परिच्छेद – ४ बढुवा सम्बन्धी व्यवस्था

परिच्छेद – ४ बढुवा सम्बन्धी व्यवस्था

२७. बढुवाको निमित्त सम्भाव्य उम्मेदवार बन्न सक्नेः बढुवाको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणीको तहमा पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेको स्थायी शिक्षक हुनु पर्नेछ ।

तर देहायको अवस्थामा देहायको अवधिभर कुनै पनि शिक्षक बढुवाको लागि उम्मेदवार हुन पाउने छैनः

(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,

(ख) बढुवा रोक्का गरिएकोमा रोक्का भएको अवधिभर,

(ग) तल्लो पदमा घटुवा गरेकोमा घटुवा भएको मितिले दुई वर्षसम्म,

(घ) तलब बृद्धि (ग्रेड) रोक्का भएकोमा रोक्का भएको मितिले एक वर्षसम्म ।

२८. बढुवाको लागि पद निर्धारण र बढुवाको आधारः (१) प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरू मध्ये २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकन आधारमा बढुवाद्वारा पूर्ति गरिनेछ ।

(२) आयोगले शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्य क्षमताको आधारमा गर्नेछ र शिक्षकको कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा १०० अङ्क दिइनेछः–

(क) नोकरीको ज्येष्ठता वापात ३५

(ख) शैक्षिक योग्यता वापत २०

(ग) तालीम वापत १०

(घ) कार्य सम्पादनलाई देहाय बमोजिम विभाजन गरिनेछः–

(१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५

(२) शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे वापत ५

(३) विशेष जिम्मेवारी वापत ५

(४) कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन वापत १०

(३) आयोगले उपनियम (२) बमोजिम मूल्यांकन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई सबैभन्दा पहिले बढुवाको लागि सिफारिस गर्नु पर्नेछ । समान अङ्क प्राप्त गर्ने शिक्षकको हकमा नोकरीको जेष्ठताको आधारमा बढुवाको लागि सिफारिस गरिनेछ ।

२९. नोकरीको जेष्ठताः (१) ज्येष्ठता वापत अङ्क प्रदान गर्दा सम्बन्धित तहमा स्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको २.५ अङ्कका दरले र अस्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको १.२५ अङ्कका दरले बढीमा ३५ अङ्क प्रदान गरिनेछ ।

तर

(१) महिला, दलित र अपाङ्गता भएको व्यक्ति भए एक वर्ष अनुभव थप गरी ३५ अङ्कमा नबढ्ने गरी सोही अनुपातमा अङ्क प्रदान गरिनेछ ।

(२) एक शैक्षिक सत्र भन्दा कम अवधिको चानचुन महिना वा दिनको लागि समानुपातिक हिसावले अङ्क दिइनेछ ।

(३) गयल भएको वा असाधारण विदा वा वेतलबी विदामा बसेको अवधिको अङ्क दिइने छैन ।

(२) कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने प्रयोजनको लागि स्थायी सेवा बीचमा टुटेको भए सो अवधि कट्टा गरी बाँकी गरेको अवधि समेत गणना गरिनेछ । तर तलव नपाउने गरी विद्यालयमा अनुपस्थित रहेको अवधिलाई काम गरेको अवधि मानिने छैन ।

३०. शैक्षिक योग्यताः (१) शिक्षकलाई शैक्षिक योग्यता वापत अङ्क प्रदान गर्दा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वापत प्रथम श्रेणीको लागि १५ अङ्क, द्वितीय श्रेणीको लागि १३ अङ्क र तृतीय श्रेणीको लागि ११ अङ्क दिइनेछ ।

(२) न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक उपाधि हासिल गरेको भए एक शैक्षिक शैक्षिक उपाधिसम्मको लागि प्रथम श्रेणीको लागि ५ अङ्क, द्वितीय श्रेणीको लागि ४ अङ्क र तृतीय श्रेणीको लागि ३ अङ्क दिइनेछ ।

(३) कुनै शिक्षकले न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो एक भन्दा बढी उपाधि हासिल गरेको भएमा शिक्षकले रोजेको कुनै एक उपाधिको मात्र अङ्क दिइनेछ ।

(४) श्रेणी नखुलेको शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अङ्क दिइनेछ ।

