परिच्छेद – ११ प्रमाण परीक्षण सम्बन्धी व्यवस्था

परिच्छेद – ११ प्रमाण परीक्षण सम्बन्धी व्यवस्था

९९. प्रमाण पेश गर्नु पर्नेः (१) वादीले उजुरीमा, अभियुक्तले बयानमा र प्रतिवादीले प्रतिउत्तरपत्रमा आफ्ना सबै साक्षी, लिखत र दसी प्रमाण खुलाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम खुलाएको लिखत वा दसी प्रमाणको प्रकृतिबाट आफूसँग रहनु पर्ने वा आफूले प्राप्त गर्न सक्ने लिखत वा दसी प्रमाण वादीले उजुरीका साथ, प्रतिवादीले प्रतिउत्तरपत्रका साथ र अभियुक्तले बयान गर्दाका बखत पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुरामा देहाय बमोजिम हुनेछः–

(क) अभियुक्तले बयान गर्दा वा प्रतिवादीले प्रतिउत्तरपत्र दिँदा तत्काल पेश गर्न नसकिने कुनै लिखत वा दसी प्रमाण पेश गर्ने अर्को तारिख तोकी पाउँ भनी अनुरोध गरेमा अदालतले बढीमा एक महिनासम्मको अर्को तारिख तोक्न सक्नेछ,

(ख) दफा १०४ को उपदफा (३) बमोजिम कीर्ते वा जालसाजी सम्बन्धी प्रमाण बुभ्mने कुराको हकमा सोही दफा बमोजिम हुनेछ,

(ग) मुद्दाको पुर्पक्ष हुँदाका बखत कुनै नयाँ तथ्यको समर्थन वा खण्डन गर्न कुनै थप प्रमाण पेश गर्नु पर्ने अवस्था भएमा अदालतको अनुमति लिई सम्बन्धित पक्षले थप प्रमाण पेश गर्न सक्नेछ ।

(४) मुद्दाको कुनै पक्षले उपदफा (२) बमोजिम कुनै लिखत प्रमाण पेश गर्दा त्यस्तो लिखतको नक्कल विपक्षीको सङ्ख्याभन्दा एक प्रति बढी पेश गर्नु पर्नेछ ।
तर अनुसूची–१ र अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दामा भने त्यस्तो लिखतको नक्कल पेश गर्नु पर्ने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “नक्कल” भन्नाले लिखतको फोटोकपी वा अन्य कुनै छायाँप्रति सम्झनु पर्छ ।

१००. सक्कल लिखत फिर्ता दिनु पर्नेः (१) दफा ९९ को उपदफा (२) बमोजिम कुनै लिखत अदालतमा पेश भएकोमा अदालतले आफ्नो कर्मचारीलाई सोही दफाको उपदफा (४) बमोजिम पेश भएको नक्कल प्रति सक्कल लिखत बमोजिमको भए वा नभएको रुजु गर्न लगाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम रुजु गर्ने कर्मचारीले रुजु गरी सकेपछि त्यस्तो नक्कलको प्रत्येक पानामा सक्कल बमोजिम नक्कल दुरुस्त छ भनी लेखी मिति खुलेको दस्तखत गरी त्यस्तो लिखत पेश गर्ने पक्षको समेत सहीछाप गराई अदालतको छाप लगाई प्रमाणित गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्रमाणित भएपछि त्यस्तो कर्मचारीले त्यस्तो सक्कल लिखतको पीठमा अदालतको छाप लगाई मिति खुलेको दस्तखत गरी त्यस्तो लिखत पेश गर्ने पक्षलाई फिर्ता दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम फिर्ता दिएको सक्कल लिखत अदालतले चाहेमा आवश्यकता अनुसार पुनः पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिन सक्नेछ ।

