परिच्छेद – ३ अध्यापन अनुमति पत्र तथा शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था

परिच्छेद – ३ अध्यापन अनुमति पत्र तथा शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था

६क. अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्थाः (१) आयोगले अध्यापन अनुमतिपत्र दिने प्रयोजनको लागि लिखित परीक्षा सञ्चालन गर्नु पर्नेछ । त्यस्तो परीक्षा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकको लागि छुट्टा छुट्टै सञ्चालन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम आयोगले लिखित परीक्षाको लागि दरखास्त बुझाउनु पर्ने समयावधि, दरखास्त दस्तुर, दरखास्त बुझाउने स्थान, परीक्षा सञ्चालन हुने मिति, समय र केन्द्र समेत उल्लेख गरी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको परीक्षामा सम्मिलित हुन चाहने व्यक्तिले सो सूचनामा तोकिएको स्थानमा दरखास्त बुझाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम परेको दरखास्त छानवीन गर्दा रित पुगेको देखिएमा आयोगले दरखास्तवालालाई परीक्षामा सम्मिलित हुनको लागि प्रवेशपत्र दिनु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम सञ्चालन हुने लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास हुनेछ ।

(६) उपनियम (१) बमोजिम संचालित परीक्षामा सफल हुने व्यक्तिलाई आयोगले अनुसूची–२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछ ।

(७) उपनियम (१) बमोजिमको परीक्षा सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।

(८) आयोगले जिल्ला शिक्षा कार्यालयबाट शिक्षकहरूको विवरण माग गरी विद्यालयमा कार्यरत शिक्षकलाई अनुसूची–२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिनु पर्नेछ ।

६ख.बहालवाला शिक्षकलाई दिइने अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्थाः (१) नियम ६क. मा जुनसुकै कुरा लेखिएको भएता पनि आयोगले देहायका शिक्षक मध्ये माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि जिल्ला शिक्षा अधिकारी र प्राथमिक विद्यालयको प्रधानाध्यापक तथा अन्य सबै किसिमका शिक्षकका लागि जिल्ला शिक्षा अधिकारी वा निजले तोकेको अधिकृतबाट कक्षा अवलोकन वा यस्तै अन्य प्रयोगात्मक परीक्षा लिन लगाई त्यस्तो शिक्षकलाई अनुसूची–२ बमोजिमको ढाँचामा स्थायी अध्यापन अनुमति पत्र दिनेछः

(क) यो खण्ड प्रारम्भ हुँदाका बखत बहाल रहेका स्थायी शिक्षकमध्ये कुनै कारणले स्थायी अध्यापन अनुमतिपत्र लिन नसकेका शिक्षक,

(ख) यो नियम प्रारम्भ हुनु अघि स्थायी शिक्षक पदको लागि भएको परीक्षामा सफल भई यो नियम प्रारम्भ भएपछि नियुक्त हुने शिक्षक ।

(ग) पुनः बहाली भएको स्थायी शिक्षक,

(घ) खण्ड (क) प्रारम्भ हुँदाका बखत स्थायी शिक्षक भई कुनै कारणले अध्यापनपत्र लिन नसकेका शिक्षक ।

(२) ………

(३) …….

६ग.अध्यापन अनुमति पत्र सम्बन्धी विशेष व्यवस्थाः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले शिक्षक नियुक्तिको लागि न्यूनतम योग्यता पुगेका तर नियम ९ बमोजिमको तालीम नलिएका व्यक्तिलाई शिक्षक पदमा अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि अन्तर्वार्ता लिई सो अन्तर्वार्तामा सफल भएमा अनुसूची–२ बमोजिमको ढाँचामा अस्थायी अध्यापन अनुमति पत्र दिन सक्नेछ ।

तर त्यस्तो अध्यापन अनुमति पत्र आयोगबाट स्थायी अध्यापन अनुमति पत्रका लागि पहिलो पटक लिइएको परीक्षाको परीक्षाफल प्रकाशित भएपछि रद्द हुनेछ ।

६घ.अध्यापन अनुमति पत्र लिनको लागि उम्मेदवार हुन नसक्नेः (१) देहायको व्यक्ति अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछैनः–

