परिच्छेद–४ छुट हुने रकमहरू र अन्य छुटहरू

परिच्छेद–४ छुट हुने रकमहरू र अन्य छुटहरू

१०. छुट हुने रकमहरू : देहायका रकमहरूमा कर छुट हुनेछ :–

(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

(ख) विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर, (१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनु पर्नेछ, र

(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।

(ग) नेपालको नागरिक नभएको खण्ड (ख) बमोजिमको प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,

(घ) कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,

(ङ) नेपाल सरकारबाट विधवा, बृद्ध वा अपाङ्ग व्यक्तिलाई दिइने भत्ता,

(च) दफा ७, ८ वा ९ बमोजिम आयको गणना गर्दा समावेश गरिनु पर्ने रकम बाहेक उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिको रुपमा प्राप्त रकमहरू,

(छ) छुट पाउने संस्थाले देहाय बापत प्राप्त गरेको रकम :–

(१) चन्दा, उपहार,

(२) दफा २ को खण्ड (ध) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरू, वा

(३) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम, वा

(ज) विदेशी राष्ट्रको सेना वा प्रहरी सेबाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम ।

 

११. व्यावसायिक छुट तथा सुविधाहरू : (१) कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएकोबाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन ।

(२) सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिबुटी खेती तथा प्रशोधन, तरकारीका बीऊ– विजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, फलफूल खेती तथा उत्पादन, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरू जस्ता कृषि तथा वनजन्य उद्योगहरू, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्बन्धी बीऊ–विजन, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्ने बाहेक) को कारोबार गर्ने  हकारी संस्था तथा ग्रामीण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन ।

(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ :–

(क) छ सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत,

(ख) अति अविकसित, अविकसित, अल्प विकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आयवर्षका लागि सो वर्षहरूको आयमा लाग्ने करको क्रमशः सत्तरी, पचहत्तर र असी प्रतिशत ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम छुट पाउने व्यक्तिले आयको गणना गर्दा अन्य छुटृै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो उपदफाहरूमा उल्लेख भए अनुसार आयको गणना गर्नु पर्नेछ ।

(५) एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छूट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।

(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ख) बमोजिमको उद्योग सञ्चालन गर्न प्रयोग भएका सम्पत्तिहरू साबिकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग सञ्चालन गर्न प्रयोग गरेको भए सो उपदफाको समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नुपर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,–  (क) “कृषि व्यवसाय” भन्नाले सार्वजनिक वा निजी जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय सम्झनु पर्छ ।

(ख) “अति अविकसित”, “अविकसित” र “अल्प विकसित क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची–३ मा उल्लिखित क्षेत्र सम्झनु पर्छ ।

(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खाने सूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, बीयर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्झनु पर्छ ।

 

१२. कर छुट पाएका संस्थाहरूलाई दिइएको चन्दा उपहार :(१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृति प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कट्टी गर्न पाउने खर्च एक लाख रुपैयाँ वा सो व्यक्तिको सो वर्षको उपदफा (१) बमोजिमको उपहार बापत कट्टी नगरी र दफा १७ को उपदफा (२) र दफा १८ को उपदफा (२) का सीमाहरूलाई गणनामा समावेश नगरी निर्धारण गरिएको करयोग्य आयको पाँच प्रतिशत मध्ये जुन घटी हुन्छ सोभन्दा बढी हुने छैन ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ ।