परिच्छेद–८ सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण

परिच्छेद–८ सम्पत्ति र दायित्वबाट प्राप्त खूद लाभको निर्धारण

३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खूद लाभ : (१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछ :–

(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खूद नोक्सानी मध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ :–

(क) सो लगानीको कर लाग्ने गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खूद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दावी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।

(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खूद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरूको छनौट गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–

(१) “खूद नोक्सानी” भन्नाले – (क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र

(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको करयोग्य गैर व्यावसायिक सम्पत्तिको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।

(२) “कट्टी हुन नसकेको खूद नोक्सानी” भन्नाले कुनै व्यवसाय वा लगानीको,–

(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खूद नोक्सानी मध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा २ कोखण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र

(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिन्हा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।

 

३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ नोक्सानी : (१) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरूको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

(२) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

 

३८. सम्पत्ति दायित्वहरू बापतको खर्च खूद खर्च : (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरूमा देहायका खर्चहरू समावेश हुनेछन्ः–

(क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरू लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिबाट गरिएका खर्चहरू :–

(१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र

(२) प्राप्तिको परिणामस्वरुप सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिनु पर्ने कुनै रकम ।

(ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिँदा निजबाट गरिएको खचर्, र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत संभार गर्दा लागेको खर्च,

(ग) सो सम्पत्ति वा दायित्वको निसर्ग गर्दा निजबाट गरिएको खर्च, र

(घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व बहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरू ।

तर यस्तो खर्चमा दफा २१ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरू र आय निर्धारण गर्दा कट्टी गर्न सकिने हद सम्मका खर्चहरू समावेश गर्नु पर्ने छैन ।

(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरूको योग बढी भए जतिको रकमहरू मानी गणना गर्नु पर्नेछ ।

(३) परिच्छेद–६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिमका खर्चहरूका सम्बन्धमा लागू हुने छन्। तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

 

३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी खूद आम्दानी : (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरूमा देहायका रकमहरू समावेश गर्नु पर्नेछ :–

(क) निजले दायित्वको सम्बन्धमा दायित्व वहन गर्दा प्राप्त गरेका रकमहरू,

(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व बृद्धि गरी प्राप्त गरिएका रकमहरू लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरू, र

(ग) सो सम्पत्ति वा दायित्वको निसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरू ।

तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिम रुपमा कट्टी हुने कर लागेको रकम वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरू समावेश हुने छैनन्।

(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खूद आम्दानीहरूमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरूको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरू बढी भए जतिको रकमहरू समावेश गर्नु पर्नेछ ।

(३) परिच्छेद–६ र ७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम गर्नु पर्नेछ ।

तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन ।

 

४०. सम्पत्ति वा दायित्वको निसर्ग : (१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निसर्ग गरेको मानिनेछ । सम्पत्तिको निसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पटृा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पटृामा दिइनु, रद्द गरिनु, विनास हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निसर्ग गरेको मानिनेछ । दायित्वको निसर्गमा दायित्व फछ्र्यौट, रद्ध, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरूमा निसर्ग गरेको मानिनेछ :–

(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि, (ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरूको योग सो सम्पत्ति बापतका खर्चहरूको योगभन्दा बढी भएमा,

(ग) ऋण दावी भएको सम्पत्तिको सम्बन्धमा,–

(१) बैड्ढ वा वित्तीय संस्थाको ऋण दावीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र

(२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दावी असूलउपर नहुने भनी मनासिव रुपमा विश्वास गरेकोमा ।

तर सो ऋण दावी असूलउपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरू अवलम्बन गरी सकेको हुन पर्नेछ ।

(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक करयोग्य सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरुप प्रयोग गर्नु भन्दा तत्काल अघि,

(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरूमा, र (च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैर– बासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि ।

(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पटृा अन्तर्गत कुनै सम्पत्ति पटृामा दिएर सो सम्पत्तिको निसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पटृामा दिएको हो त्यस्तो व्यक्तिले निसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ ।

(५) सम्पत्ति तथा दायित्वहरूको निसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :–

(क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्ति बापतका खूद खर्चहरूको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ,

(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खूद आम्दानीहरू त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ ।

 

४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग : कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ), (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सम्पत्तिको सम्बन्धमा,–

(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र

(२) सो समयसम्म सो सम्पत्ति बापत गरिएका खूद खर्चहरू (आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा,–

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) सो समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका आम्दानीहरूलाई खर्च रकम बराबरको भए सरह मानिनेछ ।

 

४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग : कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र

(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

 

