परिच्छेद – १४ पुनरावेदन र साधक सम्बन्धी व्यवस्था

परिच्छेद – १४ पुनरावेदन र साधक सम्बन्धी व्यवस्था

१३४. पुनरावेदन लाग्नेः (१) अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको हकमा सत्तरी दिन र अन्य मुद्दामा तीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।

तर त्यस्तो अवधिभित्र पुनरावेदन गर्न नसकेको कारण देखाई पुनरावेदन गर्न चाहने पक्षले निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिब ठहराएमा पुनरावेदन सुन्ने अदालतले बढीमा तीस दिनसम्मको म्याद थामिदिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन गर्न चाहने ब्यक्तिले फैसला गर्ने अदालतको पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दर्ता गराउनु पर्नेछ ।

(३) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट सुनुवाई हुँदाका बखत मुद्दाको पक्ष वा निजको वारिस उपस्थित भएको वा निजको कानून व्यवसायी उपस्थित भई बहस पैरवी गरेको रहेछ र सोही दिन फैसला भएको रहेछ भने मुद्दाको पक्षले त्यस्तो फैसला भएको थाहा पाएको मानिनेछ ।

तर सरकार वादी भएको मुद्दाको हकमा दफा १३२ को उपदफा (४) बमोजिम फैसलाको जानकारी प्राप्त भएको मितिबाट पुनरावेदन गर्ने म्याद शुरु हुनेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि फैसला भएको मितिले एक वर्षको अवधि नाघेपछि पक्षले फैसला भएको स्वतः थाहा पाएको मानिनेछ ।

१३५. फैसला गर्ने अदालत वा कैदमा रहेको कारागार मार्फत पुनरावेदन दर्ता गर्न सकिनेः (१) दफा १३४ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो दफाको उपदफा (१) बमोजिम पुनरावेदन गर्न चाहने ब्यक्तिले फैसला गर्ने अदालत मार्फत वा त्यस्तो फैसलाबाट कसूरदार ठहरिएको ब्यक्ति कैदमा रहेको भए कैदमा रहेको कारागार मार्फत पनि पुनरावेदन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता भएकोमा त्यस्तो अदालत वा कारागारले पुनरावेदकले निजलाई भएको सजाय भोगेको वा बुझाएको वा त्यस बापत धरौट वा जमानत दिएको भए त्यस्तो व्यहोरा खोली पुनरावेदन सुन्ने अदालतमा यथासम्भव चाँडो पुनरावेदन पठाई पुनरावेदकलाई त्यस कुराको जानकारी दिनु पर्नेछ ।

(३) फैसला गर्नेे अदालतले उपदफा (२) बमोजिम पुनरावेदन पठाउँदा सम्बन्धित मिसिल समेत साथै राखी पठाउनु पर्नेछ ।

१३६. पुनरावेदन दिँदा रीत पु¥याउनु पर्नेः (१) पुनरावेदन दिँदा अनुसूची–४५ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिने पुनरावेदनमा अन्य कुराको अतिरिक्त पुनरावेदक र प्रत्यर्थीको पुरा नाम र ठेगाना, मुद्दाको संक्षिप्त विवरण, तल्लो अदालतको निर्णयमा चित्त नबुझेको कुरा र त्यसको आधार, पुनरावेदन सुन्ने अदालतबाट निर्णय हुनु पर्ने कुराहरु र सम्बन्धित कानून स्पष्ट रुपमा उल्लेख गरी पुनरावेदकले सहीछाप गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम पुनरावेदन दिँदा देहायका लिखतहरु पुनरावेदन साथ संलग्न गर्नु पर्नेछः–

(क) जुन फैसला उपर पुनरावेदन दिन खोजेको हो त्यस्तो फैसलाको प्रतिलिपि,

(ख) फैसलाबाट पुनरावेदकलाई कुनै सजाय भएको रहेछ भने निजले त्यस्तो सजाय भोगेको वा बुझाएको वा त्यस बापत कैदमा रहेको वा जमानत दिएको वा धरौट राखेको निस्सा ।

