परिच्छेद–९ विविध

परिच्छेद–९ विविध

४३. इजाजतपत्रवालाको वर्गीकरण : विभागले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य  गर्ने इजाजतपत्रवालाको तोकिए बमोजिम वर्गीकरण गर्न सक्नेछ ।

४४. सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था : इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय गर्नु पूर्व तोकिए बमोजिमको सामाजिक सुरक्षा सम्बन्धी मापदण्ड पूरा गर्नु पर्नेछ ।

४५. अभिलेख र प्रतिवेदन सम्बन्धी व्यवस्था : (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबार तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक लगायतको विवरणको अभिलेख तोकिए बमोजिमको ढाँचामा राख्नु पर्नेछ । त्यस्तो अभिलेख निरीक्षण अधिकृत वा विभागले जुनसुकै बखत निरीक्षण गर्न, झिकाउन वा जा“च्न सक्नेछ ।
(२) इजाजतपत्रवालाले प्रत्येक तीन महिनामा आफ्नो कारोबारको विवरण सहितको प्रतिवेदन तोकिएको ढाँचामा विभागमा पेश गर्नु पर्नेछ।
(३) इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन तयार गरी विभागमा पेश गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम अभिलेख राख्ने र प्रतिवेदन सम्बन्धी गर्ने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४६. विवरण दर्ता गर्नु पर्ने : विभागले यस ऐन बमोजिम इजाजतपत्रवालाबाट समयसमयमा प्राप्त विवरण अद्यावधिक गरी तोकिए बमोजिमको ढाँचामा दर्ता गरी अभिलेख राख्नु पर्नेछ ।

४७. विवरण परिवर्तन गर्न सक्ने : (१) कसैले इजाजतपत्रमा उल्लिखित कुनै सामान्य विवरण परिवर्तन गर्न चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “सामान्य विवरण” भन्नाले कम्पनी वा सञ्चालकको नाम, ठेगाना, सम्पर्क नम्बर जस्ता कुरालाई जनाउँछ ।
(२) उपदफा (१) बमोजिम विवरण परिवर्तन सम्बन्धमा दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले निवेदन बमोजिमको विवरण परिवर्तन गर्न सक्नेछ ।

४८. विवरण सार्वजनिक गर्नुपर्ने : (१)विभागले समयसमयमा इजाजतपत्रवालाको नाम, ठेगाना, टेलिफोन नम्बर, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरक नियुक्ति गरेको वा शाखा खोलेको भए त्यसको विवरण र इजाजतपत्रको अवधि समेतको विवरण अद्यावधिक गरी कम्तीमा
राष्ट्रियस्तरको दैनिक पत्रिका वा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नु पर्नेछ ।
(२)उपदफा (१) बमोजिम विवरण सार्वजनिक गर्दा कुनै इजाजतपत्रवाला उपर यस ऐन बमोजिमको कसूरमा अनुसन्धान वा कारबाही भइरहेको वा कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएको भए त्यस्तो व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।

४९. व्यवसाय बन्द गरेमा जानकारी दिनु पर्ने: इजाजतपत्रवालाले आफ्नो व्यवसाय बन्द गरेमा व्यवसाय बन्द गरेको पैँतीस दिनभित्र विभागलाई जानकारी दिनु पर्नेछ ।

५०. पुन: इजाजतपत्र जारी नगरिने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द भएमा पुनः सोही कम्पनी वा सोही सञ्चालकको नाममा इजाजतपत्र जारी गरिने छैन ।

५१. इजाजतपत्रको प्रतिलिपि दिन सक्ने : इजाजतपत्र हराएमा, कुनै दैवी प्रकोप परी नासिएमा, पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ठाउँ समाप्त भएको कारण देखाई कुनै इजाजतपत्रवालाले प्रतिलिपि माग गरेमा विभागले तोकिए बमोजिमको दस्तुर लिई त्यस्तो  इजाजतपत्रको प्रतिलिपि दिन सक्नेछ ।

