परिच्छेद – २ कसूरको सूचना तथा अनुसन्धान सम्बन्धी व्यवस्था

परिच्छेद – २ कसूरको सूचना तथा अनुसन्धान सम्बन्धी व्यवस्था

४. कसूरको जाहेरी दरखास्त वा सूचना दिनु पर्नेः (१) अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची–५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको जाहेरी दरखास्त वा सूचना दिने ब्यक्तिले त्यस्तो सूचना लिखित रुपमा नदिएमा वा निजले दिएको जाहेरी दरखास्त अनुसूची–५ बमोजिमको ढाँचा अनुरुप नभएमा निजले दिएको सूचनाका सबै कुराहरु सम्बन्धित प्रहरी कर्मचारीले अनुसूची–५ बमोजिमको ढाँचामा खुलाई निजलाई सो पढी वाची सुनाई निजको सहीछाप समेत गराई राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको जाहेरी दरखास्त वा सूचना कुनै ब्यक्तिले सम्बन्धित प्रहरी कार्यालयमा आफै उपस्थित भई दिएमा वा हुलाक वा कुनै व्यक्ति मार्फत् पठाएमा वा विद्युतीय माध्यमबाट सूचना दिएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गरी निजलाई अनुसूची–६ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ । कसैले विद्युतीय माध्यमबाट सूचना दिएकोमा सोही माध्यमबाट त्यस्तो सूचना पाएको जानकारी गराउनु पर्नेछ ।

(३क) उपदफा (१) बमोजिम हुलाक वा विद्युतीय माध्यमबाट प्राप्त हुन आएको सूचनाको विश्वसनीयता यकिन गर्नु पर्ने भएमा त्यस्तो सूचना दिने व्यक्तिलाई झिकाई प्रहरी कार्यालयले सनाखत गराउन  सक्नेछ ।

(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको कुराको सूचना वा जानकारी प्रहरीले अन्य कुनै स्रोतबाट वा आफैँले प्राप्त गरेमा सो सम्बन्धमा अनुसूची–५ मा उल्लिखित विवरण सहितको प्रतिवेदन खडा गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिमको जाहेरी दरखास्त, सूचना वा उपदफा (४) बमोजिमको प्रतिवेदनलाई प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालय वा अधिकारीले अनुसूची–७ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी राख्नु पर्नेछ ।

(६) उपदफा (१) बमोजिम प्राप्त जाहेरी दरखास्त वा सूचनाको सम्बन्धमा कानूनद्वारा छुट्टै अनुसन्धान गर्ने अधिकारी तोकिएकोमा त्यस्तो अधिकारी समक्ष र छुट्टै अनुसन्धान गर्ने अधिकारी नभएकोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय समक्ष पठाउनु पर्नेछ ।

(७) अनुसूची–२ मा उल्लिखित कुनै कसूर सम्बन्धी सूचना दिन चाहने ब्यक्तिले अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारी समक्ष अनुसूची–५ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम प्राप्त सूचना सम्बन्धित कार्यालय वा अधिकारीले दर्ता गरी त्यस्तो सूचना दिने ब्यक्तिलाई अनुसूची–६ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।

(९) उपदफा (७) बमोजिमको सूचना सम्बन्धित कार्यालय वा अधिकारी समक्ष दर्ता गर्न तत्काल सम्भव नभएमा त्यस्तो सूचना नजिकको प्रहरी कार्यालयमा पनि दिन सकिनेछ ।

(१०) उपदफा (९) बमोजिम कुनै सूचना प्राप्त हुन आएमा सम्बन्धित प्रहरी कार्यालयले पनि त्यस्तो सूचना उपदफा (३) बमोजिम दर्ता गरी तीन दिनभित्र कारबाहीका लागि सम्बन्धित कार्यालय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।

५. जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा उजुर गर्न सक्नेः (१) दफा ४ को उपदफा (१) बमोजिम दिएको जाहेरी दरखास्त वा सूचना सम्बन्धित प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेमा जाहेरी दरखास्त वा सूचना गर्ने ब्यक्तिले त्यस्तो व्यहोरा खुलाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्नु पर्ने प्रहरी कार्यालयभन्दा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचना सहित उजुर गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त हुन आएको जाहेरी दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा (३) बमोजिम दर्ता गरी कारबाही गर्नु पर्नेछ ।

(४) दफा ४ को उपदफा (७) बमोजिमको सूचना दर्ता गर्न त्यस उपदफामा उल्लिखित कार्यालय वा अधिकारीले इन्कार गरेमा त्यस्तो सूचना दिने ब्यक्तिले सोही व्यहोरा खुलाई कसूरको सूचना सहित सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष उजुर दिन सक्नेछ ।

तर प्रमुख जिल्ला अधिकारी नै अनुसन्धान अधिकारी तोकिएको रहेछ र निजले त्यस्तो सूचना दर्ता गर्न इन्कार गरेमा गृह मन्त्रालयमा त्यस्तो उजुर दिन सकिनेछ ।

(५) उपदफा (४) बमोजिम उजुर प्राप्त भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा गृह मन्त्रालयले तीन दिनभित्र सूचना दर्ता गर्ने वा नगर्ने निर्णय गरी सम्बन्धित कार्यालयलाई सो बमोजिम गर्न वा गराउन निर्देशन दिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिमको निर्देशन प्राप्त भएपछि सम्बन्धित कार्यालय वा अधिकारीले सो निर्देशन अनुसारको कारबाही गर्नु पर्नेछ ।

६. प्रमाण लोप वा नास हुन नदिन र कसूर गर्ने ब्यक्ति उम्कन नपाउने व्यवस्था गर्नेः (१) कुनै प्रहरी कार्यालय वा प्रहरी कर्मचारीले अनुसूची –१ मा उल्लिखित कुनै कसूर भएको वा भई रहेको वा हुन लागेको जानकारी पाएमा कसूरदारलाई कसूर गर्नबाट रोक्ने वा कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुन नदिने र कसूर गर्ने ब्यक्ति भाग्न, उम्कन नपाउने आवश्यक र प्रभावकारी व्यवस्था यथाशिघ्र गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तत्कालै कारबाही नगरेमा कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुने वा कसूर गर्ने ब्यक्ति भाग्ने, उम्कने सम्भावना भएमा त्यस्तो प्रहरी कार्यालय वा कर्मचारीले आवश्यकता अनुसार अर्को प्रहरी कार्यालयको क्षेत्रमा समेत गई आवश्यक कारबाही गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम अर्को प्रहरी कार्यालयको क्षेत्रमा गई कुनै कारबाही गर्नु पर्ने भएमा त्यस्तो कार्यालय वा कर्मचारीले त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालय वा निकाय तथा आपूmभन्दा माथिल्लो प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

(४) अनुसूची–२ मा उल्लिखित कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी कसैको सूचना वा सम्बन्धित अधिकारीले आपैmले कुनै स्रोतबाट पाएमा त्यस्तो अधिकारीले उपदफा (१) वा (२) बमोजिमको कारबाही गर्नु पर्नेछ ।
तर त्यस्तो कसूरको सूचना कुनै प्रहरी कर्मचारीले थाहा पाएको र सम्बन्धित अनुसन्धान अधिकारी तत्काल उपलब्ध नभएमा त्यस्तो प्रहरी कर्मचारीले उपदफा (१) मा उल्लिखित कारबाही गरी कुनै ब्यक्ति पक्राउ परेको भए त्यस्तो व्यक्ति सहित कारबाहीको विवरण अनुसन्धान अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(५) प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नास हुन नदिन वा कसूरदारलाई पक्राउ गर्न कुनै निकाय, अधिकारी वा ब्यक्तिसँग मद्दत माग्न सक्नेछ र त्यस्तो मद्दत मागेमा आवश्यक मद्दत दिनु त्यस्तो निकाय, अधिकारी वा ब्यक्तिको कर्तव्य हुनेछ ।

(६) प्रहरी कर्मचारीले कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने जानकारी वा सूचना वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएमा त्यस्तो कसूर गर्ने ब्यक्तिलाई तुरुन्त पक्राउ गर्नु पर्नेछ ।

(७) प्रहरी कर्मचारीले कसूरसँग सम्बन्धित दसीको मालसामान र अन्य कुनै प्रमाण वा वस्तु फेला पारेमा त्यस्तो प्रमाण वा वस्तु समेत घटनास्थलमा उपलब्ध कसूर भएको देख्ने ब्यक्तिहरु कोही भए निजहरुको रोहवरमा आफ्नो कब्जामा लिई आवश्यकता अनुसार मुचुल्का खडा गर्नु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम मुचुल्का खडा गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो वस्तु, स्थान वा घटनास्थलको अवस्थालाई यथास्थितिमा सुरक्षित राख्नु पर्नेछ ।

(९) उपदफा (७) बमोजिम प्राप्त भएको दसीको मालसामान र कसूरसँग सम्बन्धित प्रमाण वा वस्तु तत्काल आफ्नो जिम्मा वा कब्जामा लिन नसकिने अवस्था रहेछ भने त्यस्तो चीज वा वस्तुलाई सुरक्षित साथ राख्नको निमित्त सम्बन्धित प्रहरी कर्मचारीले स्थानीय तह वा अन्य कुनै कार्यालयलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरिएमा सम्बन्धित तह वा कार्यालयले पनि त्यस्तो मालसामान वा प्रमाण जिम्मा लिई त्यसको भरपाई दिनु पर्नेछ ।

तर कसूरसँग सम्बन्धित नभएको वस्तु सम्बन्धित ब्यक्तिलाई तत्काल फिर्ता गर्नु पर्नेछ ।

७. सम्बन्धित प्रहरी कार्यालयलाई सूचना दिनु पर्नेः (१) अनुसूची–१ मा उल्लिखित कुनै कसूरको सम्बन्धमा कुनै प्रहरी कार्यालयमा प्राप्त भएको सूचनाको व्यहोराबाट वा प्रहरी कार्यालय आफैले त्यस्तो कसूर अन्य प्रहरी कार्यालयको क्षेत्रभित्र भएको वा भइरहेको वा हुन लागेको थाहा पाएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो सूचना यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाइदिनु पर्नेछ र आवश्यकता अनुसार सूचना दिने ब्यक्तिलाई पनि सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी दिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भौगोलिक विकटता वा अन्य कुनै कारणले अनुसन्धान अधिकारी तत्काल उपलब्ध हुन नसक्ने भई कसूर गर्ने ब्यक्ति उम्कने तथा कसूरसँग सम्बन्धित दसी, प्रमाण लोप हुन सक्ने भएमा त्यस्तो क्षेत्रभित्रको वारदातका हकमा पनि त्यस्तो सूचना प्राप्त गर्ने सम्बन्धित प्रहरी कार्यालयका अधिकार प्राप्त अनुसन्धान अधिकारीले प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्रारम्भिक अनुसन्धान गर्नुअघि त्यस्तो अधिकारीले सम्बन्धित प्रहरी कार्यालय र एक तह माथिको प्रहरी कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

८. अनुसन्धान गरी सवुद प्रमाण सङ्कलन गर्नेः (१) अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालयले यथाशिघ्र कम्तीमा प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई अनुसन्धान अधिकारी तोकी त्यसको जानकारी सम्बन्धित सरकारी वकिल कार्यालय र आफूभन्दा माथिल्लो प्रहरी कार्यालयलाई दिनु पर्नेछ र त्यसरी तोकिएको अनुसन्धान अधिकारीले त्यस्तो कसूरको अनुसन्धान गर्नु पर्नेछ ।

तर देहायका कसूरको अनुसन्धान गर्न कम्तीमा प्रहरी निरीक्षक दर्जाको अधिकृतलाई तोक्नु पर्नेछः–

(क) अपराध संहिताको भाग–२ को परिच्छेद–१, परिच्छेद–१२, परिच्छेद–१७, परिच्छेद–१८ को दफा २१९, परिच्छेद–१९ को दफा २३०, २३१, २३२, २३३, २३५, २३८, परिच्छेद–२० को दफा २४४, परिच्छेद–२२ को दफा २५६, २५७ र २५८ का कसूर,

(ख) लागू औषध, मानव बेचबिखन तथा ओसार पसार र विदेशी विनिमय सम्बन्धी कसूर,

(ग) नेपाल सरकारले कसूरको गम्भीरता हेरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कसूर ।

(२) अनुसन्धान अधिकारीले यस दफा बमोजिम अनुसन्धान गर्दा कसूर तथा कसूर भएको ठाउँको यथार्थ चित्रण हुने गरी यथासम्भव निम्न लिखित कुराहरु खुलाई घटनास्थल मुचुल्का तयार गर्नु पर्नेछः–

(क) कसूर भएको मिति र समय,

(ख) कसूर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र,

(ग) त्यस्तो ठाउँको वस्तुस्थिति तथा कसूर वा कसूरदारसँग त्यसको सम्बन्ध,

(घ) कसूर भएको ठाउँ वा त्यसको वरपर देखिएको वा पाइएको दसी प्रमाण र कसूरसँग सम्बन्धित अन्य कुनै उल्लेखनीय कुरा ।

(३) अनुसन्धान अधिकारीले उपदफा (२) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा त्यस्तो ठाउँलाई अरु मानिस प्रवेश गर्न नपाउने गरी घेरा हाली यथासम्भव त्यस्ता ठाउँको र त्यस्तो ठाउँमा देखिएको वा पाइएको हत्केला र औँला वा पाइलाको चिह्न, निशाना वा अन्य दसी वा कसूर ठहर गर्न मद्दत पु¥याउने अन्य कुनै महत्वपूर्ण कुराको फोटो समेत लिन सक्नेछ ।

(४) उपदफा (२) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा कसूर गर्ने ब्यक्ति वा आरोपित ब्यक्ति उपस्थित भए निजको औंलाको छाप लगायत पहिचान खुल्ने विवरण समेत लिनु पर्नेछ ।

(५) अनुसन्धान अधिकारीले कसूरसँग सम्बन्धित कुनै दसी प्रमाण, सामान वा वस्तु फेला पारेमा त्यसलाई आफ्नो कब्जामा लिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम दसी प्रमाण सामान वा वस्तु कब्जामा लिने अधिकारीले सोको भरपाई सम्बन्धित ब्यक्तिलाई दिनु पर्नेछ ।

(७) अनुसूची–२ मा उल्लिखित कसूरको अनुसन्धान गर्न कानूनमा कुनै अधिकारी तोकिएकोमा सोही अधिकारीबाट र त्यस्तो अधिकारी नतोकिएकोमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीबाट अनुसन्धान हुनेछ ।

(८) उपदफा (७) बमोजिम तोकिएको अधिकारीले त्यस्तो कसूरको अनुसन्धान गर्दा उपदफा (२), (३), (४), (५) र (६) मा उल्लिखित कार्यविधि पूरा गर्नु पर्नेछ ।

(९) यस परिच्छेद बमोजिम एकै वारदातको अनुसन्धान गर्दा त्यस्तो वारदातबाट चल्न सक्ने सबै मुद्दाको एकै पटक अनुसन्धान गर्नु पर्नेछ ।

९. कसूरसँग सम्बन्धित ब्यक्ति पक्राउ गर्न सकिनेः (१) कसूरसँग सम्बन्धित कुनै ब्यक्ति फेला परेमा वा कसूर गर्दा गर्दैको अवस्थामा रहेमा निजलाई प्रहरी वा अनुसन्धान अधिकारीले पक्राउ गर्न सक्नेछ ।

(२) कुनै ब्यक्तिलाई कसूरको अनुसन्धानको सिलसिलामा यस परिच्छेद बमोजिम तत्कालै पक्राउ गर्नु पर्ने भएमा त्यसको कारण खुलाई सम्भव भएसम्म पक्राउ गर्नु पर्ने ब्यक्तिको पहिचान खुल्ने विवरण सहित पक्राउ पूर्जी जारी गर्ने अनुमतिको लागि मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निवेदन परेमा र पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(४) पक्राउ पूर्जीको ढाँचा अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।

(५) उपदफा (३) बमोजिमको आदेश पक्राउ गर्नु पर्ने ब्यक्ति पक्राउ नपरेसम्म सार्वजनिक गरिने छैन ।

(६) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने ब्यक्ति तत्काल पक्राउ नभएमा त्यस्तो ब्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण, दसी वा सबूद नष्ट गर्ने मनासिब कारण भएमा त्यस्तो ब्यक्तिलाई अनुसूची–९ बमोजिमको ढाँचामा तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरी स्वीकृतिको लागि पक्राउ परेको ब्यक्ति सहित मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम जरुरी पक्राउ पूर्जी जारी गरी कुनै ब्यक्ति पक्राउ भएकोमा मुद्दा हेर्ने अधिकारीबाट स्वीकृति प्राप्त नगरी त्यस्तो कसूरसँग सम्बन्धित अन्य अनुसन्धान सम्बन्धी कारबाही गर्न सकिने छैन ।