१३७. पुनरावेदन दिंदा कैदमा बस्नु पर्नेः (१) देहायको कुनै ब्यक्तिले पुनरावेदन दिँदा कैदमा बसेर दिनु पर्नेछः–

(क) जन्मकैदको सजाय भएको ब्यक्ति,

(ख) दश वर्षभन्दा बढी कैद सजाय भएको ब्यक्ति,

(ग) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कसूरमा कसूरदार ठहरी तीन वर्षभन्दा बढी कैदको सजाय पाएको ब्यक्ति,

(घ) पुर्पक्षको लागि थुनामा वसेकोमा कसूरदार ठहरी कैद सजाय पाएको ब्यक्ति,

(ङ) कैदको सजाय पाएको र नेपालभित्र स्थायी बसोबास नभएको ब्यक्ति ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पचहत्तर वर्ष माथिको ब्यक्ति वा निको नहुने वा अत्यन्त कडा रोग लागी थुनामा बस्न नसक्ने भनी नेपाल सरकारले गठन गरेकोे मेडिकल बोर्डबाट सिफारिस भएको ब्यक्ति वा अदालतबाट पुर्पक्षको लागि थुनामा राख्न नपर्ने आदेश भई थुनामा नबसेको अवस्थामा दश वर्षसम्म कैद सजाय भएको कसूरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिको लागि कारण खुलाई निवेदन गरेमा र त्यस्तो कारण मनासिब देखिएमा पुनरावेदन सुन्ने अदालतले निजसँग धरौट वा जमानत लिई पुनरावेदन गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम अनुमति दिएकोमा त्यस्तो अदालतले थुनामा नबसी पुनरावेदन गर्न सक्ने कारण खुलाई आदेश पर्चा खडा गरी मिसिल संलग्न राख्नु पर्नेछ ।

(४) उपदफा (१) र (२) मा लेखिएको ब्यक्ति बाहेक अन्य ब्यक्तिले फैसला बमोजिम आफूलाई भएको सजाय बापत फैसला गर्ने वा पुनरावेदन सुन्ने अदालतमा धरौट वा जमानत दिई पुनरावेदन गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम धरौट वा जमानत नदिने ब्यक्तिलाई कैद सजाय भएको रहेछ भने निजले त्यस्तो सजाय बापत कैदमा बसेर मात्र पुनरावेदन गर्न सक्नेछ ।

(६) उपदफा (२) वा (४) बमोजिमको धरौट वा जमानत दिन नसकी कैदमा बसी पुनरावेदन दिने ब्यक्तिको पुनरावेदन उपर त्यस्तो पुनरावेदन दर्ता भएको मितिले छ महिनाभित्र फैसला हुन नसकेमा सम्बन्धित पुनरावेदन सुन्ने अदालतले निजलाई त्यस्तो अवधिपछि कैदबाट छाडी तारिखमा राखी पुर्पक्ष गर्नु पर्नेछ ।

(७) उपदफा (६) बमोजिमको अवधिभित्र फैसला गर्न नसकिएमा त्यस्तो अदालतले कारण खुलाई पुनरावेदन सुन्ने अदालतलाई त्यसको जानकारी गराउनु पर्नेछ ।

(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि, –
(क) मुद्दाको कारबाहीको सिलसिलामा थुनामा वा कैदमा परी फैसला बमोजिमको सजाय भुक्तान गरी सकेको ब्यक्ति भए पुनरावेदन गर्नको लागि कैदमा बस्न वा धरौट वा जमानत दिन पर्ने छैन,

(ख) पुनरावेदन गरेको कारणले मात्र कुनै ब्यक्तिलाई फैसला बमोजिम भएको सजायभन्दा बढी हुने गरी कैदमा राखिने छैन ।

(९) परिच्छेद–७ बमोजिम धरौट वा जमानत दिने ब्यक्तिको हकमा निवेदन दिँदा वा पुनरावेदन गर्दा त्यस्तो धरौट वा जमानतबाट पुगेसम्म सोही धरौट वा जमानतलाई यस दफाको प्रयोजनका लागि धरौट वा जमानत कायम गर्न सकिने छ ।

(१०) ………………………………………..