३१. तालिमः (१) सम्बन्धित तह वा सो भन्दा माथिल्लो स्तरको शिक्षा शिक्षणसँग सम्बन्धित दश महिना वा सो भन्दा बढी अवधिको मान्यता प्राप्त तालीम प्राप्त गरेको वा प्राथमिक शिक्षकको हकमा ४०० पूर्णाङ्कको शिक्षा विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेकोमा तालीम वापत प्रथम श्रेणीको भए १० अङ्क, द्वितीय श्रेणीको भए ८ अङ्क र तृतीय श्रेणीको भए ६ अङ्क दिइनेछ ।

(२) श्रेणी नखुलेको तालीम प्राप्त द्वितीय श्रेणीको अङ्क दिइनेछ ।

(३) शिक्षा विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरह, स्नातक तह वा स्तानकोत्तर तह उत्तीर्ण गरेको सम्बन्धित तहको शिक्षकलाई तालीम वापत ७ अङ्क ननाघ्ने गरी न्यूनतम योग्यता र तालीम वापतको दुवै अङ्क दिइनेछ ।

(४) सम्बन्धित तह वा श्रेणीका लागि तोकिएको पेशागत विकास सम्बन्धी कम्तीमा एक महिने सेवाकालीन तालीम प्राप्त शिक्षकलाई श्रेणीका आधारमा प्रथम, द्वितीय र तृतीय श्रेणी वापत क्रमशः ३, २ र १ अङ्क दिइनेछ ।

(५) उपनियम (४) बमोजिमको सेवाकालीन तालीमको लागि शिक्षकलाई मनोनयन गर्दा वरिष्ठताको आधारमा गरिनेछ ।

३२. कार्य सम्पादनः शिक्षकको कार्य सम्पादन मूल्याङ्कनगर्न अनुसूची–१ बमोजिमको कार्य सम्पादन मूल्याङ्कन फाराम प्रयोग गरिनेछ ।

३२ क. अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिः (१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५ अङ्कमा नबढ्ने गरी प्रति वर्ष बढीमा तीन अङ्कका दरले देहायका आधारमा पछिल्लो पाँच वर्षको अङ्क गणना गरिनेछः–

अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशत

सम्बन्धित विषयको भौगोलिक इकाईको औसत उत्तीर्ण प्रतिशत

   × ३

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि,–

(१) “अध्यापन गरेको विषय” भन्नाले साप्ताहिक रुपमा सबैभन्दा बढी साप्ताहिक घण्टी (क्रेडिट आवर) पढाएको विषयलाई सम्झनु पर्छ र सो शब्दले कुनै शिक्षकको त्यसरी पढाएको विषय एकभन्दा बढी भए सम्बन्धित शिक्षकले
रोजेको विषयलाई जनाउँछ ।

(२) “भौगोलिक इकाई” भन्नाले स्रोत केन्द्र सम्झनु पर्छ ।

(२) उपनियम (१) बमोजिम हिसाव गर्दा कुनै भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशत ४० भन्दा कम भएमा ४० अङ्क मानिनेछ ।

(३) उपनियम (१) बमोजिम हिसाव गर्दा विद्यार्थीले कक्षा ३ वा ५ को उपलब्धि परीक्षा, कक्षा ८ को जिल्लास्तरीय परीक्षा, प्रवेशिका वा उच्च माध्यमिक परीक्षामा प्राप्त गरेको औसत अङ्कलाई आधार मान्नु पर्नेछ ।

(४) कुनै शिक्षकले कक्षा ३, ५, ८, १० वा १२ मा अध्यापन नगरी प्राथमिक, निम्न माध्यमिक, माध्यमिक वा उच्च माध्यमिक तहका अन्य कक्षामा अध्यापन गरेको भए पनि कक्षा ३, ५, ८ प्रवेशिका वा उच्च माध्यमिक परीक्षालाई आधार मानी अङ्क गणना गर्नु पर्नेछ ।

(५) अपाङ्गता भएको  व्यक्तिलाई मात्र अध्यापन गर्ने शिक्षकको हकमा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ ।

तर त्यस्तो अङ्क ३ भन्दा बढी हुने छैन ।

(६) स्रोत व्यक्तिको रुपमा काम गर्ने गरी खटिएको शिक्षकको हकमा आफ्नो क्षेत्रभित्रका विद्यालयले कक्षा ३, ५, ८ प्रवेशिका वा उच्च माध्यमिक परीक्षामा प्राप्त गरेको समग्र औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ ।

