परिच्छेद –७ थुनछेक, धरौट तथा जमानत सम्बन्धी व्यवस्था

परिच्छेद –७ थुनछेक, धरौट तथा जमानत सम्बन्धी व्यवस्था

६७. अभियुक्तलाई थुनामा राख्नेः (१) देहायको कुनै कसूरको अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई पुर्पक्षको लागि थुनामा राख्नेछः

(क) जन्म कैदको सजाय हुन सक्ने कसूर,

(ख) तीन वर्षभन्दा बढी कैदको सजाय हुन सक्ने अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर, वा

(ग) खण्ड (क) वा (ख) मा उल्लिखित कसूरको उद्योग, दुरुत्साहन वा अपराधिक षडयन्त्र गरेको वा त्यस्तो कसूरमा मतियार भएको कसूर ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कैदको सजाय हुन सक्ने अभियुक्तलाई देहायको अवस्थामा अदालतले पुर्पक्षको लागि थुनामा राख्न सक्नेछः–

(क) अभियुक्तले अदालतमा कसूर स्वीकार गरेको र मुद्दाको तथ्य र प्रमाणको मूल्याङ्कन गर्दा थुनामा राख्न मनासिब देखिएको,

(ख) एक वर्ष वा सोभन्दा बढी सजाय हुन सक्ने कसूरको अभियोग लागेको अभियुक्तको नेपालमा स्थायी बसोबास नभएको र निजलाई थुनामा नराखेको खण्डमा निज भाग्ने र पछि पक्राउ पर्ने सम्भावना नरहेकोमा,

(ग) दफा ५८ को उपदफा (१) बमोजिम जारी भएको पक्राउ पूर्जी बमोजिम म्यादभित्र हाजिर नभई अभियुक्त पक्राउ भई आएको र निजले उजुरी साथ अदालतमा उपस्थित हुन नआएको कुनै सन्तोषजनक कारण देखाउन नसकेकोमा,

(घ) अभियोग लाग्नुभन्दा तीन वर्षअघिको अवधिभित्र अन्य कुनै कसूरको अभियोगमा निजले कैद सजाय पाउने ठहर भएकोमा ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसूरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा पचहत्तर वर्ष माथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई अदालतले धरौटी वा जमानत लिई तारिखमा छोड्न सक्नेछ ।

६८. अभियुक्तसँग धरौट वा जमानत वा बैङ्क जमानत लिनेः (१) दफा ६७ को अवस्थामा हुनेमा बाहेक कुनै अभियुक्त उपरको अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले निजसँग धरौटी, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्नेछ।
तर बैङ्क जमानत विना शर्तको र अदालतले तोके बमोजिमको अवधिसम्म अद्यावधिक हुन सक्ने हुनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम धरौट, जमानत वा बैङ्क जमानत नदिने अभियुक्तलाई अदालतले थुनामा राख्नेछ ।

६९. तारिखमा राख्नु पर्नेः दफा ६७ र दफा ६८ को अवस्थामा बाहेक अन्य अवस्थामा अभियुक्त अदालतमा हाजिर भएपछि निजलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेछ ।

७०. थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सकिनेः (१) कुनै अभियुक्तबाट लिएको धरौट, जमानत वा बैंक जमानतको रकम पछि अपर्याप्त भएको देखिन आएमा अदालतले निजसँग थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको थप धरौट, जमानत वा बैङ्क जमानत दिन नसकेमा त्यस्तो अभियुक्तलाई अदालतले थुनामा राख्न सक्नेछ ।

७१. कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिनेः (१) मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख्न वा दफा ६८ बमोजिम निजसँग धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्नेछ र शुरुमा पुपक्र्षको लागि अभियुक्तलाई थुनामा नराखेको वा निजसँग धरौट, जमानत वा बैङ्क जमानत नलिएको कारणले मात्र पछि निजलाई थुनामा राख्न वा निजसँग धरौट, जमानत वा बैङ्क जमानत माग्न अदालतलाई वाधा परेको मानिने छैन ।

(२) दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसूरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाई गरी अदालतले निजलाई थुनाबाट छोड्ने आदेश दिन सक्नेछ ।

