परिच्छेद–१८ मुलतबी तथा स्थानान्तरण सम्बन्धी व्यवस्था

परिच्छेद–१८ मुलतबी तथा स्थानान्तरण सम्बन्धी व्यवस्था

२०१. मुलतबी राख्न सक्नेः (१) विभिन्न अदालतमा दायर भई विचाराधीन रहेका मुद्दाहरू मध्ये कुनै एक अदालतमा रहेको मुद्दाको किनारा नभई अर्को अदालतमा रहेको मुद्दाको किनारा हुन नसक्ने वा गर्न नहुने भएमा, कुनै एउटा मुद्दाको किनारा गर्दा अर्को मुद्दाको निर्णयमा तात्विक असर पर्ने कारण देखाई मुद्दाको कुनै पक्षले निवेदन दिएमा वा मुद्दाको कारबाही वा सुनुवाईको सिलसिलामा कुनै मुद्दा मुलतबी राख्न आवश्यक देखिएमा अदालतले त्यसको कारण खृुलाई त्यस्तो मुद्दा मुलतबी राख्ने आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै मुद्दा अदालतबाट मुलतवी राख्ने आदेश भएकोमा त्यसको जानकारी मुद्दाका पक्षहरू र अर्को मुद्दा विचाराधीन रहेको अदालतलाई तुरुन्त दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जानकारी प्राप्त भएमा त्यस्तो मुद्दा रहेको अदालतले सो मुद्दा किनारा गरेपछि तीस दिनभित्र फैसलाको प्रतिलिपि सहित उपदफा (२) बमोजिम मुद्दा मुलतबी रहेको अदालतलाई जानकारी पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम मुद्दा किनारा गरेपछि अदालतले मुद्दाका पक्ष तारिखमा रहेको भए र मुद्दा मुलतबी रहेको अदालतमा तारिख तोक्नु पर्ने भए पक्षलाई तारिख तोकी पन्ध्र दिनभित्र हाजिर हुन जानु भनी मुद्दा मुलतबी रहेको अदालतमा पठाउनु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभिन्न अदालतमा विचाराधीन रहेका मुद्दाहरूमध्ये कुन मुद्दा मुलतबी राख्ने भन्ने विषयमा अदालतहरू बीच फरक राय भएमा त्यस्तो विषयमा सम्बन्धित अदालतको पुनरावेदन सुन्ने अदालतमा तुरुन्त प्रतिवेदन गर्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम प्रतिवेदन परेकोमा पुनरावेदन सुन्ने अदालतले त्यस्तो विषयमा एक महिनाभित्र उपयुक्त आदेश गर्नेछ र त्यस्तो आदेश बमोजिम सम्बन्धित अदालतले मुद्दाको कारबाही गर्नेछ ।

(७) उपदफा (५) बमोजिम मुद्दा मुलतबी राख्ने विषयमा फरक फरक राय भएका अदालतहरूको पुनरावेदन सुन्ने अदालत भिन्न भिन्न भएमा त्यस्तो विषयमा सर्वाेच्च अदालतमा तत्काल प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम प्रतिवेदन परेकोमा सर्वाेच्च अदालतले त्यस्तो विषयमा तीन महिनाभित्र उपयुक्त आदेश गर्नेछ र त्यस्तो आदेश बमोजिम सम्बन्धित अदालतले मुद्दाको कारबाही गर्नेछ ।

२०२. मुलतबी रहेको मुद्दा जगाउनेः (१) दफा २०१ बमोजिम मुलतबी राखिएको मुद्दा जगाई कारबाही गर्नु पर्ने भएमा मुद्दाको कुनै पक्षले त्यसको आधार र कारण खुलाई अदालत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम दिइएको निवेदनको व्यहोरा मनासिब देखिएमा अदालतले निवेदन माग बमोजिम मुलतबी रहेको मुद्दा जगाई सुनुवाई गर्नु पर्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अर्को अदालतमा विचाराधीन रहेको मुद्दाको निर्णय भएको जानकारी प्राप्त भएमा वा मुद्दा मुलतबी राखी राख्नु पर्ने कुनै कारण नदेखिएमा अदालतले मुलतवी रहेको मुद्दा तुरुन्त जगाई कारबाही गर्नु पर्नेछ ।

(४) अदालतले मुद्दा मुलतबी राख्दा तारिखमा रहेका पक्षलाई तारिख टुटाई दिनु पर्नेछ ।

(५) अदालतले मुलतबी जगाउँदा मुद्दा मुलतवी रहँदाका बखत तारिखमा रहेका पक्षहरूलाई सात दिनको म्याद दिई झिकाई मुद्दामा कारबाही गर्नु पर्नेछ ।