तर कसूरसँग सम्बन्धित सबूद प्रमाण नष्ट हुने, हराउने वा नासिने सम्भावना भएमा पक्राउ गरिएको व्यक्तिको शरीर, निजले प्रयोग गरेको चिजवस्तु, सवारी साधन, निज रहे बसेको घर वा स्थानको तत्काल खानतलासी लिन सकिनेछ । त्यसरी खानतलासी लिएकोमा त्यसको विवरण, खानतलासी पूर्जी तथा बरामदी मुचुल्का समेत संलग्न राखी मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

(८) कुनै कसूर भएको बखत तत्काल प्रहरी उपलब्ध नभएमा कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने ब्यक्तिले त्यस्तो कसूर गर्ने ब्यक्तिलाई भाग्न वा उम्कन नदिई निजलाई नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्नेछ ।

(९) उपदफा (१) वा (६) बमोजिम कुनै ब्यक्तिलाई पक्राउ गर्नु पर्दा निजलाई पक्राउ गर्नुअघि पक्राउ गर्नु पर्ने कारण खुलाई सम्झाई बुझाई आत्मसमर्पण गर्ने आदेश दिनु पर्नेछ ।

(१०) उपदफा (९) बमोजिम सम्झाउँदा, बुझाउँदा वा आदेश दिँदा पनि कुनै ब्यक्तिले आत्मसमर्पण नगरी पक्राउबाट बच्ने वा भाग्ने वा उम्कने प्रयत्न गरेमा वा बल प्रयोग गरी वा नगरी कुनै किसिमले जोर जुलुम गरेमा वा गर्न प्रयत्न गरेमा निजलाई पक्राउ गर्न प्रहरी कर्मचारीले आवश्यक बल प्रयोग गर्न सक्नेछ ।

(११) यस दफा बमोजिम कुनै महिलालाई पक्राउ गर्नु परेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्नेछ ।
तर पक्राउ गर्नु पर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशिलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न वाधा पर्ने छैन ।

(१२) यस दफा बमोजिम पक्रिएको ब्यक्तिको खानतलासी वा शरीर तलासी लिन सकिनेछ ।

(१३) यस दफा बमोजिम पक्राउ गर्नु पर्ने ब्यक्ति कुनै घर वा ठाउँमा बसेको छ भन्ने शङ्का गर्नु पर्ने मनासिब कारण भएमा त्यस्तो घर वा ठाउँको खानतलासी लिई पक्राउ गर्न सकिनेछ ।

(१४) उपदफा (१३) बमोजिम खानतलासी लिँदा कुनै ब्यक्ति पक्राउ परेमा सो ब्यक्तिको शरीरको तलासी पनि लिन सकिनेछ ।

(१५) उपदफा (१२) वा (१३) बमोजिम तलासी लिँदा फेला परेका प्रमाण सम्बन्धी लिखत वा दसी प्रमाण वा अन्य कुनै वस्तु त्यस्तो ब्यक्तिलाई पक्राउ गर्ने ब्यक्ति वा अनुसन्धान अधिकारीले आप्mनो कब्जामा लिई त्यसको भरपाई दिनु पर्नेछ ।

(१६) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि  अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कुनै कसूर कुनै व्यक्तिले कुनै प्रहरी कर्मचारी वा अधिकारीको उपस्थितिमा वा कुनै सरकारी कार्यालयमा गरेमा त्यस्तो व्यक्तिलाई सम्बन्धित प्रहरी कर्मचारी, अधिकारी वा कार्यालय प्रमुखले भाग्न उम्कन नदिई निजलाई पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान अधिकारी समक्ष बुझाउनु पर्नेछ ।

(१७) उपदफा (८) र (१६) बमोजिम पक्राउ गरी ल्याएको व्यक्तिलाई सम्बन्धित प्रहरी वा अनुसन्धान अधिकारीले जरुरी पक्राउ पूर्जी दिई उपदफा (६) बमोजिम स्वीकृतिको लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

१०. प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउनेः (१) अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरको जाहेरी दरखास्त वा सूचना दफा ४ बमोजिम दर्ता हुनासाथ त्यस्तो कसूरको अनुसन्धान गर्न तोकिएका प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले तुरुन्त प्रारम्भिक अनुसन्धान गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रारम्भिक अनुसन्धान शुरु गरेपछि त्यस्तो प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले सोको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा तीन दिनभित्र पठाउनु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “प्रारम्भिक अनुसन्धान” भन्नाले घटनास्थल विवरण, कसूर भएको स्थानको वस्तुस्थिति मुचुल्का, खानतलासी वा बरामदी मुचुल्का वा ज्यान मरेको कसूर भए लास जाँच मुचुल्का तथा अन्य कसूर भए त्यस्तो कसूरको प्रकृति अनुसार तयार गर्नु पर्ने प्रतिवेदन, मुचुल्का वा अन्य आवश्यक विवरणलाई सम्झनु पर्छ ।

(३) उपदफा (१) बमोजिम प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले त्यसको अध्ययन गरी कसूरसँग सम्बन्धित कुनै विषयमा थप अनुसन्धान गर्न अनुसन्धान अधिकारीलाई आवश्यक निर्देशन दिनु पर्ने देखिएमा त्यसको कारण खुलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तव्य हुनेछ ।

११. भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिनेः (१) अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरको सम्बन्धमा प्राप्त जाहेरी दरखास्त वा सूचनाका सम्बन्धमा सम्बन्धित ब्यक्ति वा जाहेरवाला समेतलाई बुझ्दा त्यस्तो दरखास्त वा सूचना भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक भई अनुसन्धान गर्न आवश्यक नभएमा वा निरर्थक देखिएमा सम्बन्धित प्रहरी कार्यालय वा सम्बन्धित अनुसन्धान अधिकारीले सोही कुरा खुलाई सामान्यतया तीन दिनभित्र सम्बन्धित सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित सरकारी वकिल कार्यालयले त्यस्तो कसूरको सम्बन्धमा तत्काल अनुसन्धान गर्न मनासिब आधार नदेखिएमा त्यसको कारण खुलाई थप प्रमाण प्राप्त हुन आएका बखत अनुसन्धान गर्न सकिने गरी तत्काल तामेलीमा राख्ने वा वारदातको प्रकृति अध्ययन गर्दा तत्काल अनुसन्धान गर्न उपयुक्त हुने देखेमा कारण खुलाई थप अनुसन्धान गर्न अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएमा सम्बन्धित अनुसन्धान अधिकारीले त्यस्तो कसूरका सम्बन्धमा अनुसन्धान गर्नु पर्नेछ ।

१२. अनुसन्धान गर्न विशेष टोली गठन गर्न सकिनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस संहिताको अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरको सम्बन्धमा कसूरको गम्भीरता हेरी सम्बन्धित अनुसन्धान अधिकारीबाट मात्र अनुसन्धान हुन नसक्ने भई छुटैृ अनुसन्धान टोली गठन गर्न उपयुक्त हुने कुरा अनुसन्धान अधिकारीको तालुकवाला अधिकारी वा प्रहरी महानिरीक्षकलाई लागेमा निजले आफू मातहतका कर्मचारीहरु संलग्न रहने गरी अनुसन्धान टोली गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफू मातहतका कर्मचारी बाहेकका अन्य ब्यक्ति समेत संलग्न रहेको अनुसन्धान टोली गठन गर्नु परेमा त्यस्तो अनुसन्धान अधिकारीको तालुकवाला अधिकारी वा प्रहरी महानिरीक्षकले त्यस सम्बन्धमा महान्यायाधिवक्ताको परामर्श लिई विशेषज्ञ समेत रहेको अनुसन्धान टोली गठन गरी अनुसन्धान गराउन सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम अनुसन्धान टोली गठन भएमा त्यस्तो टोलीले यस परिच्छेद बमोजिम अनुसन्धान अधिकारीलाई भएको अधिकार प्रयोग गरी अनुसन्धान गर्नेछ ।

(४) उपदफा (१) वा (२) बमोजिम अनुसन्धान टोली गठन भएकोमा सम्बन्धित अनुसन्धान अधिकारीले गरेको अनुसन्धान सम्बन्धी विवरण त्यस्तो टोलीलाई हस्तान्तरण गर्नु पर्नेछ ।

(५) उपदफा (१) वा (२) बमोजिम गठन भएको अनुसन्धान टोलीले अनुसन्धान गरी आफ्नाे प्रतिवेदन सम्बन्धित सरकारी वकिल समक्ष पेश गरी त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालय वा अधिकारीलाई समेत दिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले कसूरसँग सम्बन्धित कुनै विषयमा थप अनुसन्धान गर्न आवश्यक निर्देशन दिनुपर्ने देखिएमा सोको कारण खुलाई अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(७) उपदफा (६) बमोजिम सरकारी वकिलले दिएको निर्देशन पालना गर्नु सम्बन्धित अनुसन्धान टोलीको कर्तव्य हुनेछ ।

