परिच्छेद–१२ अवकाश बचत सम्बन्धी विशेष व्यवस्था

परिच्छेद–१२ अवकाश बचत सम्बन्धी विशेष व्यवस्था

६३. अवकाश कोषको स्वीकृति : (१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आयबाट घटाई पाउन दावी गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।

६४. अवकाश कोषमा कर : (१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरू कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ ।

तर–

(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन ।

(ख) अवकाश भुक्तानीहरू सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कट्टी गर्न पाईने छैन ।

(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन ।

(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन ।

(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रुपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा कम्पनीलाई लाग्ने करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछ :–

(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरू र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,

(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधिबीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम ।

 

६५. अवकाश भुक्तानीहरू : (१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको हितबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछ :–

(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरूलाई आयमा समावेस गर्नु पर्नेछ, र

(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तो भुक्तानी एकमुष्ठ रुपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भूक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ मानिनेछ ।

(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछ :–

(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रुपमा हुने कर कट्टीको रुपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ, र

(ख) गैर बासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ” भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरूको रकमभन्दा सो कोषबाट सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भए जतिको रकम सम्झनु पर्छ ।

 

६६. अवकाश कोषमा रहेको हित बापतका खर्च आम्दानीहरू : (१) कुनै अवकाश कोषमा कुनै प्राकृतिक व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापत गरिएको खर्चमा देहायका रकम समावेस गर्नु पर्नेछ :–

(क) सो प्राकृतिक व्यक्तिले हितको सन्दर्भमा गरेको सबै अवकाश योगदानहरू, र

(ख) सो कोषबाट दफा ६४ को उपदफा (३) बमोजिम कर दाखिला गरिएकोमा सो कोष स्वीकृत अवकाश कोषको रुपमा स्वीकृत भएको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको बीचको अवधिमा उपदफा (२) बमोजिम सो सम्पत्ति बापतका आम्दानीहरूमा समावेश गरिएको रकम ।

तर उपरोक्त रकमहरू दफा ३८ मा उल्लिखित खर्चमा समावेस भएको हुनु हुदैन ।

(२) कुनै स्वीकृत अवकाश कोषमा कुनै व्यक्तिको हितको रुपमा रहेको कुनै सम्पत्ति बापतका आम्दानीहरूमा सो हितका सम्बन्धमा गरिएका अवकाश योगदानहरू बापत दफा ६३ को उपदफा (२) बमोजिम सो व्यक्तिबाट दावी गरिएका छुटहरू समावेश गर्नु पर्नेछ ।