परिच्छेद–१६ साक्षी परीक्षण सम्बन्धी व्यवस्था

परिच्छेद–१६ साक्षी परीक्षण सम्बन्धी व्यवस्था

१७९. पक्षले साक्षी उपस्थित गराउनु पर्नेः (१) मुद्दाका पक्षले प्रमाणको रूपमा उल्लेख गरेका साक्षीलाई साक्षी परीक्षणका लागि अदालतद्वारा तोकिएको तारिखका दिन आफैँंले उपस्थित गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको तारिखका दिन उपस्थित नभएका साक्षीको परीक्षण हुन सक्ने छैन ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि साक्षी उपस्थित गराउनको लागि तोकिएको तारिखका दिन दफा २२५ को खण्ड (ग) वा (ङ) को अवस्था परी अदालतमा साक्षी उपस्थित गराउन नसकेकोले अर्को तारिख तोकी पाउन त्यस्तो अवस्था परेको कुरा सम्बन्धित स्थानीय तह वा कुनै सरकारी निकायको सिफारिस समेत संलग्न गरी बाटो खुलेको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र निवेदन दिएमा निवेदन दिएको सात दिनभित्र अदालतले साक्षी परीक्षण गराउने गरी अर्को तारिख तोक्नेछ ।

१८०. अदालतबाट साक्षी झिकाई परीक्षण गर्न सकिनेः (१) दफा १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको वा सार्वजनिक हक, हित वा सरोकार संलग्न रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई अदालतले आदेश गरी पन्ध्र दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम म्याद जारी भएमा त्यस्तो साक्षी अदालतले तोकेको अवधिभित्र अदालतमा उपस्थित हुनु पर्नेछ ।

(३) यस परिच्छेद बमोजिम साक्षीका नाममा म्याद जारी गर्दा अनुसूची–१४ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ ।

१८१. साक्षी बुझ्न कर्मचारी खटाउन सक्नेः (१) शारीरिक अस्वस्थताका कारणले अदालतमा उपस्थित हुन नसक्ने साक्षीलाई निज रहे बसेको ठाउँमा नै गई साक्षी बुझ्नको लागि मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले निवेदन माग बमोजिम साक्षी बुझ्नको लागि आदेश दिनेछ ।

(२) उपदफा (१) बमोजिम आदेश भएकोमा साक्षी रहे बसेको ठाँउमा अदालतको न्यायाधीश आफैँ गई वा कर्मचारी खटाई साक्षी बुझ्न वा बुझ्न लगाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम साक्षी बुझ्नको लागि न्यायाधीश वा अदालतको कर्मचारी जाँदा लाग्ने खर्च निवेदन दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

१८२. श्रव्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी परीक्षण गर्न सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वा नेपाल बाहिर रहे बसेको कारण कुनै साक्षी अदालतमा उपस्थित हुन नसक्ने कारण देखाई त्यस्तो साक्षीको श्रव्य–दृश्य सम्वादको माध्यमबाट परीक्षण हुने मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा त्यस्तो व्यहोरा अदालतलाई मनासिब लागेमा अदालतले त्यस्ता साक्षीको श्रव्यदृश्य संवादको माध्यमबाट परीक्षण गर्न आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश भएमा सम्बन्धित पक्षले श्रव्य–दृश्य सम्वादबाट साक्षी परीक्षण गर्नको लागि अदालतबाट तोकिएको दिन र ठाउँमा त्यस्ता साक्षीलाई उपस्थित गराउनु पर्नेछ ।

(३) अदालतले श्रव्यदृश्य सम्वादमा उपस्थित भएको साक्षीलाई अदालतमा उपस्थित भएको साक्षी सरह मानी परीक्षण गर्नु वा गराउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम साक्षी परीक्षण गराउँदा अदालतले श्रव्य–दृश्य सम्वादबाट भएको साक्षीको बकपत्र र श्रव्यदृश्य सम्वादको व्यहोरा लेखवद्ध गरी अभिलेख गर्नु पर्नेछ ।

(५) अदालतले श्रव्यदृश्य सम्वाद मार्फत साक्षी बुझेको अभिलेखको मुचुल्का अनुसूची–१५ बमोजिम गराउनु पर्नेछ ।

(६) यस दफा बमोजिम साक्षी परीक्षण गर्दा वा गराउँदा लागेको खर्च श्रव्य–दृश्य सम्वाद मार्फत साक्षी परीक्षण गराउन निवेदन दिने पक्षले व्यहोर्नु पर्नेछ ।

१८३. पक्षलाई तारिख तोकेको दिन साक्षी परीक्षण गर्ने दिन तोक्नेः (१) दफा १८१ वा १८२ को अवस्थामा बाहेक साक्षी परीक्षण गर्दा पक्षलाई तारिख तोकिएको दिनमा नै परीक्षण गर्ने गरी अदालतले साक्षी परीक्षण गर्ने दिन तोक्नु पर्नेछ ।

(२) साक्षी परीक्षण गर्दा साक्षीले व्यक्त गरेको कुराको बकपत्र तयार गरी निजको सहीछाप गराई अभिलेख गर्नु पर्नेछ ।

१८४. शपथ लिनु पर्नेः साक्षीले अदालतमा उपस्थित भई बकपत्र गर्दा सत्य कुरा व्यक्त गर्ने कुराको उद्घोषण गरी न्यायाधीश समक्ष अनुसूची–१६ को ढाँचामा शपथ लिनु पर्नेछ ।

१८५. साक्षी परीक्षण न्यायाधीशले गर्नु पर्नेः (१) साक्षी परीक्षण जुन न्यायाधीशको इजलाशमा पेश भएको छ सोही न्यायाधीशले गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा न्यायाधीशले बकपत्र अभिलेख गर्न तथा साक्षी परीक्षण गर्न आवश्यक पर्ने कर्मचारीको सहायता लिन सक्नेछ ।