१३. हिरासतमा राख्नेः (१) यस परिच्छेद बमोजिम पक्राउ भएको ब्यक्तिलाई हिरासतमा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम हिरासतमा राख्दा त्यस्तो ब्यक्तिलाई पक्राउ गरिएको ठाउँ उल्लेख गरी हिरासतमा राख्नुपर्ने कारण सहितको अनुसूची–१० बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिएर मात्र हिरासतमा राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै ब्यक्तिलाई हिरासतमा राखिएकोमा निजको नाम, थर, उमेर, टोल सहितको ठेगाना, बाबु, आमाको नाम, निजको नागरिकताको प्रमाणपत्र वा निजको पहिचान खुल्ने अन्य परिचयपत्र भए त्यस्तो प्रमाणपत्र वा परिचयपत्र र नभए सवारी चालक इजाजतपत्र, राहदानी, निजको टेलिफोन भए टेलिफोन नम्बर लगायत निजको वास्तविक परिचय खुल्ने यस्तै कागजातको प्रतिलिपि समेत लिई निजको अभिलेख तयार गर्नु पर्नेछ ।

(४) उपदफा (३) को प्रयोजनको लागि अनुसन्धान अधिकारीले आवश्यकता अनुसार निजको तस्वीर र दुवै हातको हत्केला सहितको औँठा छाप समेत लिन सक्नेछ ।

(५) उपदफा (३) बमोजिम अभिलेख तयार भएपछि सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान अधिकारीले त्यस्तो अभिलेखको आधारमा हिरासतमा रहेको ब्यक्तिले जानकारी दिन अनुरोध गरेको ब्यक्तिलाई निज हिरासतमा रहेको जानकारी दिनु पर्नेछ ।

(६) यस दफा बमोजिम पक्राउ गरिएको ब्यक्तिले कानून व्यवसायीसँग सल्लाह लिन चाहेमा अनुसन्धान अधिकारीले निजलाई त्यस्तो कानून व्यवसायीसँग सल्लाह लिन दिनु पर्नेछ ।

१४. अनुसन्धानको लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधिः (१) कुनै ब्यक्तिलाई कसूरको अनुसन्धानको लागि यस परिच्छेद बमोजिम पक्राउ गरेपछि चौबीस घण्टाभित्र जतिसक्दो चाँडो मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(२) उपदफा (१) विपरीत हुने गरी कसैलाई हिरासतमा राख्न सकिने छैन ।

(३) कुनै ब्यक्तिलाई उपदफा (१) मा लेखिएको म्यादभन्दा बढी हिरासतमा राख्नु परेमा अनुसन्धान अधिकारीले त्यसको आधार र कारण खुलाई सरकारी वकिल कार्यालय मार्फत मुद्दा हेर्ने अधिकारी समक्ष अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि चौबीस घण्टाको अवधिभित्र पक्राउ परेको ब्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनको लागि पक्राउ गरिएको ठाउँबाट प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालयमा ल्याउन वा प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालयबाट अदालतमा पुर्‍याउन बाटोमा लाग्ने अवधिलाई गणना गरिने छैन ।

(४) अनुसन्धान अधिकारीले मुद्दा हेर्ने अधिकारी समक्ष उपदफा (३) बमोजिम निवेदन दिँदा हिरासतमा रहेको ब्यक्ति उपर लागेको अभियोग, त्यसको आधार, निजलाई हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र निजको बयान भइसकेको भए बयान कागज अनुसारको व्यहोरा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम हिरासतमा राख्ने अनुमतिको लागि उपस्थित गराइएको ब्यक्तिले चाहेमा आप्mनो शारीरिक जाँच गरी पाउनका लागि मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

(६) अनुसन्धान अधिकारीले कुनै ब्यक्तिलाई उपदफा (३) बमोजिम हिरासतमा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरु हेरी अनुसन्धान सन्तोषजनक रुपमा भएको वा नभएको विचार गरी, आवश्यक देखिए सम्बन्धित कानून व्यवसायीको बहस समेत सुनी अनुसन्धानको लागि हिरासतमा राखी राख्न आवश्यक भएको देखिएमा एकै पटक वा पटकपटक गरी बढीमा पच्चीस दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ अन्तर्गतको कसूरमध्ये राष्ट्रपति उपरको आक्रमण, जासूसी, सैनिक भड्काउने, नेपाल राज्य विरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहयोग गर्ने वा विस्फोटक पदार्थ, अपहरण र शरीर बन्धक सम्बन्धी कसूरको अनुसन्धान उपदफा (६) बमोजिम दिएको समयावधिभित्र पूरा हुन नसक्ने भन्ने कारण सहितको प्रतिवेदन अनुसन्धान गर्ने अधिकारी तथा सरकारी वकिल दुवैले संयुक्त रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सक्ने छन् ।

(८) उपदफा (७) बमोजिमको प्रतिवेदन पेश हुन आएमा अनुसन्धानको स्थिति हेरी मुद्दा हेर्ने अधिकारीले एकै पटक वा पटकपटक गरी बढीमा थप पन्ध्र दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।
तर कुनै पनि अभियोग लागेको ब्यक्तिलाई त्यस्तो अभियोग ठहर भएमा निजलाई हुन सक्ने कैदको अवधिभन्दा बढी हिरासतमा राख्न सकिने छैन ।

(९) उपदफा (६) वा (८) बमोजिम मुद्दा हेर्ने अधिकारीले हिरासतमा राख्ने आदेश दिँदा कारण सहितको पर्चा खडा गर्नु पर्नेछ ।

(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, बालबालिका र पचहत्तर वर्ष नाघेको ब्यक्तिलाई कसूरको प्रकृति हेरी अनुसन्धान अधिकारीले थुनामा नराखी अनुसन्धान गर्न मनासिब देखेमा सोको कारण खुलाई पर्चा खडा गरी तारिखमा राखी अनुसन्धान गर्न सक्नेछ ।

१५. हिरासतमा रहेको ब्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्नेः (१) यस संहिता बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै ब्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरीे त्यस्तो ब्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर ब्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम धरौट वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको ब्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम हाजिर जमानी दिने ब्यक्तिले हाजिर जमानीमा छोडिएको ब्यक्तिलाई अनुसन्धान अधिकारी वा सरकारी वकिल कार्यालयले तोकेको समयमा उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिस उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रूपैँयासम्म जरिबाना गर्न सक्नेछ ।

(५) उपदफा (१) बमोजिम तारिखमा राखी अनुसन्धान गरेकोमा अनुसन्धान अधिकारीले त्यसको जानकारी सरकारी वकिल र माथिल्लो प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

१६. बयान लिने र सोधपूछ गर्नेः (१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष अभियुक्तको बयान लिनेछ ।

(२) उपदफा (१) बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनु पर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ ।

(३) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएको ब्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ ।

तर बालबालिका वा शारीरिक रुपमा असमर्थ भएको ब्यक्तिसँग सोधपुछ गर्नु परेमा निज रहे बसेकै ठाउँमा नै गई सोधपुछ गर्न सकिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “शारीरिक रुपमा असमर्थ” भन्नाले हिँडडुल गर्न नसक्ने, दृष्टिविहीन, वृद्ध अवस्था जस्ता शारीरिक रुपमा असमर्थ ब्यक्तिलाई सम्झनु पर्छ ।

(४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा अनुसूची–११ बमोजिमको ढाँचामा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नु पर्नेछ ।

(५) यस दफा बमोजिम बालबालिका वा शारीरिक रुपमा असमर्थ ब्यक्तिबाट कुनै कागज गराउनु पर्ने भएमा निजको संरक्षक वा उपलब्ध अन्य ब्यक्तिको रोहवरमा गराउनु पर्नेछ ।

(६) यस दफा बमोजिम बयान वा सोधपुछ गर्नु पर्ने कुनै ब्यक्ति शारीरिक अस्वस्थताको कारणले अनुसन्धान अधिकारी समक्ष उपस्थित हुन नसक्ने भएमा वा त्यस्तो ब्यक्तिको सुरक्षाको कारणले निजलाई त्यस्तो अधिकारी समक्ष उपस्थित गराउन उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले श्रव्य दृष्य सम्वाद (भिडियो कन्फरेन्स) को माध्यमबाट त्यस्तो ब्यक्तिसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ ।

(७) उपदफा (६) बमोजिम बयान लिएको वा सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले सोको अभिलेख राख्ने व्यवस्था गर्नु पर्नेछ ।