(क) गैर नेपाली नागरिक,

(ख) १८ वर्ष उमेर नपुगेको,

(ग) मगज बिगे्रको,

(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको,

(ङ) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,

(च) नियम ९ बमोजिमको शैक्षिक योग्यता नभएको,

(छ) नियम ९ बमोजिमको तालिम नलिएको ।

(२) उपनियम (१) को खण्ड (क) र (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि लिईने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछः–

(क) सम्बत् २०५७ साल कार्तिक चौबीस गते भन्दा अघि शिक्षक पदमा नियुक्ति पाई यो खण्ड प्रारम्भ हुनु अघि कम्तीमा चौध वर्ष अध्यापन गरेका गैर नेपाली नागरिक,

(ख) सम्बत् २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षकको पद पूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएको व्यक्ति,

(ग) यो नियम प्रारम्भ हुँदाका बखत अस्थायी शिक्षकको हैसियतले कम्तिमा १ वर्षदेखि काम गरिरहेको व्यक्ति ।

(२क) उपनियम (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्ति माध्यमिक विद्यालयको शिक्षकको अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ ।

तर त्यस्तो व्यक्तिले सेवा शुरु गरेको दुई वर्षभित्र तालीम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

(३) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्वत् २०६३ साल मंसीर ५ गतेभन्दा अघि शिक्षक पदमा नियुक्ति भई यो उपनियम प्रारम्भ हुँदाका बखतसम्म निरन्तर रूपमा काम गरिरहेको शिक्षक यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि
लिइने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ ।

तर त्यस्तो शिक्षकले सम्वत् २०७५ साल कार्तिक २२ गतेभित्र तालिम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

६ङ. अध्यापन अनुमति पत्र लिएको मानिनेः माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा उम्मेदवार हुन यस नियमावली बमोजिम अध्यापन अनुमति पत्र लिएको मानिनेछ ।

६च. दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्नेः (१) ऐनको दफा ११ ङ. को उपदफा (६क) बमोजिम विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूको आयोगले अन्तरवार्ता लिई अन्तरवार्तामा उत्तीर्ण हुने व्यक्तिलाई दुर्गम क्षेत्रका विद्यालयमा मात्र अध्यापन गर्न पाउने गरी अस्थायी अनुमतिपत्र दिन सक्नेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “दुर्गम क्षेत्र” भन्नाले मन्त्रालयको दुर्गम क्षेत्र भनी तोकेको कुनै जिल्ला, गाउँ विकास समिति वा विद्यालय रहेको क्षेत्रलाई जनाउनेछ ।

७. पदपूर्तिको माध्यमः प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयको तृतीय श्रेणीको रिक्त पद खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट र द्वितीय र प्रथम श्रेणीको रिक्त पद बढुवाको माध्यमबाट पूर्ति गरिनेछ ।

८. विवरण उपलब्ध गराउनु पर्नेः (१) प्रत्येक जिल्ला शिक्षा कार्यालयले जिल्लाभित्रका सामुदायिक विद्यालयमा रहेको स्वीकृत रिक्त दरबन्दीको विवरण प्रत्येक छ महिनामा शिक्षा विभागमा पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको विवरण पठाउँदा जिल्ला शिक्षा कार्यालयले कुन विद्यालयको कुन कुन तह र विषयगत दरबन्दी रिक्त रहेको छ सो समेत खुलाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको विवरण प्राप्त भएपछि शिक्षा विभागले कुल रिक्त दरबन्दी रिक्त रहेको विद्यालय, तह र विषयगत विवरण खुलाई शिक्षक पदपूर्तिको लागि दुई महिनाभित्र आयोगमा लेखी पठाउनु पर्नेछ ।

९. योग्यता तथा तालीम सम्बन्धी व्यवस्थाः (१) अध्यापन अनुमति पत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन देहाय बमोजिमको शैक्षिक योग्यता तथा तालीम प्राप्त गरेको हुनु पर्नेछः–