(११) मुद्दाको कारबाहीको सिलसिलामा पुनरावेदन गर्ने ब्यक्ति बाहेक अरु कसैको सम्पत्ति धरौट वा जमानत रहेकोमा त्यस्तो ब्यक्तिको मञ्जुरीविना त्यस्तो सम्पत्तिलाई यस दफाको प्रयोजनको लागि धरौट वा जमानत कायम गर्न सकिने छैन ।

१३८. मिसिल झिकाउनेः (१) दफा १३५ को उपदफा (३) बमोजिम मिसिल प्राप्त भएकोमा बाहेक पुनरावेदन दर्ता भएपछि पुनरावेदन सुन्ने अदालतले यथासम्भव चाँडो सम्बन्धित अदालतलाई त्यस्तो मुद्दाको मिसिल पठाउन आदेश दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सम्बन्धित अदालतले मिसिल पुनरावेदन सुन्ने अदालतमा पठाइदिनु पर्नेछ ।

१३९. पुनरावेदनको सुनुवाईको तारिख तोक्नेः दफा १३५ को उपदफा (३) वा दफा १३८ बमोजिम मिसिल प्राप्त भएपछि पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाई हुने तारिख तोक्नु पर्नेछ ।

१४०. पुनरावेदनको सुनुवाईः (१) तल्लो अदालतबाट मिसिल प्राप्त भएको मितिले छ महिनाभित्र पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाई गरिसक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन सुनुवाई गर्दा तल्लो अदालतले गरेको निर्णय मनासिब भई तात्विक फरक पर्ने नदेखिएमा पुनरावेदन सुन्ने अदालतले सोको कारण खुलाई पुनरावेदन जिकिर अस्वीकृत गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम सुनुवाइ गर्दा तल्लो अदालतबाट भएको निर्णय फरक पर्न सक्ने देखिएमा त्यसको कारण खुलाई पुनरावेदन सुन्ने अदालतले सुनुवाइको लागि प्रत्यर्थी झिकाउने आदेश गर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएमा पुनरावेदन सुन्ने अदालतले पुनरावेदन पत्रको प्रतिलिपि साथै राखी प्रत्यर्थीको नाउँमा बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र उपस्थित हुन म्याद जारी गर्नु पर्नेछ ।

(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले चाहेमा उपदफा (१) बमोजिमको म्याद आफैँले वा शुरु मुद्दा फैसला गर्ने अदालत मार्फत् यस संहिता बमोजिमको रीत पुर्‍याई तामेल गर्न सक्नेछ।

(५) उपदफा (४) बमोजिमको म्याद पाएको ब्यक्तिले अदालतले तोकेको अवधिभित्र पुनरावेदनको जिकिर खण्डन गरी प्रतिरक्षा गर्न लिखित प्रतिवाद पेश गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम अदालतमा पेश गर्ने लिखित प्रतिवाद अनुसूची–४६ मा उल्लिखित ढाँचा बमोजिम हुनेछ ।

(७) उपदफा (३) बमोजिम सुनुवाई गरेपछि पुनरावेदन उपर अदालतले निर्णय गर्नु पर्नेछ ।

१४१. प्रत्यर्थी अनुपस्थित भएमा पुनरावेदनको एकतर्फी सुनुवाई हुनेः (१) दफा १४० को उपदफा (३) बमोजिम दिइएको सूचनाको म्यादभित्र प्रत्यर्थी उपस्थित नभएमा पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको निर्णयको लागि कम्तीमा पन्ध्र दिन पछिको तारिख तोकी त्यस्तो तारिखको दिन पुनरावेदनको सुनवाई गरी निर्णय गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रत्यर्थीले दफा १४० को उपदफा (३) बमोजिम दिइएको सूचनाको म्यादभित्र उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाई उपदफा (१) बमोजिम तोकिएको तारिख अगावै निवेदनपत्र दिएमा र त्यस्तो कारण मनासिब देखिएमा अदालतले निजको म्याद थामी उपदफा

