परिच्छेद–१९ पुनरावेदन सम्बन्धी व्यवस्था

परिच्छेद–१९ पुनरावेदन सम्बन्धी व्यवस्था

२०५. निर्धारित अवधिभित्र पुनरावेदन गर्न सक्नेः (१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक शुरु मुद्दा हेर्ने अदालतले गरेको फैसला उपर चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले तीस दिनभित्र सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

(२) पुनरावेदन लाग्ने मुद्दामा मुद्दाको पक्ष वा निजको वारिस अदालतमा हाजिर भई फैसला सुनेकोमा सुनिपाएको कागज गरेको मितिले र पक्ष हाजिर नभई फैसला भएको सूचना जारी भएकोमा त्यस्तो सूचना तामेल भएको मितिले तीस दिनभित्र पुनरावेदन गर्ने म्याद कायम हुनेछ ।

(३) उपदफा (१) को प्रयोजनको लागि सुनुवाईको दिन निर्धारण गरिएको तारिखमा मुद्दाको पक्ष आफैँ वा निजको वारिस उपस्थित भएको रहेछ र त्यसरी तारिख तोकिएको दिनमा नै मुद्दाको फैसला भएको रहेछ भने मुद्दाको पक्षले फैसला भएको थाहा पाएको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि थाहा पाएको दिन गणना गर्दा दफा १९८ बमोजिम न्यायाधीशले फैसला प्रमाणीकरण गरेको दिनबाट गर्नु पर्नेछ ।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला सुनी पाएको कागज नगरेको वा फैसला भएको सूचना तामेल नभएको भए मुद्दाको पक्षले मुद्दा फैसला प्रमाणीकरण भएको छ महिनासम्ममा फैसलाको नक्कल लिएको मितिले तीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।

२०६. पुनरावेदन लाग्न नसक्ने अवस्थाः दफा २०५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुनरावेदन गर्न सकिने छैनः–

(क) कानून बमोजिम म्याद प्राप्त वा तामेल भएपछि प्रतिउत्तरपत्र नदिई वा प्रतिवाद नगरी म्याद गुजारेको भएमा,

(ख) मुद्दामा   मेलमिलाप वा मिलापत्र गरेको भएमा,

(ग) दाबी फिर्ता लिएको भएमा,

(घ) फिराद डिसमिस भएकोमा,

तर बेरीतपूर्वक फिराद डिसमिस भएकोमा पुनरावेदन गर्न सकिनेछ ।

२०७. पुनरावेदन गर्दा अदालती शुल्क बुझाउनु पर्नेः (१) पुनरावेदन गर्दा कानून बमोजिम लाग्ने अदालती शुल्क बुझाएको निस्सा पुनरावेदन साथ पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा फैसला हुँदाका बखत अदालती शुल्क तिर्न अदालतबाट अनुमति भएकोमा अदालती शुल्क दाखिला भएको निस्सा नभए पनि पुनरावेदन दर्ता गर्नु पर्नेछ ।

२०८. पुनरावेदनपत्रको ढाँचाः (१) पुनरावेदन गर्न चाहनेले अनुसूची–२१ बमोजिमको ढाँचामा पुनरावेदन तयार गर्नु पर्नेछ ।

(२) पुनरावेदन गर्दा शिष्ट भाषामा पुनरावेदनपत्र लेखी पुनरावेदन जिकिरलाई पुष्टि गर्ने आवश्यक कागजात पुनरावेदनपत्र साथ संलग्न गर्नु पर्नेछ ।

(३) पुनरावेदन गर्दा तीन सय रुपैयाँ पुनरावेदन दस्तुर लाग्नेछ ।

२०९. पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दर्ता गर्नु पर्नेः (१) पुनरावेदन गर्दा जुन अदालतको फैसला उपर पुनरावेदन गर्ने हो सो अदालतको पुनरावेदन सुन्ने अदालतमा पुनरावेदनपत्र दर्ता गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम कसैले पुनरावेदन दर्ता गर्न ल्याएमा अदालतले त्यस्तो पुनरावेदन दफा २०५ बमोजिमको म्यादभित्र दर्ता गर्न ल्याए वा नल्याएको, पुनरावेदन गर्दा लाग्ने दस्तुर दाखिला गरे वा नगरेको र पुनरावेदन यस परिच्छेद बमोजिम रीत पुगे वा नपुगेको जाँची रीत पुगेको देखिएमा दर्ता गरी सम्बन्धित पक्षलाई अनुसूची–३ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पुनरावेदन जाँच गर्दा रीत नपुगेको देखिएमा अदालतले पुनरावेदनपत्र दर्ता नगरी सोको कारण खुलाई दरपीठ गरिदिनु पर्नेछ ।

