परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

३. इजाजतपत्र प्राप्त नगरी वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न नहुने : यस ऐन बमोजिम इजाजतपत्र प्राप्त नगरी कसैले पनि तोकिएका वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न वा गराउन हुँदैन ।

४. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने : (१) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहने कम्पनीले इजाजतपत्र प्राप्त गर्नका लागि देहाय बमोजिमको कागजात वा विवरण खुलाई तोकिएको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ –
(क) कम्पनीको नाम,
(ख) कम्पनी दर्ताको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,
(ग) प्रचलित कानून बमोजिम मूल्य अभिबृद्धि करदर्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ) वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी विस्तृत कार्य योजना, लाभांश, कमिशन बाँडफाँट योजना,
(ङ) तोकिए बमोजिमका अन्य विवरण ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र माग गर्ने कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्नेछ ।

५. इजाजतपत्र प्रदान गर्न सक्ने : (१) विभागले दफा ४ बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात तथा विवरणको अध्ययन गर्दा त्यस्तो कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्रदान गर्न उपयुक्त देखिएमा निवेदन
प्राप्त भएको मितिले नब्बे दिनभित्र तोकिए बमोजिमको इजाजतपत्र दस्तुर र चुक्ता पूँजीको कम्तीमा पचास प्रतिशत नगद धरौटी वा सो बराबरको बैङ्क ग्यारेण्टी लिई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदनसाथ संलग्न कागजात तथा विवरण अध्ययन गर्दा निवेदकसँग थप कागजात वा विवरण माग गर्नुपर्ने वा पेश भएको कागजात वा विवरणका सम्बन्धमा थप स्पष्ट गर्नुपर्ने देखिएमा विभागले त्यस्तो कागजात वा विवरण माग गर्न वा
पेश भएको कागजात वा विवरणका सम्बन्धमा थप स्पष्ट गर्नको लागि अवधि तोकी आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा सम्बन्धित निवेदकले त्यस्तो आदेश बमोजिम तोकिएको अवधिभित्र विभागमा आवश्यक कागजात वा विवरण पेश गर्न वा पेश भएको कागजात वा विवरणमा थप स्पष्ट गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्दा विभागले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित शर्तका अतिरिक्त अन्य आवश्यक शर्त तोक्न सक्नेछ ।

६. इजाजतपत्र प्रदान नगरिने : (१) दफा ४ बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात तथा विवरण अध्ययन गर्दा इजाजतपत्र प्रदान गर्नु पर्ने मनासिब आधार र कारण नदेखेमा त्यस्तो निवेदकलाई इजाजतपत्र प्रदान गरिने छैन । विभागले त्यसरी इजाजतपत्र प्रदान नगर्नुको आधार र कारण सहितको लिखित जानकारी तीस दिनभित्र निवेदकलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विभागले गरेको निर्णयमा चित्त नबुझ्ने निवेदकले त्यस्तो निर्णयको जानकारी पाएको मितिले एक्काईस दिनभित्र मन्त्रालयमा पुनरावेदन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पुनरावेदन पर्न आएमा पुनरावेदन परेको पैँतीस दिनभित्र मन्त्रालयले निर्णय गर्नु पर्नेछ । मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ ।

 ७. चुक्ता पूँजी वृद्धि गर्न वा धरौटी थप गर्न आदेश दिन सक्ने : (१) दफा ४ र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्रवालाको चुक्ता पूँजी र इजाजतपत्र प्राप्त गर्दाको बखत राखेको धरौटी इजाजतपत्रवालाको कारोबारमा भएको वृद्धिको अनुपातमा कमी देखिन
आएमा विभागले आवश्यकता अनुसार त्यस्तो चुक्ता पूँजीमा वृद्धि गर्न वा थप धरौटी दाखिला गर्न इजाजतपत्रवालालाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा सम्बन्धित इजाजतपत्रवालाले विभागले दिएको आदेश बमोजिम तोकिएको समय सीमाभित्र कम्पनीको चुक्ता पूँजीमा वृद्धि गर्न वा थप धरौटी दाखिला गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम वृद्धि गर्नु पर्ने चुक्ता पूँजी र थप धरौटी रकम निर्धारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

८. इजाजतपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था : (१) यस ऐन बमोजिम प्रदान गरिएको इजाजतपत्र दुई वर्षसम्म बहाल रहनेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा साठी दिन अगावै इजाजतपत्रवालाले इजाजतपत्र नवीकरणका लागि तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिन सकिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन प्राप्त भएमा विभागले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दुई वर्षका लागि इजाजतपत्र नवीकरण गरी त्यसको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
(५) यस दफा बमोजिम इजाजतपत्र नवीकरण नभई अवधि समाप्त भएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ ।

९ . इजाजतपत्र रद्द गर्न सक्ने : (१) विभागले देहायको कुनै अवस्थामा यस ऐन बमोजिम प्रदान गरिएको इजाजतपत्र रद्द गर्न सक्नेछ –
(क) झुट्टा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेको देखिएमा,
(ख) दफा ७ बमोजिम विभागले दिएको आदेश बमोजिम तोकिएको अवधिभित्र चुक्ता पूँजी बृद्धि नगरेमा वा थप धरौटी दाखिला नगरेमा,
(ग) दफा ११ विपरीत हुने गरी व्यवसाय सञ्चालन गरेमा,
(घ) दफा १४ बमोजिम सम्झौता नगरी व्यवसाय सञ्चालन गरेमा,
(ङ) दफा २३ बमोजिम उपभोक्तालाई दिनु पर्ने क्षतिपूर्ति तोकिएको अवधिभित्र नदिएमा,
(च) दफा २४ बमोजिम तिर्नु पर्ने जरिबाना तीन महिनाभित्र नतिरेमा,
(छ) दुई वर्षको अवधिभित्र तेस्रो पटक दफा २४ बमोजिम जरिबाना हुने कार्य गरेमा,
(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै कार्य गरेमा ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि विभागले सम्बन्धित इजाजतपत्रवालालाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम इजाजतपत्र रद्द गर्ने विभागको निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो इजाजतपत्र रद्द गर्ने निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।

१०. स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्रवालाले आफ्नो कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण गर्न वा परिवर्तन गर्न चाहेमा त्यसको स्पष्ट आधार र कारण खुलाई स्वीकृतिका लागि विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले त्यस्तो कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण गर्न वा परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।

११. पिरामिडमा आधारित व्यवसाय गर्न नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले पनि पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न हुँदैन ।
स्पष्टीकरण – यस दफाको प्रयोजनको लागि “पिरामिडमा आधारित व्यवसाय” भन्नाले देहायको कुनै कार्यसँग सम्बन्धित व्यवसाय सम्झनु पर्छ :—
(क) वस्तु खरिद गर्नु पूर्व अनिवार्य रुपमा कुनै किसिमको सदस्यता लिनु पर्ने अवस्था भएको सञ्जालयुक्त कार्य,
(ख) एक वस्तु खरिद गर्दा अन्य वस्तु समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्र्ने सञ्जालयुक्त कार्य,
(ग) वस्तु खरिद गर्ने व्यक्तिले आफू मातहत अर्को प्रत्यक्ष बिक्रेता वा वितरक बनाउन नसकेको अवस्थामा आफूले भुक्तानी गरेको रकम वा लाभ बराबरको वस्तु प्राप्त गर्न नसक्ने स्थितिको सञ्जालयुक्त कार्य,
(घ) वस्तुको कारोबार नगरी केवल प्रत्यक्ष बिक्रेता वा वितरक बनाई शुल्क मात्र लिने गरी गरिने सञ्जालयुक्त कार्य,
(ङ) कम्पनीले वस्तु बिक्री गर्ने प्रयोजनको लागि व्यावसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिशनको प्रलोभन देखाई सदस्य बनाउने वा महङ्गो वस्तु खरिद गर्न लगाउने सञ्जालयुक्त कार्य,
(च) वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजना भएको सञ्जालयुक्त कार्य, वा
(छ) कुनै वस्तुलाई अप्रत्याशित लाभ हुने वा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोग निको हुने अलौकिक वस्तु हो भनी विश्वासमा पारी बिक्री वा वितरण गर्ने सञ्जालयुक्त कार्य ।