(१) बमोजिम तोकिएको तारिखको दिन निजलाई उपस्थित हुने आदेश दिई पुनरावेदन उपरको सुनुवाई गरी मुद्दाको निर्णय गर्न सक्नेछ ।

१४२. तारिखमा बस्न नपर्नेः (१) पुनरावेदनको कारबाहीको सिलसिलामा तारिखमा बस्न नचाहेमा पुनरावेदक वा प्रत्यर्थीले सोही व्यहोराको निवेदन अदालतमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेकोमा पुनरावेदक वा प्रत्यर्थी खोजेको बेलामा उपस्थित हुने कागज गराई अदालतले निजको तारिख टुटाई दिन सक्नेछ ।
तर तारिखमा नरहेको पुनरावेदक वा प्रत्यर्थीले चाहेमा पुनरावेदनको सुनुवाईको लागि तोकिएको तारिखका दिन उपस्थित हुन सक्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुनुवाई हुँदाका बखत पुनरावेदन उपर केही कुरा बुभ्mनु पर्ने वा कुनै प्रमाण दाखेल गराउनु पर्ने भन्ने अदालतलाई लागेमा त्यस्तो अवस्थामा पुनरावेदक वा प्रत्यर्थीलाई झिकाई तारिखमा राख्न सकिनेछ ।

१४३. पुनरावेदक वा प्रत्यर्थीलाई दिइने सूचना वा आदेश समाह्वान सरह तामेल गरिनेः दफा १४० वा १४२ बमोजिम पुनरावेदक वा प्रत्यर्थीलाई अदालतले दिने सूचना वा आदेश परिच्छेद–६ बमोजिम समाह्वान सरह तामेल गरिनेछ ।

१४४. पुनरावेदन सुन्ने अदालतको अधिकारः (१) यस परिच्छेद बमोजिम पुनरावेदन उपर सुनुवाई गर्दा पुनरावेदन सुन्ने अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछः–

(क) तल्लो अदालतको फैसला सदर वा बदर गर्ने वा उल्टी वा केही उल्टी गर्ने,

(ख) तल्लो अदालतले कसूरदारलाई तोकेको सजायको मात्रा घटाउने वा बढाउने वा सजायमा परिवर्तन गर्ने,

(ग) बुझ्नु पर्ने प्रमाण नबुझी फैसला भएको रहेछ भने त्यस्तो प्रमाण आफैले बुझ्ने वा बुझ्न तल्लो अदालतलाई आदेश दिने,

(घ) मुद्दामा ठहर गर्नु पर्ने विषयमा ठहर नभएको भए त्यस्तो विषयमा आफैले ठहर गर्ने वा ठहर गर्न तल्लो अदालतमा पठाउने

(ङ) तल्लो अदालतको फैसलामा आनुषङ्गिक वा प्रासङ्गिक परिवर्तन गर्ने।

(२) तल्लो अदालतले गरेको फैसला उपर कुनै खास कसूरदारको वा प्रतिवादीको मात्र पुनरावेदन परेको रहेछ र त्यस्तो पुनरावेदनको निर्णय गर्दा पुनरावेदन नगर्ने कसूरदार वा प्रतिवादीको हकमा तल्लो अदालतको फैसला फरक पर्ने देखिएमा पुनरावेदन सुन्ने अदालतले सोको कारण खुलाई त्यस्तो कसूरदार वा प्रतिवादीको हकमा पनि उपदफा (१) मा उल्लिखित अधिकारको प्रयोग गरी कानून बमोजिम फैसला गर्न सक्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुन्ने अदालतले तल्लो अदालतलाई भएको अधिकार आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।