१७. सोधिएको प्रश्नको जवाफ दिनु पर्नेः अनुसन्धान अधिकारीले यस परिच्छेद बमोजिम कुनै कसूरको सम्बन्धमा अनुसन्धान गर्दा सोधेको प्रश्नको जाने सम्मको जवाफ दिई सम्बन्धित ब्यक्तिले अनुसन्धानमा सहयोग गर्नु पर्नेछ ।

तर आफू उपर कुनै कसूरको अभियोग लाग्न सक्ने किसिमको जवाफ दिन कुनै ब्यक्तिलाई कर लाग्ने छैन ।

१८. खानतलासी गर्न सकिनेः (१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कुनै कसूरको अनुसन्धान गर्दा त्यस्तो कसूरसँग सम्बन्धित कुनै लिखत, दसी प्रमाण, अभियुक्त वा अन्य कुनै ब्यक्ति कुनै ठाउँमा छ भन्ने कुरा शङ्का गर्नु पर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारीले त्यस्तो ब्यक्ति वा ठाउँको खानतलासी लिन र त्यस्तो लिखत वा दसी प्रमाण बरामद गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम खानतलासी लिनुअघि खानतलासी गर्ने घरमा तत्काल बसोबास गरिरहेको ब्यक्तिलाई खानतलासी लिनु पर्नाको कारण सहितको लिखित सूचना अनुसूची–१२ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम खानतलासी लिँदा अनुसूची–१३ बमोजिमको ढाँचामा मुचुल्का खडा गरी खानतलासी लिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम खानतलासी गर्न त्यस्तो ठाउँमा प्रवेश गर्नुअघि अनुसन्धान अधिकारीले सम्बन्धित घरधनी वा ब्यक्तिलाई आप्mनो समेत तलासी दिनु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम खानतलासी गर्दा महिला मात्र रहने वा बस्ने गरेको घर कोठाको खानतलासी लिनु परेमा सम्भव भएसम्म अन्य महिलालाई समेत साथमा लिई घरभित्र प्रवेश गरी खानतलासी लिनु पर्नेछ ।

तर कुनै महिलाको शरीरको तलासी लिनु पर्दा महिला प्रहरी वा त्यस्तो महिला प्रहरी तत्काल उपलब्ध नभएमा अन्य कुनै महिलाद्वारा तलासी लिन लगाउन सकिनेछ ।

(६) खानतलासी लिँदा प्राप्त भएको कसूरसँग सम्बन्धित वस्तुको विवरण, त्यस्ता वस्तु पाइएको ठाउँ र अवस्था खुलाई खानतलासी लिने कर्मचारीले दुई प्रति मुचुल्का तयार गरी एक प्रति सम्बन्धित ब्यक्तिलाई दिई एक प्रति मिसिलमा सामेल राख्नु पर्नेछ ।

(७) खानतलासी लिनु पर्ने ब्यक्ति वा ठाउँ अन्य प्रहरी कार्यालयको क्षेत्रभित्र पर्ने भएमा अनुसन्धान अधिकारीले त्यस्तो प्रहरी कार्यालय समक्ष त्यस्तो ब्यक्ति वा ठाउँको खानतलासी लिन लिखित अनुरोध गर्न सक्नेछ ।

(८) उपदफा (७) बमोजिम अनुरोध भएकोमा त्यस्तो प्रहरी कार्यालयको कम्तीमा प्रहरी नायब निरीक्षकले त्यस्तो ब्यक्ति वा ठाउँको खानतलासी लिई उपदफा (३) बमोजिमको मुचुल्का तयार गरी त्यसरी अनुरोध गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(९) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो प्रहरी कार्यालयमा लिखित अनुरोध गर्दा कुनै प्रमाण लोप वा नास हुने सम्भावना छ भन्ने लागेमा अनुसन्धान अधिकारी आफै खानतलासी लिनु पर्ने ब्यक्ति भएको ठाउँ वा स्थानमा गई यस दफा बमोजिम खानतलासी लिन सक्नेछ र त्यसको सूचना सम्बन्धित कार्यालय वा प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

(१०) यस दफा बमोजिम खानतलासी लिने अधिकारीले खानतलासीबाट प्राप्त कसूरसँग सम्बन्धित कुनै वस्तु आप्mनो साथमा लैजान चाहेमा सम्बन्धित ब्यक्तिलाई त्यसको भरपाई दिएर मात्र लैजानु पर्नेछ ।

(११) कुनै ठाउँको तत्काल खानतलासी नलिएमा कसूरसँग सम्बन्धित दसी प्रमाण लोप वा नास हुन सक्ने वा शङ्कास्पद ब्यक्ति भाग्न वा उम्कन सक्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएकोमा बाहेक कसैको घरको तलासी लिनु परेमा सूर्योदयदेखि सूर्यास्त हुनुअघिसम्मको समयभित्र लिनुु पर्नेछ ।

(१२) यस दफा बमोजिम खानतलासी लिने अधिकारी खानतलासी लिन कुनै घर वा कुनै ठाउँमा प्रवेश गर्दा सो घर वा ठाउँको स्वामित्व भएको वा त्यस्तो घर वा ठाउँको हेरविचार गर्ने जिम्मा लिएको वा तत्काल बसोबास गरिरहेको ब्यक्तिले निजलाई त्यस्तो घर वा ठाउँमा प्रवेश गर्न दिनु पर्नेछ र त्यसरी प्रवेश गर्न नदिएमा खानतलासी लिने अधिकारीले सो घर वा ठाउँको भ्mयाल, ढोका, छाना, भित्ता इत्यादिमध्ये प्रवेश गर्न आवश्यक हुनेसम्म भत्काई वा फुटाई वा ताल्चा लगाएकोमा ताल्चा समेत फोडी सकेसम्म कम हानि, नोक्सानी हुने गरी भित्र प्रवेश गर्न सक्नेछ ।

(१३) कुनै घर वा ठाउँको यस दफा बमोजिम खानतलासी लिइसकेपछि खानतलासी लिन भित्र गएको ब्यक्ति बाहिर निस्कन खोज्दा कुनै कारणवश साधारण रुपमा बाहिर निस्कन नसकेमा निजले त्यस्तो घर वा ठाउँको भ्mयाल, ढोका, छाना, भित्ता इत्यादिमध्ये बाहिर निस्कन आवश्यक पर्ने कुनै ठाउँ सकेसम्म कम हानि, नोक्सानी हुने गरी भत्काई वा फुटाई बाहिर निस्कन सक्नेछ ।

(१४) खानतलासी गर्ने अधिकारी र खानतलासीको काममा निजलाई मद्दत गर्न खटिएका अन्य कर्मचारी तथा दफा १६ को उपदफा (५) बमोजिम रोहवरमा रहेका ब्यक्तिहरुले आपूmले लगाएको लुगा र खानतलासीको काममा उपयोग गरिने वस्तु बाहेक अरु कुनै वस्तु साथमा राख्न पाइने छैन र सम्बन्धित ब्यक्तिले चाहेमा खानतलासीको काम शुरु हुनुभन्दा पहिले नै त्यस्तो कुनै अधिकारी, कर्मचारी वा रोहबरमा रहने ब्यक्तिको शरीरको तलासी लिन सक्नेछ ।

(१५) यस दफा बमोजिम कुनै ब्यक्ति, घर वा ठाउँको खानतलासी लिन पाउने अधिकारीले खानतलासी लिनुअघि सम्बन्धित घर धनी, ठाउँ धनी वा ब्यक्तिलाई निज खानतलासी लिन पाउने अधिकार प्राप्त अधिकारी भएको परिचय पत्र देखाउनु पर्नेछ ।

१९. मुचुल्का खडा गर्दा रोहवरमा राख्नु पर्नेः (१) कुनै कसूर भएकोमा अनुसन्धान अधिकारीले त्यस्तो कसूरको वारदातको वास्तविक र यथार्थ तथ्य चित्रण हुने गरी घटनास्थल मुचुल्का तयार गर्दा दफा ८ को उपदफा (२), (३) र (४) बमोजिम गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा वा कुनै ब्यक्ति वा वस्तु वा ठाउँको खानतलासी लिँदा वा ज्यान मरेको कसूर भएकोमा लाश जाँच गर्दा वा अन्य कुनै कसूर भएकोमा त्यस्तो कसूरको प्रकृति अनुसार आवश्यक मुचुल्का खडा गर्दा त्यस्तो ठाउँमा तत्काल उपलब्ध कम्तीमा दुई जना स्थानीय ब्यक्ति र स्थानीय तहका एक जना सदस्य वा त्यस्तो सदस्य उपलब्ध नभए कुनै सरकारी कार्यालयको एक जना कर्मचारी भए निजलाई र फेला परेसम्मका अभियुक्त र कसूरको सूचना दिने ब्यक्तिलाई समेत रोहवरमा राख्नु पर्नेछ ।