(७) कुनै शिक्षकको शैक्षिक सत्रको बीचमा सरुवा भई विद्यालयमा कार्यरत अवधि छ महिनाभन्दा कम भएमा निजले ५ महिना भन्दा बढी अवधि काम गरेको विद्यालयको नतिजालाई आधार मानी अङ्क प्रदान गरिनेछ ।”

३२ख. शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धानः (१) शिक्षकलाई निजले अध्यापन गरेको विषयमा शिक्षण सुधारको लागि अनुसन्धान गरी प्रतिवेदन तयार गरे वापत प्रत्येक वर्ष १ अङ्कका दरले बढीमा ५ अङ्क दिइनेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदन शिक्षकको हकमा प्रधानाध्यापक र प्रधानाध्यापकको हकमा सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले प्रमाणित गर्नु पर्नेछ ।

३२ग.विशेष जिम्मेवारीः (१) विद्यालयको प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अतिरिक्त क्रियाकलाप संयोजक जस्तो विशेष जिम्मेवारी लिएका शिक्षकलाई प्रत्येक वर्ष १ का दरले बढीमा ५ अङ्क दिइनेछ।

(२) विशेष जिम्मेवारी वापतको अङ्क दिंदा पूरै वर्ष काम नगरेको शिक्षकको हकमा काम गरेको अवधिको समानुपातिक हिसाबले अङ्क   दिइनेछ ।

३२घ.कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कनः (१) शिक्षकको कार्य सम्पादन मूल्याङ्कन वापत देहायको अङ्क दिइनेछः–

(क) सुपरीवेक्षकले दिन सक्ने अधिकतम छ अङ्क ,

(ख) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम चार अङ्क  ।

(२) शिक्षकको कार्यसम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछः–

(क) सुपरीवेक्षक –सम्बन्धित विद्यालयको प्रधानाध्यापक

(ख) पुनरावलोकन समितिः–

(अ) सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख –सदस्य
(आ) सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख –सदस्य
(इ) सम्बन्धित विद्यालयको प्रधानाध्यापक –सदस्य

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रधानाध्यापक, प्रधानाध्यापकसँग समान श्रेणीको शिक्षक र प्रधानाध्यापक भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्यसम्पादन मूल्याङ्कन देहायका अधिकारीबाट हुनेछः–

(क) सुपरीवेक्षक –सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख

(ख) पुनरावलोकन समितिः–

(अ) सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख –सदस्य
(आ) सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख –सदस्य
(इ) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष –सदस्य

(३क) उपनियम (२) र (३) बमोजिमको पुनरावलोकन समितिको अध्यक्षता समितिका सदस्यहरूमध्ये वरिष्ठतम् अधिकृतले गर्नेछ ।

(४) कुनै कारणले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद रिक्त भएमा अध्यक्षको काम गर्ने व्यक्तिले सोही व्यहोरा जनाई पुनरावलोकन समितिको सदस्य भई काम गर्नु पर्नेछ ।

(५) कार्य सम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा यो उपनियम प्रारम्भ भएपछि हुने पहिलो विज्ञापनमा पछिल्लो एक वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको अङ्क हिसाब गरिनेछ र त्यसपछि दोस्रो वर्षमा हुने विज्ञापनमा दुई वर्षको, तेस्रो र चौथो वर्षमा क्रमशः तीन र चार वर्षको औसत अङ्क गणना गरिनेछ ।

(६) कार्य सम्पादन मूल्याङ्कन फारामको खण्ड (घ) गोप्य रुपमा भर्नु पर्नेछ ।

(७) सम्बन्धित शिक्षकले शैक्षिक सत्र शुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याङ्कन फाराममा आफूले भर्नु पर्ने विवरण भरी सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।

(८) उपनियम (७) बमोजिम प्राप्त कार्य सम्पादन मूल्याङ्कन फारम प्राप्त भएमा प्रधानाध्यापक आफैं सुपरीवेक्षक भए पन्ध्र दिनभित्र मूल्याङ्कनका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनु पर्नेछ । प्रधानाध्यापक आफू सुपरीवेक्षक नभएमा त्यस्तो फाराम सात दिनभित्र सुपरीवेक्षक समक्ष पठाउनु पर्नेछ ।

(९) पुनरावलोकन समितिले आफू समक्ष प्राप्त भएको कार्य सम्पादन मूल्याङ्कन फाराम शैक्षिक सत्र शुरु भएको मितिले नब्बे दिनभित्र मूल्याङ्कन गरी सक्नु पर्नेछ ।