१०१. पक्षले साक्षी उपस्थित गराउनु गर्नेः (१) अदालतमा दायर भएका मुद्दाका साक्षी अदालतले तोकेको दिन सम्बन्धित पक्षले उपस्थित गराउनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास मुद्दामा त्यस्तो मुद्दा दायर गर्दा कै बखत प्रतिवादीहरु उपस्थित भएमा वादी, प्रतिवादी वा दुवै पक्षले मुद्दा दायर गर्दा कै बखत आ–आफनो साक्षी प्रमाणहरु अदालतमा पेश गर्न सक्ने छन् ।

(३) उपदफा (१) वा (२) बमोजिम साक्षी पेश गर्दा अनुसूची–१ र अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाका सरकारी पक्षको साक्षीलाई सम्बन्धित अनुसन्धान अधिकारी वा निजको कार्यालयले सरकारी वकिल कार्यालय मार्फत उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम साक्षी बुझ्न तोकेको तारिखका दिन उपस्थित नहुने साक्षीलाई वातेल गरिदिनु पर्छ ।
तर काबू बाहिरको परिस्थिति परी उपस्थित हुन नसकेकोमा पक्षले सोही व्यहोरा खुलाई निवेदन दिएमा अदालतले त्यस्तो साक्षी बुझ्ने अर्को तारिख तोक्न सक्नेछ ।

(५) यस संहिताको अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूर सम्बन्धी मुद्दामा सबै प्रतिवादीहरु उपस्थित नभएको कारण साक्षी परीक्षणको प्रकृया शुरु नभएकोमा कुनै पक्षले आफूले दिएको साक्षी तत्काल उपस्थित नगराएमा पछि उपस्थित गराउन नसकिने कारण देखाई त्यस्ता साक्षीहरु तत्कालै उपस्थित गराई वकपत्र गराउन अनुरोध गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम अनुरोध भएकोमा र त्यस्तो कारण मनासिब भएमा अदालतले सोको कारण खुलाई त्यस्तो साक्षीको तत्कालै वकपत्र गराउन सक्नेछ ।

(७) उपदफा (६) बमोजिम साक्षीले गरेको वकपत्रमा उपस्थित भएसम्मका मुद्दाका पक्ष विपक्षलाई जिरह गर्न दिनु पर्नेछ र त्यस्तो अवस्था रहेनछ भने त्यस्तो वकपत्रको व्यहोराको हकमासम्म पछि उपस्थित पक्षले खण्डन गर्न सक्नेछ ।

१०२. विशेषज्ञ ….लाई बुझ्न सकिनेः नेपाल सरकार वादी भएको जघन्य वा गम्भीर कसूर सम्बन्धी कुनै मुद्दामा विशेषज्ञ राय व्यक्त गर्ने विशेषज्ञको मृत्यु भएमा वा निज लामो अवधि विदेशमा बसी नेपाल आउन नसक्ने भएमा वा अन्य कारणले निजलाई बुझ्न असम्भव भएमा त्यस्तो विशेषज्ञ ……. सरहको वा सोभन्दा माथिको समान विषयको विशेषज्ञबाट विशेषज्ञ राय लिन सकिनेछ ।

१०३ सहअभियुक्तको जिरह गर्न सकिनेः यस परिच्छेद बमोजिम प्रमाण परीक्षण गर्दा कुनै अभियुक्तले कुनै सहअभियुक्तलाई पोल गरेमा त्यसरी पोलेको कुराको हदसम्म त्यस्तो सहअभियुक्तले जिरह गर्न सक्नेछ ।

१०४. सद्दे किर्तेमा बयान गराउनु पर्ने: (१) प्रमाण बुझ्न तोकिएको तारिखमा वादीले पेश गरेको प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीले पेश गरेको प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई निजले त्यस्तो कागजलाई सद्दे, किर्ते वा जालसाजी नामाकरण गरेमा अदालतले सोही व्यहोराको बयान गराई अभिलेख गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम देखाउँदा वा सुनाउँदा तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याउन नसक्ने भई कुनै पक्षले म्याद माग गरेमा अदालतले तीन दिनसम्मको म्याद दिनु पर्नेछ ।