२१०. मुद्दा फैसला गर्ने अदालतमा पुनरावेदन दर्ता गर्न सक्नेः (१) दफा २०९ मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा फैसला गर्ने अदालत मार्फत पनि पुनरावेदनपत्र दर्ता गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता गर्न ल्याएमा त्यस्तो अदालतले दफा २०९ बमोजिमको कार्यविधि पूरा गरी पुनरावेदनपत्र दर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम दर्ता भएको पुनरावेदनपत्र सम्बन्धित मिसिल संलग्न गरी तीन दिनभित्र पुनरावेदन सुन्ने अदालतमा पठाउनु पर्नेछ ।

(४) यस दफा बमोजिम पुनरावेदनपत्र दर्ता गराउने पुनरावेदकले तारिखमा बस्न चाहेमा सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा हाजिर हुने गरी तारिख तोकी पठाउनु पर्नेछ ।

२११. सरकारी कर्मचारीले आफू वहाल रहेको इलाकाको अदालतमा पुनरावेदन दर्ता गर्न सक्नेः (१) कुनै सरकारी कर्मचारीले निजको हक, हित र सरोकार रहेको मुद्दामा पुनरावेदन गर्नु परेमा र निज सरकारी कामको कारणले पुनरावेदन सुन्ने अदालतमा आफैँ उपस्थित हुन नसक्ने भएमा त्यसको कारण खुलाई आफू वहाल रहेको इलाकामा त्यस किसिमको पुनरावेदन सुन्ने अदालत भए त्यस्तो अदालत मार्फत वा त्यस्तो अदालत नभए आफू वहाल रहेको इलाकाको जिल्ला अदालत मार्फत पुनरावेदन दर्ता गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता गर्न ल्याएकोमा त्यस्तो अदालतले दफा २०९ बमोजिमको कार्यविधि पूरा गरी पुनरावेदन दर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पुनरावेदन दर्ता भएकोमा पुनरावेदनपत्र दर्ता गर्ने अदालतले तीन दिनभित्र पुनरावेदनपत्र दर्ता भएको र पुनरावेदन गर्ने सम्बन्धित कर्मचारी सो इलाकामा बहाल रहेको कुरा प्रमाणित गरी सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा त्यस्तो पुनरावेदनपत्र पठाउनु पर्नेछ ।

(४) यस दफा बमोजिम पुनरावेदन गर्ने सरकारी कर्मचारीले तारिखमा बस्न चाहेमा पुनरावेदन दर्ता गर्ने अदालतले निजलाई तारिखमा राखी त्यसको जानकारी सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पठाउनु पर्नेछ ।

२१२. मुद्दाको मिसिल झिकाउनेः (१) पुनरावेदन सुन्ने अदालतले पुनरावेदन दर्ता भएको तीन दिनभित्र सो मुद्दाको मिसिल झिकाउन सम्बन्धित अदालतमा लेखी पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मिसिल माग भएकोमा पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित अदालतले पुनरावेदन सुन्ने अदालतमा मिसिल पठाउनु पर्नेछ ।

२१३. प्रत्यर्थीलाई उपस्थित हुन आदेश दिनेः (१) पुनरावेदन सुन्ने अदालतले दफा २१२ बमोजिम तल्लो अदालतबाट मिसिल प्राप्त भएको पन्ध्र दिनभित्र पुनरावेदकको माग बमोजिम प्रत्यर्थीलाई झिकाई मुद्दाको सुनुवाई गर्नु पर्ने वा नपर्ने विषयमा सुनुवाई गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सुनुवाई गर्दा तल्लो अदालतले गरेको निर्णय फरक पर्ने नदेखिएमा पुनरावेदन सुन्ने अदालतले ठहरे बमोजिम निर्णय गर्नेछ ।

(३) उपदफा (१) बमोजिम सुनुवाई गर्दा तल्लो अदालतबाट भएको निर्णय फरक पर्न सक्ने देखिएमा पुनरावेदन सुन्ने अदालतले त्यसको कारण खुलाई सुनुवाईको लागि प्रत्यर्थी झिकाउने आदेश गर्नेछ ।

