परिच्छेद–२४ विविध

परिच्छेद–२४ विविध

२६६. क्षतिपूर्ति निर्धारण गर्नु पर्नेः (१) कानून बमोजिम क्षतिपूर्ति पाउन सक्ने मुद्दामा सम्बन्धित व्यक्तिले क्षतिपूर्तिको दाबी गरेको रहेछ भने अदालतले मुद्दाको निर्णय गर्दा क्षतिपूर्ति निर्धारण गर्नु पर्नेछ ।

(२) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम क्षतिपूर्ति निर्धारण गर्दा देहायका कुराहरू विचार गर्नु पर्नेछः–

(क) क्षति बापत भएको वास्तविक हानि, नोक्सानी (एक्चुयल लस),

(ख) क्षति भएको कारणबाट आयमा भएको हानि, नोक्सानी (लस इन इनकम),

(ग) क्षति भएको कारणबाट व्यहोर्नु परेको थप हानि, नोक्सानी ।

(३) उपदफा (१) बमोजिम क्षतिपूर्ति निर्धारण गर्दा कसैको हक वा हित उल्लघंन भएको कारणबाट भएको वास्तविक क्षति वा सोको कारणबाट भएको वा हुन सक्ने वास्तविक क्षतिको यकिन गरी त्यसको आधारमा मात्र क्षतिपूर्ति निर्धारण गरिनेछ र काल्पनिक विषयमा क्षतिपूर्ति निर्धारण हुन सक्ने छैन ।

२६७. नाबालक, अशक्त तथा वेपत्ता भएको व्यक्तिको तर्फबाट मुद्दा गर्न सक्नेः (१) कानून बमोजिम उमेर नपुगेको नाबालक, उमेर पुगेको भएपनि वृद्धावस्थाको कारणले अशक्त भएको, दृष्टिविहीन, बोल्न नसक्ने, होस ठेगानमा नरहेको वा वेपत्ता भएको व्यक्ति वा निज आफैँले नसकेको अवस्थामा त्यस्तो व्यक्तिको तर्फबाट संरक्षक वा माथवरले फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र दिन सक्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “वेपत्ता भएको व्यक्ति” भन्नाले कुनै व्यक्ति बिना सूचना लगातार तीन वर्षदेखि घर छाडी हिडेको वा विदेशमा गई फर्की आउने ठेगान नभएको व्यक्ति सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिम संरक्षक वा माथवरले त्यस्ता व्यक्तिका तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र दिने सम्बन्धमा अनुमतिको लागि अदालत समक्ष छुट्टै निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा अदालतले निवेदनमा उल्लिखित व्यक्ति नाबालक, उमेर पुगेको भएपनि वृद्धावस्थाको कारणले अशक्त भएको, दृष्टिविहीन तथा बोल्न नसक्ने, होस ठेगानमा नरहेकोे वा वेपत्ता भए वा नभएको यकिन गर्न पहिले त्यसको प्रमाण बुझ्नु पर्छ र त्यसरी बुझ्दा निवेदकको व्यहोरा मनासिब देखिएमा वारिस अख्तियारनामा नभए पनि संरक्षक वा माथवरले सो व्यक्तिको तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र र निवेदनपत्र दिन सक्ने गरी अनुमति प्रदान गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम अनुमतिको लागि निवेदन परेको सात दिनभित्र निवेदनमा निर्णय गर्नु पर्नेछ ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि वेपत्ता भएको व्यक्तिको तर्फबाट फिरादपत्र, प्रतिउतरपत्र, पुनरावेदनपत्र वा निवेदन दिने सम्बन्धमा अदालतले अनुमतिको लागि निवेदन परेको पन्ध्र दिनभित्र निर्णय गर्नु पर्नेछ ।

२६८. सुनुवाई खुला इजलासमा गर्नु पर्नेः (१) अदालतले मुद्दाको सुनुवाई खुला इजलासमा गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पारिवारिक सम्बन्ध, नाता कायम, विवाह वा सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा बन्द इजलासबाट सुनुवाई हुनु पर्ने कारण खुलाई मुद्दाको पक्षले दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा वा अदालतले बन्द इजलासबाट नै कुनै मुद्दाको सुनुवाई हुन मनासिब देखेमा अदालतले त्यस्तो मुद्दा बन्द इजलासमा सुनुवाई गर्न आदेश दिनेछ ।

(३) उपदफा (२) बमोजिम बन्द इजलासबाट सुनुवाई गर्ने आदेश भएकोमा त्यस्तो इजलासमा मुद्दाका पक्ष वा निजको वारिस, पक्षबाट नियुक्त भएका कानून व्यवसायी, न्यायाधीशले आदेश दिएका व्यक्ति वा कर्मचारी बाहेक अन्य व्यक्तिको प्रवेश निषेध गरिनेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सुरक्षाको कारणले कुनै व्यक्तिलाई इजलासमा प्रवेश गर्न रोक लगाउन मनासिब देखेमा अदालतले त्यस्तो व्यक्तिलाई इजलासमा प्रवेश गर्न रोक लगाउन सक्नेछ ।

२६९. पक्षलाई रोहबरमा राख्नु पर्नेः मुद्दाको सुनुवाई गर्दा वा निर्णय गर्नु पर्ने विषय ठहर गर्दा पक्षहरूलाई रोहबरमा राख्नु पर्नेछ ।
तर मुद्दा सुनुवाईका लागि तोकिएको तारिखका दिन कुनै पक्ष उपस्थित नभएमा पनि मुद्दाको निर्णय गरी ठहर गर्न बाधा पुगेको मानिने छैन ।

२७०. मुद्दा हेर्दाको प्राथमिकता क्रमः (१) अदालतले मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा देहायका प्राथमिकता क्रम अनुसार गर्नु पर्नेछः–

(क) अपाङ्गता भएका व्यक्ति तथा नाबालक पक्ष भएको मुद्दा,

(ख) शारीरिक अशक्तता भएका वा पचहत्तर वर्षभन्दा बढी उमेरका व्यक्ति पक्ष भएको मुद्दा,

(ग) न्वारान वा नाता कायम सम्बन्धी मुद्दा,

(घ) माना चामल सम्बन्धी मुद्दा,

(ङ) सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा,

(च) मुद्दाको दर्ताक्रमले पहिले दर्ता भएको मुद्दा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै क्रममा एकभन्दा बढी प्रकृतिका मुद्दा भएमा पहिले दर्ता भएको मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले मुद्दाको गम्भीरता र औचित्य हेरी कुनै मुद्दालाई प्राथमिकता दिई कारबाही, सुनुवाई र किनारा गर्न सक्नेछ ।

२७१. स्वार्थ बाझिएको मुद्दा हेर्न नहुनेः (१) न्यायाधीशले देहायका मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न हुँदैनः–

(क) आफ्नो वा आफ्नो नजिकको नातेदारको हक, हित वा सरोकार रहेको मुद्दा,
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले अपुताली खुला हुँदा कानून बमोजिम अपुताली प्राप्त गर्न सक्ने प्राथमिकताक्रममा रहेको व्यक्ति, मामा, माइजू, सानी आमा, ठूलीआमा, सानो बाबु, ठूलो बाबु, पति वा पत्नी तर्फका सासू, ससुरा, फुपू, फुपाजु, साला, जेठान, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइँ, छोरी ज्वाइँ, भाञ्जा, भाञ्जी, भाञ्जी ज्वाइँ, भाञ्जी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको परिवारको सदस्य सम्झनु पर्छ ।

(ख) कुनै बखत निज वारिस, कानून व्यवसायी वा साक्षी भएको मुद्दा,

(ग) निजले न्यायाधीशको हैसियतमा कुनै अदालतमा निर्णय गरेको वा अन्तिम आदेश गरेको मुद्दा,

(घ) कुनै बखत निजले मुद्दा चल्ने वा नचल्ने विषयमा राय दिएको मुद्दा,

(ङ) अन्य कुनै कारणले आधारभूत रूपमा निज र निजको एकासगोलका परिवारका सदस्यको स्वार्थ बाझिएको वा खण्ड (क) बमोजिमका व्यक्तिको स्वार्थ बाझिएको मुद्दा ।