(३) मुद्दाको पक्ष बाहेक अरुको सहीछाप परेको कागज पेश भएमा तत्काल सद्दे, किर्ते वा जालसाजी छुट्‍याई नामाकरण गर्न नसक्ने भई मुद्दाका कुनै पक्षले म्याद मागेमा प्रमाण सहित सद्दे, किर्ते वा जालसाजीमा बयान गर्न पन्ध्र दिनसम्मको म्याद दिन सकिनेछ ।

(४) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र बयान गर्ने व्यक्तिले सद्दे, किर्ते वा जालसाजी जे नामाकरण गर्दछ अदालतले सोही अनुरुप बयान गराई अभिलेख गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम बयान गराउँदा कुनै पक्षले त्यस्तो लिखत किर्ते वा जालसाजी हो भन्ने बयान गरेमा अदालतले सो दिन मुद्दाका सबै पक्षहरू हाजिर रहेको भए निजहरूको सोही दिन र कुनै पक्ष हाजिर नरहेको भए त्यस्तो पक्षको हकमा त्यसपछि हाजिर भएकै दिन बयान गराउनु पर्नेछ ।

(६) वारिस वा कानून व्यवसायी तारिखमा रहेको मुद्दामा सम्बन्धित पक्षलाई नै झिकाउनु आवश्यक देखिएमा अदालतले त्यस्तो पक्षलाई झिकाई निजको बयान गराउनु पर्नेछ ।

(७) यस दफा बमोजिम प्रमाणको कागज देखाउँदा वा सुनाउँदा सम्बन्धित पक्षले सद्दे, कीर्ते वा जालसाजी छुट्‍याउन नसक्ने भएमा अदालतले त्यस्तो प्रमाणको कागज जाँच गर्न सम्बन्धित विशेषज्ञ समक्ष पठाउन सक्नेछ ।

१०५. कीर्ते वा जालसाजी भनिएको लिखत मिसिल साथ राख्नु पर्नेः दफा १०४ को उपदफा (१) बमोजिम एउटा पक्षले पेश गरेको लिखत अर्को पक्षलाई देखाउँदा त्यसलाई निजले कीर्ते वा जालसाजी लिखत नामाकरण गरेमा त्यस्तो लिखतको पीठमा दुवै पक्षको सहीछाप गर्न लगाई सम्बन्धित कर्मचारीको हस्ताक्षर र अदालतको छाप समेत लगाई सिलवन्दी गरी मिसिल साथ सुरक्षित राख्नु पर्नेछ र सहीछाप गर्ने ठाउँ नभएमा छुट्टै कागज जोडी जोर्नीमा समेत सहीछाप गरी मुचुल्का गरी राख्नु पर्नेछ ।

१०६. तोकिएको दिन साक्षी बुझ्नु पर्नेः (१) अदालतले साक्षी बुझ्न तोकिएको तारिखको दिन उपस्थित भएसम्मको सबै साक्षीहरुको वकपत्र गराउनु पर्नेछ र त्यस दिन उपस्थित सबै साक्षीहरुको वकपत्र गराउन समय अभावको कारणले नभ्याएमा मात्र त्यसपछि अदालत खुल्ने अर्काे दिन वकपत्र गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम वकपत्र गर्न उपस्थित भएको साक्षीले बकपत्र गर्नुअघि निजले सत्य कुरा मात्र व्यक्त गर्ने उद्घोषण गरी अनुसूची–३७ बमोजिमको ढाँचामा अरुले सुन्ने गरी शपथ लिनु पर्नेछ र त्यस्तो शपथ सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ ।

(३) साक्षीले गरेको वकपत्र अनुसूची–३८ बमोजिमको ढाँचामा अभिलेख गर्नु पर्नेछ ।

१०७. बन्दसवालद्वारा साक्षी बुझ्न सकिनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा दायर रहेको अदालतको अधिकार क्षेत्र भएको इलाकाभन्दा बाहिर रहे बसेको वा कुनै कारणले अदालतमा उपस्थित हुन नसक्ने तर नबुझी नहुने साक्षीलाई मुद्दाको गम्भीरता हेरी बन्दसवालद्वारा बुभ्mनु पर्ने भएमा अदालतले त्यसको सूचना मुद्दाका पक्षहरुलाई दिनु पर्नेछ ।