(क) प्राथमिक विद्यालयको शिक्षकको लागि माध्यमिक शिक्षा उत्तीर्ण वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने वा सो सरहको तालीम लिएको वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा चारसय पूर्णाङ्कको शिक्षा विषय लिई सो परीक्षा उत्तीर्ण गरेको,

(ख) निम्न माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालीम लिएको,

(ग) माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएको,

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम तालिम नलिएका महिला वा अपाङ्गता भएका व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि हुने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले शिक्षा शास्त्र तर्फ सोही उपनियममा उल्लिखित योग्यता प्राप्त गरेको भए यस नियमको प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।

(४) तल्लो तहको विद्यालयको शिक्षकले माथिल्लो तहको तालीम लिएको भए यस नियमको
प्रयोजनको लागि तालीम लिएको मानिनेछ ।

(५) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुन अघि स्वीकृत स्थायी शिक्षक दरबन्दीमा अस्थायी नियुक्ति भई सेवामा रहेका शिक्षकहरूको हकमा बाहेक संवत् २०६८ साल श्रावण १ गतेदेखि प्राथमिक तहको शिक्षकको लागि प्रविणता
प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण नगरेको व्यक्ति उम्मेदवार हुन सक्ने छैन ।

(६) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले दुई सय पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालीम आवश्यक पर्ने छैन ।

(७) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्यूटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले सो खण्ड बमोजिमको तालीम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ ।

(८) उपनियम (७) बमोजिम उम्मेदवार भएको व्यक्ति शिक्षक पदमा नियुक्ति भएमा निजले त्यसरी नियुक्ति भएको पाँच वर्षभित्र शिक्षा विषयमा कम्तीमा दश महिना वा सो सरहको तालीम लिइसक्नु पर्नेछ ।

(९) उपनियम (८) बमोजिमको तालीम नलिएको शिक्षकले त्यस्तो तालीम नलिएसम्म बढुवाको लागि उम्मेदवार हुन सक्ने छ्रैन ।

१०. उम्मेदवारको लागि अयोग्यताः देहायका व्यक्तिहरू शिक्षक पदमा उम्मेदवार हुनको लागि योग्य हुन सक्ने छैनन्ः

(क) गैर नेपाली नागरिक,

(ख) १८ वर्ष उमेर नपुगेको,

(ग) ४० वर्ष उमेर पूरा भएको,

(घ) मगज बिग्रेको,

(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,

(च) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,

(च१) अध्यापन अनुमति पत्र नलिएको,

(छ) नियम ९ बमोजिमको तालिम नलिएको,

तर देहायका अवस्थामा शिक्षक पदमा उम्मेदवार हुन खण्ड (ग) वा (छ) ले वाधा पुर्याएको मानिने छेैनः

(१) यो उपखण्ड प्रारम्भ हुँदाका बखत कम्तिमा एक वर्षसम्म अस्थायी शिक्षकको रुपमा काम गरिरहेको व्यक्ति वा सम्बत् २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षक पदपूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएको व्यक्ति यो उपखण्ड प्रारम्भ भएपछि हुने पहिलो विज्ञापन अन्तर्गतको परीक्षामा उम्मेदवार हुन,

(२) स्थायी नियुक्ति भई बहालवाला शिक्षकको रुपमा काम गरिरहेको शिक्षकलाई उम्मेदवार हुन,

(३) ………..

११. पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृयाः (१) आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृया आयोगले तोके बमोजिम हुनेछ ।

(२) उपनियम (१) को प्रयोजनको लागि आयोगले विशेषज्ञ सहितको समिति गठन गर्न सक्नेछ ।

(३) आयोगले निर्धारित पाठ्यक्रममा कुनै संशोधन गरेमा परीक्षाको मिति भन्दा तीन महिना अगावै त्यसको सूचना प्रकाशन गर्नु पर्नेछ ।

११क. शिक्षक सेवालाई समावेशी बनाउनु पर्नेः (१) शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहायका उम्मेदवारहरू बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–

(क) महिला – तेत्तीस प्रतिशत

(ख) आदिवासी/जनजाति – सत्ताईस प्रतिशत

(ग) तराई–मधेशमा बसोबास गर्ने मधेशी,आदिवासी÷जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय – बाईस प्रतिशत