७२. धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्ने आधारः (१) यस परिच्छेद बमोजिम लिनु पर्ने धरौट, जमानत वा बैङ्क जमानतको रकम तोक्दा देहायको कुरा विचार गरी मनासिब किसिमले तोक्नु पर्छः–

(क) कसूरको प्रकृति र गम्भीरता,

(ख) अभियुक्त वा कसूरदारको आर्थिक अवस्था तथा पारिवारिक स्थिति,

(ग) अभियुक्त वा कसूरदारको उमेर र शारीरिक स्थिति,

(घ) निजले पहिले कुनै कसूरमा कसूरदार ठहरी सजाय पाएको वा नपाएको,

(ङ) निजले एकै वारदातमा विभिन्न कसूर गरे वा नगरेको,

(च) निजलाई भएको वा हुन सक्ने सजाय र निजले व्यहोर्नु पर्ने क्षतिपूर्ति,

(छ) कसूरबाट सृजित परिणाम,

(ज) कसूरमा साबिती भए वा नभएको,

(झ) असहाय वा अशक्त ब्यक्ति वा गर्भवती वा दुधे बालबालिका भएकी महिला अभियुक्त रहेको ।

(२) यस संहिता अन्तर्गत कुनै ब्यक्तिसँग मागिएको धरौट, जमानत वा बैङ्क जमानतको रकम घटी वा बढी भई मनासिब नभएको कारण देखाई मुद्दाको कुनै पक्षले निवेदन दिएमा पुनरावेदन सुन्ने अदालतले त्यस्तो विषयमा सुनुवाई गरी त्यस्तो धरौट, जमानत वा बैङ्क जमानत रकम थप घट गर्ने वा परिवर्तन गर्ने आदेश दिन सक्नेछ ।

७३. पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सकिनेः यस परिच्छेद बमोजिम भएको थुनछेक वा तोकिएको धरौट, जमानत वा बैङ्क जमानतमा चित्त नबुझने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ ।

तर जन्मकैद वा दश वर्ष वा सोभन्दा बढी कैद सजाय हुन सक्ने कसूरमा भएको थुनछेकको आदेश वेरीत भएको प्रश्नमा एक तहभन्दा माथिको पुनरावेदन सुन्ने अदालतमा पनि निवेदन दिन सकिनेछ ।

७४. धरौट, जमानत वा बैङ्क जमानत लिँदा कागज गराउनु पर्नेः (१) यस परिच्छेद बमोजिम कुनै ब्यक्तिबाट धरौट लिँदा अदालतबाट तोकिएको समय र स्थानमा त्यस्तो ब्यक्ति उपस्थित नभएमा धरौट जफत हुने शर्त उल्लेख गरी अनुसूची–२९ बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।

(२) यस संहिता बमोजिम जमानत वा बैङ्क जमानत लिँदा जमानतको रकमको अङ्क तोकी त्यस्तो बमोजिमको सम्पत्ति जमानत लिनु पर्नेछ ।

(३) जमानत दिनु पर्ने ब्यक्तिले आफ्नाे सम्पत्ति जमानत दिएको भए अदालतबाट तोकिएको समय र स्थानमा आफू उपस्थित नभएमा जमानतको रकम जमानत रहेको त्यस्तो सम्पत्ति वा निजको अरु कुनै सम्पत्तिबाट असूल गर्ने शर्त उल्लेख गरी निजबाट अनुसूची–३० बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “जमानत” भन्नाले बैङ्क जमानतलाई समेत सम्झनु पर्छ ।

(४) यस परिच्छेद बमोजिम जमानत दिनु पर्ने ब्यक्तिको लागि अरु कसैले आप्mनो सम्पत्ति जमानत दिएको भए अदालतबाट तोकिएको समय र स्थानमा निजलाई उपस्थित नगराएमा जमानतको रकम त्यस्तो जमानत रहेको सम्पत्ति वा आफ्नाे अरु कुनै सम्पत्तिबाट असूल गर्न निजको मञ्जुरी रहेको व्यहोरा सहितको शर्त गराई त्यस्तो ब्यक्तिसँग अनुसूची–३१ बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।