(२) मुद्दाको कुनै पक्षले चाहेमा उपदफा (१) बमोजिमको बन्दसवालमा आफूले साक्षीसँग सोध्न चाहेको प्रश्नहरु समावेश गरियोस भनी कारण खुलाई अदालतमा निवेदन दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको कुनै निवेदन परेमा र अदालतले त्यस्तो प्रश्न त्यस्तो बन्दसवालमा समावेश हुनु मनासिब ठानेमा त्यस्तो प्रश्न समेत त्यस्तो बन्दसवालमा समावेश गर्न आदेश दिनेछ र सोही बमोजिम बन्द सवालको प्रश्नहरु तयार गरिनेछ ।

(४) बन्द सवालको ढाँचा अनुसूची–३९ मा उल्लेख भए बमोजिम हुनेछ ।

(५) उपदफा (१) बमोजिम बन्दसवालद्वारा साक्षी बुझ्दा मुद्दाको कुनै पक्षले चाहेमा बन्दसवाल पठाइएको अदालतमा उपस्थित भै प्रमाण सम्बन्धी प्रचलित कानून बमोजिम साक्षी परीक्षण, जिरह वा पुनः सोधपुछ गर्न सक्नेछ ।

१०८. वकपत्र इजलासमा गराउनु पर्नेः (१) यस संहिता बमोजिम साक्षीको वकपत्र गराउँदा न्यायाधीशको इजलासमा गर्नु पर्नेछ ।
तर शारीरिक असमर्थताले गर्दा अदालतमा उपस्थित हुन नसक्ने साक्षीको वकपत्र गराउनु पर्दा त्यस्तो साक्षी रहे वसेको ठाउँमा न्यायाधीश आफैँ गई वा आफ्नाे मातहतको अधिकृत कर्मचारी खटाई वकपत्र गराउन लगाउन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम वकपत्र गराउँदा मुद्दाका सम्बन्धित पक्षहरुलाई त्यस्तो कुराको सूचना दिई दफा १०७ को उपदफा (५) बमोजिम परीक्षण गर्ने मौका समेत दिनु पर्नेछ ।

१०९. श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिनेः (१) यस परिच्छेद बमोजिम बुझनु पर्ने साक्षी शारीरिक रुपमा अशक्त वा बालबालिका भएको वा सुरक्षाको कारणले गर्दा निजलाई अदालतमा उपस्थित गराउन नसकिने भएमा सम्बन्धित पक्षले सोही व्यहोरा खोली श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत त्यस्तो साक्षी बुझनको लागि अदालतमा निवेदन दिन सक्नेछ ।

(२) कुनै खास प्रकृतिको साक्षीको परीक्षण श्रव्य दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत गराउन अदालतले आदेश गरेमा सोही बमोजिम साक्षी परीक्षण गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निवेदन परेमा र निवेदनमा उल्लिखित कारण मनासिब देखिएमा वा उपदफा (२) बमोजिम अदालतले आदेश दिएमा यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले त्यस्तो साक्षी श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत बुझ्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) गर्दा अदालतको अनुमति लिई मुद्दाको सम्बन्धित पक्ष त्यस्तो सम्वाद स्थलमा उपस्थित भई सोधपुछ, जिरह वा पुनः सोधपुछ गर्न सक्नेछ ।

(५) उपदफा (३) बमोजिम साक्षी बुझ्दा त्यस्तो साक्षीले व्यक्त गरेको कुरा अभिलेख हुने व्यवस्था गर्नु पर्नेछ र अदालतले श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) को अभिलेख राख्नु पर्नेछ ।

(६) श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझेको अभिलेख अनुसूची–४० बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