(घ) दलित – नौ प्रतिशत

(ङ) अपाङ्ग – पाँच प्रतिशत

(च) पिछडिएको क्षेत्र – चार प्रतिशत

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि,–

(१) “आदिवासी/जनजाति, मधेशी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान” भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेका आदिवासी/जनजाति, मधेशी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान सम्झनु पर्छ ।

(२) “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।

(२) उपनियम (१) को खण्ड (क) बमोजिम महिलाको लागि छुट्टयाइएको तेत्तीस प्रतिशत स्थान मध्ये तीन प्रतिशत स्थान दलित समुदायका महिला र दुई प्रतिशत स्थान मुस्लिम समुदायका महिलाका लागि छुट्टयाउनु पर्नेछ ।

(३) उपनियम (१) को खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक पदको लागि भएको विज्ञापनमा कुनै एक खण्डको समुदायको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछ ।

तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन ।

(४) उपनियम (१) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशतभन्दा कम घतांक ( फ्याक्शन) आएमा त्यस्तो घतांक जुन समूहको हकमा घतांक आएको हो सोभन्दा लगत्तै पछिको समूहमा सर्दै जानेछ ।

(५) उपनियम (१) बमोजिम छुट्टयाइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद सोही वर्ष खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गर्नु पर्नेछ ।

(७) उपनियम (१) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रत्येक दश वर्षमा पुनरावलोकन गर्नु पर्नेछ ।

(८) उपनियम (१) को प्रयोजनको लागि आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका आदिवासी/जनजाति, मधेशी, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

(९) उपनियम (१) बमोजिमको प्रतिशत बमोजिम पद संख्या निर्धारण गर्दा कुनै विवाद आएमा आयोगले गरेको निर्णय अन्तिम    हुनेछ ।

११.ख. पदसंख्या निर्धारण गर्नेः (१) नियम ८ बमोजिम शिक्षा विभागबाट रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि आयोगले रिक्त पदमध्ये खुल्ला प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने प्रतिशतको आधारमा पदसंख्या निर्धारण गर्नेछ ।

(२) उपनियम (१) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदसंख्या निर्धारण गर्दा नियम ११क. बमोजिम पूर्ति हुने पदसंख्या समेत निर्धारण गर्नु पर्नेछ ।

१२. प्रतियोगिताको लागि विज्ञापन गर्नु पर्नेः (१) आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।

(१क) आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ ।

(१ख) उपनियम (१क) बमोजिम विज्ञापन गर्दा आयोगले पहिलो चरणमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा संवत् २०६३ साल वैशाख ११ गतेदेखि रिक्त रहेको शिक्षक पदको विज्ञापन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम विज्ञापन गर्दा ऐनको दफा ११च. को उपदफा (१) को खण्ड (ग) मा उल्लेखित परीक्षाको तरिकाहरू मध्ये कुन कुन तरिकाद्वारा प्रतियोगिता हुने हो सो समेत खुलाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम विज्ञापन गर्दा दरखास्त पेश गर्नु पर्ने म्याद सामान्यतया ३० दिनमा नघटाई तोक्नु पर्नेछ ।

१३. दरखास्त बुझाउनु पर्नेः प्रतियोगितामा भाग लिन चाहने उम्मेदवारले आयोगबाट निर्धारित दरखास्त फाराम भरी आयोगले तोकेको बमोजिमको परीक्षा दस्तुर दाखिला गरेको निस्सा सहित विज्ञापनमा तोकिएको स्थान र अवधिभित्र दरखास्त फाराम बुझाउनु पर्नेछ ।

१३क. समावेश पदमा दरखास्त बुझाउने आधारः नियम ११क. बमोजिम छुट्टयाइएका पदमा दरखास्त दिंदा देहायका आधारमा दिनु पर्नेछः–

(क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो ऐनमा सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको आधारमा,

(ख) तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी÷जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको र त्यसरी नतोकिएसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको आधारमा,