२१४. प्रत्यर्थीलाई म्याद तामेल गर्नेः (१) दफा २१३ को उपदफा (३) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा पुनरावेदन सुन्ने अदालतले प्रत्यर्थीको नाउँमा बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र उपस्थित हुन अनुसूची–२२ बमोजिमको ढाँचामा म्याद तामेल गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले चाहेमा उपदफा (१) बमोजिमको म्याद आफैँले वा शुरु मुद्दा फैसला गर्ने अदालत मार्फत परिच्छेद–८ बमोजिमको रीत पुर्याई तामेल गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थीले चाहेमा पुनरावेदन सुन्ने अदालतमा लिखित प्रतिवाद पेश गर्न सक्नेछ ।

(४) प्रत्यर्थीले चाहेमा अदालतले निजलाई तारिखमा राखी मुद्दामा कारबाही, सुनुवाई र किनारा गरिनेछ ।

२१५. पुनरावेदनको सुनुवाई गर्नु पर्नेः (१) दफा २१४ बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थी उपस्थित भई पुनरावेदक तथा प्रत्यर्थी दुवै तारिखमा रहेको भए सुनुवाईको लागि पेशी तारिख तोकी सोही दिन र निजहरूमध्ये दुवै वा कुनै एक पक्ष तारिखमा नरहेको भए पनि पुनरावेदन उपर सुनुवाई हुने तारिख तोकी पुनरावेदनको सुनुवाई गर्नु पर्नेछ ।

(२) दफा २१४ बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थी उपस्थित नभएमा पनि पुनरावेदन सुन्ने अदालतले पुनरावेदन उपर सुनुवाई गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम पुनरावेदन उपर सुनुवाई गरेपछि पुनरावेदन सुन्ने अदालतले ठहरे बमोजिम निर्णय गर्नु पर्नेछ ।

(४) पुनरावेदन सुन्ने अदालतले पुनरावेदन उपर फैसला गर्दा अनुसूची–२३ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।

२१६. पुनरावेदन सुन्ने अदालतको अधिकारः दफा २१५ बमोजिम पुनरावेदनको रोहमा सुनुवाई गर्दा पुनरावेदन सुन्ने अदालतलाई देहाय बमोजिम गर्ने अधिकार हुनेछः–

(क) तल्लो अदालतको फैसला सदर वा बदर गर्ने,

(ख) तल्लो अदालतको फैसला आंशिक वा पूरै उल्टी गर्ने,

(ग) बुझ्नु पर्ने प्रमाण नबुझी फैसला गरिएको रहेछ भने त्यस्तो प्रमाण आफैँ बुझ्ने वा तल्लो अदालतलाई बुझ्न आदेश दिने,

(घ) मुद्दामा ठहर गर्नु पर्ने विषय सम्बोधन नभई निर्णय भएको भए त्यस्तो विषयमा आफैँले ठहर गर्ने वा त्यस्तो विषयमा ठहर गर्न तल्लो अदालतमा पठाउने,

(ङ) तल्लो अदालतको फैसलामा आनुषाङ्गिक वा प्रासांगिक परिवर्तन गर्ने ।

२१७. शुरु अदालतको अधिकार प्रयोग गर्नेः पुनरावेदन सुन्ने अदालतले यस परिच्छेद बमोजिम पुनरावेदनको रोहमा मुद्दाको कारबाही, सुनुवाई वा निर्णय गर्दा शुरु अदालतको अधिकार प्रयोग गर्न सक्नेछ ।

२१८. एकैसाथ सुनुवाई गरी निर्णय गर्नु पर्नेः (१) एकै मुद्दामा तल्लो अदालतले गरेको निर्णय उपर मुद्दाका विभिन्न पक्षको बेग्लाबेग्लै पुनरावेदन परेको रहेछ भने पनि सबै पुनरावेदन उपर एकैसाथ सुनुवाई गरी ठहरे बमोजिम निर्णय गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्णय गर्दा कारणवस कुनै पुनरावेदनको पहिले नै निर्णय भइसकेको रहेछ भने पनि बाँकी पुनरावेदनबाट मुद्दामा ठहरे बमोजिम निर्णय गर्नु पर्नेछ ।