तर अभियुक्त वा कसूरको सूचना दिने ब्यक्ति रोहवरमा नराखेको कारणले मात्र त्यस्तो घटनास्थल मुचुल्का वेरितको भएको मानिने छैन ।

(३) कुनै ब्यक्तिको स्वामित्व वा जिम्मामा रहेको कुनै ठाउँको खानतलासी लिँदा उपलब्ध भएसम्म त्यस्तो ब्यक्तिलाई समेत रोहवरमा राख्नु पर्नेछ ।

२०. लाश जाँच गर्नु पर्नेः (१) कुनै ब्यक्ति कसैको कर्तव्यबाट वा कुनै दुर्घटना भई वा आत्महत्या गरीे वा अस्वभाविक रुपमा वा अन्य कुनै शङ्कास्पद स्थितिमा मरेको जानकारी प्राप्त भएमा अनुसन्धान अधिकारीले तुरुन्त लाश रहेको ठाउँमा गई लाश जाँच गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लाश जाँच गर्दा यथासम्भव निम्नलिखित कुराहरु समेत खुलाई अनुसूची–१४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ र लाशको वास्तविक यथार्थ चित्रण हुने गरी लाश र सम्बन्धित ठाउँको तस्बिर समेत खिच्नु पर्नेछः–

(क) लाशको परिचयात्मक विवरण,

(ख) लाश रहेको ठाउँ र लाशको अवस्था,

(ग) लाशमा कुनै घाउ, चोट, नील वा डाम देखिएमा त्यस्तो घाउ, चोट, नील वा डाम देखिएको ठाउँ, त्यसको सङ्ख्या, लम्वाइ, चौडाइ, गहिराइ सहितको प्रत्येक घाउ, चोट, नील वा डामको विवरण,

(घ) खण्ड (ग) मा उल्लेख भएको बाहेक मृत्युसँग सम्बन्धित साधन र लाशमा देखा परेको तत्सम्बन्धी विवरण,

(ङ) मृत्युको कारण थाहा पाउन सहायता हुने लाशमा देखिएको अन्य कुनै लक्षण,

(च) अन्य उल्लेखनीय कुनै कुरा भए सोको विवरण ।

(३) उपदफा (१) बमोजिम लाश जाँच गरी सम्बन्धित अनुसन्धान अधिकारीले त्यस्तो लाशलाई शव परीक्षणको निमित्त सरकारी चिकित्सक वा नेपाल सरकारले तोकेका विशेषज्ञ वा इजाजत प्राप्त चिकित्सक समक्ष सरकारी खर्चमा पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम शव परीक्षण गर्दा लाग्ने आवश्यक खर्च नेपाल सरकारले सम्बन्धित प्रहरी कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम गरिएको शव परीक्षण प्रतिवेदन अनुसूची–१५ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।

(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम लाश जाँच मुचुल्का भइसकेपछि त्यस्तो लाश जाँचबाट कुनै कसूरको परिणामस्वरुप वा शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई त्यस्तो लाशको शव परीक्षण गराउन आवश्यक नपर्ने ठह¥याएमा अनुसन्धान अधिकारीले त्यसको कारण खुलाई स्थानीय भद्र भलादमीको रोहवरमा पर्चा खडा गरी मिसिल संलग्न राख्नु पर्नेछ ।

(७) लाश सडी गली परीक्षण गर्न नसकिने अवस्थाको भएमा वा देखिएमा सम्बन्धित अनुसन्धान अधिकारीले त्यस्तो कुरा खुलाई स्थानीय भद्र भलाद्मीको रोहवरमा मुचुल्का खडा गरी राख्नु पर्नेछ ।

तर लाश सडे गले वा शव परीक्षण हुन नसक्ने भए तापनि लाश वा त्यसको कुनै अंशको अन्य परीक्षणबाट मृत्युको कारण पत्ता लगाउन सकिने अवस्था भएमा अन्य वैज्ञानिक परीक्षण गराउन सकिनेछ ।

(८) लाशको शव परीक्षण भइसकेपछि वा उपदफा (६) बमोजिम पर्चा खडा भएपछि सम्बन्धित प्रहरी कर्मचारीले सम्बन्धित मृतकको हकवालालाई भरपाई गराई लाश बुझाउनु पर्नेछ ।

(९) उपदफा (८) बमोजिम हकवालाले लाश बुझी नलिएमा वा कुनै हकवाला उपस्थित नभएमा वा हकवाला नै यकिन नभएमा सम्बन्धित प्रहरी कर्मचारीले सरकारी खर्चमा लाशको सदगत गराउनु पर्नेछ ।

(१०) शव परीक्षण वा लाश जाँच गर्दा वा अन्य कुनै सवुद प्रमाण सङ्कलन गर्दा अनुसन्धान अधिकारीले कसूरको गम्भीरता हेरी सम्बन्धित विशेषज्ञ साथमा लैजान उपयुक्त ठह¥याएमा त्यस्तो विशेषज्ञलाई साथमा लिई जान सक्नेछ ।

(११) यस दफा बमोजिम शव परीक्षण गर्ने विशेषज्ञ वा चिकित्सकलाई कुनै ब्यक्तिको मृत्युको वास्तविक कारण पत्ता लगाउन वा कसूरको अन्य कुनै कुरा अनुसन्धान गर्न एकभन्दा बढी विशेषज्ञहरुको टोलीबाट शव परीक्षण गराउन पर्ने भन्ने लागेमा वा अनुसन्धान अधिकारीलाई कुनै ब्यक्तिको मृत्युको कारणका सम्बन्धमा विशेषज्ञहरुको टोलीबाट शव परीक्षण गराउन उपयुक्त हुन्छ भन्ने लागेमा त्यस्तो टोलीबाट शव परीक्षण गराउन सकिनेछ ।

२१. भौतिक प्रमाण परीक्षण गर्नु पर्नेः (१) कुनै कसूरको प्रकृतिबाट सम्बन्धित ब्यक्तिको रगत, वीर्य, रौँ वा शरीरको अन्य कुनै अङ्ग, हात हतियार वा चीज वस्तु वा डि.एन.ए. वा अन्य कुनै कुरा परीक्षण गर्दा कसूरदार पत्ता लगाउन कसूर सम्बन्धी प्रमाण उपलब्ध हुन सक्दछ भन्ने लागेमा अनुसन्धान अधिकारीले सरकारी चिकित्सक वा मान्यता प्राप्त प्रयोगशालामा त्यस्तो रगत, वीर्य, रौँ वा शरिरको कुनै अङ्ग, हातहतियार वा चीज वस्तु वा डी.एन.ए. वा विद्युतीय स्वरुपमा रहेको सामग्री वा अन्य कुनै भौतिक प्रमाण परीक्षण गराउन सक्नेछ ।

तर कुनै महिलाको शारीरिक अङ्ग जाँच गर्नु परेमा पाएसम्म महिला चिकित्सकद्वारा र त्यस्तो चिकित्सक उपलब्ध नभएमा महिलाको रोहवरमा पुरुष चिकित्सकबाट गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम परीक्षण गर्न आवश्यक पर्ने रगत, वीर्य, रौं वा अङ्ग, हातहतियार वा वस्तुको नमूना (स्याम्पल) उपलब्ध गराउन अनुसन्धान अधिकारीलाई सम्बन्धित ब्यक्तिले सहयोग गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम भएको परीक्षणको प्रतिवेदन सम्बन्धित चिकित्सक वा प्रयोगशालाले तयार गर्नु पर्नेछ ।

२२. घाउ जाँच गराउनु पर्नेः (१) कुटपिटको कारणबाट कुनै वारदात भई घा, चोट, नील वा डाम, इत्यादि भएकोमा सो जाँची पाउँ भनी सम्बन्धित ब्यक्तिले निवेदन दिएमा वा अनुसन्धान अधिकारीबाट लेखी आएमा सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीले निजको घाउ, चोटपटक, नील वा डाम जाँची अनुसूची–१६ बमोजिमको ढाँचामा घा जाँच केश गरी दिनु पर्नेछ ।

(२) उपदफा (१) मा लेखिए बाहेक अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएको ब्यक्तिलाई कुटपिट गरिएको, यातना दिएको वा निजको विरुद्ध अरु कुनै कसूर भएको प्रमाण निजको शारीरिक जाँचबाट उपलब्ध हुन सक्ने मनासिब आधार देखाई निज वा निजको तर्फबाट अरु कसैले निवेदन दिएमा अदालतले सरकारी चिकित्सक वा नेपाल सरकारले तोकेको चिकित्सक वा स्वास्थ्यकर्मीबाट त्यस्तो ब्यक्तिको शारीरिक जाँच गराउन आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम शारीरिक जाँच गर्दा समेत उपदफा (१) मा उल्लेखित घा जाँच गरी दिनु पर्नेछ ।