(५) यस दफा बमोजिम जमानत दिइएको सम्पत्तिको मूल्य पछि कुनै कारणवश घट्न गएमा त्यस्तो जमानत दिने ब्यक्तिले त्यस्तो घटेको मूल्य बराबरको सम्पत्ति अदालत समक्ष पेश गर्नु पर्नेछ ।

७५. धरौटी जफत हुनेः (१) यस परिच्छेद बमोजिम धरौट राख्ने ब्यक्ति अदालत समक्ष तोकिएको तारेखमा उपस्थित नभएमा निजले राखेको धरौटी जफत हुनेछ ।

(२) यस परिच्छेद बमोजिम राखिएको धरौटी अचल सम्पत्ति रहेछ भने त्यस्तो ब्यक्तिले बुझाउनु पर्ने रकम बराबरको सम्पत्ति बिक्री वा असूल गरी अरु सम्पत्ति निजलाई फिर्ता गर्नु पर्नेछ ।

७६. धरौट फिर्ता र जमानत फुकुवा हुन सक्नेः (१) अदालतमा दायर भएको मुद्दामा यस परिच्छेद बमोजिम अभियुक्तलाई थुनामा राख्ने आदेश भएमा थुनामा राख्नुअघि निजले राखेको धरौट वा जमानत फुकवा गरिदिनु पर्नेछ ।

(२) अदालतले कुनै मुद्दाको सिलसिलामा कुनै अभियुक्तबाट लिएको धरौटी वा जमानत त्यस्तो मुद्दाको अन्तिम निर्णय हुँदा अभियुक्तले सफाई पाएमा यस परिच्छेदमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजलाई तुरुन्त फिर्ता वा फुकुवा गरी दिनु पर्नेछ ।

७७. खास अवधिभित्र मुद्दा फैसला नभएमा थुनाबाट छोड्न सकिनेः (१) यस परिच्छेद बमोजिम पुर्पक्षको लागि थुनामा राखिएको कुनै अभियुक्तको सम्बन्धमा प्रमाण बुझ्न पहिलो पटक तारिख तोकिएको मितिले एक वर्षभित्र मुद्दाको किनारा हुन नसकेमा त्यस्तो अभियुक्तलाई थुनामा राखिएकोे भए धरौटी वा जमानत लिई मुद्दाको कारबाही र किनारा गर्न सकिनेछः
तर–

(क) जन्मकैद वा दश वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने कुनै कसूरको अभियोग लागेको कुनै अभियुक्त दफा ६७ बमोजिम थुनामा परेको रहेछ भने निजको सम्बन्धमा यो दफा लागू हुने छैन ।

(ख) पटके कसूरदारलाई अदालतले मनासिब सम्झेमा थुनामै राखी कारबाही गर्न सक्नेछ ।

(२) कुनै अदालतले उपदफा (१) बमोजिम कुनै अभियुक्तलाई छाड्न आदेश दिएकोमा त्यसरी छाड्ने आदेश दिएको तीन दिनभित्र पुनरावेदन सुन्ने अदालतलाई त्यसको जानकारी गराउनु पर्नेछ ।

७८. थुनामा राख्न सकिने अधिकतम अवधिः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अभियुक्तलाई निज उपर लगाइएको अभियोग प्रमाणित भएमा हुन सक्ने अधिकतम कैदको सजायको अवधिभन्दा बढी अवधिसम्म थुनामा राखिने छैन ।

७९. आदेश पर्चा खडा गर्नु पर्नेः यस परिच्छेद बमोजिम कुनै अभियुक्तलाई थुनामा राख्दा, थुनामा राखिएको अभियुक्तलाई छोड्दा वा कुनै अभियुक्तसँग धरौट वा जमानत लिँदा वा थपघट वा परिवर्तन गर्दा वा दफा ७७ बमोजिम थुनाबाट छाड्दा अदालतले कारण सहितको आदेश पर्चा खडा गर्नु पर्नेछ ।

८०. थुनुवा पूर्जी दिनु पर्ने : यस परिच्छेद बमोजिम कुनै व्यक्तिलाई थुनामा राख्दा त्यसको कानूनी आधार र कारण खुलाई अधिकार प्राप्त अधिकारीले अनुसूची–३२ बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिई थुनामा राख्नु पर्नेछ ।