(ग) दलितमा सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित भएको आधारमा,

(घ) अपाङ्गता भएको व्यक्तिको  हकमा स्थानीय तहबाट अपाङ्गताको परिचयपत्रको आधारमा,

(ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा विज्ञापन भएको जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाका वखतसम्म सोही स्थानमा स्थायी
बसोबास भएको भनी प्रमाणित भएको आधारमा ।

१४. दरखास्तको छानवीन प्रवेश पत्र आदि सम्बन्धी व्यवस्थाः (१) नियम १३ बमोजिम पर्न आएका दरखास्त छानवीन गर्दा रीत पुगेको देखिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई प्रवेशपत्र दिनु पर्नेछ ।
(२) आयोगले सामान्यतया कुनै पनि दरखास्त शर्त राखी स्वीकृत गर्ने छैन ।

(३) यस नियमावली बमोजिम विज्ञापन वा परीक्षा रद्द गरिएमा वा उम्मेदवारको दरखास्त अस्वीकृत भएमा उम्मेदवारले बुझाएको परीक्षा दस्तुर फिर्ता हुनेछ ।

तर नियम २६ बमोजिम दरखास्त रद्द भएमा परीक्षा दस्तुर फिर्ता हुने छैन ।

१५. स्वीकृत नामावलीको सूची टाँस गर्नु पर्नेः आयोगले दरखास्त दिने अन्तिम म्याद समाप्त भएपछि दरखास्त स्वीकृत भएका सबै उम्मेदवारको नामावलीको सूची तयार गरी सूचना पाटीमा टाँस गर्नु पर्नेछ ।

१६. परीक्षा हुने मिति, समय र केन्द्रः यस नियमावली बमोजिम लिने परीक्षा आयोगले तोकेको मिति, समय र केन्द्रमा सञ्चालन हुनेछ ।

१७. परीक्षाको स्तरः यस नियमावली बमोजिम लिइने परीक्षाको स्तर आयोगले तोके बमोजिम हुनेछ ।

१८. परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्कः (१) आयोगबाट लिइने प्रतियोगात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिम हुनेछः

(क) लिखित परीक्षा

(१) सामान्य परीक्षा – १०० अङ्क

(२) विषयगत परीक्षा – १०० अङ्क

(ख) प्रयोगात्मक परीक्षा – २५ अङ्क

(ग) अन्तरवार्ता – २५ अङ्क

(२) उपनियम (१)  को खण्ड (क) बमोजिमको सामान्य परीक्षाको उत्तीर्णाङ्क पचास अङ्क, विषयगत परीक्षाको उर्त्तीणाङ्क चालीस अङ्क  र खण्ड (घ) बमोजिमको परीक्षाको उर्त्तीणाङ्क दश अङ्क हुनेछ ।

(३) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवार मात्र सोही खण्डको उपखण्ड (२) बमोजिमको विषयगत परीक्षामा सहभागी हुन पाउनेछ ।

(४) आयोगले उपनियम (१) को खण्ड (क) बमोजिमको लिखित परीक्षाको नतीजा प्रकाशन गर्दा सामान्य परीक्षामा प्राप्त अङ्कको पचास प्रतिशत र विषयगत परीक्षामा प्राप्त अङ्क जोडी हुने कुल प्राप्ताङ्कको आधारमा गर्नेछ ।

(५) उपनियम (१) को खण्ड (क) को उपखण्ड (१) बमोजिमको सामान्य परीक्षाको किसिम बस्तुगत हुनेछ ।

१९. प्रयोगात्मक परीक्षाः (१) विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ ।

(२) प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको लागि साधन उपलब्ध भएको अन्य कुनै कार्यालय वा संस्थामा पठाउन सक्नेछ । त्यसरी प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित विषयको विशेषज्ञको समेत सहयोग लिन सक्नेछ ।

२०. सफल उम्मेदवारको सूची प्रकाशन गरिनेः (१) लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा सो परीक्षा समेतबाट उत्तीर्ण भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्येबाट देहायको अनुपातमा उत्तीर्ण उम्मेदवारहरू थप गरी अन्तरवार्ताको लागि उम्मेदवारको नाम वर्णानुक्रम अनुसार प्रकाशन गरिनेछः