(४) दफा २०, २१ र यस दफा बमोजिम भएको परीक्षण प्रतिवेदन त्यस्तो परीक्षण भएको मितिले बाटोको म्याद बाहेक बढीमा तीन दिनभित्र सम्बन्धित चिकित्सक, विशेषज्ञ वा प्रयोगशालाले सम्बन्धित कार्यालय वा अनुसन्धान अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।

(५) उपदफा (२) बमोजिम हिरासतमा लिएको ब्यक्तिलाई कुटपिट गरेको वा निजलाई यातना दिएको देखिएमा त्यसरी कुटपिट गरिएको वा यातना पाएको ब्यक्तिको उपचार गराई निजलाई अन्तरिम राहत उपलब्ध गराउन र त्यसरी कुटपिट गर्ने वा यातना दिने ब्यक्तिलाई कानून बमोजिम विभागीय कारबाही गर्न अदालतले सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान गर्ने अधिकारप्राप्त कार्यालय वा अधिकारीलाई आदेश दिनु पर्नेछ ।

(६) उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीले घा जाँच गर्न सरकारी चिकित्सक वा स्वास्थकर्मीलाई लेखी नपठाएमा त्यसको व्यहोरा उल्लेख गरी सरोकारवाला व्यक्तिले अदालतमा निवेदन दिन सक्नेछ र त्यसरी निवेदन परेमा अदालतले घा जाँचको लागि सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई आदेश दिन सक्नेछ

२३. विशेषज्ञको राय लिन सकिनेः (१) अनुसन्धान अधिकारीले अनुसन्धानको सन्दर्भमा आवश्यक ठानेमा कुनै विशेषज्ञलाई साथमा लैजान वा अपराधसँग सम्बन्धित कुनै कुराको सम्बन्धमा विशेषज्ञको राय लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम राय माग भएमा त्यस्तो राय उपलब्ध गराउनु सम्बन्धित विशेषज्ञको कर्तव्य हुनेछ ।

(३) उपदफा (२) बमोजिम उपलब्ध भएको विशेषज्ञको राय मिसिल साथ राख्नु पर्नेछ ।

(४) यस दफा बमोजिमको विशेषज्ञ ब्यक्ति गैरसरकारी ब्यक्ति भए निजको सेवा लिँदा लाग्ने रकम नेपाल सरकारले उपलब्ध गराउनु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकारीले कुनै मुद्दाको सम्वेदनशिलता वा जटिलताको कारणबाट त्यस्तो मुद्दामा मेडिकल बोर्ड वा अन्य कुनै विशेषज्ञहरुको बोर्डबाट राय लिन उपयुक्त ठानी सिफारिस गरेमा नेपाल सरकारले त्यस्तो बोर्ड गठन गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम बोर्ड गठन भएकोमा त्यस्तो बोर्डले सो सम्बन्धमा राय दिनु पर्नेछ ।

२४. सनाखत गराउनु पर्नेः (१) कुनै मुद्दामा कुनै ब्यक्तिको सनाखत गराउनु पर्ने भएमा कम्तीमा प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीले सनाखत गराउनु पर्नेछ ।

तर सनाखत नगराएकै कारणबाट मात्र मुद्दाको काम कारबाहीमा कुनै तात्विक असर पर्ने छैन ।

(२) उपदफा (१) बमोजिम सनाखत गराउँदा सनाखत गर्नु पर्ने ब्यक्तिलाई देख्न र हेर्न नपाउने ठाउँमा राख्नु पर्नेछ र त्यस्तो ब्यक्तिसँग मिल्दाजुल्दो उमेर, वर्ण वा शारीरिक स्वरुप भएको कम्तीमा चार जना ब्यक्तिलाई सम्भव भएसम्म एकै किसिमको पहिरन गराई निजहरुसँग सनाखत गर्नु पर्ने ब्यक्तिलाई राखी सनाखत गर्ने प्रत्येक ब्यक्तिलाई छुट्टाछुट्टै सनाखत गराउनु पर्नेछ ।

(३) सनाखतको ढाँचा अनुसूची–१७ मा उल्लेख भए बमोजिम हुनेछ ।

(४) उपदफा (२) बमोजिम सनाखत गराउँदा सनाखत गर्ने ब्यक्तिले पहिचान गर्न सके वा नसकेको व्यहोरा लेखी मिसिल सामेल राख्नु पर्नेछ ।

(५) मुद्दासँग सम्बन्धित दसी वा चीज वस्तुलाई प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीले सनाखत मुचुल्का खडा गरी सनाखत गराउन सक्नेछ ।
२५. अनुसन्धान डायरी राख्नु पर्नेः (१) यस परिच्छेद अन्तर्गत अनुसन्धान गर्ने प्रहरी अधिकृत वा अनुसन्धान अधिकारीले अनुसन्धानको सम्बन्धमा आफूले गरेको प्रत्येक काम कारबाही तत्कालै अभिलेख गर्नको लागि अनुसूची–१८ बमोजिमको ढाँचामा अनुसन्धान डायरी खडा गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम खडा गरेको डायरीमा त्यस्तो प्रहरी अधिकृत वा अनुसन्धान अधिकारीले देहायका कुराको अभिलेख राख्नु पर्नेछः–

(क) कसूरको सूचना पाएको मिति, समय र सोको संक्षिप्त विवरण,

(ख) अनुसन्धानको सिलसिलामा निजले गरेको काम, कारबाही,

(ग) अनुसन्धानको सिलसिलामा निजले भ्रमण गरेको ठाउँ,

(घ) अनुसन्धानको सिलसिलामा प्राप्त दसी, प्रमाण र अन्य आवश्यक कुरा,

(ङ) अनुसन्धानको सिलसिलामा कसैलाई पक्राउ गरिएको भए त्यसको विवरण,

(च) अनुसन्धानको सिलसिलामा आफूले सोधपुछ गरेका मानिसको नाम, ठेगाना र निजले कसूरको सम्बन्धमा बताएको कुरा,

(छ) पक्राउ परेका वा बुझिएका मानिसको स्वभाव,

(ज) अनुसन्धानको सिलसिलामा प्राप्त अन्य सम्बद्ध तथ्य वा जानकारी ।

(३) उपदफा (१) बमोजिम ……. खडा गरेको डायरी आवश्यकता अनुसार सरकारी वकिल वा अदालतले झिकाई हेर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिम खडा गरेको डायरीमा उल्लिखित विषयवस्तुका सम्बन्धमा सम्बन्धित अनुसन्धान अधिकारीभन्दा माथिल्लो तहको अधिकारीले चाहेमा निरीक्षण गरी अनुसन्धानका सन्दर्भमा आवश्यक निर्देशन समेत दिन सक्नेछ ।

२६. अनुसन्धान सम्बन्धमा राय, सल्लाह माग गर्न सक्नेः (१) यस परिच्छेद बमोजिम अनुसन्धान गर्दा सम्बन्धित अनुसन्धान अधिकारीले कुनै विषयमा सरकारी वकिलको राय, सल्लाह माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम राय, सल्लाह माग भएकोमा सम्बन्धित सरकारी वकिलले आफ्नाे राय वा सल्लाह दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम राय, सल्लाह दिँदा अनुसन्धानको समयमा कुनै विषयमा थप अनुसन्धान गर्न वा थप प्रमाण सङ्कलन गर्न वा कुनै दसी प्रमाण बरामद गर्न वा कसैसँग केही कुरा बुभ्mनु आवश्यक छ भन्ने लागेमा सरकारी वकिलले त्यस्तो बमोजिम गर्न वा गर।उन सम्बन्धित अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तब्य हुनेछ ।

२७. अनुसन्धानको सन्दर्भमा महान्यायाधिवक्ताले आवश्यक निर्देशन दिन सक्नेः (१) नेपाल सरकारबाट दायर हुने कुनै फौजदारी मुद्दामा भई रहेको अनुसन्धानको बारे महान्यायाधिवक्ताले आवश्यक जानकारी लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जानकारी लिँदा नेपाल सरकारवादी हुने कुनै कसूरको अनुसन्धान अपर्याप्त भएको वा त्यस्तो कसूरमा कुनै खास उपाय, तरिका वा विधि अपनाउनु पर्नेमा त्यस्तो उपाय, तरिका वा विधि नअपनाइएको वा थप अनुसन्धान गर्नु पर्ने भन्ने लागेमा महान्यायाधिवक्ताले अनुसन्धान सम्बन्धमा अनुसन्धान अधिकारी वा निजको विभागीय प्रमुखलाई जुनसुकै समयमा निर्देशन दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तव्य हुनेछ ।