(२) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएमा मुद्दा हेर्ने न्यायाधीशले मुद्दा हेर्न नहुने कारण खुलाई आदेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) को प्रतिकूल हुने गरी कुनै न्यायाधीशले कुनै मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्न लागेमा मुद्दाको कुनै पक्षले आवश्यक प्रमाण सहित मुद्दाको कारबाही, सुनुवाई वा किनारा नगर्न निवेदन दिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको निवेदन प्राप्त भएमा मुद्दा हेर्ने न्यायाधीशले मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्नु अघि त्यस्तो निवेदन बमोजिमको माग दाबी मनासिब भए वा नभएको यकिन गरी मुद्दा हेर्न नहुने भएमा सोही बमोजिम आदेश गर्नु पर्नेछ ।

(५) उपदफा (२) वा (४) बमोजिम आदेश भएकोमा त्यस्तो मुद्दा सोही अदालतको अर्को न्यायाधीश भए निजले र त्यस्तो न्यायाधीश नभए सोको कारण खुलाई मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नको लागि मुद्दाको मिसिल सबैभन्दा नजिकको समानस्तरको अदालतमा पठाई पक्षहरूलाई समेत सोही अदालतमा तारिख तोकी पठाईदिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम मिसिल प्राप्त भएमा त्यस्तो अदालतले पनि आफ्नो अधिकारक्षेत्रभित्रको मुद्दा नभएपनि त्यस्तो मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

२७२. न्यायाधीश आफैले गर्नु पर्ने कामहरूः (१) यस संहिता बमोजिम अदालतले गर्ने कामहरूमध्ये देहायका कामहरू न्यायाधीश आफैले गर्नु पर्नेछः–
(क) पक्षको बयान लिने,

(ख) साक्षीलाई शपथ गराउने,

(ग) साक्षीको बकपत्र गराउने,

(घ) अन्तरकालीन वा अन्तरिम आदेश गर्ने,

(ङ) मुद्दामा निर्णय दिनु पर्ने कुराहरूको आदेश पर्चा खडा गर्ने,

(च) प्रमाण बुझ्ने सम्बन्धी आदेश दिने,

(छ) मुद्दाको प्रारम्भिक र पूर्वसुनुवाई छलफल गराउने,

(ज) सुनुवाई गर्ने,

(झ) मिलापत्र गराउने,

(ञ) फैसला गर्ने वा कुनै किसिमको अन्तिम आदेश दिने ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बयान वा बकपत्रको अभिलेखनको प्रयोजनको लागि न्यायाधीशले अदालतमा उपलब्ध भएसम्म कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीसम्मको र नभए राजपत्र अनङ्कित द्वितीय श्रेणीसम्मको कर्मचारीको सहयोग लिन सक्नेछ ।

२७३. लिखत अनुवाद गर्नु पर्नेः (१) नेपाली भाषा बाहेक अन्य कुनै भाषामा लेखिएको कुनै लिखत अदालतमा प्रमाणको रूपमा पेश भएमा र त्यस्तो लिखत नेपाली भाषामा अनुवाद गर्नु पर्ने देखिएमा अदालतले त्यस्तो लिखत पेश गर्ने पक्षलाई त्यस्तो लिखतको नेपाली भाषामा अनुवाद गरी पेश गर्ने आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अदालतबाट आदेश भएमा सम्बन्धित पक्षले त्यस्तो लिखत नेपाली भाषामा अनुवाद गराई सोको प्रमाणित प्रति अदालतमा पेश गर्नु पर्नेछ ।

२७४. अनुवादकको सहयोग लिन सक्नेः (१) अदालतले नेपाली भाषा नबुझ्ने कुनै पक्ष वा साक्षीको बयान वा बकपत्र गराउनु परेमा वा अन्य कुनै प्रयोजनको लागि सम्बन्धित भाषाको अनुवादकको सहयोग लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बयान वा बकपत्रको लागि अनुवादकको सहयोग लिँदा भएको खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्नेछ ।

२७५. मुद्दाका पक्षसँग जहिलेसुकै सोध्न सक्नेः (१) न्यायाधीशले मुद्दाको फैसला हुनुअघि मुद्दाको पक्षसँग मुद्दाको कुनै विषयमा जहिलेसुकै पनि आदेश दिई सोध्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सोधी सम्बन्धित मुद्दाका पक्षले दिएको जवाफ मिसिलमा संलग्न गर्नु पर्नेछ ।