५२. धरौटी फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा : (१) यस ऐन बमोजिम कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द भएमा वा त्यस्तो कम्पनीले इजाजतपत्र बमोजिमको व्यवसाय नगर्ने भएमा त्यस्तो इजाजतपत्रवालाले इजाजतपत्र लिँदा राखेको धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी
फुकुवा गरिदिन विभागमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा इजाजतपत्रवालाले नेपाल सरकार वा अरु कसैलाई कुनै रकम तिर्न बुझाउन बाँकी रहे नरहेको व्यहोरा समेत खुलाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले त्यस्तो धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टी फुकुवा गर्नु अघि विभागले त्यस्तो इजाजतपत्रवाला वा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकबाट कसैले कुनै रकम लिन बाँकी भए सबुद प्रमाण सहित दाबी गर्न आउनु भनी तीस दिनको म्याद दिई राष्ट्रियस्तरको
दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्रकाशित सूचनामा तोकिएको म्यादभित्र कसैको दाबी परी त्यस्तो दाबी उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा वा इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको लागि कसैबाट कुनै रकम लिएको तर वस्तु उपलब्ध नगराएको व्यहोरा प्रमाणित भएमा विभागले त्यस्तो रकम सम्बन्धित व्यक्तिलाई पन्ध्र दिनभित्र फिर्ता गर्न सम्बन्धित इजाजतपत्रवालालाई आदेश दिनेछ ।
(६) उपदफा (५) बमोजिम विभागले दिएको आदेश अनुसार इजाजतपत्रवालाले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्ने रकम फिर्ता नगरेमा त्यस्तो रकम विभागले इजाजतपत्रवालाले राखेको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गरी सम्बन्धित
व्यक्तिलाई भराई दिनु पर्नेछ ।
(७) उपदफा (४) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र कसैको दावी नपरेमा, दावी परी उपदफा (५) बमोजिम त्यस्तो रकम इजाजतपत्रवालाले फिर्ता गरेको प्रमाण प्राप्त भएमा वा उपदफा (६) बमोजिम सम्बन्धित व्यक्तिलाई भराई दिएपछि विभागले बाँकी रहेको धरौटी रकम फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवा गरी दिनु पर्नेछ ।
(८) उपदफा (६) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टीबाट रकम फिर्ता दिन नपुग भएमा त्यस्तो नपुग भए जति रकम इजाजतपत्रवालाको सञ्चालकबाट प्रचलित कानून बमोजिम भराई दिन सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(९) उपदफा (४) बमोजिम सूचना प्रकाशन गर्दा लाग्न गएको खर्च सम्बन्धित इजाजतपत्रवालाको बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा गर्नु पर्नेछ ।

५३. निर्देशन दिन सक्ने : (१) विभागले समय समयमा इजाजतपत्रवालालाई वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबारको सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विभागले दिएको निर्देशन पालना गर्नु सम्बन्धित सबै इजाजतपत्रवालाको कर्तव्य हुनेछ ।

५४. प्रतिवेदन पेश गर्नु पर्ने : विभागले यस ऐन बमोजिम आफूले गरेको काम कारबाहीको चौमासिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

५५. कालो सूचीमा राख्न सक्ने : यस ऐन बमोजिम इजाजतपत्र लिनको लागि कुनै कम्पनीले पेश गरेको कागजात वा विवरण झुट्टा ठहरिएमा विभागले त्यस्तो कम्पनीलाई तोकिए बमोजिम कालो सूचीमा राख्न र आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी
पठाउन सक्नेछ ।

५६. अधिकार प्रत्यायोजन : मन्त्रालय वा विभागले यस ऐन बमोजिम आफूलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार नेपाल सरकारको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

५७. नियम बनाउने अधिकार : यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

५८. निर्देशिका बनाई लागू गर्ने : (१) विभागले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।