रिक्त पद संख्या                              थप हुने संख्या

१ देखि ५                                               २

६ देखि १०                                             ३

११ देखि १५                                           ४

१६ देखि २०                                           ५

२१ देखि २५                                           ६

२६ देखि ३०                                           ७

३१ देखि ३५                                            ८

३६ देखि ४०                                           ९

४१ र सो भन्दा माथी २० प्रतिशत

तर अन्तिम क्रमसंख्यामा एक जना भन्दा बढी उम्मेदवारले बराबर अङ्क प्राप्त गरेमा त्यस्तो सबै उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।

(२) नियम १८ बमोजिम उत्तीर्णाङ्क प्राप्त गर्ने उम्मेदवार आवश्यक संख्यामा नभएमा जति जनाले उत्तीर्णाङ्क प्राप्त गरेका छन् त्यति उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।

(३) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा समान स्तरका विभिन्न पदका लागि एउटै समयमा भएको भिन्दा भिन्दै शिक्षक पदको नतिजा प्रकाशित नामावलीमा परेको मध्ये जतिजना उम्मेदवारको नाम अर्को पदको नतिजा प्रकाशनमा परेको छ त्यतिकै संख्यामा थप उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।

(४) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा कुनै उम्मेदवार समान श्रेणीको वा सोभन्दा माथिल्लो श्रेणी वा पदमा पहिले नै सिफारिस भइसकेको भए लिखित परीक्षाको नतिजाबाट त्यस्तो उम्मेदवारको नाम हटाउनु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम नाम प्रकाशन गर्दा अन्तर्वाता हुने मिति, समय र स्थान समेत खुलाउनु पर्नेछ ।

२१. अन्तर्वार्ता सम्बन्धी व्यवस्थाः (१) नियम २० बमोजिम प्रकाशित सूचनामा उल्लेखित उम्मेदवारको अन्तर्वार्ता लिनको लागि आयोगले सम्बन्धित क्षेत्रका विशेषज्ञ सहित रहेको कम्तीमा तीन सदस्यीय अन्तर्वार्ता समिति गठन गर्नेछ ।

(२) अन्तर्वार्ता समितिको बैठक सम्बन्धी कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।

२२. अन्तर्वार्ताको अङ्कः अन्तर्वार्ताको लागि छुट्याइएको पच्चीस अङ्क देहाय बमोजिम दिइनेछः

(क) अनुभव वापत सोही तहको अस्थायी वा राहत अनुदान कोटा अन्र्तगतको शिक्षकको रुपमा काम गरे वापत प्रत्येक वर्षको शून्य दशमलब पाँच अङ्कका दरले बढीमा पाँच अङ्क,

तर आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा अस्थायी वा राहत अनुदान कोटा अन्र्तगतको शिक्षकको रुपमा काम गरे वापतको अङ्क दिइने छैन ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “राहत अनुदान कोटा अन्र्तगतको शिक्षक” भन्नाले नेपाल सरकारले विद्यालयलाई उपलब्ध गराएको राहत अनुदान कोटा अन्तर्गत नियुक्त भएको शिक्षक सम्झनु पर्छ ।

(ख) शैक्षिक योग्यता बापत सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रेणी भए तीन र द्वितीय श्रेणी भए दुई अङ्क र सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको प्रथम श्रेणी भए दुई र द्वितीय श्रेणी भए एक अङ्क,

(ग) अन्तर्वार्ता वापत बढीमा पन्ध्र अङ्क,

तर अन्तर्वार्ताको अङ्क दिंदा कुनै उम्मेदवारलाई ७० प्रतिशत भन्दा बढी र ३५ प्रतिशत भन्दा कम दिनु पर्ने भएमा त्यस्तो नम्बर दिनु पर्ने स्पष्ट कारण खुलाउनु पर्नेछ ।

२३. छुट अन्तर्वार्ता लिन सक्नेः अन्तर्वार्ताको निमित्त छानिएको उम्मेदवारले देहायका कारण देखाई अन्तर्वार्ता सम्पन्न भएको मितिले दश दिन भित्र अन्तर्वार्ताको लागि उपस्थित हुन नसकेको प्रमाण सहित निवेदन दिएमा र जाँचबुझ गर्दा मनासिव देखिएमा आयोगले अन्तर्वार्ता भएको मितिले पन्ध्र दिन भित्र त्यस्तो छुट उम्मेदवारको अन्तर्वार्ता लिन सक्नेछः