११०. साक्षीको व्यवहार, मुखाकृति इत्यादि टिपोट गर्न सकिनेः (१) न्यायाधीशले कुनै साक्षीलाई वकपत्र गराउँदा निजको व्यवहार र मुखाकृति कस्तो थियो, निजसँग सोधिएको प्रश्नहरुको जवाफ दिँदा निज उत्तेजित भएको, हडवडाएको वा डराएको थियो वा थिएन, निजको मुखाकृतिबाट निजले दिएको जवाफ साँचो वा झुठ्ठो के कस्तो झल्कन्थ्यो जस्ता कुरा र अन्य आवश्यक कुराको सम्बन्धमा आपूmलाई लागेको कुराहरुको टिपोट बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बनाइएको टिपोटमा न्यायाधीशले सहीछाप गरी मिसिल संलग्न राख्नु पर्नेछ ।

(३) साक्षीको वकपत्रलाई प्रमाणको रुपमा मूल्याङ्कन गर्दा उपदफा (१) बमोजिमको टिपोटलाई आधार लिन सकिनेछ ।

१११. एक पटक बुझिसकेको साक्षी फेरि बुझ्न नहुनेः एक पटक वकपत्र गरिसकेको साक्षीबाट पुनः कुनै कुरा बुझ्न सकिने छैन ।
तर त्यस्तो साक्षीबाट नबुझी नहुने कुनै कुरा छुट्न गई न्यायाधीशले कारण खुलाई आदेश गरेमा पुनः समाह्वान जारी गरी निजलाई बुझ्न सकिनेछ ।

११२. नवुझी नहुने साक्षीलाई समाह्वान वा पक्राउ पूर्जी जारी गर्न सकिनेः (१) यस परिच्छेद बमोजिम प्रमाण परीक्षणको लागि अदालतले तोकेको दिन उपस्थित नभएको तर मुद्दाको गम्भीरता हेरी नबुझी नहुने नेपाल सरकार वादी हुने फौजदारी मुद्दासँग सम्बन्धित साक्षीलाई उपस्थित गराउन वा कुनै लिखत वा दसी प्रमाण दाखिला गराउन समाह्वान जारी होस् भनी कारण खुलाई मुद्दाको पक्षले निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन परेमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब भई त्यस्तो साक्षी बुझ्न पर्ने देखेमा अदालतले त्यस्तो साक्षीलाई बढीमा पन्ध्र दिनको म्याद दिई समाह्वान जारी गरी बुझन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम समाह्वान जारी भएकोमा मनासिब कारण भएकोमा बाहेक त्यस्तो साक्षी तोकिएको म्यादभित्र उपस्थित हुनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम तोकिएको म्यादभित्र उपस्थित नहुने साक्षीलाई अदालतले दुई हजार रुपैयाँसम्म जरिबाना गरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरी वकपत्र गराउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम जुन साक्षीका बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो त्यस्तो साक्षी फेला परेन वा पक्राउ हुन सकेन भने त्यस्तो साक्षी पक्राउ परेका वा फेला परेका बखत सजाय कार्यान्वयन गर्ने गरी पैतालीस दिनसम्म कैद सजाय गरी बुझिएको प्रमाणबाट मुद्दा फैसला गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम जारी भएको समाह्वान वा पक्राउ पूर्जी परिच्छेद –६ बमोजिम तामेली गरिनेछ ।

११३. साक्षीलाई दैनिक तथा भ्रमण भत्ता तथा सुरक्षा दिनु पर्नेः (१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दामा नेपाल सरकारका तर्फबाट अदालतमा उपस्थित भएका साक्षीलाई राजपत्र अनङ्कित प्रथम श्रेणीका सरकारी कर्मचारीले र विशेषज्ञको रुपमा उपस्थित भएको साक्षी भए राजपत्राङ्कित तृतीय श्रेणीको सरकारी कर्मचारीले कानून बमोजिम पाए सरहको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउनु पर्नेछ ।

(२) कुनै सरकारी कर्मचारी साक्षी वा विशेषज्ञको हैसियतले अदालतमा उपस्थित भएमा निजलाई प्रचलित कानून बमोजिम निजले पाउने दैनिक तथा भ्रमण भत्ता निज बहाल रहेको कार्यालयले उपलब्ध गराउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको साक्षीको आवश्यक सुरक्षाको व्यवस्था नेपाल सरकारले गर्नु पर्नेछ ।