२८. जाहेरी दरखास्तको अभिलेख राख्नु पर्नेः (१) पक्राउ परेको ब्यक्तिलाई दफा १४ को उपदफा (३) बमोजिम हिरासतमा राख्ने अनुमतिको लागि अदालत समक्ष निवेदन दिँदा प्रहरी कार्यालय वा अनुसन्धान अधिकारी समक्ष परेको जाहेरी दरखास्त वा दिएको सूचनाको एक प्रति अनुसन्धान अधिकारीले सरकारी वकिल मार्फत मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

(२) मुद्दा हेर्ने अधिकारीले उपदफा (१) बमोजिमको दरखास्त वा सूचनाको छट्टै अभिलेख राख्नु पर्नेछ ।

२९. सम्बन्धित निकायमा पठाउन सकिनेः यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कसूर अनुसन्धान गर्दै जाँदा अन्य कानून अन्तर्गत अनुसन्धान गर्नु पर्ने देखिएमा अनुसन्धानको प्रगति विवरण सहित त्यस्तो कसूरको अनुसन्धान गर्ने सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउन सकिनेछ ।

३०. नेपाल बाहिर भए गरेको कसूरको अनुसन्धानः (१) नेपाल बाहिर भए गरेको कसूरको सम्बन्धमा नेपालको अदालतमा मुद्दा चल्ने कानूनी व्यवस्था भएमा यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको रीत पु¥याई भएको त्यस्तो कसूरको अनुसन्धान यसै संहिता बमोजिम रीतपूर्वक भए गरेको मानिनेछः–

(क) नेपालका अदालतमा मुद्दा चल्न सक्ने फौजदारी कसूरको अनुसन्धान एक अर्का मुलुकका अधिकार प्राप्त अनुसन्धान अधिकारीबाट हुन सक्ने गरी कुनै मुलुकसँग कुनै सन्धि भएको रहेछ भने त्यस्तो सन्धिको व्यवस्था बमोजिम भएको अनुसन्धान,

(ख) खण्ड (क) बमोजिमको सन्धि भएको रहेनछ भने कूटनैतिक माध्यम मार्फत कसूर भएको मुलुकको अनुमति प्राप्त गरी त्यस्तो मुलुकको अधिकार प्राप्त अधिकारीको सहयोगमा नेपाल सरकारले तोकेको अनुसन्धान अधिकारीले गरेको अनुसन्धान,

(ग) खण्ड (क) वा (ख) बमोजिम अनुसन्धान हुन सक्ने अवस्था रहेनछ भने जुन मुलुकमा कसूर भएको हो सोही मुलुकको अधिकार प्राप्त अनुसन्धान अधिकारीले गरेको अनुसन्धान,

(घ) खण्ड (ग) बमोजिम पनि सम्भव नभएको अवस्थामा जुन इलाकामा अभियुक्त फेला परेको छ सोही इलाकामा वा अभियुक्त फेला नपरेकोमा निजको स्थायी बसोबास भएको इलाकाको अधिकार प्राप्त अनुसन्धान अधिकारीले गरेको अनुसन्धान ।

(२) उपदफा (१) बमोजिम भएको अनुसन्धानको प्रतिवेदन वा त्यससँग सम्बन्धित लिखतहरु नेपाली भाषा बाहेकको अन्य भाषामा भएका रहेछन् भने त्यस्ता लिखतको नेपाली भाषामा प्रामाणिक अनुवाद गरी अदालतमा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम भएको अनुसन्धानबाट कुनै ब्यक्ति उपर मुद्दा दायर गर्नु पर्र्ने देखिएमा सम्बन्धित सरकारी वकिलले यस परिच्छेद बमोजिम अभियोगपत्र तयार गरी अदालतमा मुद्दा दायर गर्नेछ ।

३१. अनुसन्धान प्रतिवेदन पठाउनु पर्नेः (१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कुनै कसूरको सम्बन्धमा अनुसन्धान पूरा भएपछि अनुसन्धान अधिकारीले कसूर गरेको शङ्का गरिएका सबै वा कुनै ब्यक्ति उपर मुद्दा चलाउन पर्याप्त प्रमाण पुग्ने देखिएमा निजलाई कुन कानून अन्तर्गत सजाय हुनु पर्ने हो सो कुरा खुलाई तथा कसूर नभएको देखिएको वा कसूर भएको भए पनि त्यस्तो कसूर गर्ने ब्यक्ति यही हो भन्ने यकिन हुन नसकेको वा कुनै ब्यक्ति उपर मुद्दा चलाउन पर्याप्त प्रमाण नपुग्ने देखिएकोमा सोही व्यहोरा खुलाई मिसिल कागजको सक्कल तथा नक्कल प्रति र दसी प्रमाण सहितको अनुसन्धान प्रतिवेदन अनुसूची–१९ बमोजिमको ढाँचामा तयार गरी सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिवेदन पठाउँदा थुनुवा नभएको मुद्दा भए सम्बन्धित कानूनको हदम्याद पुग्ने कम्तीमा पन्ध्र दिन अगावै र थुनुवा भएको मुद्दा भए मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने र अभियोगपत्र तयार गरी अदालतमा दायर गर्न लाग्ने समयलाई समेत ध्यानमा राखी मुद्दा दायर गर्ने दिनभन्दा सामान्यतया कम्तीमा तीन दिन अगाडि नै पठाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम अनुसन्धान प्रतिवेदन सहितको मिसिल प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलले मिसिल अध्ययन गरी अनुसन्धानको सिलसिलामा सङ्कलित सवुद प्रमाणको मूल्याङ्कन गरी मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा निर्णयको लागि महान्यायाधिवक्ता समक्ष मिसिल पठाउनु पर्नेछ ।

तर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने अधिकार महान्यायाधिवक्ताबाट मातहतको सरकारी वकीललाई सुम्पिएकोमा त्यस्तो मिसिल सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “मातहतको अधिकृत” भन्नाले महान्यायाधिवक्ता अन्तर्गतका सरकारी वकिल सम्झनु पर्छ र सो शब्दले संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकार वादी हुने अन्य कुनै मुद्दा चलाउन महान्यायाधिवक्ताले अख्तियारी दिएको नेपाल सरकारको कुनै अधिकृत वा कर्मचारीलाई समेत जनाउँछ ।

(४) उपदफा (३) बमोजिम मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा सरकारी वकिलले थप सवुद प्रमाण सङ्कलन गर्न वा थप अनुसन्धान गर्न वा कुनै ब्यक्तिसँग थप सोधपुछ गर्न आवश्यक देखेमा त्यस्तो सवुद प्रमाण सङ्कलन गरी वा थप अनुसन्धान गरी पठाउन वा त्यस्तो ब्यक्तिसँग सोधपूछ गरी पठाउन अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।

(५) सरकारी वकिलले कसूरको थप अनुसन्धान गर्न उपदफा (४) बमोजिम निर्देशन दिएमा अनुसन्धान अधिकारीले त्यस्तो निर्देशन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र थप अनुसन्धान पूरा गरिसक्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिमको थप अनुसन्धान सोही उपदफामा उल्लिखित अवधिभित्र पूरा हुन नसक्ने भन्ने अनुसन्धान अधिकारीलाई लागेमा र कुनै ब्यक्ति हिरासतमा रहेको भएमा अनुसन्धान अधिकारीले त्यस्तो ब्यक्तिलाई माथवर ब्यक्तिको जमानी लिई वा नलिई तारिखमा राख्न सक्नेछ ।

(७) अनुसन्धान अधिकारीले यस दफा बमोजिम कुनै ब्यक्ति उपर मुद्दा चलाउन नसकिने कारण सहितको प्रतिवेदन सरकारी वकिल समक्ष पेश गरेकोमा अनुसन्धानको सिलसिलामा कुनै ब्यक्ति हिरासतमा रहेको भए अनुसन्धान अधिकारीले त्यस्तो ब्यक्तिलाई सरकारी वकिलले मुद्दा चल्ने वा नचल्ने निर्णय नगरेसम्म हिरासतमा राखी राख्नु पर्नेछ ।

(८) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरमा प्रमाणको अभावमा मुद्दा नचलाउने गरी निर्णय भए पनि पछि कुनै महत्वपूर्ण प्रमाण प्राप्त भएमा त्यस्तो कसूरका सम्बन्धमा पुनः अनुसन्धान गरी अभियोगपत्र दायर गर्न सकिनेछ ।