखिला गरी मिसिल सामेल राख्नु पर्नेछ ।

(६) यस दफा बमोजिम स्थानीय तहको प्रतिनिधि उपस्थित हुनु पर्नेमा निजलाई सूचना दिँदा पनि उपस्थित नभएमा निज उपस्थित नभएको कारणले मात्र अन्य कार्यविधि पूरा भएको नाप, जाँच वा नक्सा बेरीतको मानिने छैन ।

(७) यस दफा बमोजिम रीत नपुगेको नाप, जाँच वा नक्सा प्रमाणको लागि ग्राह्य हुने छैन ।

(८) यस दफा बमोजिम कुनै अचल सम्पत्तिको नाप नक्सा वा जाँच गर्दा अदालतबाट नाप जाँच गर्न खटिएको कर्मचारीले बद्नियत चिताई त्यस्तो अचल सम्पत्तिको वास्तविक वा यथार्थताभन्दा फरक हुने गरी नाप, नक्सा वा जाँच गरेको पाइएमा त्यस्तो कर्मचारीलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो कर्मचारी उपर विभागीय कारबाही समेत हुनेछ ।

१७८. ठाउँ अवलोकन गर्न सक्नेः (१) मुद्दाको विषयवस्तु जटिल भई त्यस्तो विषयवस्तु यथार्थरूपमा अदालत समक्ष पेश गर्न सम्भव नहुने देखिएमा वा प्रमाणको रूपमा दिएको वस्तु, विवादको विषय वा अचल सम्पत्ति रहेको ठाउँको नै प्रत्यक्ष रूपमा अवलोकन वा निरीक्षण गर्नु पर्ने देखिएमा अदालतले त्यसको कारण खुलाई आदेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अवलोकन वा निरिक्षण गर्न आदेश भएमा सो प्रयोजनको लागि अग्रीम रूपमा दिन तोकी न्यायाधीश आफैँ वा अदालतको आदेश बमोजिम तोकिएको प्राविधिज्ञ वा अन्य कुनै कर्मचारीले त्यस्तो वस्तु, विषय वा ठाँउको अवलोकन वा निरीक्षण गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै प्राविधिज्ञ वा अन्य कुनै कर्मचारीले त्यस्तो वस्तु, विषय वा ठाउँको अवलोकन वा निरीक्षण गरेको भए निजले मुद्दाको विषय वस्तुसँग सान्दर्भिक विषयमा प्रतिवेदन तयार गरी अदालतमा पेश गर्नु पर्नेछ ।