परिच्छेद–५ कट्टी हुने रकमहरू

परिच्छेद–५ कट्टी हुने रकमहरू

१३. सामान्य कट्टी : कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसंग सम्बन्धित देहायका खर्चहरू कट्टी गर्न पाउनेछ :–

(क) सो आयवर्षमा भएका,

(ख) सो व्यक्तिबाट भएका, र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

 

१४. ब्याज कट्टी : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछ :–

(क) कुनै रकम ऋण लिए बापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरिद गर्न प्रयोग गरिएको, वा

(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको ।

तर यस्तो ऋण दायित्व व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको हुनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टी गर्न पाउने कूल ब्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन :–

(क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र

(ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको करयोग्य आयको पचास प्रतिशत रकम ।

(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि “कर छुट पाउने संस्थाद्घारा नियन्त्रित बासिन्दा निकाय” भन्नाले सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरूको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छ ।

(क) कर छुट पाउने संस्था र सो संग सम्बद्ध व्यक्ति,

(ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसंग सम्बद्ध व्यक्ति,

(ग) गैर बासिन्दा व्यक्ति वा गैर बासिन्दा व्यक्तिसंग सम्बद्ध व्यक्ति, वा

(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरूको कुनै संयोजन ।

 

१५. व्यापार मौज्दातको लागतको खर्च कट्टी : (१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्दातको निसर्गका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउने छैन ।

(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछ :–

(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्दातको लागत जोडी हुने रकम,

(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्यको रकम ।

(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यगत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य हुनेछ ।

(४) देहायमा उल्लिखित रकम मध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य मान्नु पर्नेछ :–

(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको लागत, वा

(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको बजार मूल्य ।

(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्दातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ :–

(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राख्ने ब्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र

(ख) व्यवसायको आय गणना गर्दा एक्रुअल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर ।

(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकीन गर्न नसकिने भएमा सो व्यक्तिले पहिलो प्राप्ति पहिलो निस्काशन तरिका वा औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ ।

तर एक पटक यस्तो तरिकाको छनौट गरिसकेपछि विभागको लिखित अनुमति बाहेक सो तरिका परिवर्तन गर्न सक्ने छैन ।

(७) उपदफा (५) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ ।

(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।

(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने ।

(८) उपदफा (६) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछ :–

(क) औसत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्दातको भारित औसत लागतको आधारमा गणना गर्ने ।

(ख) पहिलो प्राप्ति पहिलो निष्काशन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्घान्त अन्तर्गत पहिले प्राप्त भएको व्यापार मौज्दात पहिले नै निसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “प्रत्यक्ष श्रम लागत” भन्नाले व्यापार मौज्दातको उत्पादनसंग प्रत्यक्ष रुपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ ।

(ख) “प्रत्यक्ष सामग्री लागत” भन्नाले व्यापार मौज्दातको अभिन्न अङ्गको रुपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ ।

(ग) “कारखानाको शिरोभार लागत” भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्दातको उत्पादन गर्न लागेको कूल लागत सम्झनु पर्छ ।

(घ) “परिवर्तनशील कारखाना शिरोभार लागत” भन्नाले व्यापार मौज्दातको उत्पादित परिमाणको परिवर्तनसंगै प्रत्यक्ष रुपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ ।

 

१६. मर्मत तथा सुधार खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरू कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा सो आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको पाँच प्रतिशत भन्दा बढी हुने छैन र सोभन्दा बढी खर्च भएमा भएको खर्चको क्रमानुसार मात्र यस्तो कट्टी गर्न पाउनेछ ।

(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप उपदफा (१) बमोजिम कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको भाग अनुसूची–२ को दफा २ को उपदफा (५) बमोजिम सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ ।

 

१७. प्रदूषण नियन्त्रण खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको प्रदूषण नियन्त्रण खर्च कट्टी नगरी र दफा १२ को उपदफा (२) तथा दफा १८ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने अधिक खर्च वा सोको भागलाई पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “प्रदूषण नियन्त्रण खर्च” भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रुपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्धेश्यको लागि कुनै प्रक्रियासंग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्झनु पर्छ ।

 