१४५. साधकः (१) कुनै अदालतबाट कुनै अभियुक्तलाई बीस वर्ष वा बीस वर्षभन्दा बढी वा जन्मकैदको सजाय हुने गरी फैसला भएकोमा त्यसरी फैसला भएको मितिले पैँतीस दिनभित्र त्यस्तो अदालतले मिसिल सहित पुनरावेदन सुन्ने अदालतमा साधक पेश गर्नु पर्नेछ ।

(१क) प्रचलित कानून बमोजिम जन्मकैद गर्नु पर्ने मुद्दाको अभियुक्तले कसूर गरेको कुरामा अदालतमा साबित भएकोमा त्यस्तो कसूर गर्दाको परिस्थितिलाई विचार गर्दा जन्मकैदको सजाय गर्नु न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले कारण सहित घटी सजायको प्रस्ताव गरी राय सहित फैसला गरेकोमा त्यसरी फैसला भएको मितिले पैंतीस दिनभित्र मिसिल सहित पुनरावेदन सुन्ने अदालतमा राय पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम साधक पेश भएकोमा पुनरावेदन सुन्ने अदालतले पनि त्यस्तो अभियुक्तलाई बीस वर्ष वा बीस वर्षभन्दा बढी वा जन्मकैदको सजाय गर्ने ठहराई फैसला गरेमा सर्वोच्च अदालतमा साधक पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१क) बमोजिम राय पेश भएकोमा पुनरावेदन सुन्ने अदालतले त्यसरी गरिएको घटी सजायलाई सदर गरेकोमा सर्वोच्च अदालतमा राय पेश गर्नु पर्नेछ ।

१४६. साधक फैसला उपर पुनरावेदन लाग्नेः दफा १४५ बमोजिम साधक पेश हुने गरी भएको फैसलामा चित्त नबुझ्ने पक्षले त्यस्तो फैसला उपर पुनरावेदन गर्न सक्नेछ ।

१४७. पुनरावेदन लाग्ने म्यादसम्म साधक फैसला गर्न नहुनेः (१) दफा १४५ बमोजिम साधक पेश भएको मुद्दामा पुनरावेदन लाग्ने म्यादसम्म साधकको फैसला गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र पुनरावेदन परेमा साधकको लगत कट्टा गरी पुनरावेदनको रोहबाट मुद्दाको सुनुवाई गर्नु पर्नेछ ।
तर सजाय पाउने ब्यक्तिहरुमध्ये कुनै ब्यक्तिको मात्र पुनरावेदन परेकोमा पुनरावेदन नगर्ने ब्यक्तिका हकमा पनि सोही पुनरावेदन कै रोहबाट निर्णय गर्नु पर्नेछ ।

१४८ साधक पेश गर्दाको कार्यविधिः (१) दफा १४५ बमोजिम कुनै अदालतले कुनै मुद्दामा साधक पेश गर्दा त्यस्तो मुद्दाको मिसिल समेत साथै पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम साधक पेश गरेको मुद्दामा अभियुक्त थुनामा रहेको भए निज थुनामा रहेको मिति, निज रहेको कारागारको नाम तथा अभियुक्त फरार रहेको वा थुनाबाट भागेको भए सो समेत खुलाई पेश गर्नु पर्नेछ ।

(३) साधक सुनुवाई सम्बन्धी अन्य कार्यविधि पुनरावेदनको सुनुवाई सरह हुनेछ ।

१४९. साधक हेर्ने अदालतको अधिकारः (१) साधक हेर्ने अदालतले पुनरावेदन सुन्ने अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।

(२) साधक जाँच गर्दा तल्लो अदालतको फैसलाको इन्साफ नमिली कुनै परिवर्तन हुन सक्ने देखिएमा पन्ध्र दिनको म्याद दिई सम्बन्धित पक्षहरुलाई झिकाउनु पर्नेछ ।

१५०. पुनरावेदन र साधक फैसलाः पुनरावेदन फैसला गर्दा अनुसूची–४७ बमोजिमको ढाँचामा र साधक फैसला गर्दा अनुसूची–४८ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
तर पुनरावेदन र साधकको एउटै फैसला गर्नु पर्ने अवस्थामा अनुसूची–४७ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।