२७६. पक्ष वा साक्षीको परिचय गोप्य राख्न सक्नेः (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पक्ष वा साक्षीको परिचय सार्वजनिक गर्दा त्यस्तो पक्ष वा साक्षीको सामाजिक प्रतिष्ठा वा इज्जत उपर प्रतिकूल प्रभाव पर्न सक्ने वा निज उपर कुनै पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा निजको जीउ, ज्यानको सुरक्षामा प्रतिकूल हुन सक्ने देखिएमा त्यस्तो पक्ष वा साक्षीको नाम, थर, वतन वा निजको बाबु आमाको नाम वा निजको परिचय हुन सक्ने अन्य कुनै हुलिया गोप्य राख्न सम्बन्धित पक्षले अदालतलाई अनुरोध गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुरोध भएकोमा अदालतले त्यस्तो पक्ष वा साक्षीको नाम, थर, वतन, निजको बाबु आमाको नाम वा निजको परिचय गोप्य राख्ने गरी आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम गोप्य राखिएको व्यक्तिको नाम, थर, वतन वा निजको बाबु आमाको नाम वा निजको परिचय सम्बन्धित मुद्दाको सुनुवाईका बखत वा सो सम्बन्धी विवरण प्रकाशन गर्दाका बखत अदालतको आदेश बमोजिम छद्म नाम, थर, वतन वा परिचय राखी प्रकाशन गर्नु पर्नेछ ।

२७७. रोहबरमा बस्न तथा सहीछाप गर्न सहयोग गर्नु पर्नेः (१) यस संहिता बमोजिम कुनै काम कारबाहीको सिलसिलामा रोहबरमा बस्नु पर्ने व्यक्तिले रोहबरमा वसी वा अदालतबाट तयार गरिएको लिखतमा सहीछाप गर्नु पर्ने व्यक्तिले सहीछाप गरी अदालतलाई सहयोग गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम रोहबरमा बस्न वा कुनै लिखतमा सहीछाप गर्न कुनै व्यक्तिले इन्कार गरेमा र त्यस्तो इन्कारीको परिणाम सम्झाई बुझाई गर्दा पनि रोहबरमा बस्न वा लिखतमा सहीछाप गर्न इन्कार गरेमा त्यस्तो काम वा लिखत गराउने कर्मचारीले सोही व्यहोरा समेत उल्लेख गरी सम्बन्धित लिखतमा रोहबरमा नबसेको वा सहीछाप नगरेको कारण खुलाई कैफियत जनाई उपस्थित भएका अन्य दुई व्यक्तिको सहीछाप गराई आफूले पनि त्यसमा सहीछाप गरी लिखत तयार गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम तयार गरिएको लिखतलाई कानून बमोजिम रीत पुगेको मानिनेछ ।

(४) यस दफा बमोजिम अदालतको काममा अवरोध गर्ने वा असहयोग गर्ने व्यक्तिलाई अदालतले पांँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

२७८. असल नियतले गरेकोमा बचाउः यो संहिता वा यस संहिता अन्तर्गत बनेको नियम बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा न्यायाधीश वा अन्य कुनै कर्मचारीलाई कुनै कारबाही हुने छैन ।

२७९. मुद्रण वा गणितीय त्रुटिले असर नगर्नेः (१) मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा यस संहिता बमोजिमको कार्यविधि अवलम्बन गर्ने सम्बन्धमा कुनै किसिमका साना तिना त्रुटि वा छुट भएकोमा वा कुनै लिखत तयार गर्दा लेखाई, छपाई वा मुद्रणमा गणितीय वा अन्य कुनै साना तिना त्रुटि वा छुट हुन गएको कारणले मात्र त्यससँग सम्बन्धित सम्पूर्ण काम, कारबाही गैरकानूनी भएको मानिने छैन ।

(२) उपदफा (१) बमोजिम मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा वा लिखत तयार गर्दा लेखाई, छपाई वा मुद्रणमा गणितीय वा अन्य सानातिना त्रुटि वा छुट हुन गएमा न्यायाधीशले इन्साफमा फरक नपर्ने गरी कारण सहितको छुट्टै पर्चा खडा गरी त्यस्तो भुल वा त्रुटि सच्याउन सक्नेछ ।

२८०. भरपाई लिनु वा दिनु पर्नेः (१) अदालतमा दाखिल भएको कुनै सक्कल लिखत कुनै व्यक्तिलाई फिर्ता दिँदा वा अदालतबाट कुनै सक्कल लिखत कुनै व्यक्तिलाई बुझाउंदा त्यस्तो लिखत फिर्ता लिएको वा बुझाएको व्यहोराको भरपाई वा निस्सा लिई मिसिल सामेल राख्नु पर्नेछ ।

