परिच्छेद– ४ विभागको काम, कर्तव्य र अधिकार

परिच्छेद– ४ विभागको काम, कर्तव्य र अधिकार

१९. विभागको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त विभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्रदान गर्ने,
(ख) इजाजतपत्रवालाको अनुगमन तथा निरीक्षण गर्ने,
(ग) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा उपभोक्ताको गुनासो सुन्ने र सम्बोधन गर्ने,
(घ) अनुचित व्यावसायिक क्रियाकलाप गर्ने इजाजतपत्रवालालाई कारबाही गर्ने,
(ङ) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको सम्बन्धमा सर्वसाधारणलाई विभिन्न माध्यमद्वारा जानकारी गराउने,
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

२०. निरीक्षण वा जा“चबुझ गराउनु पर्ने: (१) विभागले इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको कारोबारको नियमित रूपमा निरीक्षण वा जाँचबुझ गराउनु पर्नेछ ।
(२) कुनै इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले उपभोक्तालाई हानि, नोक्सानी हुने वा उपभोक्ताको हक हितमा प्रतिकूल असर पर्ने गरी कुनै अनुचित व्यापारिक क्रियाकलाप गरी एकाधिकार कायम गर्ने, उपभोग्य वस्तुको मूल्य वा आपूर्ति  व्यवस्थालाई प्रभावित पार्ने वा गुणस्तरहीन उपभोग्य वस्तुको उत्पादन वा बिक्री वितरण गरेको कारणबाट आफूलाई कुनै हानि, नोक्सानी भएको वा कुनै क्षति पुगेको भनी तोकिएको ढाँचामा विभागमा उजुरी दिएमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत
काम कारबाही भइरहेको वा हुन सक्ने मनासिब कारण भएमा विभागले जुनसुकै बखत निरीक्षण वा जा“चबुझ गर्न वा गराउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा उजुरीको व्यहोरा मनासिब देखिएमा वा कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही गरेको पाइएमा त्यस्तो इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई विभागले प्रचलित कानून बमोजिम आफै कारबाही गर्न वा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

२१. निरीक्षण अधिकृत तोक्न सक्ने : (१) दफा २० को प्रयोजनको लागि नेपाल सरकारले कुनै राजपत्राङ्कित कर्मचारीलाई निरीक्षण अधिकृतको रूपमा काम गर्न तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण अधिकृत तोक्दा निजको कार्यक्षेत्र समेत तोक्नु पर्नेछ ।

२२. निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार : (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले असुरक्षित, हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भइरहेको वा हुनसक्ने मनासिब कारण भएमा त्यस्तो काम कारबाहीको सम्बन्धमा आवश्यक निरीक्षण वा जाँचबुझ गर्ने,
(ख) खण्ड (क) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा कुनै हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भइरहेको पाएमा वा त्यस्तो काम कारबाही हुन सक्ने मनासिब आधार र कारण भएमा त्यस्तो वस्तु भण्डारण गरिएको स्थानमा खानतलासी गर्ने र त्यस्तो वस्तुको नमूना सङ्कलन गर्ने,
(ग) खण्ड (क) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा वा खण्ड (ख) बमोजिम खानतलासी गर्दा कुनै हानिकारक वा गुणस्तरहीन वस्तुको उत्पादन वा बिक्री वितरण भइरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही भइरहेको देखिएमा तोकिएको अवधिको लागि त्यस्तो उपभोग्य वस्तुको उत्पादन वा बिक्री वितरण गर्न रोक लगाउने,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम गरेको काम कारबाही सम्बन्धी प्रतिवेदन सात दिनभित्र विभागमा पेश गर्ने ।
(२) यस दफा बमोजिम निरीक्षण, जा“चबुझ वा खानतलासी गर्दाका बखत निरीक्षण अधिकृतले माग गरे बमोजिमको विवरण वा अभिलेख उपलब्ध गराउनु इजाजतपत्रवाला तथा प्रत्यक्ष बिक्रेता वा वितरककोे कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम निरीक्षण, जा“चबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि र निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२३. क्षतिपूर्ति भराई दिन सक्ने : (१) दफा २० बमोजिम गरेको निरीक्षण वा जाँचबुझबाट कुनै उपभोक्तालाई हानि, नोक्सानी भएको वा क्षति पुगेको देखिएमा विभागले त्यस्तो उपभोक्तालाई मनासिब रकम क्षतिपूर्ति भराइदिन सम्बन्धित इजाजतपत्रवाला, वस्तुको
प्रत्यक्ष बिक्रेता वा वितरकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश प्राप्त भएमा इजाजतपत्रवाला, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले त्यस्तो आदेश बमोजिमको रकम आदेश प्राप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित उपभोक्तालाई प्रदान गरी त्यसको जानकारी विभागलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र क्षतिपूर्तिको रकम उपलब्ध नगराएमा विभागले त्यस्तो इजाजतपत्रवालाले राखेको धरौटीबाट पीडित उपभोक्तालाई क्षतिपूर्तिको रकम प्रदान गर्नेछ ।