१८. अनुसन्धान विकास खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा सो व्यक्तिबाट सञ्चालित सबै व्यवसायका अनुसन्धान तथा विकास खर्च कट्टी नगरी र दफा १२ को  उपदफा (२) र दफा १७ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी गणना गरिएको सो व्यक्तिको करयोग्य आयको पचास प्रतिशत भन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अनुसन्धान र विकास खर्च” भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ ।

तर यस्तो खर्चमा अनुसूची–२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।

१९. ह्रासकट्टी खर्च : (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची–२ बमोजिम ह्रास खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूमा जडान भएका संयन्त्रहरू, उपकरणहरू, र अन्य मेशिनरीहरूको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछ ।

(क) साबिकमा जडान भई रहेका संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू पूरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सटृा नयाँ संयन्त्रहरू, उपकरणहरू र अन्य मेशिनरीहरू जडान गर्नु पर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पूरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आयवर्षसम्मको ह्रास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरूका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट  हस्तान्तरण हुने आयवर्षसम्मको ह्रास कट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ ।

२०. व्यवसाय वा लगानीबाट नोक्सानी : (१)कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ :–

(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र

(ख) सो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत चार आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।

तर, सार्वजनिक पुर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरू र बिद्युत गृह निर्माण, उत्पादन र प्रसारण गर्ने आयोजनाहरूको हकमा विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको सो वर्षको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।

(३) उपदफा (१) र (२) को अधिनमा रही सो उपदफाहरूको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

(४) उपदफा (१) र (२) को अधिनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी व्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानीे दीर्घकालीन करारसंग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ :–

(क) विगतको आय वर्ष वा वर्षहरूमा पछाडि सारी लैजान पाउने, र

(ख) सो वर्ष वा वर्षहरूमा सो दीर्घकालीन करारसंग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरू खर्चतर्फ समावेश हुने रकमहरू भन्दा बढी भए जतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

(५) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरूसंग सम्बन्धित रहेको मानी बाँडफाँड गर्नु पर्नेछ :–

(क) व्यवसायसंग सम्बन्धित दीर्घकालीन करार वा करारहरूबाट भएको नोक्सानी, र

(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसंग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरू सो करारसंग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ ।

(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरू भन्दा कट्टी गरिने रकमहरू बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्झनु पर्छ ।

 

२१. कट्टी गर्न नपाउने खर्च : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैन :–

(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,

(ख) यस ऐन बमोजिम बुझाउनु पर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लंघन गरे बापत बुझाइएको जरिवाना र यस्तै अन्य शुल्क,

(ग) दफा १० बमोजिम छुट पाउने रकमहरू प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रुपमा कर कट्टी गरिएका रकमहरू प्राप्त गर्न गरिएका खर्चहरू,

(घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,

(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, वा

(च) यस परिच्छेद वा परिच्छेद–६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरू ।

(२) कुनै आय वर्षमा बीस लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पचास हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैन :–

(क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैंक वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,

(ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,

(ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,

(घ) बैकिङ्ग सेवाहरू उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,

(ङ) बैकिङ्ग सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नु पर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा

(च) भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।

(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरूको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनै पनि रकम कट्टी गर्न पाइने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(क) “घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च” भन्नाले देहायका खर्चहरू सम्झनु पछः–

(१) कुनै प्राकृतिक व्यक्तिको लागि भएको खर्चहरू, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्चहरू :–

(क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोदप्रमोदका अन्य क्रियाकलापहरू उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च,

(ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत–जावत गरे बापतको खर्च,

(ग) काम गर्दाको समयबाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगा बाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र

(घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च । तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ ।

(२) देहायका अवस्थाहरू तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरू र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरू :–

(क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा,

(ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरुप फिर्ता भुक्तानी गरेको भएमा,

(ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रुपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा ।

(ख) “बैकिङ्ग सेवा उपलब्ध स्थान” भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्र भित्र बैकिङ्ग सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैकिङ्ग सेवा उपलब्ध स्थान सम्झनु पर्छ ।

(ग) “नगद भुक्तानी” भन्नाले बैंक वा वित्तिय संस्था मार्फत प्रतितपत्र, चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्धारा गरिएको भुक्तानी र बैड्क वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ ।

(घ) “पूँजिगत प्रकृतिको खर्च” भन्नाले देहाय बमोजिमका खर्च सम्झनु पर्छ :–

(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,

(२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा

(३) दायित्वको निसर्ग गर्दा लागेको खर्च ।