(९क) यो नियम प्रारम्भ हुँदाका बखत कुनै शिक्षकको कार्यसम्पादन मूल्याङ्कन हुन बाँकी रहेको भए आयोगको पूर्व स्वीकृति लिई यो उपनियम प्रारम्भ भएको मितिले छ महिना भित्रमा यो नियम प्रारम्भ हुनु अघि कायम रहेको कार्य सम्पादन मूल्याङ्कन बापत पाउने अङ्कको आधारमा मूल्याङ्कन गरी सक्नु पर्नेछ ।

(१०) निर्धारित अवधिभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम भरी पेश नगर्ने शिक्षक, समयमा मूल्याङ्कन नगर्ने सुपरीवेक्षक तथा पुनरावलोकन समितिका पदाधिकारीहरू उपर अख्तियारवालाले विभागीय कारबाही गर्नु पर्नेछ ।

तर कावु बाहिरको परिस्थिति परी निर्धा्रित अवधिभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम पेश गर्न वा मूल्याङ्कन गर्न नसकिएको कारण खोली सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशकलाई जानकारी गराएमा र त्यस्तो कारण मनासिब देखिएमा त्यस्तो निर्देशकले शैक्षिक सत्र शुरु भएको छ महिनाभित्र यस नियमको अधीनमा रही त्यस्तो कार्य सम्पादन मूल्याङ्कन फाराम पेश गर्न लगाउन वा कार्य सम्पादन मूल्याङ्कन गर्न वा गराउन सक्नेछ ।

(११) एक शैक्षिक सत्रभन्दा लामो अवधि विदा वा काजमा बस्ने शिक्षकको कार्य सम्पादन मूल्याङ्कन निज विद्यालयमा कार्यरत रहँदाको पहिल्लो शैक्षिक सत्रमा पाएको अङ्क बराबर हुने गरी गणना गरिनेछ ।

(१२) पुनरावलोकन समितिबाट कार्य सम्पादन मूल्याङ्कन भईसकेपछि सम्बन्धित शिक्षकले निजले प्राप्त गरेको कार्य सम्पादन मूल्याङ्कनको वापतको अङ्क हेर्न निवेदन दिएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले निजलाई त्यस्तो अङ्कबारे जानकारी दिनु पर्नेछ ।

तर पुनरावलोकन समितिले दिएको अङ्क जानकारी दिइने छैन ।

(१३) कुनै शिक्षकलाई सुपरीवेक्षकले गरेको मूल्याङ्कनमा चित्त नबुझेमा उपनियम (१२) बमोजिम जानकारी पाएको मितिले सात दिनभित्र चित्त नबुझ्नुको ठोस आधार र कारण सहित त्यस्तो शिक्षकले सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशक समक्ष उजूरी दिन सक्नेछ ।

(१४) उपनियम (१३) बमोजिम उजूरी प्राप्त भएमा त्यस्तो उजूरी प्राप्त भएको मितिले एक महिनाभित्र सम्बन्धित प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयको निर्देशकले त्यस्तो उजूरीमा आवश्यक छानबीन गर्नेछ र उजूरी छानबीन गर्दा उजूरी मनासिब देखिएमा सम्बन्धित सुपरीवेक्षक र पुनरावलोकन समितिका सदस्यसँग समेत परामर्श गरी त्यस्तो कार्यसम्पादन मूल्याङ्कन फाराममा प्राप्त अङ्क संशोधन गर्न सक्नेछ ।

(१५) उपनियम (१४) बमोजिम संशोधन गरेको निर्णयको प्रतिलिपि सोही कार्य सम्पादन मूल्याङ्कन फारामसँग नत्थी गरी राख्नु पर्नेछ ।

३३. बढुवा नामावलीको प्रकाशनः आयोगले बढुवाका लागि सिफारिस भएका शिक्षकहरूको नामावली सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ । सो नामावलीमा सबैभन्दा न्यूनतम अङ्क प्राप्त गर्ने शिक्षकले प्राप्त गरेको अङ्क समेत उल्लेख गर्नु पर्नेछ । त्यसरी बढुवा सिफारिसको नामावली प्रकाशन भएपछि सम्बन्धित कुनै उम्मेदवारले आफूले प्राप्त गरेको अङ्क हेर्ने इच्छा गरेमा कार्य सम्पादन मूल्याङ्कन वाहेक अन्य आधारहरू वापत निजले प्राप्त गरेको अङ्क निजलाई हेर्न दिनु पर्नेछ ।