२४. जरिबाना गर्न सक्ने : (१) दफा १० बमोजिम स्वीकृति नलिई कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्ने इजाजतपत्रवालालाई विभागले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(२) दफा १२ बमोजिमको शर्त पालना नगर्ने इजाजतपत्रवालालाई विभागले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गर्ने वा विभागले दिएको आदेश वा निर्देशनको पालना नगर्ने इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई विभागले पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) कुनै इजाजतपत्रवालाले मनासिब माफिकको कारण बाहेक दफा ४५ बमोजिम तोकिएको अवधिभित्र पेश गर्नु पर्ने प्रतिवेदन पेश नगरेमा वा दफा ४९ बमोजिम दिनु पर्ने जानकारी नदिएमा त्यस्तो इजाजतपत्रवालालाई विभागले प्रतिदिन एकसय रुपैयाँका दरले बढीमा दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(५) दफा ३१ को खण्ड (ख) र (ग) बमोजिम दिएको निर्देशन वा आदेश पालना नगरेमा त्यस्तो इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई अनुगमन समितिले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(६) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्ने स्थानमा निरीक्षण गर्दा वस्तुको मूल्य, गुणस्तर र परिमाणमा हेरफेर गरेको वा मूल्यसूची नराखेको पाएमा त्यस्तो इजाजतपत्रवाला, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई निरीक्षण अधिकृतले अवस्था हेरी पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । त्यस्तो कार्य पुनः दोहोर्याएमा पटकैपिच्छे दोब्बर जरिबाना गर्न सक्नेछ ।

२५. निलम्बन गर्न सक्ने : (१) दफा २० बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा कुनै इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको गम्भीर उल्लङ्घन गरेको वा उपभोक्ताको हक हितमा गम्भीर असर पुग्ने कार्य गरेको भनी निरीक्षण अधिकृतले कानूनी कारबाहीका लागि विभागमा सिफारिस गरेमा विभागले त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र तोकिएको अवधिसम्मको लागि निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३९ बमोजिम मुद्दा दायर भएमा त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र स्वतः निलम्बन हुनेछ ।
(३) उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन गरिएको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम इजाजतपत्रनिलम्बन भएको अवधिभर त्यस्तो इजाजतपत्रवालाले यस ऐन बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न पाउने छैन ।

२६. पुनरावेदन दिन सक्नेः (१) विभागबाट दफा २३ बमोजिम क्षतिपूर्ति भराइदिने गरी भएको आदेश, दफा २४ को उपदफा (१), (२), (३) र (४) बमोजिम भएको जरिबाना वा दफा २५ को उपदफा (१) बमोजिम गरेको निलम्बन उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको  जानकारी पाएको पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
(२) दफा २४ को उपदफा (५) र (६) बमोजिम गरेको जरिबाना उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।