४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नी लाई सम्पत्तिको हस्तान्तरण : सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रुपमा छनौट गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खूद खर्चहरू बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

 

४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण : कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो निसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

 

४५. सम्बद्ध व्यक्तिहरूबीचको हस्तान्तरण अन्य गैर बजार हस्तान्तरणहरू : (१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो सम्पत्तिको निसर्गबाट सो सम्पत्तिको निसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खूद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैर व्यावसायिक कर लाग्ने सम्पत्ति वा व्यापारिक मौज्दातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरू पूरा भएमा देहाय बमोजिम हुनेछ :–

(क) सो निसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खूद खर्च बराबरको रकम सो निसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरू पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रास योग्य सम्पत्तिको कुनै समूहमा पर्ने भएमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले सो निसर्ग हुँदाका बखत अनुसूची–२ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।

(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य नलिई हस्तान्तरण गरी सो दायित्वको निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिको सो निसर्ग बापत बजार मूल्य वा सो निसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खूद आम्दानी मध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ, र

(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ ।

तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरू पूरा गरी आ नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निसर्ग गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले उक्त निसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खूद आम्दानी बराबरको रकम सो निसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र

(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ ।

(६) उपदफा (२), (३) र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरू पूरा गरेको हुनु पर्नेछ :–

(क) निसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ ।

(ख) निसर्ग गरिएको गैर व्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्काल पछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैर  व्यावसायिक करयोग्य सम्पत्ति ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ ।

(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ ।

(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुदैन ।

(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तिमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र (च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रुपमा अनुरोध गर्नु पर्नेछ ।

 

४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग : (१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रुपमा निसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रुपमा

अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम सो निसर्ग बापत प्राप्त गरेको मानिनेछ :–

(१) निसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खूद खर्च, र

(२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्च भन्दा सो निसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम, र

(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम खर्च गरेको मानिनेछ ।

(१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको सम्पत्ति बापतका खूद खर्चहरू, र

(२) सो निसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च ।

(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरूमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वैच्छिक रुपमा निसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सटृामा सोही किसिमको अर्को दायित्व वहन गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछ :–

(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ ।

(१) निसर्गको तत्काल अघि सो दायित्व बापतको खूद आम्दानीहरू बापतको रकम,

(२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,

(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरूको योग बराबरको रकम प्राप्त गरेको मानिनेछ :– (१) निसर्ग हुनुभन्दा तत्काल अघि निसर्ग गरिएको दायित्व बापतका खूद आम्दानीहरू, र

(२) निसर्ग गर्दा भएको खर्च भन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम ।

(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरुप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वैच्छिक निसर्ग सिर्जना हुने अवस्थाहरू तोकिए बमोजिम हुनेछ ।

४७. सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग : (१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरुप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा वहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निसर्ग भएमा देहाय बमोजिम हुनेछ :–

(क) निसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खूद खर्चहरू भएकोमा सो व्यक्तिले,

(१) गाभिने सम्पत्ति वा दायित्वको निसर्गका सम्बन्धमा सो खूद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ ।

(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निसर्गको तत्काल अघि गाभिने दायित्व बापत खूद आम्दानीहरू भएकोमा सो व्यक्तिले :–

(१) गाभिने दायित्वको निसर्ग बापत सो खूद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ ।

तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकम भन्दा बढी हुनु हुंदैन ।

(२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ ।

(२) उपदफा (१) मा उल्लिखित कुराहरूको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरूमा समेत लागू हुनेछ :–

(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,

(ख) सो व्यक्तिबाट पटृामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र

(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा ।

 

४८. विभाजनबाट हुने सम्पत्ति दायित्वको निसर्ग : कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसंग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसंग सम्बन्धित भारहरू कुनै सम्पत्ति वा सोको कुनै भागको पटृाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछ :–

(क) अधिकार वा भारहरू स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र

(ख) अधिकार वा भारहरू अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेको मानिने छैन ।

तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ ।

 

४९. खर्च तथा आम्दानीहरूको बाँडफाँडबाट हुने निसर्ग : (१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, वहन गर्दा वा निसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरू अवस्थानुसार प्राप्ति, वहन वा निसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरूबीच बाँडफाँड गर्नु पर्नेछ :–

(क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा

(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निसर्ग गरेमा ।

(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेमा सो निसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खूद खर्च वा खूद आम्दानीहरूलाई निसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निसर्गको तत्कालपछिको सोको बजार मूल्यको आधारमा बाँडफाँड गर्नु पर्नेछ ।