२०३. मुद्दा सार्न सक्नेः (१) सर्वाेच्च अदालतले नेपालको संविधानको धारा १३४ को उपधारा (१) बमोजिमको अवस्थामा कुनै उच्च अदालतमा विचाराधीन मुद्दा सर्वाेच्च अदालतमा झिकाई कारबाही, सुनुवाई र किनारा गर्न सक्नेछ ।

(२) सर्वाेच्च अदालतले नेपालको संविधानको धारा १३४ को उपधारा (२) बमोजिमको अवस्थामा एक उच्च अदालतमा विचाराधीन मुद्दा अर्को उच्च अदालतमा सारी त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न आदेश दिन सक्नेछ ।

(३) उच्च अदालतले नेपालको संविधानको धारा १४५ को उपधारा (२) बमोजिमको अवस्थामा आफ्नो मातहतको एक जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दा मातहतको अर्को जिल्ला अदालतमा सारी सुनुवाई गर्ने आदेश दिन सक्नेछ ।

(४) उपदफा (२) वा (३) बमोजिमको मुद्दा सार्ने अवस्था विद्यमान भए वा नभएको विषयको निर्णय मुद्दाका सम्बन्धित पक्षको निवेदन वा अन्य कुनै माध्यमबाट प्राप्त भएको जानकारीबाट गरिनेछ ।

(४क) कुनै अदालतमा दायर रहेको कुनै मुद्दा यस संहिता बमोजिम त्यस्तो अदालतको न्यायाधीशले हेर्न नहुने कुनै कारण भएमा सम्बन्धित अदालतले त्यस्तो कुरा उल्लेख गरी पुनरावेदन सुन्ने अदालतमा प्रतिवेदन पठाउनु पर्नेछ र त्यस बमोजिम प्रतिवेदन प्राप्त भएमा पुनरावेदन सुन्ने अदालतले पक्षहरुको सुविधालाई समेत विचार गरी त्यस्तो मुद्दा आफ्नो प्रादेशिक अधिकार क्षेत्रको समान तहको अर्को अदालतमा सार्न आदेश दिन सक्नेछ ।

(५) उपदफा (२),(३) वा (४क) बमोजिम आदेश भएकोमा त्यस्तो अदालतले सर्वोच्च अदालत वा उच्च अदालतको आदेश बमोजिम त्यस्तो मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्नेछ ।

(६) उपदफा (२),(३) वा (४क) बमोजिम अर्को अदालतबाट मुद्दाको किनारा भए पनि त्यस्तो अदालतले गरेको फैसला उपर शुरुमा फिरादपत्र दर्ता भएको अदालतको पुनरावेदन सुन्ने अदालतमा नै पुनरावेदन लाग्नेछ ।

२०४. सर्वोच्च अदालतले मुद्दाको सुनुवाई र किनारा गर्न सक्नेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मातहतको कुनै अदालतमा विचाराधीन रहेको कुनै मुद्दामा संविधान वा अन्य कुनै कानूनको व्याख्या सम्बन्धी जटिल प्रश्न समावेश भएको वा सार्वजनिक महत्व वा सरोकारको प्रश्न समावेश भएकोले त्यस्तो प्रश्नको निरुपण भएपछि मात्र सो मुद्दाको सुनुवाई र किनारा हुन उपयुक्त हुने कुरा मुद्दाको कुनै पक्षको निवेदन वा सम्बन्धित अदालतको प्रतिवेदनबाट देखिन आएमा सर्वोच्च अदालतले सोकोे कारण खुलाई त्यस्तो मुद्दा आफैँले झिकाई सुनुवाई र किनारा गर्ने आदेश गर्नेछ ।

(२) उपदफा (१) बमोजिम सर्वोच्च अदालतबाट आदेश भएमा सम्बन्धित अदालतले त्यस्तो मुद्दाको मिसिल सर्वोच्च अदालतमा पठाई मुद्दाका पक्षहरूलाई त्यसको जानकारी गराई तारिख तोकी सर्वोच्च अदालतमा पठाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम आदेश भएकोमा सर्वोच्च अदालतले त्यस्तो मुद्दाको सुनुवाई र किनारा गर्न वा त्यसमा समावेश भएको जटिल संवैधानिक वा सार्वजनिक महत्वको प्रश्नको निरुपण गरी बाँकी विषयमा किनाराका लागि मिसिल सम्बन्धित अदालतमा फिर्ता पठाउन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम बाँकी विषयको कारबाहीको लागि सर्वोच्च अदालतले सम्बन्धित अदालतमा मिसिल पठाउँदा पक्षहरूलाई त्यसको जानकारी गराई तारिख तोकी त्यस्तो अदालतमा पठाउनु पर्नेछ ।