(क) भवितव्य परेमा,

(ख) सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा,

(ग) किरिया बस्नु परेमा,

(घ) सुत्केरी भएमा,

(ङ) अशक्त बिरामी भएको कुरा चिकित्सकबाट प्रमाणित भएमा ।

स्पष्टीकरणः भवितव्य भन्नाले बाढी, पैह्रो गई बाटो बन्द हुनु आदि कारणलाई जनाउनेछ ।

२४. योग्यताक्रम प्रकाशित गर्नेः (१) आयोगले लिखित र प्रयोगात्मक परीक्षा लिएको भए सो परीक्षामा सफल भएका उम्मेदवारले अन्तरवार्तामा प्राप्त गरेको अङ्क जोडी सबै परीक्षाबाट सफल भएका उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस सहित योग्यताक्रम प्रकाशित गर्नु पर्नेछ । त्यसरी सिफारिस गर्दा उपलब्ध भएसम्म रिक्त पद संख्याको दश प्रतिशतले हुने संख्या उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ।

(२) एक भन्दा बढी तहमा सफल हुने उम्मेदवारलाई माथिल्लो तहको लागि मात्र सिफारिस गरिनेछ ।

(३) आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस गरिएको पद संख्याको आधारमा प्राथमिक तहमा शत प्रतिशत र निम्न माध्यमिक तह तथा माध्यमिक तहमा विज्ञापन भएको पदको दाेब्बर स‌ंख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नेछ ।

(४) उपनियम (३) बमोजिमको सूची प्रकाशन गर्दा खुला प्रतियोगिता तर्फका बैकल्पिक उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

(५) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही तहमा पुनः विज्ञापन भई उम्मेदवार सिफारिस भएमा अघिल्लो वैकल्पिक उम्मेदवारको सूची स्वतः रद्द हुनेछ ।

२५. बैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न सक्नेः (१) जिल्ला शिक्षा अधिकारीले देहायका अवस्थामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यता क्रमानुसार नियुक्ति गर्न सक्नेछः ।

(क) सिफारिस गरिएको उम्मेदवारले सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट नियुक्तिको लागि सार्वजनिक सूचना प्रकाशित गरेको मितिले तीस दिनभित्र नियुक्ति नलिएमा,

(ख) सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई निजले राजिनामा दिई वा माथिल्लो तहको पदमा नियुक्ति लिएको कारण परीक्षणकाल भित्रै पद रिक्त हुन आएमा,

(ग) नियुक्ति पत्र दिएको मितिले ३० दिनभित्र पदस्थापन गरिएको विद्यालयमा हाजिर नभएमा ।

(२) उपनियम (१) बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गरेकोमा जिल्ला शिक्षा अधिकारीले त्यसको जानकारी तुरुन्त आयोगलाई दिनु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले सिफारिस गरेको एक वर्ष नाघेपछि कुनै पनि वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने छैन ।

२६. दरखास्त रद्द वा सिफारिस बदर हुन सक्नेः (१) कुनै उम्मेदवारले झुठ्ठा विवरण दिएको प्रमाणित भएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा वा त्यस्तो कार्य गर्ने उद्योग गरेमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त रद्द गर्न सक्नेछ ।

(२) आयोगबाट नियुक्तिको लागि सिफारिस भएको कुनै उम्मेदवारले नियुक्ति लिन नपाउँदै निज सिफारिस हुन नसक्ने कुनै प्रमाणिक कारण उपलब्ध भएमा आयोगले त्यस्तो उम्मेदवारको सिफारिस बदर गर्न सक्नेछ ।

(३) कुनै उम्मेदवारले भुठो विवरण दिएको कुरा त्यस्तो उम्मेदवार सिफारिस गरिएको पदमा नियुक्ति भई सकेपछि थाहा हुन आएमा आयोगले निज उपर विभागीय कारवाहीको लागि सम्बन्धित अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।