परिच्छेद–६ ऋण असुली सम्बन्धी व्यवस्था

परिच्छेद–६ ऋण असुली सम्बन्धी व्यवस्था

२७. ऋण असुली अधिकृतको काम, कर्तव्य र अधिकारः (१) ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि ऋणी वा जमानत दिने व्यक्तिले धितोमा राखेको चल अचल सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाम्न नसक्ने भई ऋणीको वा जमानत दिने व्यक्तिको अन्य चल अचल सम्पत्ति समेतबाट असुल उपर गर्नुपर्ने भएमा त्यस्तो चल अचल सम्पत्ति रोक्का राख्न तत्काल सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।
(२) न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो आदेशमा तोकिएको म्यादको अधीनमा रही ऋण असुली अधिकृतले देहाय बमोजिम ऋण असुल उपर गरिदिनु पर्नेछः–
(क) ऋणीलाई बढीमा सात दिनको म्याद दिई निजले बैङ्क वा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको सम्पूर्ण सा“वा व्याज रकम बुझाउन
ल्याउन आदेश दिने,
(ख) ऋणीले खण्ड (क) बमोजिमको म्यादभित्र त्यस्तो ऋणको सा“वा व्याज रकम बुझाउन नल्याएमा ऋणीले धितो राखेको वा नराखेको चल
अचल सम्पत्ति कब्जा गर्ने,
(ग) ऋणीले धितो नराखेको वा त्यस्तो धितो राखेको चल अचल सम्पत्तिले सा“वा व्याज रकम खाम्न नसक्ने भई कसैले जमानत दिएकोमा त्यस्तो
जमानत दिने व्यक्तिको चल अचल सम्पत्ति कब्जा गर्ने,
(घ) खण्ड (ख) वा (ग) बमोजिम कब्जा गरिएको चल अचल सम्पत्ति लिलाम विक्री गर्ने,

२८. ऋण असुली सम्बन्धी कार्यविधिः (१) ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानी दिएको चल अचल सम्पत्ति निजले भोग चलन गरिरहेको अवस्थामा त्यस्तो चल अचल सम्पत्तिको भोग चलन निजबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोहबरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिंदा कब्जामा लिइएका सम्पत्तिहरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कब्जामा लिएको सम्पत्तिले ऋणको साँवा ब्याज रकम खाम्न नसक्ने भई ऋणीको अन्य चल अचल सम्पत्ति निजको भोग चलनबाट छुटाउनु पर्ने भएमा कम्तीमा दुई जना स्थानीय व्यक्ति र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रतिनिधिको रोहबरमा त्यस्तो सम्पत्ति रहेको स्थानमा प्रवेश गरी ऋण असुली अधिकृतले आफ्नो कब्जामा लिनु पर्नेछ र यसरी कब्जामा लिंदा कब्जामा लिइएका चल अचल सम्पत्तिहरूको लगत खडा गरी सोही व्यहोराको मुचुल्का उठाउनु पर्नेछ ।

२९. लिलाम विक्रीको कार्यविधिः (१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आÇनो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम गरी रकम असुल उपर गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लिलाम गर्दा अचल सम्पत्तिको हकमा पैंतीस दिन र चल
सम्पत्तिको हकमा पन्ध्र दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा लिलाम विक्री गर्ने
प्रयोजनको लागि सिलबन्दी बोलपत्र आह्वान वा डाँक बढाबढको सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२क) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा परेको सिलबन्दी बोलपत्र
स्थानीय प्रशासनका प्रतिनिधि र बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोली मूल्याङ्कन
गर्नु पर्नेछ । त्यसरी मूल्याङ्कन गर्दा उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधीनमा रही
सबैभन्दा बढी मूल्य भएको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी त्यस्तो बोलपत्रदातालाई सो
सम्पत्ति लिलाम विक्री गर्नु पर्नेछ ।
(२ख) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा डाँक बढाबढको माध्यमद्वारा लिलाम विक्री गर्दा स्थानीय प्रशासनको प्रतिनिधि र कम्तीमा दुईजना स्थानीय व्यक्तिहरूको रोहबरमा उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधीनमा रही सो सम्पत्ति लिलाम विक्री गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम चल अचल सम्पत्ति लिलाम विक्री गर्नु अघि स्थानीय प्रशासनको प्रतिनिधि, जिल्ला मालपोत कार्यालयको प्रतिनिधि र स्थानीय निकायको प्रतिनिधिको रोहबरमा ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको प्रचलित बजार मूल्यलाई समेत ध्यानमा राखी मूल्य कायम गर्नु पर्नेछ ।  त्यसरी चल अचल सम्पत्तिको मूल्य कायम गर्दा सम्बन्धित विशेषज्ञ समेतको राय लिन सकिनेछ ।
(४) उपनियम (२क) वा (२ख) बमोजिम  लिलाम विक्री गर्दा त्यस्तो चल अचल सम्पत्तिको उपनियम (३) बमोजिम कायम भएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा अर्को पटक अचलको हकमा पन्ध्र दिन र चल सम्पत्तिको हकमा सात दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्तिको लिलाम विक्री गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दोस्रो पटक चल अचल सम्पत्तिको  लिलाम विक्री गर्दा पनि उपनियम (३) बमोजिम कायम भएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा तेस्रो पटक अचल सम्पत्तिको हकमा दश दिन र चल सम्पत्तिको हकमा पाँच दिनको समय दिई राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्ति लिलाम बढाबढ गर्नु पर्नेछ । यसरी तेस्रो पटक लिलाम विक्री गर्दा पनि उपनियम (३) बमोजिमको मूल्यभन्दा कम मूल्य प्राप्त हुन आएमा  त्यस्तो चल अचल सम्पत्ति सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले निर्धारित मूल्यमा सकार गर्नु पर्नेछ । त्यसरी बैङ्क वा वित्तीय संस्थाले चल अचल सम्पत्ति सकारेपछि त्यस्तो बैङ्क वा वित्तीय संस्थाको ऋण चुक्ता भएको मानी हिसाब मिलान गरिेनेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि चल सम्पत्ति भन्नाले नगद बाहेकको चल सम्पत्ति सम्झनु पर्छ ।