११४. साक्षी वा पीडितको संरक्षण गर्नेः (१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कसूर सम्बन्धी कुनै मुद्दामा साक्षी रहेको कुनै ब्यक्तिलाई अदालत समक्ष उपस्थित हुन वा अदालतमा वकपत्र गरिसकेपछि आप्mनो सुरक्षामा खतरा रहेको छ भन्ने लागेमा निजले त्यसको कारण खुलाई सुरक्षाको प्रबन्ध गरिदिन अदालत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको अनुरोध भएमा अदालतले त्यस्तो साक्षीको सुरक्षाको प्रवन्ध गर्न सम्बन्धित निकायलाई आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम अदालतले आदेश दिएमा त्यस्तो सुरक्षाको प्रबन्ध गर्ने कर्तव्य त्यस्तो निकायको हुनेछ ।

(४) यस दफा बमोजिम साक्षी संरक्षण गर्न अदालतले गरेको आदेश बमोजिम अपनाइएको कुनै विषयका सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइने छैन ।

(५) कुनै खास कसूरबाट पीडित ब्यक्ति वा कुनै मुद्दाको साक्षीको रुपमा रहेका ब्यक्तिले साक्षीका रुपमा रहेको कारणले आफूलाई पक्षबाट अनुचित डर त्रास वा भय हुन सक्ने वा आफ्नाे जिउ ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सूचना प्रहरीलाई दिएमा प्रहरीले त्यस्ता साक्षी वा पीडितको संरक्षण गरिदिनु पर्नेछ ।

११५. नेपाल राज्य बाहिर पनि साक्षी प्रमाण बुझ्न सकिनेः (१) कुनै अदालतमा विचाराधीन रहेको कुनै मुद्दाका सम्बन्धमा नेपाल राज्य बाहिर रहे बसेको कुनै साक्षी वा प्रमाण बुझ्नु परेमा वा बन्दसवाल गर्नु परेमा त्यस्तो विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी प्रचलित कानून बमोजिम साक्षी वा प्रमाण बुझ्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम प्रयोग हुने बन्द सवालको ढाँचा अनुसूची–४१ मा उल्लेख भए बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिम बुझिएको साक्षी वा प्रमाणलाई यसै संहिता बमोजिम बुझिएको मानिनेछ ।
तर त्यसरी बुझिएको साक्षी वा प्रमाण विवरण सम्बन्धित मुलुकको कानून बमोजिम प्रमाणित भएको हुनु पर्नेछ ।

(४) यस दफा बमोजिम बुझ्नु पर्ने वा बुझिएको साक्षी वा प्रमाण नेपाली भाषा बाहेक अन्य भाषामा बुझ्नु पर्ने वा बुझिएको रहेछ भने सोको नेपाली भाषामा आधिकारिक अनुवाद गरी अदालतमा पेश गर्नु पर्नेछ ।

(५) कुनै कसूरको अनुसन्धान वा पुर्पक्षको सिलसिलामा नेपाल राज्य बाहिर रहेको साक्षीलाई बुभ्mनु परेमा वा निजको बकपत्र गराउन परेमा त्यस्तो साक्षीलाई सो प्रयोजनका लागि तोकिए बमोजिम श्रव्य दृष्य संवाद (भिडियो कन्फरेन्स) वा अन्य यस्तै प्रविधि मार्फत बुझन वा निजको बकपत्र गराउन सकिनेछ ।

(६) उपदफा (५) बमोजिम बुभ्mदा वा बकपत्र गराउँदा त्यस्तो साक्षीले भनेको कुरा वा गरेको बकपत्रको अभिलेख हुने व्यवस्था गर्नु पर्नेछ ।

(७) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम प्रमाण बुझन नसकिएको कारणले मात्र मुद्दाको कारबाही र किनारा गर्न बाधा पुगेको मानिने छैन ।