(२) अदालतमा कुनै व्यक्तिले पेश गरेको कुनै सक्कल लिखत अदालतले बुझी लिँदा लिखतमा कुनै केरमेट भएको र लेखिएको भए त्यस्तो यथार्थ समेत खुलाई लिखत पेश गर्ने व्यक्तिलाई त्यसको भरपाई दिनु पर्नेछ ।

२८१. निवेदन दस्तुरः यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतमा कुनै निवेदनपत्र दिँदा दश रुपैयाँ दस्तुर लाग्नेछ ।

२८२. म्याद वा सूचना प्रकाशनः यस संहिता बमोजिम अदालतबाट कुनै म्याद वा सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्दा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट प्रकाशन हुने राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा सर्वाेच्च अदालतले निर्धारण गरेको दिन प्रकाशन गर्नु पर्नेछ ।

२८३. विभागीय कारबाही गर्न आदेश दिनेः (१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक यस संहिता बमोजिमको कार्य सम्पादन गर्नु पर्ने दायित्व भएको कुनै कर्मचारीले यस संहितामा निर्धारण भएको अवधिभित्र कुनै कार्य सम्पादन नगरेमा मर्का पर्ने पक्षले निजको विरुद्धमा सम्बन्धित अदालतको न्यायाधीश समक्ष उजुरी दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको उजुरी परेकोमा त्यस्ता कर्मचारीलाई बुझ्दा मनासिब कारण बिना निजले गर्नु पर्ने काम समयमै सम्पादन गरेको नदेखिएमा न्यायाधीशले निजलाई विभागीय कारबाही गर्न आदेश दिन सक्नेछ ।

२८४. लिखतहरूको पञ्जिकाः प्रत्येक मुद्दामा अनुसूची–२९ बमोजिमको ढांँचामा पञ्जिका तयार गरी दर्ता मितिको क्रमले लिखतहरूको क्रमसङ्ख्या र विवरण जनाई राख्नु पर्नेछ ।

२८५. लिखत धुल्याउनु पर्नेः (१) अदालतले मुद्दाको अन्तिम निर्णय भएको पांँच वर्षपछि सो मुद्दाको मिसिलमा रहेको देहायका लिखतहरू बाहेक अन्य लिखतहरू धुल्याउनु पर्नेछः–

(क) फिरादपत्र,

(ख) बयान,

(ग) प्रतिउत्तरपत्र वा प्रतिदाबी,

(घ) पक्षको नाममा जारी भएको म्याद,

(ङ) मुद्दासँग सम्बन्धित नक्सा,

(च) सक्कल प्रमाण कागज,

(छ) मिलापत्रको कागजात,

(ज) पुनरावेदनपत्र,

(झ) मुद्दा दोहोर्याउने वा पुनरावलोकनको लागि दिइएको निवेदनपत्र,

(ञ) अदालतबाट भएको फैसला, निर्णय, अन्तिम आदेश,

(ट) कानून बमोजिम संरक्षण गर्न आवश्यक देखिएका अन्य लिखत ।

(२) उपदफा (१) बमोजिम कागज धुल्याउनुअघि श्रेस्तेदारले धुल्याउनु पर्ने कागजातको फेहरिस्त तयार गरी त्यस्तो फेहरिस्तमा आफ्नो सहीछाप गरी राख्नु पर्नेछ ।

२८६. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेः सर्वोच्च अदालतले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

२८७. बाधा अड्काउ फुकाउने अधिकारः यस संहिताको कार्यान्वयन गर्दा अदालती कार्यविधिका सम्बन्धमा कुनै बाधा अड्चन परेमा सर्वोच्च अदालतको पूर्ण बैठकले त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।

२८८. नियम बनाउने अधिकारः यस संहिताको कार्यान्वयनको लागि अदालती कार्यविधिका सम्बन्धमा सर्वोच्च अदालतले आवश्यक नियम बनाउन सक्नेछ ।

२८९. निर्देशिका बनाउन सकिनेः यस संहिताको कार्यान्वयनको लागि यो संहितार यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सर्वोच्च अदालतले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।