३४. बढुवा सिफारिस उपरको उजुरी र पुनरावलोकनः (१)नियम ३३ बमोजिम सिफारिस भएको बढुवा नामावलीको सूचीमा नाम समावेश नहुने शिक्षकले सो बढुवा निर्णय उपर उजुरी दिन चाहेमा बढुवा नामावली प्रकाशन भएको मितिले ३५ दिन भित्र आयोग समक्ष स्पष्ट आधार र प्रमाणहरू उल्लेख गरी उजुरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पर्न आएको उजुरी उपर आयोगले उजुरी गर्ने म्याद समाप्त भएको मितिले सामान्यतया नब्वे दिनभित्र पुनरावलोकन गरी निर्णय दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पुनरावलोकन गर्दा पहिले प्रकाशित बढुवा सिफारिसको नामावलीमा संशोधन गर्नु पर्ने देखिएमा सोको निर्णय गरी आयोगले संशोधित बढुवा सिफारिसको नामावली प्रकाशित गर्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिम पर्न आएको उजूरी झुट्टा ठहरिएमा उजूरी पछि हुने बढुवामा त्यस्तो उजूरीकर्ताको पहिलो पटकको उजूरी भए २ अङ्क र दोस्रो पटकको उजूरी भए ३ अङ्क घटाइनेछ ।

(५)उपनियम (४) बमोजिम भएको कारबाहीको सूचना सम्बन्धित शिक्षक तथा सम्बन्धित शिक्षक कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई दिनु पर्नेछ ।

३५. बढुवा मिति र बढुवा नियुक्तिः (१) नियम ३३ बमोजिम बढुवा नामावली प्रकाशित भएपछि बढुवाको उजुरीको प्रयोजनको लागि सो नामावली प्रकाशित भएको मितिबाट पैंतीस दिनसम्म बढुवा सिफारिश पाउने उम्मेदवारलाई बढुवा नियुक्ति नदिई प्रतिक्षा सूचीमा राखिनेछ । सो बढुवा सिफारिस उपर उजुरी नपरेमा सो नामावली प्रकाशित भएको मितिले छत्तीसौं दिनको मितिबाट बढुवा हुने श्रेणीको जेष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।

(२) बढुवा सिफारिस उपर उजुरी परेमा देहाय बमोजिम जेष्ठता मिति कायम गरी नियुक्ति दिनु पर्नेछः

(क) नियम ३४ को उपनियम (३) बमोजिम बढुवा सिफारिसको नामावलीमा संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित नामावली प्रकाशन भएको मितिदेखि,

(ख) उजुरी खारेज भएमा वा आयोगको पहिलेको सिफारिस नै कायम भएमा पहिलो पटकको बढुवा सिफारिस प्रकाशित भएको मितिले छत्तीसौं दिनदेखि ।

३६. आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापनः नियम २८ बमोजिम छुट्याइएको प्रतिशत अनुरुप आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाद्वारा पूर्ति गर्नु पर्ने पदको लागि आयोगले सम्बन्धित उम्मेदवारले थाहा पाउने गरी विज्ञापन प्रकाशित गर्नु पर्नेछ । सो विज्ञापनमा बढुवा हुने पदको संख्या, आवश्यक शैक्षिक योग्यता एवं सेवा अवधि दरखास्त बुझाउने ठाउँ तथा अन्तिम मिति, जाँच हुने ठाउँ र आवश्यक अन्य विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

३७. आन्तरिक प्रतियोगितात्मक परीक्षामा बढुवाको आधारः आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधार देहाय बमोजिम हुनेछः

(क) लिखित परीक्षा

(ख) अन्तरवार्ता

३८. परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्थाः (१) आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम आयोगले तोके बमोजिम हुनेछ ।

(२) शिक्षकलाई आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित परीक्षा र अन्तरवार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ । त्यसरी अन्तर्वार्ताको अङ्क विभाजन गर्दा शिक्षकलाई अनुभव वापत प्रत्येक वर्षको एक अङ्कका दरले बढीमा दश अङ्क दिइनेछ ।

३९. बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि तहकोश्रेणीमा शिक्षक पदमा स्थायी नियुक्ति भई सोही तहको सोही श्रेणीबाट निवृत्तभरण पाउने गरी अनिवार्य अवकाश पाउने शिक्षकलाई एक महीना अगावै सोही तहको माथिल्लो श्रेणीमा बढुवा गर्नको लागि आयोगले सिफारिस गर्नेछ ।