२९क.लिलाम विक्री गर्दा लागेको खर्चः (१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आफ्नो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम विक्री गरी ऋण असुल गर्दा त्यस्तो लिलाम विक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च कटाइ बाँकी रहन आएको रकमबाट सम्बन्धित
बैङ्क वा वित्तीय संस्थाले पाउनु पर्ने रकम त्यस्तो बैङ्क वा वित्तीय संस्थालाई दिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्ने सिलसिलामा लागेको सम्पूर्ण खर्च र बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने रकम कटाइ बा“की रहन आएको रकम सम्बन्धित ऋणी वा जमानत दिने व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि न्यायाधिकरणले आवश्यक ठानेमा चल अचल सम्पत्ति लिलाम विक्री गर्नु भन्दा अगावै पनि लिलाम विक्री गर्दा लाग्ने अनुमानित खर्च सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई अग्रीम रूपमा दाखिला गर्न लगाउन
सक्नेछ ।

२९ख. पुरस्कार दिनेः ऋणीले धितो राखेको वा जमानत दिने व्यक्तिले जमानत दिएको हदसम्मको रकम वापत धितो राखेको सम्पत्तिबाट बैङ्क वा वित्तीय संस्थाले पाउनुपर्ने ऋण रकम चुक्ता हुन नसकेको र ऋणी वा जमानत दिने व्यक्तिको अन्य सम्पत्ति फेला नपरेको अवस्थामा कुनै व्यक्तिले त्यस्तो व्यक्तिको कुनै सम्पत्तिको बारेमा न्यायाधिकरणलाई लिखित जानकारी गराएको आधारमा फेला परेको सम्पत्ति लिलाम विक्री गरी प्राप्त हुने रकमबाट न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई पाँच प्रतिशत रकम पुरस्कार स्वरूप दिनेछ ।”

३०. चलन चलाइ दिनुपर्नेः (१) नियम २९ बमोजिम चल अचल सम्पत्ति लिलाम विक्रीमा सकार गर्ने व्यक्तिलाई ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको चलन पूर्जी दिई त्यस्तो चल अचल सम्पत्तिको चलन चलाइ दिनु पर्नेछ ।
(२) उप नियम (१) बमोजिम चलन चलाइ दिंदा ऋण असुली अधिकृतले आवश्यक परेमा स्थानीय प्रशासन तथा प्रहरीको सहयोग लिन सक्नेछ । यसरी सहयोग मागेमा ऋण असुली अधिकृतलाई सहयोग गर्नु स्थानीय प्रशासन तथा प्रहरीको कर्तव्य हुनेछ ।

३०क.थुनामा राख्न पठाउनेः ऐनको दफा २५ को उपदफा (२) को खण्ड (ग) बमोजिम कुनै व्यक्ति विशेष ऋणी वा जमानत दिने व्यक्तिलाई थुनामा राख्नुपर्ने भएमा त्यस्तो व्यक्तिलाई थुनामा राखी दिनको लागि सम्बन्धित प्रहरी कार्यालयमा लेखी पठाउनु पर्नेछ र त्यसरी लेखी आएमा
सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो व्यक्तिलाई थुनामा राखी दिनु पर्नेछ ।

३१. अवहेलनामा कारबाही चलाउन निवेदन दिनु पर्र्नेः (१) ऐनको दफा २७ को उपदफा (२) बमोजिम अवहेलनामा कारबाही चलाउनु पर्दा ऋण असुली अधिकृतले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष सो व्यहोरा खुलाइ निवेदन पेश गर्नु पर्नेछ ।
(२) ऋण असुली अधिकृतले दिएको आदेशको कसैले उल्लंघन गरेको व्यहोरा उपनियम
(१) बमोजिम न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले प्राप्त गरेमा न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले त्यस्तो व्यक्तिलाई ऐनको दफा ३० बमोजिम अवहेलनामा कारबाही चलाउन सक्नेछ ।