१८६. तोकिएको तारिखका दिन साक्षी परीक्षण गर्नु पर्नेः (१) दफा १८१ वा १८२ को अवस्थामा बाहेक अदालतले साक्षी परीक्षण गर्न तोकिएको तारिखका दिनमा नै अदालतमा उपस्थित भएका सम्पूर्ण साक्षीहरूको परीक्षण गरिसक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सम्पूर्ण साक्षीहरूको सोही दिन परीक्षण गर्न समय अभावको कारणले नभ्याउने भएमा अदालतले त्यसको कारण खुलाई त्यसको भोलिपल्ट साक्षी परीक्षण गर्ने गरी साक्षी तथा पक्षहरूलाई तारिख तोक्नु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “त्यसको भोलिपल्ट” भन्नाले साक्षी परीक्षण गरेको दिनको लगत्तै पछि अड्डा खुलेको पहिलो दिन सम्झनु पर्छ ।

१८७. बकपत्र प्रमाणित गर्नु पर्नेः (१) न्यायाधीशले अदालतमा साक्षी परीक्षण गर्दा मुद्दामा निजबाट खुलाउनु पर्ने विषयको प्रश्न सोधी त्यस्तो प्रश्न, साक्षीले दिएको जवाफ र त्यसमा कानून बमोजिम जिरह भएको भए त्यस समेतको विवरण बकपत्रमा अभिलेख गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको विवरण अभिलेख भएपछि साक्षीलाई कुनै विषयमा कुनै कुरा व्यक्त गर्न बाँकी भए नभएको सोधी बाँकी भए त्यस्तो कुरा समेत व्यक्त गर्न लगाई बकपत्रमा त्यस्तो कुरा अभिलेख गर्नु पर्नेछ र त्यस्तो बकपत्रको कागजमा निज र मुद्दाका उपस्थित पक्ष वा वारिसको रोहबरमा साक्षी परीक्षण भएको कुरा उल्लेख गरी त्यस्ता सबै व्यक्तिहरूको सहीछाप गराई न्यायाधीशले प्रमाणित गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम तयार भएको बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष वा वारिसमध्ये कसैले वा सबैले सहीछाप गर्न इन्कार गरेमा सोही व्यहोरा उल्लेख गरी साक्षी परीक्षण गर्ने न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरी सम्बन्धित मुद्दाको मिसिलमा राख्नु पर्नेछ ।

(४) साक्षीको बकपत्र गराउँदा अनुसूची–१७ बमोजिमको ढाँचामा गराउनु पर्नेछ ।

१८८. कैफियत खुलाई प्रमाणित गर्नु पर्नेः साक्षी परीक्षण गर्दा सम्बन्धित साक्षीले न्यायाधीशद्वारा सोधिएको प्रश्नको जवाफ नदिएमा, दिन इन्कार गरेमा वा जुन प्रश्नको जवाफ खोजिएको हो सोको जवाफ नदिई असम्बन्धित विषयको जवाफ दिएमा न्यायाधीशले सोको कैफियत खुलाई दफा १८७ बमोजिम प्रमाणित गर्नु पर्नेछ ।

१८९. बन्द सवाल गर्न सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षण गर्नु पर्ने साक्षी अर्को जिल्लाको वासिन्दा भई निजको शारीरिक अवस्थाको कारणले निजलाई मुद्दा रहेको अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकिने कुरा उल्लेख गरी बन्द सवाल मार्फत परीक्षण गराउन सम्बन्धित पक्षले अदालत समक्ष निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले बन्द सवाल मार्फत साक्षी परीक्षण गराउन आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बन्द सवाल मार्फत साक्षी परीक्षण गराउनु परेमा त्यस्तो साक्षीलाई सोध्नु पर्ने प्रश्नहरू अनुसूची–१८ को ढाँचामा तयार गरी न्यायाधीशबाट प्रमाणित गराई साक्षी रहे बसेको जिल्लाको जिल्ला अदालतमा बन्द सवाल पठाउनु पर्नेछ र त्यस्तो सवाल विद्युतीय माध्यमबाट समेत पठाउन सकिनेछ ।

(३) उपदफा (१) बमोजिम अदालतबाट बन्द सवाल गराउने आदेश भएमा मुद्दाका पक्षहरूलाई सोही बमोजिम बन्द सवाल गराउने अदालतमा उपस्थित हुन तारिख तोकी त्यसको जानकारी त्यस्तो अदालतलाई दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम बन्द सवाल प्राप्त भएमा त्यस्तो अदालतले सम्बन्धित पक्षबाट दफा १७९ को उपदफा (१) बमोजिम उपस्थित गराइएको साक्षीलाई आफ्नो अदालतमा मुद्दा परे सरह यस परिच्छेद बमोजिमको कार्यविधि पूरा गरी बन्द सवालका प्रत्येक प्रश्नको जवाफको बकपत्र तयार गरी त्यस्तो बकपत्रको कागजमा दफा १८७ वा १८८ बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो व्यक्तिको सहिछाप गराई तीन दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम बन्द सवाल गर्नु पर्ने व्यक्ति हाजिर नभएमा त्यस्तो अदालतले सोही व्यहोरा उल्लेख गरी बन्द सवाल पठाउने अदालतमा पठाउनु पर्नेछ ।

(६) उपदफा (४) बमोजिम सम्बन्धित अदालतमा बन्द सवाल पठाउँदा त्यस्ता मुद्दाका पक्ष वा वारिसलाई सोको जानकारी गराई तारिख तोकी हाजिर हुन मुद्दा परेको अदालतमा पठाउनु पर्नेछ ।