(२) उपनियम (१) बमोजिम अवकाश पाउने शिक्षकले आपूmले अवकाश पाउने मितिभन्दा छ महिना अगावै आवश्यक कागजात संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनु पर्नेछ ।

(२क) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात छानवीन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न मिल्ने देखिएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो शिक्षक अवकाश हुनुभन्दा नब्वे दिन अगावै आयोगमा सो निवेदन पठाउनु पर्नेछ ।

(२ख) उपनियम (२क) बमोजिमको प्राप्त भएको निवेदन सहितको कागजात छानवीन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न उपयुक्त देखिएमा आयोगले त्यस्तो शिक्षकलाई उपनियम (१) बमोजिम बढुवा गर्न सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्नु पर्नेछ ।

(२ग)उपनियम (२ख) बमोजिम आयोगबाट सिफारिस भई आएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले निवेदन दिने शिक्षकलाई अवकाश हुनुभन्दा एक महिना अघि सोही तहको एक तह माथिको श्रेणीमा बढुवा गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम बढुवा गर्दा स्वतः विशेष पद सिर्जना भएको मानिनेछ र त्यस्तो शिक्षकले सेवाबाट अवकाश पाएपछि सो बढुवा भएको पद स्वतः खारेज भई साविक पद कायम रहनेछ ।

(४) यस नियम बमोजिम बढुवा हुन कुनै शिक्षकले निवेदन नदिएको भए तापनि त्यस्तो शिक्षकसँग सम्बन्धित कागजातको आधारमा आयोगले बढुवाका लागि सिफारिस गरेको शिक्षकलाई शिक्षक किताबखानाले एक श्रेणी माथिको तलब रकमबाट हिसाब गरी निवृत्तिभरण निर्धारण गर्नु पर्नेछ ।

३९क. कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीका पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका शिक्षकले सेवा प्रवेश गर्दा निर्धारित ‍आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता सेवा प्रवेश हुनु भन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछः–

(क) प्राथमिक तृतीय श्रेणी –१० वर्ष

(ख) प्राथमिक द्वितीय वा निम्न माध्यमिक तृतीय श्रेणी – १२ वर्ष

(ग) निम्न माध्यमिक द्वितीय वा माध्यमिक तृतीय श्रेणी – १५ वर्ष

(घ) माध्यमिक द्वितीय श्रेणी – १८ वर्ष

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका द्वितीय र तृतीय श्रेणीका शिक्षकले एउटै श्रेणीको स्थायी पदमा क्रमशः १३, १५ र १८ वर्ष वा सो भन्दा बढी सेवा अवधि पूरा गरी सेवा प्रवेशका वखत निर्धारित विषयमा न्यूनतम
शैक्षिक योग्यता प्राप्त गरेको भए त्यस्तो शिक्षकलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक र देहायको अवस्थामा कुनै पनि शिक्षक बढुवा हुन सक्ने छैनः–

(क) नियम २७ को प्रतिबन्धात्मक वाक्यांशको अवस्थामा,

(ख) शिक्षकले नियम २८ को उपनियम (२) को खण्ड (घ) को उपखण्ड (४) बमोजिमको मूल्याङ्कन वा शैक्षिक सत्र २०६५ वा २०६६ को कार्य सम्पादन मूल्याङ्कनमध्ये कुनै एकमा कम्तीमा पचहत्तर प्रतिशत अङ्क प्राप्त नगरेको अवस्थामा ।

(४) उपनियम (१) वा (२) बमोजिम बढुवा गरिएको शिक्षकको अभिलेख आयोगले अद्यावधिक गरी सोको जानकारी शिक्षक किताबखानालाई समेत दिनु पर्नेछ ।

(५) यस नियम बमोजिम बढुवा भएको शिक्षक जुनसुकै कारणले सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा भएमा निजको पद सम्बन्धित तहको तृतीय श्रेणीमा कायम हुनेछ ।

(६) यस नियम बमोजिमको बढुवा एक पटकको लागि मात्र गरिनेछ र आयोगले बढुवा सम्बन्धी कार्य संवत् २०६८ साल चैत्र मसान्त मित्र सम्पन्न गर्नु पर्नेछ ।

(७) कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवाको दरखास्त आव्हान गर्ने, नतिजा प्रकाशन गर्ने प्रकृया र अवधि, बढुवा उपरको उजूरीको कार्यविधि सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।